२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

दुर्गा सप्तशतीझैं

आफूलाई पराजित गर्न सक्ने सामथ्र्य भएको पुरुषसँग मात्र विवाह गर्ने प्रतिज्ञा गरेकी देवीले त्यस्तो किसिमको शक्तिशाली पुरुष कतै पनि नभेटेपछि विवाह नै नगरेको सन्दर्भलाई दुर्गा सप्तशतीमा उल्लेख गरिएको छ ।
ज्ञानु अधिकारी

काठमाडौँ — दृष्टिकोण धर्म र संस्कारबाट निर्मित छन्  । यिनै परम्परित संस्कारको प्रभावले बनेका नारी सम्बन्धी मूल्य– मान्यता आज पनि यथावत् छ  । बहुसङ्ख्यक नेपालीले मान्ने हिन्दु धर्मको आधारग्रन्थ वेद हो र यसमा पनि ऋग्वेद सर्वप्राचीन ग्रन्थ मानिन्छ ।

दुर्गा सप्तशतीझैं

ऋग्वेदको अध्ययन गर्दा कतै पनि नारी–पुरुष भनेर भेदभाव गरिएको र पुरुषलाई सर्वोच्च सत्तामा चढाइएको पाइँदैन । त्यसमा नारीलाई ‘सम्पूर्ण देवगणबाट शक्ति लिएर सबैलाई आफ्नो वशमा राख्न सक्ने बल भएकी’ भनेर अथ्र्याइएको छ । ऋग्वेदका कैयौं ऋचाहरू स्वयम् नारीले नै रचना गरेकाले त्यसमा नारी अनुभूति अभिव्यक्त भएको कुरा कतिपय विद्वानले उल्लेख गरेका छन् ।


उत्तरवैदिक कालबाट भने विस्तारै नारीप्रति नकारात्मक धारणा बन्दै जान थालेको देखिन्छ । त्यसपछि लेखिएका शास्त्र तथा अन्य ग्रन्थहरूमा विरोधाभासपूर्ण र पूर्वाग्रही दृष्टिकोण विकसित हुँदै आएको कुरा अध्ययनले बताउँछ । वैदिक रचनापछि लौकिक रचनाहरूसम्म आइपुग्दा त नारीप्रतिको दृष्टिकोण अझ सङ्कीर्ण र नकारात्मक बन्दै गएको पाइन्छ ।


हिन्दु धर्मको आधार सामग्रीका रूपमा रहेका रामायण, महाभारत, मनुस्मृतिपछिका स्मृतिग्रन्थ नारीप्रति अनुदार बन्दै गएका देखिन्छन् । हामीले परम्परागत रूपमा मनाउँदै आएको दसैं पर्वमा पनि नारीशक्तिको पूजा गरिन्छ, अनि स्तुति गाइन्छ । तर तिनै देवीजस्ता नारीलाई भने तुच्छ ठान्ने गरिन्छ र यो नै धार्मिक परम्पराको सबैभन्दा विरोधाभासपूर्ण पक्ष हो ।


पूजा गरिने देवीहरूलाई हाम्रो धर्मशास्त्रमा विभिन्न प्रतीकका रूपमा बुझाइएको छ । नौवटा नारी स्वरूपलाई शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्री नामले चिन्ने गरिन्छ । शास्त्रमा शैलपुत्रीलाई पर्वतपुत्री पार्वती भनी बुझाइएको छ र यिनलाई शीतलताको प्रतीकका रूपमा मानिन्छ भने ब्रह्मचारिणीलाई ब्रह्मचर्ययुक्त नारीका रूपमा मान्दै शुद्धता र ओजको प्रतीकका रूपमा लिइएको छ ।


चन्द्रघण्टालाई चन्द्रमाको सौन्दर्यका रूपमा अर्थात् सौन्दर्यको प्रतीकका रूपमा मानिएको छ भने कुष्माण्डालाई कुभिन्डोको रूपमा प्रस्तुत गर्दै वनस्पतिको प्रतीकका रूपमा लिइएको छ । स्कन्दमातालाई मातृस्वरूप नारीहरूको प्रतीकका रूपमा, कात्यायनीलाई तन्त्रमन्त्र र अन्य विभिन्न शक्तिको स्वरूप अर्थात् शक्तिको प्रतीकका रूपमा, कालरात्रिलाई तमोगुणकी प्रतीकका रूपमा, महागौरीलाई महान चरित्रयुक्त र आदर्श नारीको प्रतीकका रूपमा र सिद्धिदात्रीलाई हरेक किसिमका कार्यसिद्धिको प्रतीकका रूपमा वर्णन गरिएको छ । यसरी नारीलाई प्रकृति, शक्ति, सृष्टि, आदर्श, सिद्धि र सौन्दर्यको प्रतीकका रूपमा यहाँ जसरी व्याख्या गरिएको छ, यी वास्तवमा नारीभित्र लुकेर रहेका शाश्वत गुण नै हुन् । बरु यसलाई पारख गर्ने विवेक आजको समाजले गुमाएको छ ।


धर्मशास्त्रहरूमा यसरी नारीका गुणलाई चिन्ने, पर्गेल्ने र त्यसको सम्मान गर्ने गरिएको भए पनि ती केवल अलौकिक देवीहरूका हकमा मात्र व्याख्या गरिएको छ । शास्त्रले आममानिसमा केचाहिँ ज्ञान दिनसकेन भने देवीका रूपमा पुजिएका नारीहरूमा जेजस्ता गुणहरू छन्, शक्ति र क्षमता छन्, ती सबै आम नारीभित्र पनि लुकेको हुन्छ र उनीहरूलाई पनि त्यसैगरी सम्मान गर्नुपर्छ । ती शास्त्रले लौकिक संसारका नारीहरू कहिल्यै त्यस्तो हुनसक्दैनन् भन्ने अनुभूत गराउनका लागि देवीहरूको चित्रण नै स्वैरकाल्पनिक रूपमा गरिदिएका छन् । ती पुजिने वस्तुका रूपमा अतिमानवीय गुणहरू थुपारेर व्यावहारिक मानिसभन्दा माथि उठाएकाले ती नारीभन्दा पनि देवीका रूपमा वर्णित भएका देखिन्छन् ।


पौराणिक नारीदेखि आजका उत्तरआधुनिक नारीसम्म आइपुग्दाको मानव इतिहासलाई हेर्दा आजपर्यन्त नेपाली नारीले थुप्रै शारीरिक र मानसिक कहर काटेका छन् । अनमेल विवाह, बालविवाह, बहुविवाह, पतिव्रता, सतीप्रथा, छाउपडी प्रथाजस्ता धेरै शोषणयुक्त प्रथाको सिकार भएर नारीको जीवन कष्टकर र पीडादायी बनेको कुरा इतिहासमा उल्लेख छ । यस्ता प्रथा वा चलनको स्थापना गर्ने र यसलाई बढावा दिने काम प्रारम्भमा पुरुषले नै गरेका हुन् ।


पितृसत्ताको आडमा पुरुष वर्गमा बढ्दै गएको अहम् र नारी–पुरुषका बीचमा समतामूलक व्यवहारको अभावमा समाजमा नारी–पुरुषको सम्बन्ध दिन–प्रतिदिन खुकुलो बन्दै गएको छ । यसरी युगौँदेखि जरा गाडेर बसेको पितृसत्तावादी समाजका विभेदको अन्त्य र नारी स्वतन्त्रता र अधिकारको कुरा गर्नेलाई नारीवादी आरोप लगाएर आग्रही आँखाले हेर्ने गरेको पनि पाइन्छ । पछिल्लो समय नारीमाथि हुने शोषण र अत्याचारले हिंसात्मक रूप लिँदै गएको छ ।


आजको बदलिँदो परिस्थितिमा सचेत नारीहरू अब चुपचाप लागेर बस्ने अवस्था छैन । पितृसत्ताले निर्माण गरेका आदर्शले नारीको जीवनमा आँसु र सन्ताप बाहेक अरू केही दिँदैन । प्राचीनकालमा नारी जसरी शक्तिशाली, विवेकी र बौद्धिक मानवका रूपमा परिचित थिए, त्यही रूपमा फेरि आफ्नो अस्तित्व र क्षमता प्रतिस्थापन गर्ने बेला आएको छ । अब नारीलाई हेर्ने सामाजिक दृष्टिकोण र नारीप्रति पुरुषले गर्ने व्यवहारमा परिवर्तन आउनु जरुरी छ ।


दसैँ पर्वमा पाठ गरिने दुर्गा सप्तशतीमा दुर्गादेवीको उद्घोषले नारीशक्तिलाई उजागर गरेको छ, जसमा भनिएको छ— यो मां जयति सङ्ग्रामे, समे भर्ता भविष्यति । अर्थात् जसले मलाई यस युद्धमा परास्त गर्न सक्छ, म त्यसैलाई पति स्वीकार गर्नेछु । यसरी आफूलाई पराजित गर्नसक्ने सामथ्र्य भएको पुरुषसँग मात्र विवाह गर्ने प्रतिज्ञा गरेकी देवीले त्यस्तो किसिमको शक्तिशाली पुरुष कतै पनि नभेटेपछि विवाह नै नगरेको सन्दर्भलाई दुर्गा सप्तशती (चण्डी) मा उल्लेख गरिएको छ ।


यस्ता पाठहरू कर्मकाण्डी पूजामा मात्र सीमित भएकाले र आमनारीको पहुँचबाट टाढा राखिएकाले पनि नारी स्वयम् आफ्नै शक्ति र सामथ्र्यबाट अनभिज्ञ रहन पुगेका हुन् । समाजमा हुने विभिन्न प्रकारका हिंसालाई रोक्न र सभ्य, सुसंस्कृत समाज निर्माण गर्न पनि नारी शक्तिशाली हुन र दुर्गा सप्तशतीमा वर्णन गरिएको दुर्गाजस्तै बन्नु आवश्यक छ ।

प्रकाशित : आश्विन २७, २०७५ ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?