१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

रोजगारी सिर्जना

वैदेशिक रोजगारीलाई छोटो अवधिका विकल्पका रूपमा हेरिनुपर्छ । देशमै रोजगारी सिर्जना गरी श्रमशक्ति बाहिरिन रोक्नुपर्छ ।
शान्ता मरासिनी

काठमाडौँ — मलेसियामा केही साताअघि ६ नेपालीले विषाक्त रक्सी सेवनका कारण ज्यान गुमाए  । ती नेपाली त्यहाँ अवैध रूपमा बसेर काम गर्दै आएका थिए  ।

रोजगारी सिर्जना

उनीहरूको शव असोज १२ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्यो । रोजगारका लागि मलेसिया तथा खाडी मुलुक पुगेका नेपाली कफिनमा फर्कनु नौलो होइन । तर सरकारले न रोजगारका लागि विदेश ताक्नुपर्ने नेपाली युवाको बाध्यता घटाउन सकेको छ, नत विदेशिएका युवाको ज्यान र कामलाई सुरक्षित बनाउन भरपर्दो पहल गरेको छ ।


मुलुकको वार्षिक कुल गार्हस्थ उत्पादनमा ३१ प्रतिशत योगदान वैदेशिक रोजगारबाट प्राप्त विप्रेषणको छ । अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान गर्ने युवाले ज्यान गुमाउँदा पनि सरकार गम्भीर नदेखिनु विडम्बनापूर्ण छ । अकाल मृत्युको प्रमुख कारण वैदेशिक रोजगारी बन्नु हुँदैन । राज्यको लोककल्याणकारी उद्देश्य, अर्थतन्त्रको संकुचन र विस्तार, रोजगारीका अवसर, नागरिकका आधारभूत आवश्यकता परिपूर्ति, सामाजिक सुरक्षा, औद्योगिक विकास, पूर्वाधारमा लगानी, सामाजिक संरचना, आयत–निर्यात अनुपात, विप्रेषणको उत्पादनशील उपयोग, प्रतिभा व्यवस्थापन, लैंगिक न्याय आदि वैदेशिक रोजगारीका अभिन्न सवाल हुन् ।


दुबईबाट काठमाडौं आउने क्रममा फ्लाइ दुबईमा सोलुखुम्बु र ताप्लेजुङका ४ जना युवा भेटिएका थिए । तीमध्ये एक जनाले सुनाए, ‘कुवेत आएको ७ वर्ष भयो, कागजपत्र कसले लग्यो, थाहा भएन । सिमेन्ट, बालुवा, ब्लक बोक्ने काम पायौं । तर खाना बाहेक पैसा पाइएन । नेपालको परिवारसंँग सम्पर्कविहीन भइयो । अवैध कामदार भन्दै १३ महिना जेल हाले ।’ कुवेत सरकारले अवैध कामदार फिर्ता गर्ने क्रममा दुबईबाट उनीहरू फ्रि टिकटमा घर फर्कंदै रहेछन् । उनीहरूलाई बुबा, आमा, श्रीमतीको अवस्था केही थाहा थिएन ।


वैदेशिक रोजगारीमा गएका महिला कामदारको अवस्था अझ कहालिलाग्दो छ । बेचिएर पुग्ने, पारिश्रमिक नपाउने, हिंसाको सिकार हुने, अवैध बच्चा हुने जस्ता समस्याबाट धेरै नेपाली महिला गुज्रिरहेका छन् । सम्बन्धित क्षेत्रमा सीप नसिकी गएकाहरूले दु:ख पाउने गरेका छन् ।


राज्यले ठूलो मूल्य चुकाएर तयार गरेका डाक्टर, नर्स, इन्जिनियर तथा अन्य प्राविधिक, प्रशासक वर्षेनि विदेशिँदै छन् । अमेरिका, अष्ट्रेलियाजस्ता सम्पन्नशाली देशले बाँकी विश्वबाट राम्रो जनशक्ति आकर्षित गर्ने क्रम रोकिएको छैन । हामी भने दक्ष जनशक्ति परिचालनका दृष्टिले लगभग खोक्रो भइसकेका छौं । उदीयमान अर्थतन्त्र भएका चीन, भारत, फिलिपिन्सजस्ता देशले विशेष कार्यक्रममार्फत गैरआवासीय जनशक्ति आकर्षित गरिरहेका छन् । सन् २०१६ र १७ मा चीनले उच्च प्राविधिक सक्षमतायुक्त करिब तीन हजार गैरआवासीय जनशक्ति भित्र्याइसकेको छ ।


विश्वव्यपीकरण र उदारीकरणका फाइदाबारे वकालत गरिरहँदा खुला विश्व श्रम बजारका कारण सिर्जित वैदेशिक रोजगारीका गतिला पक्षलाई यस भित्रका विकृत पक्षले छापिसकेको छ । यसतर्फ राज्यले चासो दिन अत्यावश्यक छ । सरकार, वैदेशिक रोजगार व्यवसायी, रोजगारदाता मुलुकसँंगको श्रम कूटनीति एवं राज्यका कूटनीतिक निकायमा सामयिक सुधार जरुरी छ ।


नेपालमा वैदेशिक रोजगारीबाट प्राप्त आयको ९० प्रतिशत उपभोगमा खर्च हुने गरेको छ । अर्थतन्त्र विप्रेषणमा निर्भर हुँदै गएको र निर्यात अत्यधिक वृद्धि भई व्यापार घाटा बढेको जस्ता असरलाई बेलैमा विश्लेषण गर्नुपर्छ ।


वैदेशिक रोजगार व्यवस्थापनका लागि सुरक्षित र भरपर्दो गन्तव्य मुलुकको खोजी आवश्यक छ । वैदेशिक रोजगारीलाई सुरक्षित र भरपर्दो प्रतिफलमुखी बनाउन आर्थिक कूटनीतिलाई प्रभावकारी बनाउनुपर्छ । ठगी नियन्त्रण गर्नु, ज्यान गुमाएका कामदारका परिवारलाई क्षतिपूर्ति दिलाउनु, वैदेशिक रोजगारीको सूचना प्रणालीलाई प्रभावकारी बनाउनु, विप्रेषणलाई उत्पादनशील क्षेत्रमा लगानी गर्ने वातावरण मिलाउनु जरुरी छ । वैदेशिक रोजगारीबाट सीप सिकेर फर्केका युवालाई सहुलियतपूर्ण कर्जा व्यवस्था गरेर उत्पादन
क्षेत्रमा लगाउनुपर्छ ।


वैदेशिक रोजगारीबाट व्यक्ति, परिवार, समाज र मुलुकलाई पर्ने सकारात्मक र नकारात्मक प्रभाव विश्लेषण गर्नुपर्छ । वैदेशिक रोजगारीलाई छोटो अवधिका विकल्पका रूपमा हेरिनुपर्छ । देशमै रोजगारी सिर्जना गरी श्रमशक्ति बाहिरिने क्रम न्युनीकरण गर्नुपर्छ ।

प्रकाशित : आश्विन २४, २०७५ ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?