कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

म्यान्मारमा नेपाली भाषा प्रेम

नेपालबाट म्यान्मार गएर २–३ पुस्ता बसिसकेकाले पनि नेपाली भाषा र संस्कृति जोगाएको थाहा पाउँदा मन हर्षित भयो ।
डा. अरूणा उप्रेती

काठमाडौँ — म्यान्मारमा नेपालीभाषी उद्योगपति शंकर परालुजीसँग भेट भयो । उनले सुनाए, ‘हाम्रा छोराछोरीलाई वर्षमा तीन महिना नेपाली भाषा पढाउन स्कुल खोलेका छौं । नेपालीमा उच्च शिक्षा हासिल गरेका शिक्षकलाई छुट्टीका बेला पढाउन आग्रह गर्छौं । छोराछोरीले नेपाली भाषा नबिर्सिउन् भनेर कोसिस गरिरहेका छौं ।’

म्यान्मारमा नेपाली भाषा प्रेम

पराजुलीको कुरा सुनेपछि मैले २० वर्षअघि अमेरिका र युरोपमा बसाइँ सरेका नेपालीलाई सम्झिएँ । उनीहरूका केटाकेटीले पढ्न–लेख्न त परै जाओस्, नेपाली बोल्न पनि जान्दैनन् । ‘आफ्नो काममा आएको, कता नेपाली सिकाउनु †’ अमेरिकामा नेपाली मुलका मानिसले भनेको सुनेकी छु ।


नेपालबाट म्यान्मार गएर २–३ पुस्ता बसिसकेकाले पनि भाषा र संस्कृति जोगाएको थाहा पाउँदा मेरो मन हर्षित भयो । नेपालमा भने निजी स्कुलमा अंग्रेजी माध्यामबाट आफ्ना छोराछोरी पढाउनेहरूले गर्वसाथ भन्ने गर्छन्, ‘मेरो छोरा/छोरीलाई अंग्रेजीमा मात्रै कुरा गर्न आउँछ । नेपाली त उसलाई राम्ररी पढ्न पनि आउँदैन । बल्लतल नेपालीमा पास गर्छन् । आखिर उसलाई नेपाली किन चाहियो र ? ऊ यहाँ बस्ने होइन ।’


यस्ता कुरा सुन्दा म छक्क पर्छु । तिनीहरूले आफ्ना सन्तानलाई भाषा, संस्कृतिबाट टाढा राख्दैछन् । उनीहरूले केहीपछि आफ्नो संस्कृति भुल्नेछन् । घर, गाडी र बैंक ब्यालेन्स होला । तर आफ्नो पुख्र्यौली थलो कहाँ हो, आफ्ना पुर्खा को हुन्, भाषा र भेष कस्ता थिए, बाजेबज्यैले कस्तो बोल्थे, के खान्थे, के लगाउँथे, कसरी चाडपर्व मनाउँथे भन्ने उनीहरूले थाहा पाउने छैनन् । उनीहरूले त्यसबारे जानकारी लिन विदेशीले लेखेका किताब पढ्नु पर्नेछ । तर आफ्नो संस्कृतिप्रति गर्व गर्नसक्ने छैनन् ।


म्यान्मारमा ८०–१०० वर्षदेखि बसेका नेपाली मूलका नागरिकमा आफ्नो संस्कृति र भाषाप्रति रहेको प्रेमबारे प्रचार गरियो भने अन्य देशमा बसेकाले सिक्छन्, बुझ्छन् भन्ने आशा छ । म्यानमारका नेपालीभाषीले तीजमा नाचगान गर्छन् । तिहारमा भैलो खेल्छन् । अन्य सामाजिक कार्य पनि गर्दारहेछन । हामी कृष्ण जन्माष्टमीका बेला म्यान्मार पुगेका थियौं । कृष्ण जन्माष्टमी धुमधामका साथ मनाउने तयारी भइरहेको थियो ।


शंकरका ३ छोरीमध्ये जेठी हीरा जनस्वास्थ्यमा लन्डनबाट उच्चशिक्षा हासिल गरेर म्यान्मारमा कानुन पढ्दै रहिछन् । उनी नेपाली, अंग्रेजी र बर्मिज भाषा राम्रोसँंग बोल्दिरहिछन् । ‘अमेरिका गएर मास्टर डिग्री गर्ने मन छ । काम त म यहीँ आएर गर्छु,’ उनले नेपालीमा भनिन् । २२ वर्षको उमेरमै बुबाको सहायतामा साथीसंँग मिलेर व्यापार सुरु गरेकी हीरालाई नेपाल आउने मन छ । ‘कहिले आइन्छ, थाहा छैन,’ उनले भनिन् ।


शंकरका अनुसार तीज र भैलोमा नाचगान गर्दा मानिसले पैसा दिन्छन् । पैसा सामाजिक काममा खर्च हुन्छ । ‘दसंैमा रमझम हुन्छ । हामी प्रत्येक नेपाली चाडमा नेपाल सम्झन्छौं,’ शंकरले भने, ‘हामी व्यापार गर्छौं । राजनीतिमा खासै कोही लाग्दैन । कसैले पैसाका कारण छोराछोरी पढाउन सकेन भने सबै मिलेर मद्दत गर्छौं ।’ उनको भनाइ सुनेर आनन्द लाग्यो ।


नन्द न्यौपानेले एउटा ठूलो धर्मशाला बनाएर सरकारलाई हस्तान्तरण गरेका रहेछन् । धर्मशालामा नेपाली मूलका नागरिकलाई दिनको करिब सय रुपैयाँ तिरेपछि बस्न दिइँदो रहेछ । विशेषगरी उपचार गर्न त्यहाँ पुग्ने व्यक्तिहरूका धर्मशाला उपयुक्त थलो रहेछ । धर्मशालामा नेपालबाट पुगेका नेपालीले भने बस्न नपाउने थाहा भयो । धर्मशाला नजिकै एभरेष्ट होटल रहेछ । त्यहाँ दाल, भात, तरकारी खान पाइन्छ । गुल्मीबाट ८० वर्षअघि गएका व्यक्तिको परिवारले होटल चलाउँदो रहेछ । होटलमा खाना खान नेपाली र भारतीय
धेरै पुग्दारहेछन् । होटल बिहान ७ बजेदेखि बेलुका ११ बजेसम्म खुल्छ ।


नेपालबाट दोस्रो विश्वयुद्धका बेला गएका नेपाली, भारतबाट व्यापार गर्न गएका नेपालीभाषीले पहिले दूधको व्यापारमा हात हालेका थिए । आर्थिक स्थिति सुध्रिँदै गएपछि अन्य व्यवसायमा संलग्न भए । कतिपयले रुवी र अन्य बहुमूल्य पत्थरको व्यापार गर्दारहेछन् । नेपालीभाषीले व्यवसाय गर्दै आफ्नो आर्थिक स्थिति मजबुत बनाएका छन्, म्यान्मारको अर्थतन्त्रमा समेत योगदान गरेका छन् ।


उनीहरूले नेपाली भाषा, नेपालीपन, नेपाली संस्कृति भने बिर्सेनन् । जीवनको उतार–चढावबीच नेपाली भाषा र संस्कृति जोगाउनु ठूलो कुरा हो । केहीले सुनाए, ‘हामी विवाह नेपालीसंँगै गर्छौं । अन्य मूलका मानिससंँग विवाह नगर्ने अघोषित नियम छ । प्राय:ले आमाबुबाले खोजेको व्यक्तिसँगै विवाह गर्ने चलन छ । बालविवाह हुँदैन । प्राय: पारपाचुके पनि हुँदैन ।’

प्रकाशित : आश्विन २२, २०७५ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?