आजको सन्दर्भमा गान्धी

आफ्ना जीवनकालमा नेहरू अन्तर्राष्ट्रिय स्तरमा बुद्धिजीवीहरूका नायक थिए । गान्धीले समकालीन बुद्धिजीवीहरूबाट ज्यादात्तर उपहास मात्र प्राप्त गरे तर यताका वर्षमा नेहरूको वैचारिक अवदान विस्मृतप्राय: छ । गान्धीका ‘उटपट्याङ’ कुराले नित्य पालुवा फेर्दै छन् ।
प्रदीप गिरि

काठमाडौँ — गान्धीलाई बुझ्नु कठिन छ । ‘आधुनिक’ कहलाउने मानिसका निम्ति अझ विशेष कठिन छ । १९३६ ई. मा पण्डित जवाहरलाल नेहरूको बहुचर्चित आत्मकथा छापिएको थियो । त्यसमा अनेकन ठाउँमा गान्धीको प्रसंग छ । त्यस्ता प्रत्येक उल्लेखमा नेहरूले गान्धीको व्यक्तित्वलाई लिएर विस्मय व्यक्त गरेका छन् । नेहरूका अनेकन टिप्पणीमध्ये निम्नलिखित विशेष पठनीय छ :

‘गान्धीजी साँच्चै बुझ्नै नसकिने मानिस हुनुहुन्छ । आधुनिक मनुष्यका निम्ति उनको बोली–वचन, रहन–सहन दुरुह छ । तर फेरि जोसुकै उपर उनको अद्वितीयता र महानताको छाप परिछाड्छ । भारतीय राष्ट्रिय कांग्रेसले उनको नेतृत्व सहर्ष स्वीकार गरेको छ । उनलाई हामीले सारा अधिकार दिएका छौं । उनका पिठ्युँ पछाडि हाम्राबीच टिकाटिप्पणी चलिरहन्छ । उनका उट्पट्याङ बानी–व्यहोरा र बोलचाल समेतले हामीलाई चिन्तित बनाउँछ । स्वाधीन भारतमा उनका यस्ता झक्की क्रियाकलापलाई प्रोत्साहित गर्न सकिँदैन भनेर मजाकिया शैलीमा भए पनि हामी आपसमा कुरा गरिरहन्छौं ।’


अहिले पढ्दा पनि नेहरूको उक्त टिप्पणी कठोर प्रतित हुन्छ । अझ १९३६ मा यो वक्तव्य कस्तो देखियो होला । त्यसपछि पनि थप १२ वर्ष गान्धी र नेहरूले सँगै काम गरे । उनीहरूका बीच अनेकानेक मतभेद थिए । स्वाधीनताको पूर्वसन्ध्यामा गान्धी र नेहरूका बीच भावी भारतको तस्बीरलाई लिएर पत्राचार भएको थियो । दुवैमा पटक्कै मतैक्य थिएन । तर पनि नेहरूसँग गान्धीको विकल्प थिएन । भारतीय जनतामा गान्धीका उपर अद्भुत पत्यार थियो । गान्धीका काँधमा उक्लिएर नेहरू विख्यात राजनेता भएका थिए ।


नेहरू बाहेक पनि अनेक प्रबुद्धजनले गान्धीलाई आधुनिक युगका निम्ति सर्वथा अनुपयुक्त प्राणी भनेर चित्रण गरेका थिए । एम.एन. राय र डा. अम्बेदकरले पनि । आज पनि गान्धीलाई परम्परावादी र प्रतिगामी भन्ने बुद्धिजीवीहरूको प्रभुत्व छ । गान्धीको देहान्तपछि नेहरू स्वाधीन भारतका एकमात्र नेता भए । प्रधानमन्त्री नेहरू भारतका प्रमुख कार्यकारी त छँदै थिएँ, उनको सोच र सपनाका पछाडि प्रारम्भिक दशकहरूमा सिंगो भारत समर्पित थियो । नेहरूको बौद्धिक र चमत्कारिक व्यक्तित्वले युरोप र अमेरिकालाई समेत मुग्ध बनाएको थियो । नेहरूले गर्दा नै गान्धी भारतको ‘राष्ट्रपिता’का रूपमा अझै पुज्य छन् । गान्धीको देवत्वकरण भएको छ ।


देवत्वकरण वा राक्षसीकरण दुवैले मनुष्यसँग अन्याय गर्छ । गान्धीले गरेको र भनेको कुरा कहाँ गर्न सकिन्छ र ? उनी त भगवान थिए जस्ता कुरा हुनथाले । भारतीय राष्ट्रिय कांग्रेसले गान्धीलाई पुज्य बनाएर उनको क्रान्तिकारी उत्तराधिकारीलाई धुमिल बनायो । नेपालमा पनि गान्धी एक असल तर निरीह, दुर्बल र अप्रासंगिक छवि भएका मानिस छन् । उनको सम्झना तुलसी मेहरसँग अविञ्छिन्न रूपमा गाँसिएको छ ।


आफ्ना जीवनकालमा नेहरू अन्तर्राष्ट्रिय स्तरमा बुद्धिजीवीहरूका नायक थिए । गान्धीले समकालीन बुद्धिजीवीहरूबाट ज्यादात्तर उपहासमात्र प्राप्त गरे । तर यताका वर्षहरूको बौद्धिक विमर्शको अवलोकन गर्दा एउटा आश्यर्चजनक तथ्य अगाडि आउँछ । नेहरूको वैचारिक अवदान विस्मृतप्राय: छ । गान्धीका ‘उट्पट्याङ’ कुराहरूले नित्य नयाँ पालुवा फेर्दैछन् । पश्चिमका अत्यन्त मेघावी प्राज्ञहरूले गान्धीलाई आफ्नो शोध–विषय बनाएका छन् । भारतीय बौद्धिक जगतले पनि ढिलो भए पनि गान्धीको महनीयतालाई स्वीकार गरेको छ । नित्य गान्धीको पुनव्र्याख्या भइरहेको छ । यस्ता पुनव्र्याख्याले गान्धीलाई उत्तर–आधुनिक चिन्तनसँग जोडेको छ । लोयाड आई. रुडोल्फ र सुस्यानले आफ्नो पुस्तकलाई ‘दि पोष्ट मार्टन गान्धी’ भनेर नामकरण गरेका छन् ।


गान्धी निश्चय आज दुनियाँमा विश्व विजयी ठहरिएको आधुनिक सभ्यताका कडा आलोचक थिए । गान्धी यस पद्धतिलाई सभ्यताको संज्ञासमेत दिन तयार थिएनन् । गान्धी १९३० मा बेलायत पुगेका थिए । एक बेलायती पत्रकारले उनलाई आधुनिक सभ्यताबारे प्रश्न गरेका थिए । गान्धीको प्रस्ट उत्तर थियो– ‘यो एउटा मनचिन्ते परिकल्पना मात्र हो ।’ गान्धीको भनाइ थियो– आधुनिक मानिसलाई सभ्य भन्न गाह्रो छ ।


१९३० मा बेलायतको माटोमा उभिएर गान्धी के भन्न खोज्दै थिए ? गान्धीको भनाई प्रस्ट थियो– सडक, रेल, गाडी, पानीजहाज र हवाइजहाज हुँदैमा समाज सभ्य हुँदैन । मर्सिडिज गाडीले गर्ने काम उहिले वयलगाडीले गथ्र्यो । पानीजहाजको ठाउँमा युगौंदेखि डुंगा चलिरहेको हो । सभ्यता र प्राविधिक विकास एक–अर्काका पर्याय होइनन् । सभ्यता मानवता र नैतिकताको विस्तार हो । भौतिक समृद्धि चाहिन्छ, तर त्यो त्यसपछि आउने कुरा हो । स्वाधीन भारतमा गान्धीको उत्तराधिकारलाई लिएर जयप्रकाश नारायण र डा. लोहियाले जवाहरलाल नेहरूलाई चुनौती दिएका थिए । भारतका नव–गान्धीवादीहरूले जयप्रकाश र लोहियाबाट प्रेरणा लिएर आफ्नो भाष्य अगाडि सारेका छन् ।


विश्वमा यस समय प्रकृति र पर्यावरणप्रति बढ्दो चिन्ता छ । पृथ्वीले थेग्ने विकास हुनुपर्छ भन्ने कुरा सर्वत्र सुनिन्छ । दिगो विकास विचारधाराको केन्द्रमा गान्धी छन् । युरोपको हरित आन्दोलनले गान्धीको प्रेरणा स्वीकारेको छ । मार्टिन लुथर किङ जुनियरले अमेरिकामा गान्धीको नाम लिएर काला जातिको अधिकारको संघर्ष चलाए । नेल्सन मन्डेलामा विश्वले गान्धीको प्रतिरूप देख्यो । दलाई लामा आज पनि जहाँ जान्छन्, त्यहाँ गान्धीको झझल्को दिन्छन् । उन्मक्त उपभोक्तावादको अन्धताले पृथ्वी पिल्सिएकी छन् । गान्धी मनसा, वाचा र कर्मणा यस प्रवृत्तिको विरोधमा थिए ।


बीपी कोइरालाले आफ्ना आत्मकथ्यमा गान्धीलाई बारम्बार सम्झनुभएको छ । भोला चटर्जी र तीर्थङ्कर मुखर्जीलाई दिइएको आखिरी अन्तर्वार्ताहरूमा आफू फेरि गान्धीका समिप पुगेको घोषणा गर्नुभएको छ । गान्धी–माक्र्स र गान्धी मेरो वैचारिक यात्राको रेखाचित्र हो भन्नुभएको छ । बीपी कोइरालाको वैचारिक–यात्रा–वृत्त उहाँको एकांकी अनुभव होइन । बीपी भारतमा रहँदा कुनै समय कांग्रेस सोसलिस्ट पार्टीसँग सम्बद्ध हुनुहुन्थ्यो । त्यस पार्टी नेतृत्वका लगभग सबै ‘कट्टर माक्र्सवादी’ थिए । तर गान्धीको मृत्यु भएको २५ वर्ष नबित्दै सबै गान्धीतर्फ आकृष्ट भए ।


गान्धीलाई कुनै एक पत्रकारले उहिल्यै सोधेको थियो– ‘भारत बेलायतजस्तो कहिले बन्ला ?’ गान्धीको जवाफ स्पष्ट थियो– ‘भारतले बेलायत बन्ने सपना हेर्नु हुँदैन । त्यो दुस्वप्न मात्र हुनेछ । भारत लगायत अनेकानेक मुलुकको शोषणमा सानो बेलायतको विलास–वैभव आधारित छ । भारत जस्तो विशाल देशले आजको युगमा कसको शोषण गर्ने ?’ गान्धीले यतिमात्र भनेनन्, थपे– ‘यदि कुनै चमत्कारले भारत बेलायतजस्तो बनिहाल्यो भने पनि त्योभन्दा दुर्भाग्यपूर्ण अर्को हुन सक्दैन । बेलायतको जीवनशैलीलाई अनुकरणीय मान्न सकिँदैन । बेलायतले भौतिक वस्तु बटुल्नु र भोग गर्नुलाई सफलता ठानेको छ । मनुष्यको सफलता त्यो हुँदै होइन । मनुष्य आफूलाई चिन्न जन्मिएको हो ।’


आधुनिकतावादीमध्ये माक्र्सवादीलाई गान्धी सधैं तिरस्करणीय रहे । त्यसका अनेकन कारण थिए । गान्धी हिंसालाई हरेक हालमा त्याज्य, निन्दनीय र प्रत्युत्पादक सम्झिन्थे । हिंसा भनेको क्रान्तिको सँुडेनी हो भन्ने कम्युनिस्टका निम्ति गान्धी क्रान्ति–विरोधी नेता थिए । रामराज्य चाहने गान्धी प्रतिक्रियावादी थिए । गान्धी बातैपिच्छे सार्वभौम नैतिकता उड्कन्थे । गान्धीलाई वर्ग–संघर्षमा विश्वास थिएन । यो पनि क्रान्तिकारी कम्युनिस्टहरूका निम्ति आपत्तिजनक थियो । सर्वाधिक महत्त्वपूर्ण कुरो अझ अर्को थियो– विकास भनेको के हो ?


पुराना माक्र्सवादी पुँजीवादी क्रान्ति सम्पन्न भएपछि मात्र समाजवादको प्रादुर्भाव हुन्छ भन्छन् । त्यति मात्र होइन, माक्र्सवादीहरू पश्चिमी सभ्यतालाई मानव जातिको श्रेष्ठत्तम उपलब्धिका रूपमा लिन्छन् । माक्र्सले स्वयम् कम्युनिस्ट घोषणापत्रमा तथाकथित सभ्यता भनेर पुँजीवादी सभ्यतालाई सम्बोधन गरेका थिए, यो अर्कै कुरो हो । त्यो अहिले पनि माक्र्सवादीलाई सम्झना छैन । गान्धी हाकाहाकी पश्चिमी सभ्यतालाई पापमूलक भन्थे । पुँजीवादी त त्यसको एउटा सानो उपपत्तिमात्र हो ।


माक्र्सवादीलाई गान्धीसँग अर्को आपत्ति थियो । माक्र्सवादका अनुसार कम्युनिस्टहरूले क्रान्तिको लगातार तयारी गर्नुपर्छ । निश्चित ऐतिहासिक घडीमा कम्युनिस्टले अगाडि बढेर राजसत्तामा कब्जा गर्नुपर्छ । दिव्य दस हजार वर्षमा त्रिपुरासुरका तीन पुर जोडिन्छन् । ती तीन पुर नजोडिँदासम्म दानवीय राज्यको विनाश सम्भव छैन । लेनिनले ‘वामपन्थी साम्यवाद एक बालरोग’ भन्ने कृतिमा क्रान्तिका पूर्वसर्तहरूको यस्तै चर्चा गरेका छन् । कम्युनिस्ट क्रान्तिको पूर्वसर्तका साथ निश्चित दिनको प्रतीक्षामा अक्सर अलमलिएका छन् ।


गान्धीलाई त्यस्तो कुनै दिव्य रथ वा घडीको प्रतीक्षा थिएन । अफ्रिकाको मारिट्जवर्ग भन्ने सहरमा त्यस अँध्यारो रातमा रेलबाट घोक्राइएका दिनदेखि उनी निरन्तर युद्धरत रहे । यस युद्धका दुइटा आयाम थिए । गान्धीको आत्मकथामा यी दुवै आयामको अविकल तस्बीर छ ।


मारिट्जवर्गको घटनाको सविस्तार वर्णन छ, आत्मकथामा । फस्ट क्लासको टिकट हुँदाहुँदै दक्षिण अफ्रिकाका नश्लवादी कानुनले उनलाई गाडीबाट घोक्र्याएको थियो । उनी भन्छन्– ‘पहिले त म डरले किंकर्तव्यविमुढ भएँ । पोकोपन्तुरो बोकेर घर फर्कौं भन्ने आयो । छेउछाउका छरिएका सामान टिप्ने आँट पनि भएन । भयंकर जाडो थियो । ओभरकोट थियो, तर त्यो एकातिर फ्याँकिएको थियो । त्यो ओभरकोट ओढ्ने आँट पनि भएन । गोराले फेरि गोद्छ कि भन्ने त्रास थियो । सिंगो रात थरथर काँपेरै काटेंँ ।’


बिहानपख हुँदा–नहुँदा उनमा एउटा अठोट उदायो । बरु मर्छु, तर लड्छु भन्ने । एकातिर उनले आफ्नो कायरतासँग लड्नुपरेको थियो । अर्कोतिर साम्राज्यवादीको नश्लभेदी कानुन थियो । गान्धीलाई हृदय परिवर्तनको अनुभव भयो– पहिले आफूलाई जित अनि अरूलाई जितौला । परिवर्तन गर्नुभन्दा अघि आफूमा परिवर्तन गर ।


आलोचकहरूले गान्धीलाई टाटा र बिड्लाको हृदय परिवर्तन गर्ने निष्फल प्रयास गरेकोमा मजाक उडाउँथे । गान्धी निश्चय त्यसो गर्थे । गान्धीको मृत्युसमेत पनि बिड्ला भवनमा भयो । तर वर्षमा दस दिन बिड्लाकहाँ बसे भने दस महिना दलित र पीडितको बस्तीमा भेटिन्थे गान्धी । गान्धीले हजारौं भारतीयलाई सडकमा उतारे । डरपोक किसान र लुते मजदुरको हृदय परिवर्तन भएको थियो । महिलाको घुम्टो उघ्रेको थियो । जनसंख्याका हिसाबले त्यस प्रतिशतमा कुनै क्रान्तिमा जनता खास गरेर महिला उत्रिएका छैनन् ।


क्रान्तिकारीलाई गान्धीको ईश्वरसँगको लसपस मन पर्दैन । उनी दिनरात राम–राम भजन–पुजन गरिराख्थे । उनका विरोधी यसलाई पाखण्डका रूपमा हेर्थे । उनका सहयोगीहरू पनि शंकालु थिए । उनले एकदिन वाक्क भएर भन्नुपरेको थियो– रामप्रतिको मेरो निष्ठा म मरेको दिन थाहा होला । नभन्दै नाथुराम गोड्सेले गोली हान्दा उनको मुखबाट दुई शब्द निस्कियो– हे राम !


गान्धीको ईश्वर पाखण्ड हो कि भनेर नेहरू बाहेक अरू पनि थुप्रैले शंका गरेका छन् । गान्धीको कृतित्वलाई उनको आस्था र आस्तिकतासँग छुट्याउने प्रयास पनि भएको छ । तर त्यस्ता प्रयास फलोत्पादक होइनन् । बरु गान्धीले राम भनेर के भन्न खोजेका थिए ? राम भन्ने संज्ञा गान्धीले थालेका होइनन् । तुलसीदासले उत्तर–भारतमा रामलाई घर–घर पुर्‍याए । उनै तुलसीदासले रामको कथा थाल्नुअघि राम को हुन् त भनेर प्रश्न गरेका छन्– ‘एक राम अवधेश–कुमारा’ भनेर राम–विमर्श प्रारम्भ गरेका छन् । गान्धीको राम अझ अगाडि छन् । गान्धी प्रस्ट भन्थे, सत्य नै ईश्वर हो, सत्य नै राम हो ।


आफ्नो राजनीतिक जीवनको प्रारम्भमा गान्धीले ‘गड इज ट्रुथ’ भनेका थिए । उत्तराद्र्धमा यस्तो रहेन । उनले भन्न थाले– ‘ट्रुथ इज गड’ ।


गान्धीको राम–विमर्शका सन्दर्भमा गोपाराजु रामचन्द्र राव प्रासंगिक छन् । राव भारतमा गोराका नामले जानिन्छन् । उनी नास्तिक थिए । नास्तिक सभा स्थापना गरेका थिए । गान्धीवादी थिए । सर्वोदयका समर्थक थिए । गान्धी र उनका बीचमा भएको बहसलाई उनले पुस्तकका रूपमा छापेका छन् । गोरा गान्धी आश्रममा अतिथि भएर गइरहन्थे । गान्धीले उनलाई इच्छा भोजनको व्यवस्था मिलाउँथे ।


गीतामा ‘विद्या विनय सम्पन्न ब्राह्मण सम्पन्न...’ भन्ने प्रसिद्ध श्लोक छ । त्यसै परम्परामा गान्धी भन्थे– आफ्ना अगाडिका मानिसमा ईश्वर नदेख्ने मनुवाले जंगलमा कुन ईश्वर भेट्ला ? गान्धी ईश्वरलाई भेट्न सार्वजनिक जीवनमा उत्रिएका थिए ।


गान्धी झन्डै पचास वर्ष सार्वजनिक जीवनमा सक्रिय रहे । उनी हिजोको कुरामा आज अडिग रहँदैन थिए । उनी ढुक्क भन्थे– म सधैं केही न केही सिक्दैछु । जीवन प्रारम्भिक वर्षमा उनका व्यक्तित्वमा अनेकन आपत्तिजनक बोली–व्यवहार देखिएका छन् । दक्षिण अफ्रिकाको जेलमा बस्दा उनले त्यहाँका अफ्रिकन कैदीप्रति अपमानजनक भाषा प्रयोग गरेका चिठ्ठीहरू भेटिएका छन् । बुढेसकालमा उनी आफ्ना नातिनी भन्न मिल्ने तरुनी केटीहरूसँग नाङ्गै सुत्थे भन्ने जानकारी छ । गान्धीको राजनीतिक गतिविधि विवादास्पद छन् । भारतीय राष्ट्रिय कांग्रेसलाई आफ्ना इच्छा अनुसार चलाउन उनी जेसुकै पनि गर्न सक्छन् भन्ने एम. एन. राय, सुवास बोस र अम्बेदकरले लेखेका छन् । यी महानुभाव आफै स्वाधीनता आन्दोलनका दिग्गज थिए ।


गान्धी एक मनुष्य थिए । एउटा मानिसमा हुने यावत दुर्गुण उनमा थिए । तर उनी बाहिरियासँग भन्दा मर्मान्तक रूपमा आफूसँग लड्थे । उनको आत्मकथा र अन्य लेखनसमेत त्यस लडाइँको अविकल तस्बीर छ ।


गान्धी भारत विभाजनका विरोधी थिए । उनले अनेकनपटक भनेका थिए– मेरो लासका उपरमात्र भारतको विभाजन हुनसक्छ । तर आखिरी घडीमा टिक्न सकेनन् । भारतीय राष्ट्रिय कांग्रेसको कार्यसमितिले विभाजनको निर्णय गर्दा गान्धी त्यस बैठकमा सहभागी थिए । त्यहाँ उपस्थित धेरै लेखकले त्यस बैठकको परिघटनाको विवरण लेखेका छन् । डा. लोहियाको ‘भारत विभाजनका अपराधी’ भन्ने पुस्तकमा त्यसको मार्मिक वर्णन छ । लोहियाले गान्धीलाई पनि दोष दिएका छन् । गान्धीले पनि आत्मसमर्पण गरे भन्ने उनको आरोप छ ।


गान्धीको व्यक्तिगत मान्यता स्पष्ट थियो, धर्म कुनै पनि राष्ट्रको अस्मिता हुन सक्दैन । धार्मिक–जातीय भेदभावभन्दा खतरनाक कुरा अर्को केही हुँदैन । गान्धीले हिंसाको स्रोतलाई नजिकबाट अध्ययन गरेका थिए । हिटलर र मुसोलियनको बर्बरता देखेका थिए । चेतावनी दिएका थिए, ‘मानिसको एउटै पहिचान मनुष्यता हुन्छ, अर्को पहिचान नखोज ।’


भारत स्वाधीन भएको दिनमा गान्धी नुवाखोलीमा थिए । नुवाखोली आज बंगलादेशमा पर्छ । त्यतिबेलाको पाकिस्तानमा । दिल्लीमा आजादीको जलसा मनाइँदै थियो । गान्धी नुवाखोलीमा भट्किँदै थिए । त्यतिबेला रवीन्द्रनाथ टैगोर प्रसिद्ध कविता ‘तवे एकला चलो रे...’ उनको प्रिय गीत थियो । अन्तत: मुस्लिम हितको रक्षा गरेको अत्तो लगाएर एउटा हिन्दुले उनको हत्या गरे । यथार्थ अर्कै थियो । गान्धी नत हिन्दु थिए, न मुसलमान ।


प्रोफेसर आइन्सटाइनले गान्धीबारे एक विख्यात टिप्पणी गरेका छन् । नेहरूको अन्योलमा राजनीतिज्ञको शंका थियो । आइन्सटाइनको मूल्यांकनमा एक दार्शनिक–वैज्ञानिक प्रकट भएका छन् । आइन्सटाइन भन्छन्– ‘आउने पुस्ताले पक्कै पत्याउने छैन । हाड, मासु र रगतले बनेको देह लिएर यस्तो मानिस यो धर्तीमा एकदिन हिँड्याे होला भनेर आगामी पुस्ताले पत्याउने छैन ।’


जन्मोत्सवका दिन, दुई अक्टुबरका दिन गान्धीलाई पूजा गर्ने खाँचो छैन । बरु निन्दा गरे हुन्छ । निन्दा र पूजाको ओइरोमा मोहनदास करमचन्द गान्धी भन्ने मानिस हराउन सक्छन् । तर साँच्चै यही छरछिमेकमा डेढ सय वर्षअघि यस्तो मानिस जन्मिएको थियो भनेर सम्झनु र पत्याउनु गान्धीप्रति वास्तविक श्रद्धाञ्जली हुनेछ ।

प्रकाशित : आश्विन २०, २०७५ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्

सम्झनलायक नेता

सन्दर्भ : बीपी जयन्ती
प्रदीप गिरि

काठमाडौँ — प्रत्येक महापुरुष आफ्नो युगको सन्तान हुन्छन् । बीपी कोइराला अपवाद हुनुहुन्नथ्यो । तर यति मात्र भन्दा थप कुरो प्रस्टिँदैन । खास बुझ्नुपर्ने कुरो यो छ– बीपी जन्मनु र हुर्कनुभएको त्यस युगका कार्यभार के थिए ? आजका निम्ति बीपीको अवदान के हो ?

सेप्टेम्बर ८, १९१४ इस्वीमा बीपीको जन्म भयो । दुई महिनाअघि मात्र प्रथम महायुद्ध थालिएको थियो । इतिहासवेत्ताले यस परिघटनालाई बीसौं शताब्दीको न्वारान भनेका छन् । यस महायुद्धले सयकडांै वर्ष पुराना बादशाह र सम्राट्लाई समाप्त गर्‍यो ।

टर्कीका ओटोमन वंश, अस्ट्रियाका हाप्सवर्ग, रूसका रोमानोव, जर्मनीका कैसर वंशीय सम्राट् धराशायी भए । युरोपमा प्रजातान्त्रिक प्रयोग प्रारम्भ भयो । रूसमा त अझ कम्युनिस्ट क्रान्ति सम्पन्न भयो । अमेरिकी पत्रकार जोन रिडले त्यस क्रान्तिको आँखो देखा हाल लेखे । ‘ती दस दिन जसले दुनियाँ हल्लायो’ भन्ने कृति आज पनि पढिन्छ । जोन रिडले अतिशयोक्ति गरेका थिएनन् । दुनियाँ साँच्चै हल्लियो ।

दुई महायुद्धबीचको कालावधि विचारधाराको तीव्र संघर्षको समय थियो । प्रथम महायुद्धको मुक्तिदायी लहरले तेस्रो विश्वलाई स्वाधीनतातर्फ तीव्र रूपमा उन्मुख गरायो । गान्धीको नेतृत्वमा भारतीय स्वाधीनता संग्रामले नयाँ उचाइ प्राप्त गरेको थियो । प्रजातन्त्र, समाजवाद, साम्यवाद, गान्धीवाद र फासीवादले किशोर तथा युवा पिंढीलाई नित्य उत्प्रेरित गर्दै थियो । त्यसै कालावधिमा काशी विश्वविद्यालयमा अध्ययनरत युवा विश्वेश्वरप्रसाद कोइराला राजनीतिमा दीक्षित एवम् शिक्षित हुनुभयो ।

१९४७ इस्वीमा बीपीले नेपाली राष्ट्रिय कांग्रेस स्थापनाको आयोजना गर्नुभयो । संस्थापक कार्यकारी अध्यक्ष छानिनुभयो । तरुण कोइरालाको विचारधारा स्पष्ट थियो– प्रजातान्त्रिक समाजवाद । बीपीले ग्रहण गरेको प्रजातान्त्रिक समाजवाद तत्कालीन भारतीय जनआन्दोलनको विशिष्ट उपज थियो । पश्चिमी युरोपका अधिकांश मुलुकमा सोसल डेमोक्रेटिक पार्टीहरू थिए तर भारतीय माटामा विकसित भएको प्रजातान्त्रिक समाजवाद त्यसको अनुवाद थिएन । आचार्य नरेन्द्र देव, जयप्रकाश नारायण, आचार्य कृपलानी र डा. राममनोहर लोहियाले मिहिनेत गरेर भारतीय उपमहाद्वीप सुहाउँदो प्रजातान्त्रिक समाजवादको भाष्य निर्माण गरेका थिए ।

मानिस र समाज एकसाथ अतीत र भविष्यमा बाँचेका हुन्छन् । तदनुरूप प्रजातान्त्रिक समाजवादले भारतीय उपमहाद्वीपको परम्परा र परिस्थितिलाई आत्मसात् गर्ने कोसिस गरेको थियो । प्रजातान्त्रिक समाजवादका सबै व्याख्याता समान सोच राख्दैनथे । आचार्य नरेन्द्र देव, जयप्रकाश नारायणका उपर कार्ल माक्र्सको विशेष प्रभाव थियो । आचार्य कृपलानी र डा. लोहियामा गान्धीको प्रभाव थियो । बीपीको यी सबै मनिषीसँग उठबस थियो । जीवनको आखिरी वर्षताका चिन्तनका दृष्टिले आफू गान्धी र माक्र्सको कोक्रामा झुल्नु–भुल्नुभएको बीपीले बताउनुभएको छ ।

नेपाली राजनीतिमा बीपी झन्डै ४० वर्ष सक्रिय रहनुभयो । उहाँको जीवन विकट संघर्षको इतिहास रह्यो । अनशन, सत्याग्रह, संसद्, सडक र सशस्त्र संघर्षका यावत् माध्यम उहाँले अंगीकार गर्नुभयो । घटनाक्रमको चापमा उहाँको सोच, रणनीति र कार्यनीतिमा अनेकन परिवर्तन आए । मानव–मूल्य र प्रजातन्त्रप्रतिको उहाँको आस्था मात्र भने सर्वदा अटल रह्यो ।

बीपीको देहान्त २१ जुलाई १९८२ मा भयो । त्यसको ७ वर्षपछि सोभियत युनियन विघटन भयो । सोभियत युनियन विघटन सामान्य घटना थिएन । प्रसिद्ध इतिहासकार एरिक हाबसहामले यस विघटनका साथ बीसौं शताब्दीको प्राणान्त भएको दावा गरेका छन् । बाँकी वर्ष मानौं बीसौं शताब्दीको काजकिरियामा बितेका हुन् ।

१९८९ इस्वीले विश्व राजनीतिको चरित्र हठात् फेरिदियो । सोभियत युनियन विघटनको अघिल्लो घडीसम्म पनि त्यो व्यवस्था भित्रभित्रै यस्तो मक्किएको छ भन्ने आभास थिएन । सोभियत युनियनलाई जेजस्तो भए पनि समाजवादको एउटा स्वरूपका रूपमा प्रचारित गरिएको थियो । उसको विश्वव्यापी प्रभाव थियो । त्यस रापतापमा विश्वमा कल्याणकारी राज्य, भीमकाय उद्योगको राष्ट्रियकरण र निर्देशित बजार व्यवस्थाका सिद्धान्त लोकप्रिय थिए ।

भूमण्डलीकरण थियो तर आक्रामक थिएन । ‘भूमण्डलीकरण’ नभएको होइन, थियो तर आजको यो दारुण रूप थिएन । १९८९ को वर्ष नेपालका निम्ति पनि काल विभाजक समय हो । यसै वर्ष गणेशमान सिंहको नेतृत्वमा कांग्रेस र कम्युनिस्टले साझा मोर्चा बनाए । कृष्णप्रसाद भट्टराई–महेन्द्र नारायण निधि प्रभृत्तिले मुलुकभित्रै रहेर जनआन्दोलन गरेर प्रजातन्त्र बहाल गर्न सकिन्छ भन्ने तर्क गरिरहेका थिए । त्यो चरितार्थ भयो । नेपाली कांग्रेसको आह्वानमा प्रथम जनआन्दोलन सफल भयो । बहुदलीय प्रजातन्त्र पुन:स्थापना भयो । विश्व राजनीतिले नेपालको आन्तरिक व्यवस्थालाई भने पनि प्रभावित गर्दै लगिरहेको अवस्था थियो, त्यो आफ्नो ठाउँमा छ ।

बीपी मूलत: समन्वयवादी राजनेता हुनुहुन्थ्यो । राष्ट्रिय कांग्रेस गठन लगत्तै सेप्टेम्बर १९४८ मा बनारसबाट प्रकाशित युगवाणीमा ‘हाम्रो ध्येय’ भन्ने उहाँको लेख छापिएको थियो । तत्कालीन परिवेशमा श्री ३ महाराज, श्री ५ महाराजधिराज सबैलाई अटाउने गरी उदारवादी प्रतिनिधिमूलक लोकतन्त्र कायम गर्न सकिन्छ भन्ने उहाँको तर्क थियो । जीवनका आखिरी वर्षहरूमा राष्ट्रिय मेलमिलाप आह्वान गरेर यही भावनालाई पुन:जीवित गर्नुभएको थियो ।

शाहवंशले त्यस आह्वानको मर्म बुझ्न सकेन । स्थापनाका दिनदेखि नेपाली कांग्रेस संवैधानिक राजतन्त्रको पक्षधर थियो । मानौं यो उसको जन्मखत थियो । संवैधानिक राजतन्त्र एउटा ऐतिहासिक आवश्यकता नभएर मूलभूत आस्थाको प्रश्न पो हो कि जस्तो मनस्थितिमा कांग्रेस बाँचेको थियो । बीपीले कुनै समय राजा र आफ्नो घाँटी जोडिएको कुरा कांग्रेसका लागि कुनै समय मन्त्रजस्तो भएको थियो । मन्त्रविद्ध कांग्रेस हिजोको विविध र विकट संकटको इतिहासबाट विमुख भएको थियो । सहिद दुर्गानन्द झाको बलिदानदेखि राष्ट्रिय मेलमिलापसम्मको उतारचढावको इतिहास तत्कालका निम्ति ओझेलमा परेको थियो ।

समयको नियम परिवर्तन हो । समय र कालको प्रहारमा देश र समाज नित्य मर्छन् । फेरि जन्मन्छन् । इस्वी १९१४ को नेपाल १९५१ इस्वीमा रहेन । १९६० को नेपाल १९९० इस्वीमा मृत भयो । १९९० को नेपाललाई नवनिर्वाचित संविधानसभाले २००७/०८ मा तिलाञ्जली दियो ।

२००९ सालको जनकपुर अधिवेशनको पूर्वसन्ध्यामा अग्रज मातृकाप्रसाद कोइराला नेपाली कांग्रेसको सभापति तथा नेपालको प्रधानमन्त्रीसमेत हुनुहुन्थ्यो । अनुज बीपीले त्यस महाधिवेशनको अध्यक्षता दाबी गर्नुभएको थियो । चुनावी तयारीको सिलसिलामा उही युगवाणीमा उहाँको एक गहन लेख प्रकाशित छ । हाम्रो आगामी कदम भन्ने उहाँको त्यस लेखमा इतिहासको गतिको व्याख्या छ । अग्रज र अनुजमा केही आधारभूत मतभेद थियो ।

राजा त्रिभुवनको चुलिँदै गएको महत्त्वाकांक्षालाई कसरी हेर्ने भन्ने कुरो मतभेदको प्रमुख मुद्दा थियो । निरंकुश राजतन्त्र युगधर्म हुँदै होइन भन्ने बीपीको जिकिर थियो । युगको माग नबुझ्ने पार्टी इतिहासबाट बिलाएर जान्छ । जनताको ढुकढुकी छाम्न नसक्ने पार्टी पतन हुन्छ । तर्क दिँदै जाँदा बीपीले चीनको ऐतिहासिक पार्टी कोमिङताङको उल्लेख गर्नुभएको छ ।

चिनियाँ समाजको ऐतिहासिक माग बुझ्न नसक्दा कोमिङताङ समाप्त भयो । राजालाई काँध थाप्ने मातृका बाबुको पछाडि लाग्दा कांग्रेस पनि यस्तै हुनेछ भन्ने बीपीको चेतावनी थियो । बीपीले कांग्रेसलाई मातृकाको बाटोमा जान दिनुभएन । त्यसैले कांग्रेस आज पनि जीवित छ । नेपाली कांग्रेसले गणतन्त्र स्वीकार गर्दा बीपीको त्यस शिक्षालाई पालन गर्‍यो ।

२००७ सालमा राजा त्रिभुवनद्वारा संविधानसभाको चुनाव हुने घोषणा भएको थियो । त्यो भएन । ६० वर्षको संघर्षपछि नेपालीले संविधानसभा प्राप्त गरे । नेपाली समाजमा विद्यमान आस्था, पहिचान र विभेद भएका समेतको संविधानसभामा प्रतिनिधित्व भयो । संविधानसभाले नेपाललाई संघीय गणतान्त्रिक राज्य बनायो । राष्ट्रिय राज्यको विवेकसम्मत आधुनिक परिभाषा अंगीकार गर्‍यो । पहिचानका प्रश्नमा केही मतान्तर अझै छ । संघीयता क्रियान्वयन प्रक्रिया टुंगिएको छैन । नेपाली कांग्रेसले यी दुवै मुद्दालाई बहन गर्नु आवश्यक छ ।

राजा महेन्द्रको अधिनायकवादी महत्त्वाकांक्षालाई हिन्दुत्वको आडम्बरले ठूलो भरथेग दिएको थियो । बीपी कोइरालाले प्रजातन्त्र पुन:स्थापनाका निम्ति विकट लडाइँ गर्नुपरेको थियो । त्यस लडाइँका दर्मियान हिन्दुत्वको राजनीतिक अभिप्राय बेलैमा आंैल्याउनुभएको थियो । एक दिन वाक्क भएर उहाँले भन्नुभयो– ‘नेपाललाई हिन्दु राष्ट्र भन्नु झेली हो ।’ २० जुलाई १९७९ मा विक्ली मिरर भन्ने साप्ताहिक पत्रिकालाई दिइएको अन्तर्वार्ता आज पनि पठनीय छ ।

नेपाल धर्मनिरपेक्ष राष्ट्र घोषित भएको सन्दर्भमा कतिपय क्षेत्रमा अझै असन्तोष देखिन्छ । कांग्रेसभित्र समेत यसबारे थोर–बहुत आवाज उठ्ने गरेको छ । असन्तोषका पक्षमा तर्क अवश्य छ । राष्ट्रिय महत्त्वका गहन प्रश्नलाई जनतामाझ लगेर छलफल गराउनुपर्छ भन्ने अन्तरिम संविधानको आग्रह थियो । त्यो भएन । संविधानसभाभित्र सदस्यहरूलाई अन्तरात्माको आवाज बोल्न दिइएन ।

हतास–हतार मनस्थितिले शीर्षस्थ नेतृत्व ग्रस्त थियो । संविधान लेखनभन्दा पनि कुर्सीको आकांक्षा बलियो थियो । फास्ट ट्रयाकका नाउँमा जनसंवादको उपेक्षा भयो । फलस्वरूप धर्मनिरपेक्षता घोषणाको प्रक्रियागत पक्षमा प्रश्न उठाउने साथीहरू आपत्ति सर्वथा उचित छ ।

तर एक्काइसौं शताब्दीमा धर्म प्रधान राज्यको कल्पना मात्र पनि हास्यास्पद हो । फ्रान्सका प्रसिद्ध राजनेता कार्डिनल रिसलु (१५८५–१६४२) ले कूटनीतिको इतिहासमा सर्वप्रथम आधुनिक राज्यको अवधारणा अगाडि सारेका हुन् । तत्कालीन युरोप रक्तरञ्जित धर्मयुद्धको विभीषिकामा पिल्सिएको थियो । कार्डिनल रिसलुले बाटो देखाए ।

न्युटन र ग्यालिलियोले विज्ञानमा गरेको काम रिसलुले राजनीतिमा गरे । तर धर्मका नाउँमा विश्वका विभिन्न भागमा अझै पनि राजनीति गरिँदै छ । त्यसो त पृथ्वी चेप्टो छ भन्ने समूह पनि उपस्थित छन् । पाकिस्तान, अफगानिस्तानदेखि इराक, इरानसम्म हामी धर्मको वितण्डा देख्दै छौँ । जे जसरी भएको भए पनि नेपालले अब धर्ममुखी राजनीति गर्न सक्दैन । हिन्दु पद्धतिबाट काजकिरियासमेत गर्न नचाहने विश्वेश्वरप्रसाद कोइरालाका शिष्य समूहले हिन्दु पुनरुत्थानवादलाई टेवा दिनु हुँदैन ।

संविधानले संघीय राज्य, समावेशिता र समानुपातिकको परिकल्पना गरेको छ । आरक्षण व्यवस्था गरेको छ । पहिचानलाई सैद्धान्तिक रूपमा भए पनि मान्यता दिएको छ । उदारवादी प्रजातन्त्रको रूढ परम्परामा यस्ता अभिनव प्रयोग मान्य नहोलान् । प्रत्येक देश र समाजको आफ्नो विशिष्ट परम्परा हुन्छ । त्यस परम्पराका राम्रा/नराम्रा पक्ष हुन्छन् ।

लक, वेन्थम र मिललाई जाति प्रथाको अभिशापको संज्ञान थिएन । क्रान्तिकारी माक्र्सलाई समेत थिएन । भारत र नेपालमा प्रयोगशील आरक्षणको सिद्धान्तले उदारवादको आदर्शलाई अझ व्यापक बनाएको मात्र हो । बीपी कोइरालाले २०१५ सालको मन्त्रिमण्डल बनाउँदा समावेशिताको एउटा उदाहरण पेस गर्नुभएको थियो । त्यस उदाहरणलाई यसपटक सिद्धान्तमा समेत उतारिएको छ ।

सामान्यत: राजनीति तर्क र विवेकमा चल्नुपर्ने हो तर चल्दैन । राजनीतिमा शुष्क तर्कभन्दा भावना र भावनाभन्दा समूह–स्वार्थ बलियो हुन्छ । महापुरुषहरू सुस्तरी इतिहासभन्दा पनि पौराणिक पात्र हुन पुग्छन् । महापुरुषहरूको त्याग, तपस्या र बलिदानका कथाले नयाँ पुस्तालाई प्रेरणा दिन्छ । त्यहाँसम्म त ठीक छ तर कुनै महापुरुषको कुनै उद्धरणले समसामयिक समस्या हल गर्न सकिन्छ भन्नु भ्रम हो । महापुरुषले बाटो औंल्याउन सक्छ तर लक्ष्यमा समेत उसैले पुर्‍याओस् भन्ने आशा राख्नु हुँदैन । लक्ष्य अझै टाढा छ, यो बिर्सनु हुँदैन । प्रत्येक नेपाली साँचो अर्थमा स्वतन्त्र नहुँदासम्म यात्रा जारी रहनेछ ।

बीपीसँग सुन्दरीजल काराबासमा थुनिएकामध्ये योगेन्द्रमान शेरचन सर्वाधिक अध्ययनशील हुनुहुन्थ्यो । बीपी र गणेशमानले उहाँलाई जीवित विश्वकोषको संज्ञा दिनुभएको थियो । शेरचनले काराबासमा लेखेको डायरीका केही अंश प्रकाशित भएका छन् । एउटा अंश यसप्रकार छ : ‘मलाई आफ्नो सिद्धान्त र आदर्शका लागि जेलमा बस्नुपरेकामा दु:ख छैन । अरू कैयौं साल यहाँ बिताउन सक्तछु । केवल दुई–एकले त्यागमा हुनुपर्ने आत्मसन्तोष हुन दिएको छैन ।

एक, प्रजातन्त्र र जनप्रतिनिधिमूलक संसदीय शासन प्रणालीबारे मोटामोटी धारणा शिवाय हाम्रा नेताहरूमा समेत लक्ष्य प्राप्त गर्ने मार्ग र उपायबारे कुनै निश्चित र स्पष्ट धारणाको अभाव । दोस्रो, विदेशिएका साथीहरू र यहाँ रहेका साथीहरूको बीचमा कुनै सम्बन्ध र सरोकारको अभाव । तेस्रो, यहाँ कुनै ठंडा दिमागले सरसल्लाह र आचार/विचार गर्ने बानी र परम्पराको अभाव । चौथो, आचार/विचार बानी–व्यहोराबाट हामी पनि सर्वसाधारण मानिसभन्दा धेरै माथि उठेका रहेनछौँ भन्ने ज्ञान ।’ (२६ सेप्टेम्बर १९६५ जेल डायरी, राष्ट्रिय पुनर्जागरण मासिक, २०४४ चैत)।

यताका वर्षहरूमा बीपीको देवत्वकरण भएको छ । मूर्ति पूजाका कट्टर विरोधी देवत्वकरणबाट बचेनन् । बीपीको के चल्थ्यो † गौतम बुद्धले मर्नुअघि भनेका थिए, ‘आफ्नो गुरु आफैँ बन ।’ तर भक्तगणले गौतम बुद्धलाई गुरु मात्र होइन, भगवान् बनाए । बीपीका साथ यस्तै हुने खतरा छ । सम्झनुपर्ने यति छ बीपी मनुष्य हुनुहुन्थ्यो । एउटा मनुष्यमा हुने सबै गुण/दोष उहाँमा पनि थिए तर एउटा अतिरिक्त गुण थियो । उहाँ आफ्ना लागि होइन, अरूका लागि बाँच्नुभयो । योगेन्द्रमान शेरचनका निराशा सामयिक मात्र थिए । आज स्वर्गीय शेरचन हुनुहुँदो हो त बीपीको ऐतिहासिक भूमिका सराहनाको हकमा स्वयम् उहाँले निम्न शेर अवश्य दोहोर्‍याउनुहुन्थ्यो ।

रहवर राह मुसाफिरको दिखा देता है, मन्जिल पे ही पहुँचाए जरुरी तो नही ।

प्रकाशित : भाद्र २४, २०७५ ०८:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्