वामपन्थी पुस्तकका पाठक

नेपालमा वामपन्थी सिद्धान्त र साहित्यमा समर्पित पुस्तक पसलहरू कि बन्द भइसकेका छन् कि आफूलाई बजारको माग अनुसार ढाल्न बाध्य भएका छन् ।
शिशिर वैद्य

काठमाडौँ — ‘अनुभव भएकाहरूले पनि सिद्धान्तको अध्ययनमा लाग्नैपर्छ र गम्भीरतापूर्वक पढ्नैपर्छ । अनिमात्र उनीहरू आफ्नो अनुभवलाई व्यवस्थित पार्न तथा सार रूप दिन र सिद्धान्तको स्तर उठाउन समर्थ हुनेछन् ।’
के आजका कम्युनिष्ट/वामपन्थी/मार्क्सवादी/लेनिनवादी/ या माओ विचारधारामा विश्वास राख्नेहरू कसैले पनि माओत्सेतुङका उपरोक्त उक्ति अनुशरण गर्छन् ?

वामपन्थी पुस्तकका पाठक

सैद्धान्तिक पुस्तक अध्ययनमा रूचि राख्छन् ? कस्तो छ वामपन्थी र कम्युनिष्ट साहित्यको वर्तमान नेपाली बजार ?


पुस्तकप्रेमी भन्छन्– ‘पुस्तक पसल सुमधुर संयोगको अखडा हो । नयाँ, पुराना लेखकहरू, नयाँ विचारहरू, धारणाहरू पुस्तकाकृत भएर बसेको हुन्छ, त्यहाँ ।’ पुस्तक कारोबारले पढ्नेको संख्या र प्रवृत्ति थाहा पाउन मद्दत गर्छ । तर नेपालमा वामपन्थी सिद्धान्त र साहित्यमा समर्पित पुस्तक पसलहरू कि बन्द भइसकेका छन् कि आफूलाई बजारको माग अनुसार ढाल्न बाध्य भएका छन् । बजारको माग अर्थात् स्कुल, कलेज, लोकसेवा तयारी, पत्रपत्रिका र स्टेसनरी आदि सामग्री ।


बागबजारस्थित ‘प्रगति पुस्तक’का भूपनारायण पोखरेलले आफ्नो पसलबाट वामपन्थी सिद्धान्त र साहित्यका पुस्तक विस्तारै घटाउँदै गएका छन् । प्रकाशक समेत रहेका पोखरेलले वामपन्थी सिद्धान्तका पुस्तक प्रकाशन नगरेको वर्षौं बितेको छ । भन्छन्– ‘बिक्री नै हुँदैन, कोही खोज्नै आउँदैनन् । छापेर थन्क्याउन किन लगानी गर्ने ।’ पोखरेलका अनुसार हप्तामा एक–दुई अलि पाका र पुराना वामपन्थी केही नयाँ पुस्तक छ कि भनी सोध्दै आउँछन्, नत्र लगभग शून्य छ, बिक्री । नयाँ पुस्ता ? उनी तर्किंदै भन्छन्– ‘पढ्दैनन्, कोही पढ्दैनन् । सबै कमाउन लागेका छन् ।’ पोखरेल बेला–बेला पसल बाहिर टेबलमा वामपन्थी साहित्य र सिद्धान्तका पुराना पुस्तक पसार्छन् । कहिले दस रूपैयाँ मूल्य तोक्छन्, कहिले बीस । पढ्ने रूचि भएका कार्यकता नभएपछि जतिसुकै कम मूल्यमा पुस्तक पसारे पनि बिक्री नहुँदो रहेछ भन्छन् उनी ।


अद्वैत मार्गमा ‘पुस्तक संसार’ सञ्चालन गरिरहेका गुणप्रसाद आचार्यको जवाफ पनि उस्तै छ । आचार्य पहिले वामपन्थी सिद्धान्त र साहित्य बिक्री गर्न कलकत्ता, दिल्लीसम्म पुग्थे । बुटवल, झापा, चितवन, जनकपुर आदि स्थानमा भएका कुनै पनि सभा–समारोहमा हजारौं पुस्तक बिक्री गरेको सम्झना छ उनलाई । हाताहात बिक्री हुन्थ्यो । तर अहिले परिस्थिति त्यस्तो छैन । बिहान ५:३० मा खुल्ने उनको पसलमा वामपन्थी साहित्य र सिद्धान्तका पुस्तक खोज्न विरलैमात्र छिर्छन्, ग्राहक । पसलमा न्युन संख्यामा छन्, यस्ता पुस्तक । पछिल्लो चरणमा वामपन्थी पुस्तक प्रकाशनमा अलि नाम चलेको संस्था हो, ‘जागरण प्रकाशन’ । अद्वैत मार्गमै रहेको यस प्रकाशन गृहले पनि वामपन्थी पुस्तक प्रकाशन कम गरेको छ । थुप्रै वामपन्थी पुस्तक प्रकाशन गरिसकेको जागरण प्रकाशनको प्राथमिकता अहिले फेरिएको छ ।


बागबजारमा रहेको ‘विश्व नेपाली पुस्तक पसल’ वामपन्थी र कम्युनिष्ट साहित्यको प्रचार–प्रसारमा डटेर लाग्ने प्रणका साथ सुरु गरिएको थियो । एकीकृत वामपन्थी साहित्य प्रकाशन गृहका रूपमा विकास गर्न । यसको उद्देश्य थियो– वामपन्थी साहित्य र सिद्धान्तका पुस्तकको प्रकाशनमा चलिरहेको अस्वस्थ प्रतियोगिताको समाप्ति । प्रतियोगिता समाप्त त भएन, तर विश्व नेपाली आफै अर्को एक प्रकाशकका रूपमा बजारमा थपियो । स्वामित्व हस्तान्तरणको क्रम र केही वर्षको प्रकाशन र वितरण कार्यपछि उक्त पसल पनि वामपन्थी पुस्तक पसल रहेन ।


अहिले भूपनारायण र गुणप्रसादहरूले भोगिरहेको वामपन्थी साहित्य बिक्रीको शून्यता मैले तीन दशकअघि भोगिसकेको थिएँ । अलिअलि अक्षर चिन्ने भएदेखि पढ्न जानेका शब्दहरू थिए– माक्र्स, एंगेल्स, लेनिन, स्टालिन, माओ, होची मिन्ह, चाओ एनलाई, तेङ सियाओपिङ, किमइल सुङ, गोर्की, लुसुन, टोल्सटोय आदि । नेपाली नेताहरू र लेखकहरूमा पुष्पलाल, शम्भुराम, कृष्णदास श्रेष्ठ, मोदनाथ प्रश्रित, खगेन्द्र संग्रौला, शान्तदास मानन्धर, केवलपुरे किसान, रघु पन्त, मञ्जुल, रामेश, नकुल सिलवाल, सिद्धेश्वरमान श्रेष्ठ आदि । घरका दुई कोठा पुरै यस्तै र यिनै लेखकहरूका पुस्तकले भरिएका हुन्थे । दुई मध्ये एक कोठामा छिर्न हामीलाई वर्जित थियौं । बुबाले पसल सुरु गर्दा नेपालमा वामपन्थी साहित्य बेच्नु अपराध थियो । मानिसहरू पसलमा छिर्न हिच्किचाउँथे ।


त्यसैले चिनियाँ साहित्यिक पत्रपत्रिकाको आडमा अन्य पुस्तक पत्रिका बिक्री–वितरण हुन्थ्यो । विस्तारै चीन, भियतनाम, रूस, कोरिया आदि देशका साहित्य नेपालीमा अनुवाद र प्रकाशन हुनथाले । बिक्री–वितरणको केन्द्र थियो, वैद्य दाइको पसल अर्थात् ‘प्रगतिशील पुस्तक भण्डार, भोटाहिटी’ । मेरो अनुभवमा वामपन्थी साहित्य र सैद्धान्तिक पुस्तकका पाठक त्यो समयमा पनि कम नै थिए । त्यतिबेला बन्द समाज, कम्युनिष्ट पुस्तक किन्न र पढ्न असहजताको प्रमुख कारण थियो ।


तर जब–जब आन्दोलन हुन्थ्यो, आमसभाहरू हुन्थे, पुस्तकको बिक्री ह्वात्तै बढ्थ्यो । २०४६ सालको आन्दोलन लगत्तै वामपन्थी पुस्तकको माग एकाएक बढ्यो । जिल्ला–जिल्लाबाट आएको माग धान्न धौधौ पथ्र्यो । धनकुटा, धरान, विराटनगर, इटहरि, दमक, विर्तामोड, लहान, जनकपुर, वीरगन्ज, नारायणगढ, बुटवल, बाग्लुङ, पाल्पा, पोखरा, स्याङजा, नेपालगन्ज, भैरहवा, सुर्खेत आदि स्थानमा व्यापक रूपमा पुस्तक जान्थे । चीनबाट अंग्रेजीमा प्रकाशित माओ, लेनिन, स्टालिनका रचना एवं विभिन्न पत्रपत्रिका कलकत्ता, चेन्नई, दिल्ली, लखनऊ आदि भारतीय सहरहरूमा पठाइन्थ्यो ।


चीनबाट आउने एकमात्र राजनीतिक विचारधारा सहितको पत्रिका थियो, ‘पेकिङ रिभ्यु’ । थुप्रै नेता छद्म नाममा ग्राहक बनेका थिए । हरेक पत्रिका अञ्चलाधीश कार्यालयबाट सेन्सर गराएपछि मात्र बिक्रीका लागि राख्न पाइन्थ्यो । २०४७ सालको अन्त्यसँगै पुस्तक बिक्रीको ग्राफ एकाएक घट्यो । २०५२ सालमा माओवादी युद्ध सुरु भएसँगै माओका रचना र कम्युनिष्ट साहित्यको माग बढ्न थाल्यो । तर प्रशासनलाई माओको म उच्चारणले पनि तर्साउँथ्यो । पुस्तक बोक्नु, पढ्नु खतरनाक !

वरिष्ठ लेखक, बुद्धिजीवी एवं नेता कृष्णदास श्रेष्ठ कम्युनिष्ट भनेर चिनिने नेता–कार्यकर्तामा आएको पठन शून्यताप्रति चिन्ता व्यक्त गर्छन्, ‘कसले पढ्छ, अब माक्र्सवादका पुस्तक, सब पद र पैसाका पछाडि लागेका छन् । नेताहरूलाई वास्तै छैन । यही क्रमले त नेपाली परिवेशमा माक्र्सवादको विउ जोगाउनै समस्या भइसक्यो ।’ २०३५ सालदेखि माक्र्सवाद सम्बन्धी पुस्तक लेखन र अनुवाद सुरु गरेका श्रेष्ठ यस अघि भूमिगत नाममा पुस्तक लेख्थे, अनुवाद गर्थे ।


माओवादी युद्धको उत्कर्षमा कार्यकर्ताहरू पुस्तकका लिष्ट बोकेर पसल–पसल चहार्थे । लुकी–लुकी भए पनि पुस्तक खोज्दै पढ्नेहरू थिए । अहिले अवस्था त्यस्तो छैन । पुस्तकहरू खुल्लमखुल्ला पाइन्छ । तर पाठक छैनन् । किन घट्दैछन् त पाठक ? किन पढ्दैनन् त कार्यकर्ता ? जब नेताहरू नै पढ्न छाड्छन्, कार्यकर्तालाई के पढ्न सुझाउन् उनीहरूले भन्छन् भूपनारायण पोखरेल । वरिष्ठ लेखक खगेन्द्र संग्रौला भन्छन्– ‘नवउदारवाद आएपछि मानिसहरू उपभोक्तावादी भए । छिटो आर्जन गर्ने, छिटो भोग गर्ने, मोज गर्ने प्रवृत्ति बढ्यो । पढ्ने–लेख्नेप्रति कसैको वास्ता भएन । पार्टीका नेताहरूले नै पढ्न छाडेपछि कार्यकर्ताले पढ्ने कुरै भएन ।’


युवा विश्लेषक एवं लेखक उज्ज्वल प्रसाईंको विश्लेषण पनि उस्तै छ– ‘जब पार्टीभित्र विचार र सिद्धान्तको बहस हुन छाड्छ, पार्टी प्रशिक्षण क्षणिक र सीमित विषयमा संकुचित हुन्छ, कार्यकर्ताले पढिरहनुपर्ने आवश्यकता देख्दैनन् । नेताको जयगान गाए विभिन्न पदमा पुग्ने भएपछि पढेर ज्ञानी भइरहनुपर्ने आवश्यकतै रहँदैन ।’ नेकपा (ने.क.पा.) का नेता एवं विश्लेषक घनश्याम भुषालले हालै एक बहसमा आफूहरू नयाँ पिढीलाई माक्र्सवाद पढाउने र पुरानालाई पुनर्ताजगी गराउने अभियानमा लागेको बताए । उनले बहसमा बोलेका पूर्व संकेतले वास्तविक रूप पाइसकेको छ । हालै भक्तपुरको खरिपाटीमा मदन भण्डारी एसियाली विद्यालय सञ्चालनमा आएको छ । कम्युनिजम पढाउने विशेष विद्यालय स्थापित भएको छ ।


माक्र्सवाद, लेनिनवाद र कम्युनिजमका बारेमा कार्यकर्ताहरूमा घट्दै गएको पठन संस्कृतिलाई उकास्न विद्यालय खुलेको छ । तर वर्तमान पुस्तक बजारको बिक्री शून्यताले दिने सन्देश भनेको चैं– ‘जब विचार र सिद्धान्तको बहसलाई समृद्धि र आर्थिक विकासका सपनाले अँचेट्छ, पाठकहरू त्यसै हराउन थाल्छन् ।’

प्रकाशित : आश्विन १३, २०७५ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?