प्रतिभा पलायन कि निर्यात ?

हाम्रो मुलुक सधैं योग्य व्यक्ति निर्माण गर्ने कारखाना अनि निर्यात गर्ने कम्पनीमात्र बनिरहने ?
डा. अजय रिसाल

काठमाडौँ — ‘सर, म त म्याच भएँ नि । मेडिसिनमा पाएँ,’ एउटी आशालाग्दी विद्यार्थीले अमेरिकामा ‘रेसिडेन्सी’ अर्थात् ‘एमडी’ गर्ने अवसर पाएको गर्वसाथ सुनाइन् । आफ्नो छात्राले राम्रो अवसर पाएको अनि ‘रिकमेन्डेसन’ सफल भएकोमा एक मन खुसी भयो । तर अर्को मन दु:खी भयो, ‘एक होनहार चिकित्सकले नेपाल छाड्ने भइन् भनेर ।’

प्रतिभा पलायन कि निर्यात ?

करिब ६ महिनाजति अघिको समाचार सम्झिएँ † एक आसलाग्दा क्रिकेट खेलाडी इन्डियन प्रिमियर लिगमा अनुबन्धित भए । उनलाई बधाई दिन सामाजिक सञ्जालमा ‘छुटौंला कि ?’ भनेझैं भावमा देशका गिने–चुनिएकाहरू लामबद्ध हुनपुगे । राजनीतिक दलका शीर्षनेता, उद्योगपति, व्यापारी, पत्रकार आदि † तत्कालीन प्रधानमन्त्रीसमेत । व्यक्तिगत रूपमा तिनको सफलता सानो होइन ।


खेल खेलेरै हातमुख जोर्न धौधौ पर्ने देशमा जन्मिएका उनी जुन उचाइमा पुग्दैछन्, यस मानेमा ती बधाईकै पात्र हुन् । तर व्यवस्थापकीय र कार्यकारिणी अधिकारको डाडु–पुन्यु हातमा लिएकाहरूले एकपटक सोच्नुपर्ने थियो– मुलुकको ‘क्रिकेट काउन्सिल’ अप्ठेरोमा छ । अन्तर्राष्ट्रिय क्रिकेटले मुलुकका खेलाडीलाई पत्याएको छ । तर क्रिकेट सम्हाल्ने संस्था डामाडोल अवस्थामा छ, धराशायी हुँदैछ । यस्तोमा मुलुकको इज्जत के होला ? सम्भावना योग्य खेलाडीलाई अन्य मुलुकको क्लबमा खेल्न जाँदा वाहवाही या बाइबाइ मात्र गरिरहने या आफ्नै मुलुकमा ती खेलाडीलाई खेल्न, बस्न, हुर्कन अनि परिवार पाल्न योग्य वातावरण सिर्जना गर्नतिर लाग्ने ?


कुरा ती छात्राको अनि ती खेलाडीको मात्र होइन । न स्वास्थ्य/शिक्षा या क्रिकेटको मात्रै हो । अमेरिका राम्रो ठाउँ हो, मेडिकल विद्यार्थीका लागि । अनि ‘आईपीएल’ राम्रै अवसर हो, हाम्रा खेलाडीका लागि । कुरा हाम्रो देशको समग्र प्रवृत्तिको हो, यस मानेमा भने चित्त दुख्छ ।


हाम्रो मुलुक सधैं योग्य व्यक्ति निर्माण गर्ने कारखाना अनि निर्यात गर्ने कम्पनीमात्र बनिरहने ? समर्थ युवा, सक्षम इन्जिनियर, उत्कृष्ट डिग्री हासिल गरेका डाक्टर, जाँगरिला किसान, बलिया सिपाही, सफल व्यापारी भने सधैं विदेश जाने ‘प्ल्याटफर्म’ मात्र खोजिरहने ? बाबुआमाले खुनपसिना बगाएर छोराछोरी शिक्षित बनाउने अनि सपना भने ‘उनीहरू अन्य राम्रो (?) देशमा स्थापित हुन्’ भन्नेमात्र देख्ने ? आफू बुढाबुढी भइसकेपछि एक्लै घरमा बसेर स्काइप या भिडियो च्याटमा मात्र छोराछोरीलाई भेट्न विवश भइरहनुपर्ने ? कहाँ जाँदैछौं हामी ? को रहन्छ, अब मुलुकमा ? राजनीति गर्नसक्ने नेता–अभिनेताहरू, विदेश जाने योग्यता हासिल गर्ने शिक्षा पाउन आतुर १६ वर्ष मुनिका स्कुले बालबालिका अनि छोराछोरी सब विदेशिएपछि घर रुङ्न बाध्य वृद्धवृद्धा बाबुआमा मात्र ?


साँच्चै ठूलै पीडा हुन्छ, हामीजस्ता गुरुले पनि योग्य छात्रछात्रालाई विदेश जाने सल्लाह दिनुपर्दा । अचम्म लाग्छ, खेलाडीलाई मुरीमुरी बधाई दिन ट्विटरमा देशका नीति निर्माता नै तँछाड–मछाड गरिरहेको देख्दा । पीर लाग्छ, मलाई, जाजरकोटमा भाइरल ज्वरोको प्रकोपले मान्छे मरिरहँदा भविष्यका चिकित्सकहरू अमेरिकी भिसाका लागि रोइकराइ गरिरहेको सम्झँदा । गाउँघरका बाँझा खेत र एयरपोर्टमा खाडी मुलुकमा मजदुरी गर्न जाने युवाहरूको बढ्दो लामबीच खोइ सामञ्जस्य ? देशको वास्तविक नीति के हुनुपर्ने होला ?


योग्य प्रतिभालाई ‘बाइबाइ’ गर्ने कि हाम्रै मुलुकमा उत्कृष्ट जीवनयापन गर्नसक्ने व्यवस्था गर्नतिर लाग्ने ? योग्य खेलाडी आफ्नै नेपाली टिम दक्षिण एसियाकै उत्कृष्ट बन्दा बढी गौरवान्वित होलान् कि बाहिरी टिमको जगेडा खेलाडी भएर ‘ड्रेसिङ रुम’मा कुरिरहँदा ? चिकित्सक साथीहरू पनि विदेशमा कसैको ‘डिस्चार्ज स्लीप’ बनाउँदा बढी खुसी होलान् कि मुलुककै अस्पतालमा आफ्ना बाबुआमाको उपचार गर्दा ? खाडी मुलुकमा पसिना बगाउन विवश दाजुभाइ त्यहाँको रुखासुखा खाएर तृप्त होलान् कि आफ्नै घरको मोही–ढिँडो ? कसलाई रहर होला र † घरपरिवार त्यागेर ‘चालिस काटेसि रमाउँला’ भन्ने झुठो आश्वासनले भरिपूर्ण गीत गाउन ?


किन यसरी दिशाहीन भइरहेछ, हाम्रो मुलुक ? कहिलेसम्म सस्तो श्रमको निर्यातकर्ता भइरहने हामी ? छोराछोरी बेलायत या अमेरिकाबासी हुनपुग्दा बाबुआमा हृदयदेखि गौरवान्वित हुन्छन् होला त ? जानेहरूलाई पनि राष्ट्रऋणले पोल्दैन होला ? किन बगेर खेर जाने युवा–पसिना रोक्नेतर्फ पाइला चाल्दैन, सरकार ? किन गइसकेकालाई आफ्नै माटोमा फर्किएर आउने बनाउन सक्दैनौं, हामी ?


विदेश जानुलाई नराम्रोमात्रै भनेको किमार्थ होइन । आफ्नो योग्यता प्रदर्शन गर्न या अझ बढी श्रेष्ठता प्राप्त गर्न विदेश जानु अनिवार्य छ । तर युवा वर्ग सबैको ‘तन स्वदेशमा, मन विदेशमा’ रहँदा देशले कसरी उन्नति गर्ला ? वास्तवमा स्वदेशमै दिलोज्यान दिनेलाई विदेशले पनि सम्मान गर्न करै लाग्छ भन्ने डा. सन्दुक रुइतको उदाहरणबाट पुष्टि हुँदैन र †


प्रतिभा पलायन (कि निर्यात ?) जस्तो जटिल समस्याको कडी सरकारमै छ । अहिले विकसित हुँदै गरेको हाम्रो संस्कारमा छ । बाबुआमाले देख्ने गरेको सपनामा छ । विदेश जानेहरूलाई वाहवाही गर्ने तर स्वदेशमा रहनेहरूको योगदानलाई नगण्य सामाजिक परिपाटीमा छ ।


बाबुआमाले छोराछोरीलाई सानैदेखि ‘स्वदेशमै अवसर छ’ भन्ने उदाहरण देखाउन सक्नुपर्छ । स्कुलमा शिक्षक–शिक्षिकाले कलिला बालमस्तिष्कमा यसको प्रभाव बुझाउन सक्नुपर्छ । स्वदेशी कलकारखाना, उद्योगधन्दा, खेतीकिसानीले सरकारी तवरबाट प्रोत्साहन र बजारबाट उचित भाउ पाउन सक्नुपर्छ । स्वदेशी विश्वविद्यालयका उत्पादनलाई रोजगारीमा या पदोन्नतिमा प्राथमिकता मिल्नुपर्छ ।


विविध कारणले पलायन हुनपुगेका प्रतिभालाई फर्काएर उचित स्थान दिलाउने प्रतिबद्धता गरोस्, सरकारले । एयपोर्टमा विदेशिनेलाई विदाइ गर्नभन्दा स्वदेश फर्कनेलाई खादा–माला अनि ‘रेडकार्पेट’ ओछ्याएर स्वागत गर्ने वातावरण बनोस् । त्यस्तै विदेशमा अवसर पाउँदा वाहवाहीको ‘ट्रोल’ छाएजस्तै ‘आफ्नै गाउँ फर्की आएँ’ भन्नेलाई ‘स्वागतम्’ भन्ने ‘ट्रोल’ छाओस् ।


(लेखक धुलिखेल अस्पतालका मानसिक रोग विशेषज्ञ हुन् ।)

प्रकाशित : आश्विन १३, २०७५ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?