१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

घरेलु कामको सम्मान

विन्दु अधिकारी ढकाल

काठमाडौँ — हामीकहाँ घरायसी श्रम (काम) लाई उचित मान्यता दिइएको छैन । घरायसी श्रमबाट नगद आम्दानी हात पर्दैन । तैपनि परिवारको जिम्मा आफ्नो काँधमा लिनेले ऐया नभनी आफ्ना दस–नङ्ग्रा खियाइरहेका हुन्छन् । अर्थोपार्जन नदेखिने भएकाले घरेलु कामलाई सम्मान नगर्ने प्रवृत्ति छ ।

घरेलु कामको सम्मान

घरायसी श्रममा व्यस्त रहनेहरू दोस्रो दर्जाको नागरिकसरह बन्न बाध्य छन् । समाजमा सत्कर्म गर्नेहरू धेरै छन् । तर पैसा कमाउनुलाई उन्नति, प्रगति मानिन्छ । ऊ समाजमा प्रतिष्ठित ठहरिन्छ । तर उसले कसरी अर्थोपार्जन गरिरहेको छ भन्नेमा समाजले दृष्टि पुर्‍याएको छैन ।

नेपाली समाजमा प्राय: महिलाको घरेलु काममा संलग्नता देखिन्छ । एउटा घर सम्हाल्न थुप्रै जिम्मेवारी बहन गर्नुपर्छ । तर त्यसको उचित मूल्यांकन गरिँदैन । यसले घरपरिवारको हेरचाहमा रातोदिन घोटिनेलाई कस्तो असर पर्ला, कहिल्यै सोचेका छौं ? उल्टो हियाएर भन्ने गरिन्छ, ‘आ दिनभरि घरमा बस्ने त हो, कामै पो के हुन्छ र ?’ बिहान सखारैदेखि साँझ/राति अबेरसम्म कति काम भ्याएँ, कति भ्याउन बाँकी छ भनी सुनाउँदा कतिले ध्यान दिन्छन्, कतिले हावामा उडाइदिन्छन् ।

कुनै समय थियो, मानिस आफ्नै रेखोपाखो र खोलाखर्कमा रमाउँथे । खनिखोस्री उत्पादन गरेका चिजबिजबाट गुजारा चलाउँथे । यद्यपि त्यस समयमा पनि पुरुष वर्ग र महिला वर्गले गर्ने काममा फरकपन थियो । पुरुष वर्ग घर बाहिर जोखिमयुक्त काममा लाग्दा महिला वर्ग घर भित्रको काममा रमाउँथ्यो । महिलाले मिठो भातभान्सा तयार गर्दा पुरुष मेलापर्म धाउँथे । पुरुषले हलो जोत्दा महिलाले छेउकुना मिलाउँदै डल्ला फोर्थे । घर बनाउने दलिन, थाम, ढुङ्गा टाढा जंगलबाट पुरुषले ओसार्दा महिलाले घाँस–दाउरा, चुना–कमेरो जोहो गर्थे । पुरुष हली–बाउसे बन्दा महिला रोपार हुन्थे । पुरुषले घर (खरले) छाउँदा महिलाले परम्परागत चर्खाबाट राडीपाखी साथै पराल/खोसेलाबाट गुन्द्री, सुक्ली, पिरा तयार पार्थे । पुरुष–महिला दुवै मिलेर जिन्दगी गुजार्थे ।

समय परिवर्तनसँगै जीवनयापन शैली बदलियो । मान्छे घरपरिवारमा मात्र सीमित भएन । बाहिरफेर हिँड्न थाले । जागिर, व्यवसाय गर्न थाले । शिक्षाको पहुँचमा फरक पर्‍यो । पुरुषहरू महिला (श्रीमती) लाई घर जिम्मा लगाएर बाहिरिन थाले । घरका ज्येष्ठ व्यक्ति अशक्त बन्दै जाँदा र मसिना लालाबाला हुर्काउनदेखि वस्तुभाउको धन्दा, रेखोपाखो खोलाखर्क सम्पूर्णको जिम्मा महिलाको थाप्लोमा पर्‍यो । धेरै महिलाको दिनचर्या घरायसी काममा सीमित भयो ।

घरको चारचौकासमै सीमित महिलाले गृहिणी, आमा, सुसारे, भान्से, मालीदेखि धोबीसम्म हुनुपर्छ । कहिलेकाहीं डाक्टर/नर्स सरहको भूमिका निर्वाह गर्नुपर्छ । घरमा चौबिस घन्टा पहरा दिएर यी सबै काम भ्याउँदा पनि श्रमिक महिलाले कदर पाउँदिनन् । तपाईकी श्रीमती के गर्नुहुन्छ भनेर कसैले प्रश्न सोध्दा लज्जाबोध गर्दै पुरुषले भन्छन्, ‘केही गर्दिनन्, यतिकै घर बस्छिन् ।’ श्रीमतीले घर सम्हालेकी हुनाले आफू जागिरे बन्न पाएको ती पुरुषले बुझ्दैनन् ।

अन्तर्राष्ट्रिय श्रम संगठनका अनुसार विश्वमा पारिश्रमिक बिनाको सेवामूलक काम ७५ प्रतिशत महिला र बालिकाले धानिरहेका छन् । महिला दिनमा ११ घन्टादेखि १५ घन्टासम्म काममा खट्छन् । दिगो विकास लक्ष्य २०३० ले सार्वजनिक सेवा परिवारभित्रको साझा जिम्मेवारीमा पुरुषको सहभागिता बढाउने लक्ष्य राखिएको छ, तर त्यसतर्फ काम भएको पाइँदैन ।

नीति नियम बन्दैमा परिवर्तन आउँदैन । प्रत्येक व्यक्तिको नियत राम्रो हुनुपर्छ । अर्थोपार्जन गर्ने श्रमलाई मात्र सम्मान गर्ने मान्यता बदल्नुपर्छ । श्रमको एउटा पाटो घरेलु काम हो भनेर उचित मूल्याङ्कन गर्ने परिपाटी विकास गर्नुपर्छ । कुनै महिलाले घरेलु काम गर्दैमा अन्यबाट हेपिएको वा अपहेलित भएको महसुस नगर्ने वातावरण तयार गर्नुपर्छ ।

प्रकाशित : आश्विन ११, २०७५ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?