पर्यटन प्रवर्द्धनमा प्रविधि

डा. हिमलाल घिमिरे

काठमाडौँ — मानिसमा नयाँ–नयाँ ठाउँ घुम्ने, अध्ययन गर्ने, रमाउने, खर्च गर्ने संस्कृति विकास भइरहेको छ । सूचना प्रविधिको चरम विकासले पर्यटन क्षेत्रमा परिवर्तन ल्याएको छ । कर्मचारी वा कुनै मानवीय सहयोग विना मोबाइल वा कम्प्युटरमार्फत इन्टरनेट प्रयोग गरेर पर्यटकीय आकर्षणबारे जानकारी लिने चलन बढेको छ ।


इन्टरनेटबाटै हवाई टिकट र होटल बुकिङ गर्न थालिएको छ । खाना तथा अन्य आवश्यक कुरा मगाउन र पैसा तिर्न सकिन्छ । ठूला र स्तरीय होटलले आफ्नै एप बनाएका हुन्छन् । एपमार्फत सेवा, सुविधा, खाने, मनोरञ्जनका कार्यक्रम/साधन थाहा पाउन सकिन्छ । केही होटल, रेष्टुरेन्टमा यन्त्र–मानव (रोबट) ले पर्यटकलाई सेवा दिन्छ ।


इन्टरनेट प्रयोग गरेर लिइने/दिइने सेवा–सुविधा र ग्राहकको विवरण सजिलै तथ्याङ्कीकरण गर्न मिल्ने हुनाले सरकार वा सेवाप्रदायक संस्थालाई योजना बनाउन सजिलो भएको छ । सेवाग्राहीले आफ्नो भ्रमण, अनुभव, सेवा–सुविधा जस्ता कुरा सामाजिक सञ्जाल फेसबुक, वेबसाइट, ट्रिप एड्भाइजर, युट्युब आदिमा राख्ने हुँदा गुणस्तरीय सेवा–सुविधामा प्रतिस्पर्धा हुन्छ । यसबाट पर्यटक तथा सेवाप्रदायक कम्पनीले फाइदा लिन सक्छन् । पर्यटन संसारको एउटा कुनामा बसेर अर्कै कुनामा रहेको सेवा–सुविधाको जानकारी लिने, तुलना गर्ने, बुकिङ गर्ने, लेनदेनको कारोबार हुने र त्यो सेवा लिने व्यवसाय हो । प्रविधि विना पर्यटन सम्भव छैन ।


पर्यटन र प्रविधि उचित संयोजन गर्न जरुरी छ । नेपालमा पर्यटन उद्योगको अथाह सम्भावना छ । पर्यटन प्रबद्र्धन गर्दै अवसर सिर्जना गर्न यो उद्योगलाई प्रविधि मैत्री बनाउन आवश्यक छ । पर्यटकीय आकर्षण थप्न, पर्यटकलाई दिइने सेवासुविधामा गुणात्मक सुधार गर्न, शान्ति–सुरक्षामा सुधार्न ध्यान दिनुपर्छ । पर्यटन उद्योगबाट विदेशी मुद्रामात्र आर्जन हुँदैन, प्रत्यक्ष–अप्रत्यक्ष रूपमा रोजगारी सिर्जना हुन्छ । यसले नेपालको प्राकृतिक छटा, बहुसंस्कृतिलाई विश्वसामु परिचित गराउन सक्छ ।


संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार सन् २०१७ मा नौ लाख पचास हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भ्रमणमा आएका थिए । यसबाट पर्यटन क्षेत्रले झन्डै एक खर्ब नेपाली रुपैयाँ आर्जन गर्‍यो । पर्यटन क्षेत्रमा पाँच लाखभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । नेपालीमा पनि घुम्न जाने, रेष्टुरेन्टमा खाने, रमाइलो गर्ने संस्कार विकास भएको छ । त्यसैले नेपाली पर्यटन उद्योगमा आन्तरिक पर्यटकको ठूलो योगदान छ ।


नेपाल सरकारले आर्थिक वर्ष २०७५/७६ को बजेटमार्फत पर्यटन विकासका लागि ५ अर्ब २० करोड ३४ लाख रुपैयाँ छुट्याएको छ । आगामी २ वर्षमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य र सन् २०२० लाई नेपाल भ्रमण वर्षको रूपमा मनाउने योजना छ । तर सरकारी स्तरबाट भएका पर्यटन विकास र प्रबद्र्धनका कार्य त्यति सकारात्मक र उपलब्धिमूलक छैनन् । पाँच लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ प्रधानमन्त्री केपी शर्मा ओलीले गत वैशाख १ गते रारा तालको किनारबाट ‘कर्णाली–रारा पर्यटन वर्ष’ घोषणा गरेका थिए, तर कार्यान्वयन फितलो देखियो ।


हिमाल आरोहण र ट्रेकिङमा गएका पर्यटकलाई गरिने जाली उदार प्रकरण, अन्तर्राष्ट्रिय विमानस्थलको अव्यवस्था लगायतले पर्यटन क्षेत्रमा असर पारेको छ । २०७२ वैशाख १२ गतेको भूकम्पले थिलथिलो पारेको नेपालको पर्यटन सबल बनिसकेको छैन । क्षति भएका पर्यटकीय आकर्षणका सम्पदाको पुनर्निर्माण सकिएको छैन । विश्व जगतलाई नेपाल पर्यटकीय आकर्षणका विविधताले भरिएको सुरक्षित र भरपुर मनोरञ्जन लिन सकिने गन्तव्य हो भन्ने सन्देश दिन सकिएको छैन ।


नेपालमा धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पुरातात्त्विक, प्राकृतिक, जैविक, सामाजिक, शैक्षिक, कृषि, साहसिक खेलकुद पर्यटकीय आकर्षणका क्षेत्र हुन् । भूकम्प र १० वर्षे राजनीतिक द्वन्द्वजस्ता विषयले पनि पर्यटकलाई तान्छन् । तर सरकार, राजनीतिक दल र नेता–कार्यकर्ता, पर्यटन व्यवसायी, पर्यटन सम्बन्धी संघ–संस्था सबैले कम आँक्नाले अपेक्षित उपलब्धि हाँसिल भएको छैन ।


नेपाली पर्यटनलाई प्रविधि मैत्री बनाउँदै अन्तर्राष्ट्रिय बजारमा आक्रामक प्रचार–प्रसार गर्न जरुरी छ । विदेशस्थित नेपाली दूतावास र कूटनीतिक नियोगलाई पर्यटन प्रबद्र्धनमा सक्रिय बनाउनुपर्छ । गैरआवासीय नेपाली संघ, विदेशमा रहेका नेपालीले पनि यसमा मद्दत गर्न सक्छन् । भारत, चीनजस्ता छिमेकी देशका पर्यटकलाई आकर्षित गर्ने खालका प्याकेज तयार गर्नुपर्छ । नेपाल सुरक्षित पर्यटकीय गन्तव्य हो भन्ने सन्देश पनि प्रवाह गर्नुपर्छ ।


लेखकले धार्मिक पर्यटन र लुम्बिनी विषयमा विद्यावारिधि गरेका छन्।

प्रकाशित : आश्विन १०, २०७५ ०७:३४
प्रतिक्रिया
पठाउनुहोस्

कांग्रेसका कमजोरी

सन्दर्भ : बीपी जयन्ती
डा. हिमलाल घिमिरे

काठमाडौँ — आधुनिक युगमा फ्रान्सेली र अमेरिकी क्रान्तिले संसारलाई नै लोकतान्त्रिक मार्गमा हिँड्न पथप्रदर्शन गरेको छ । यी दुबै क्रान्तिले उपनिवेशका पर्खालहरू भत्काउनुका साथै निरंकुश शासकहरू विरुद्ध संसारका प्राय:जसो मुलुकका जनतालाई एकीकृत हुन हौसला प्रदान गरे ।

नेपालमा पनि निरंकुश जहानियाँ राणाशासकहरू विरुद्ध जनता बोल्न, लेख्न, संगठित हुनथाले। राणा विरोधी आन्दोलनका लागि बीपी कोइराला, मातृका कोइराला, सुवर्ण शमशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजा कोइराला, दयाशंकर मुन्सी लगायत अन्य धेरै युवाको सक्रियतामा नेपाली कांग्रेस २००६ सालमा स्थापना भयो। लोकतान्त्रिक व्यवस्था स्थापना नभएसम्म कुनै पनि मुलुक विकास र प्रगतिको मार्गमा द्रुतगतिमा अगाडि बढ्न सक्दैन भन्ने मान्यता अनुरुप नेपाली जनताको मुक्तिका लागि भएको पहिलो क्रान्ति बीपी कोइरालको नेतृत्वमा कांग्रेसले सञ्चालन गरेको थियो। त्यसपछि पनि चाहे पञ्चायत विरुद्ध होस् वा शाही शासन, प्रजातन्त्र प्राप्तिको हरेक आन्दोलनमा कांग्रेसका शीर्ष नेताहरूको अग्रणी र उल्लेख्य भूमिका रह्यो, जसका कारण लोकतन्त्र संस्थागत भयो।

बीपी र कांग्रेस
विश्वका महान नेताहरूसँग तुलना गर्न योग्य नेपालका एकमात्र नेता बीपी कोइराला नै हुनुहुन्थ्यो। बहुआयामिक व्यक्तित्वका धनी बीपीले प्रतिपादन गरेका विचार, मान्यता, नीति, दृष्टिकोण र सिद्धान्तकै भरमा नेपाली कांग्रेस चलेको छ। उहाँले प्रतिपादन गरेको प्रजातान्त्रिक समाजवाद होस् वा राजनीतिक संस्कारका कुरा, अझै सान्दर्भिक छन्। कांग्रेसले विरोधीहरूको प्रतिवाद गर्न होस् वा जनमानसलाई आकर्षित गर्न बीपीकै नाम जप्ने गर्छ। उहाँको निधनपछि नेपालमा ठूलो राजनीतिक परिवर्तन भयो। राजसंस्थाको अन्त्यसँंगै नेपाल गणतान्त्रिक देश बन्यो। गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता जस्ता विषयबारे बीपीले स्पष्टसँंग बोल्नुभएको छैन। त्यसैले पछिल्लो परिवर्तनपछिका जटिल विषयहरूबारे कांग्रेसमा नेतापिच्छे फरक–फरक विचार छरपष्ट आउने गर्छन्। केन्द्रीय नेता, पदाधिकारीबाटै यस्ता विचार बाहिर आउँदा पार्टीको आधिकारिक धारणा के हो भन्ने कुरामा समेत अन्योल हुने गर्छ।

नीति, प्रशिक्षण र संगठन
प्रशिक्षणले पार्टीलाई जीवन्त राख्छ। पार्टीको नीति, सिद्धान्त, आदर्श, अवधारणा, जनअपेक्षा अनुुसारको घोषणापत्र निर्माणजस्ता कार्यहरू प्रशिक्षणकै माध्यमबाट जनतामाझ पुग्छ। विडम्बना कांग्रेसमा संगठन निर्माण, प्रशिक्षण, सदस्यता वितरण र कार्यकर्ता संरक्षणजस्ता कुरा नाम मात्रको हुने गरेको छ। नेता–कार्यकर्ता अध्ययन–अनुसन्धान नगर्ने, पैसा, मुड्की र चाकडीको भरमा राजनीति गर्ने र पद हत्याउने प्रवृत्ति छ भन्ने आरोप पनि लाग्ने गरेको छ। पार्टी कार्यकर्तालाई गुट–उपगुटमा विभाजन गर्ने र भागबन्डाको राजनीतिले पार्टीलाई कमजोर बनाएको कुरामा दुईमत छैन। समसामयिक विषय र पार्टीका नीति, सिद्धान्तबारे पार्टी कार्यकर्तालाई प्रशिक्षण दिनसक्ने कांग्रेसका विद्वानहरू पाखा लाग्नुपरेको छ भने नीति तथा प्रशिक्षण दिने निकाय नै मृतप्राय: छ। त्यसैले कांग्रेसका कार्यकर्ताले के नीति लिने र पार्टी गतिविधिलाई कसरी अगाडि बढाउने भन्ने कुरा जहिले पनि विवादित हुने गरेको छ। त्सयको प्रत्यक्ष असर पार्टीको संगठन निर्माणमा परेको छ। विगतको कुरा छाडौं, वर्तमान सभापतिले नेतृत्व सम्हालेको डेढ वर्षभन्दा बढी हँुदा पनि नीति तथा प्रशिक्षण प्रतिष्ठानले नेतृत्व पाएको छैन।

२०४६ को जनआन्दोलनपछि अधिकांश समय सरकारमा रहेको कांग्रेसले के–के राम्रा काम गर्‍यो? कांग्रेस अबको दस–पन्ध्र वर्षमा नेपाललाई कस्तो बनाउन चाहन्छ? कांग्रेस अन्य राजनीतिक पार्टीभन्दा के–के कुरामा फरक छ? आम नागरिकले कांग्रेसलाई भोट किन दिने? कांग्रेस किन बन्ने? कांग्रेसको परराष्ट्र, आर्थिक, जलस्रोत, पर्यटन नीति कस्ता छन्? युवा, महिला, वृद्धवृद्धा नीति के हो? संघीयता, धर्मनिरपेक्षता जस्ता विषयमा आधिकारिक धारणा के हो? कांग्रेसको सबैजसो सभा, सम्मेलन, प्रशिक्षणमा शीर्षनेताहरू बीपी, गणेशमान, किशुनजी, गिरिजाबाबुको फोटो राख्ने र उहाँहरूको नाम लिने गरिन्छ। उहाँहरू इतिहास हो, त्यो इतिहासलाई बिर्सेर कांग्रेसको भविष्य बन्दैन। कांग्रेसकै कार्यकर्ताले बीपी, गणेशमान, कृष्णप्रसादहरू को हुन् भनेर सोध्नुपर्ने दिन नआओस्। यी र यस्ता धेरै कुरामा नेता, कार्यकर्ता र आम नागरिकलाई प्रशिक्षित गराउन जरुरी छ।

उम्मेदवार चयन र अन्तर्घात
निर्वाचन लोकतन्त्रको प्रमुख आधार हो। निर्वाचनमा भाग लिनु र जित्नु दुवै महत्त्वपूर्ण कुरा हुन्। २०४६ सालको परिवर्तनपछि नेपाली कांग्रेस दुईपटक स्पष्ट बहुमतका साथ र अरू धेरैपटक सबैभन्दा ठूलो पार्टी बनेको छ। राजनीतिक परिवर्तनमा अग्रणी भूमिका खेल्न सफल नेपाली कांग्रेस सधंै जनताको मनमा रहन सक्यो। जनताकै अभिमतले कांग्रेस पटक–पटक सत्तामा पनि पुग्यो। भर्खरै सम्पन्न स्थानीय निर्वाचनमा प्राविधिक रूपमा कांग्रेस दोस्रो भयो। विगतका निर्वाचनहरूमा कांग्रेसले समयमै उम्मेदवार चयन गर्ननसक्नु, राम्रालाई भन्दा पनि हाम्रा र जनाधार नभएकाहरूलाई टिकट दिनु प्रमुख कमजोरी थियो भन्ने आक्षेप बारम्बारलाग्ने गरेको छ।

कांग्रेसमा अन्तर्घात पुरानो रोग हो। ठूलो पार्टी, आकांक्षी धेरै हुनु स्वाभावै हो। तर यसको उचित व्यवस्थापन गर्न नसक्दा कांग्रेसले निर्वाचनमा ठूलो मूल्य चुकाउने गरेको छ। कांग्रेसले नेपाली समाजको आमूल परिवर्तनका लागि बोकेको मूल उद्देश्य र लक्ष्य प्राप्तिको मार्गमा अवरोध खडा गर्ने कुनै पनि शक्तिसँग घँुडा टेकेको छैन। बीपी कोइरालाले भन्नुभएको छ, ‘हामीले आफ्नो सिद्धान्तलाई त्यागेर कसैसँंग कुनै हालतमा सम्झौता गर्नु हुँदैन। तर हाम्रो विरोध कटुताहीन र सैद्धान्तिक हुनुपर्छ, व्यक्तिगत हुनुहुँदैन।’ हालसालैको स्थानीय निर्वाचनमा आफ्नो सिद्धान्त नै नमिल्नेहरूसँंग गरिएको तालमेलले कांग्रेसलाई नै घाटा भयो। आगामी दिनमा यी कुरामा ध्यान दिन जरुरी छ।

पार्टीलाई पूर्णता दिने
शेरबहादुर देउवाले नेपाली कांग्रेसको वागडोर सम्हालेको पनि डेढ वर्षभन्दा बढी भयो। पार्टीलाई विधान अनुसार चलाउन र जीवन्त राख्न, नेता–कार्यकर्तालाई व्यवस्थापन गर्दै नेतृत्व विकास गर्न र अन्य पार्टीहरूसँंग प्रतिस्पर्धामा जान पनि समयमै केन्द्रीय समितिलाई पूर्णता दिने, पदाधिकारी चयन गर्ने, विभागहरू गठन गर्ने जस्ता महत्त्वपूर्ण काम गर्नुपर्ने हो, त्यो अझै हुनसकेको छैन। यी काम जति छिटो गर्‍यो, पार्टीलाई त्यति नै फाइदा हुन्छ, कांग्रेसका सयौं नेता–कार्यकर्ताले काम र जिम्मेवारी पाउनेछन्। कांग्रेसको यो पुरानो रोग जतिसक्यो छिटो समाधान गर्नुपर्छ।

कांग्रेसमात्र यस्तो पार्टी हो, जसले नेपालको लोकतान्त्रिक आन्दोलनको नेतृत्व ७० वर्षभन्दा बढी गरिसक्यो। धेरै पटक सरकारमा गयो र विकास निर्माणको क्षेत्रमा पनि धेरै काम गर्‍यो। कांग्रेसले के–के राम्रो काम गर्‍यो? कांग्रेस नेतृत्वमा नहुँदा देशले कस्तो क्षति ब्यहोर्नुपर्‍यो? यी र अन्य धेरैप्रश्नको उत्तर कांग्रेसले दिन जरुरी छ। नेपाली जनताले लोकतन्त्रका लागि यति धेरै लामो संघर्ष गर्दा पनि अपेक्षाकृत राजनीतिक स्थायित्व र विकास हुनसकेको छैन। त्यसैले कांग्रेसले राजनीतिक स्थायित्व र विकासमा दत्तचित्त भएर लाग्नुपर्ने भएको छ। लोकतन्त्रलाई संस्थागत गर्नुका साथै जनहितका कार्य गर्दै नेता–कार्यकर्तालाई प्रशिक्षित गर्ने काममा ध्यान दिनुपर्छ।

प्रकाशित : आश्विन २०, २०७४ १५:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्