कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

जग्गाको जालझेल

रीता साह

काठमाडौँ — सिरहा गोलबजारकी ५५ वर्षीया कारीदेवी यादवको शव गतसाता घरनजिकै बाँसघारीमा भेटियो । उनी साउन २५ गतेदेखि हराइरहेकी थिइन् । जेठाजुसँग अंशसम्बन्धी मुद्दाका कारण उनको हत्या भएको स्थानीय दाबी गर्छन् ।

जग्गाको जालझेल

हकारीदेवीले दिवंगत ससुराका नाममा रहेको जग्गा पाउनुपर्ने भन्दै मुद्दा हालेकी थिइन् ।

सप्तरीको राजविराजका सूर्यनारायण साह, उनकी गर्भवती पत्नी बेचनी देवी र डेढ वर्षीया छोरी प्रतिभाको गत जेठमा हत्या भयो । सूर्यनारायणका दाजु पञ्चदेव र भाउजू प्रमिलाले सम्पत्ति एकलौटी बनाउन उनीहरूको हत्या गरेको डेढ महिनापछि खुल्यो । २०४८ सालमा भारतको नयाँदिल्लीमा बेचिएका सूर्यनारायण तीन वर्षअघि घर फर्किएका थिए ।

यी घटना गम्भीर प्रकृतिका भएकाले समाचारमा आए । समाचारमा नआउने तर जग्गासँग जोडिएका थुप्रै घटना मधेसका गाउँघरमा दिनहुँ घट्छन् । मधेसी समाजमै किन यस्ता घटना बढी हुन्छन् ? यही कौतुहलले यो विषय लेख्न लागेकी छु । म पनि त्यही समाजमा हुर्केबढेकी हुँ । जग्गा विवाद मैले प्रत्यक्ष र अप्रत्यक्ष रूपले अनुभव गरेकी छन् । यो विषय सामान्यजस्तो देखिए पनि यसले पीडित परिवारलाई गम्भीर असर पारेको हुन्छ । प्रभाव समाजलाई परिरहेको हुन्छ ।

मधेसी समाज कृषिप्रधान हो । मधेसको जग्गा उर्वर छ । दुई बाली धान पाक्छ । मधेसी समाजमा जग्गाजमिनको विशेष महत्त्व हुन्छ । रोजगारीको प्रमुख माध्यम कृषि हो । पछिल्लो समयमा जागिर गर्ने र विदेश जाने क्रम बढ्दो छ । जमिनलाई पैतृक सम्पतिका रूपमा जगेर्ना गर्ने परम्परा छ । पहिला–पहिला कृषिभूमि पर्याप्त थियो र जनसंख्या कम । अहिले मधेसको जनघनत्व बढ्दै गएको छ । कृषिभूमि सीमित छ ।

मधेसमा जग्गाका लागि हुने झगडा चार किसिमले हुने गरेको देखिन्छ । पहिलो, अंशका लागि । पुख्र्याैली सम्पत्तिमा हुने अंशबन्डामा जालझेल गर्दा झगडा हुने गर्छ । दोस्रो, मोहियानी हकको जग्गा बाँडफाँट । सरकारले मोहीको जग्गालाई आधा–आधा भागमा बाड्ने नीति लिएको छ । कतिपय टाठाबाठाले यसलाई सरकारी नीतिअनुरूप बाँडफाँट गर्न नचाहँदा झगडा हुने गर्छ । तेस्रो, घर बनाउने बेला छिमेकीको जग्गा च्याप्दा । अरूको जग्गा वा सार्वजनिक जग्गा च्यापेर घर बनाउने मनोविज्ञान अधिकांशमा देखिन्छ ।

घर बनिसकेपछि कसैले भत्काउँदैन भन्ने सोचाइ हुन्छ । चौथो, खेतको आली बनाउने बेला । खासगरी असारे खेतीका बेला खेतको आली बनाइन्छ । त्यतिबेला कतिपयले अरूको आली काटेर आफ्नो खेतको जमिन बढाउन खोज्छन् । मैले बाल्यकालमा गाउँमा यस्ता अनेक झगडा देखेकी थिएँ । अरूले हाम्रो खेतको आली काटेको आमा सुनाउनुहुन्थ्यो । त्यही विषयलाई लिएर कहिलेकाहीं पञ्चैती गर्नुपथ्र्यो ।

गाउँघरमा जग्गासम्बन्धी झगडा पञ्चैतीबाट सल्टाइन्छ तर यसले कहिलेकाहीं सामान्य कुटपिटदेखि हत्यासम्मको रूप लिने गर्छ । मधेसमा अधिकांश मुद्दा जग्गाकै कारण दर्ता हुने गर्छ । पुस्तौंपुस्ता जमिनको मुद्दा लड्दै आएका व्यक्ति र परिवार छन् । कतिपय भने यस्ता झगडामा सुल्झाउनुभन्दा चर्काउनतिर लागेका हुन्छन् । प्राय: बलियो पक्षलाई उचाल्ने र कमजोरलाई दबाउने गरिन्छ । पछिल्लो समय विदेश र सहरमा बसेकाको जग्गा थिचोमिचो गर्नेको संख्या बढ्दो छ । यस्ता झगडामा कतिपय वकिल, अमिन र राजनीतिकर्मीले मलजल गरेको पाइन्छ ।

जग्गासम्बन्धी झगडाले आर्थिक, सामाजिक र मनोवैज्ञानिक रूपमा असर गरेको हुन्छ । यस्ताखाले कलह भएको परिवारमा दिनदिनै झगडा हुन्छ । अदालतमा मुद्दा परेको छ भने निरन्तर पैसा खर्च हुन्छ । मानसिक तनाव थपिन्छ । कतिपयको परिवारमा बालबालिकाको पढाइ–लेखाइमा असर परेको छ । सामान्य विवादबाट सुरु हुने यस्ता झगडा पछि प्रतिष्ठाको विषय बन्दारहेछन् ।

जग्गासम्बन्धी यस्ता विवादबारे मधेसी समाजमा बहस हुनु जरुरी छ । यस्ता समस्यालाई सकेसम्म गाउँमै टुंग्याउने संयन्त्र बनाउनुपर्छ । स्थानीय सरकार र जनप्रतिनिधिहरू यसमा गम्भीर हुनुपर्छ । स्थानीय तहले सल्टाउन नसक्ने झगडा मात्र माथिल्लो तहमा कानुनी उपचारका लागि जाने अवस्था हुनुपर्छ । स्थानीय राजनीतिकर्मी र समाजका अगुवाले सकारात्मक र रचनात्मक भूमिका निर्वाह गर्नुपर्छ ।

प्रकाशित : भाद्र १७, २०७५ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?