कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

सवारीले सास्ती

सम्मेलनका नाममा सडक र विद्यालय बन्द गर्दा सरकारलाई हीनताबोध हुन्छ कि विदा भएकामा मख्ख मेरो छोरालाई जस्तै खुसी लाग्छ ?

काठमाडौँ — बिमस्टेक शिखर सम्मेलनमा भाग लिन विशिष्ट पाहुना काठमाडौं आएका छन् । त्यसै त काठमाडौंका सडक व्यस्त छन् । त्यसमाथि विशिष्ट पाहुनाको सुरक्षा संवेदनशीलताले ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । मानिस सास्ती खेप्न बाध्य छन् ।

सवारीले सास्ती

सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया पनि देखेँ । ‘घरमा पाहुना आउँदा आफू भुइँमा सुतेर पाहुनालाई खाटमा सुताउने हाम्रो चलन हो । देशकै पाहुना आएका बेला केही क्षणको जाम सही दिऊँ न ।’ यसमा आपत्ति छैन । व्यवस्थापनको अर्को पाटो भने दिक्कलाग्दो छ । विद्यालय बन्द छन् । बालबालिकालाई हेरविचार गर्नुपर्ने अभिभावक कार्यालय जानुपर्छ । यसले अधिकांश एकल परिवारमा अभिभावकको दिनचर्या अप्ठ्यारो बनेको छ । जोर–बिजोर प्रणालीले सडकमा सवारी साधन आधा कम भएका छन् । गाडी चढिसाध्य छैन । पैदल हिँड्न बाटा यात्रुमैत्री छैनन् । कतिपय स्थानमा पैदल यात्रा रोक लगाइएको छ ।


घरबाट कार्यालयसम्म हिँड्दै गर्दा छोरा सँगै थियो । गाडीका जोर–बिजोर नम्बरबारे कुरा गर्दै हिँड्दै थियौँ । बिजोर चल्ने दिनमा जोर नम्बर चलाएको भनेर भित्री सडकको बाटोमा दुई स्कुटरबाट ट्राफिक प्रहरी चाबी खोस्दै रहेछन् । नियम बनाएपछि मान्नैपर्छ । हिँड्दै गर्दा छोरो करायो, ‘मामु † ऊ जोर गाडी । ट्राफिक अंकललाई भन्दिऊँ ?’ सरकारी नम्बर प्लेटका दुई गाडी लगालग कटे । छोराले ट्राफिक र मलाई पालैपालो हेरिरह्यो ।


अनौठो छ । सवारी साधनमा जोर र बिजोर प्रणाली लागू भएकामा गुनासो छैन । प्रश्न प्रहरीको गाडी, एम्बुलेन्स जस्ता संवेदनशील क्षेत्रमा होइन । तर सरकारी हाकिमका गाडीमा जोर–बिजोर लागू नहुने रे † कस्तो विभेदकारी नियम ! मर्कामा पर्नुपर्ने आम मानिस र तल्लो तहका कर्मचारी मात्र । संकेत काफी छन् । सरकार विभेदकारी छ । नियम, व्यवहार विभेदकारी छन् । कसरी समन्यायको अपेक्षा गर्नु ?


बिमस्टेक सम्मेलन चल्दैछ । विकासका एजेन्डामा छलफल होलान् । विविध सहकार्यका विषयमा सहमति होला । त्यसबाट प्राप्त हुने उपलब्धि कसका लागि ? जनताले के पाउलान् ?
सुनिन्थ्यो, पञ्चायतकालमा राजाको देश दौडाहामा स्थानीय पञ्च राजालाई देखाउन तिलस्मी कुरा खोजी गर्थे रे । नक्कली काउली, साग आदिलाई कृषिको उत्कृष्ट नमुना भन्दै देखाउँथे रे । राजाबाट उद्घाटन गरिएका कति धाराबाट कहिल्यै पानी आएन रे । रातारात बनाइएका बाटा राजाको भ्रमण सकिने बित्तिकै पहिलेकै हालतमा पुग्थे रे । यस्ता विकासबाट जनताले के पाउँथे र † चाकरीबाज पञ्चहरूले भने राम्रै बक्सिस पाउँथे रे ।


समय बद्लियो । व्यवस्था परिवर्तन भयो । तर शासकका प्रवृत्ति फेरिएनन् । राजालाई देखाउन पञ्चहरूले गरेजस्ता क्रियाकलाप रोकिएनन् । नत्र चुस्त आर्थिक प्रशासन र मितव्ययिताको रट लगाउने सरकारले किन हो, हिले बाटोमा रंग पोखाएको ? राज्यले वर्षाको हिलोमा रंग पोख्छ र सडकका खाल्डा त्यसै छाडी अर्को सडक खण्डमा पिचमाथि पिच थप्छ भने जनताले स्वभावैले प्रश्न गर्छन्– हामीले तिरेको कर केका लागि ? देशले गर्ने विकास कसका लागि ? कि पञ्चायतकालका पञ्चझैं केही चाटुकारलाई लाभान्वित बनाउन मात्र हो ?


बिमस्टेक सम्मेलनको मिति तथा स्थान एक साता अघिमात्र टुंगो लागेको होइन । तर विशिष्ट पाहुना ‘सवारी’ हुने सडकमा एक–दुई दिन अघिमात्र कालोपत्रे थपियो । विद्यालय तथा कार्यालय जाने तथा फर्कने समय काठमाडौंको ट्राफिक व्यवस्थापन त्यसै पनि जटिल हुन्छ । त्यतिबेलै मुख्य सडकमा थप कालोपत्रे गरिँदै थियो । यस्तो काम राति वा सडकमा कम ट्राफिक हुने समयमा गर्न सकिन्थ्यो । एक उच्चपदस्थ कर्मचारी भन्दै थिए, ‘राति काम गर्दा कामदारले अतिरिक्त ज्याला लिन्छन्, अहिले अतिरिक्त ज्यालाको व्यवस्था छैन ।’ यस्तो व्यवस्था समयमै गर्न सकिन्न र ?


सरकारले ट्राफिक व्यवस्थापनमा समस्या हुने देखेर राजधानीमा विद्यालय तथा कार्यालय बन्द गराउने निर्णय गरेको छ । आफ्नो व्यवस्थापन असक्षमता/कमजोरी पहिचान गर्नु राम्रो हो । यस्ता कार्यक्रम हुँदा विद्यालय बन्द गराइएको यो पहिलोपटक होइन । व्यवस्थापन कठिन हुन्छ भने विकल्प खोज्नुपर्ने होइन र ? कि सधंै सरकारी असक्षमताको भागिदार विद्यालय र आममान्छे भैरहनुपर्ने ? सम्मेलनका नाममा सडक वा विद्यालय बन्द गर्दा सरकारलाई हीनताबोध हुन्छ कि विदा भएकामा मक्ख मेरो ८ वर्षे छोरालाई जस्तै खुसी लाग्छ ?
[email protected]

प्रकाशित : भाद्र १५, २०७५ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?