कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

स्वास्थ्यका लागि सुमधुर संगीत

विषाक्त, विकृत र नकारात्मक सन्देश दिने गीत–संगीतबाट कालान्तरमा नकारात्मक प्रवृत्ति विकास हुन्छ ।
डा. धनरत्न शाक्य

काठमाडौँ — बिहानै कुनै गीत वा धुन सुने लामो समय त्यही मनमा आइरहन्छ । थाहै नपाइकन गुनगुनाइन्छ । पार्टी वा समारोहमा ठूलो आवाजमा गीत घन्किरहेको हुन्छ । सवारी साधनमा शृंखलाबद्ध बजिरहेका हुन्छन् । तपाईंले सुनिरहने, गुनगुनाइरहने गीतले पार्ने मनोसामाजिक प्रभावलाई कहिल्यै केलाउनुभएको छ ?

स्वास्थ्यका लागि सुमधुर संगीत

गीत–संगीत जनजीवनको अभिन्न अंश भएको छ । चाहे पनि नचाहे पनि हरेक घरमा श्रव्य र दृश्य रूपमा गीत भित्रिन्छन् । लोक, आधुनिक, पप, हेभिमेटल, र्‍यापजस्ता रूपमा मानव मनका भाव बोकेर गीत–संगीत रेडियो, टेलिभिजन, इन्टरनेट लगायतका माध्यमबाट घन्किन्छन् । बाल, किशोर, युवा, वयस्क वा वृद्ध सबै आआफ्नै जानी–नजानी गीत–संगीतमा डुबेकै छन् ।

गीत–संगीतले सर्जकलाई मानसिक तुष्टि, वृत्ति विकास, पहिचान दिन्छ । श्रोतालाई मनोरञ्जन, शान्ति, चेतना, मानसिक आहत प्रदान गर्छ । गीतमै समाज, संस्कृति र युगको चित्रण हुन्छ । सर्जकको समग्र मनस्थिति, स्वास्थ्य, चेत, विवेक स्तर, श्रोताको रुचि, मनोसामाजिक स्थिति, विश्व संगीत, समय र समाजको दिशा, रीति, प्रवृत्ति आदिबाट गीत–संगीत प्रभावित रहन्छ । गाउँ, सहर, सबैतिर सबै परिस्थितिमा बजाइने गरिन्छ, गीत–संगीत । यसको मानव मन, व्यवहार, प्रवृत्ति, स्वास्थ्य र समग्र समाजको दिशानिर्देशसम्ममा चेत अचेत रूपमा असर हुन्छ ।

गीत सुन्दै गाडी चलाउने, कारखानामा काम गर्ने, भान्छा वा घरगृहस्थ गर्ने गरिन्छ । आजभोलि बहुसंख्यक मोबाइल फोनमा इयरफोन जोडेर गीत सुन्दै हिँड्छन् । मानिसको नसा–नसामा गीत–संगीतको असर र प्रवृत्ति सल्बलाउने निश्चित छ । गीत–संगीत संवेदनशील विषय हो । विशाक्त, विकृत र नकारात्मक सन्देश दिने गीत–संगीतबाट भने कालान्तरमा नकारात्मक प्रवृत्ति विकास हुन्छ ।

विकृति फिँजाउनेहरू सर्जकका नाममा कलंक हुन् । खुसी, उत्साह, उपलव्धि, सफलता वा अवसरजस्ता सकारात्मक अनि दु:ख, निराशा, घृणा, धोका, अधोगति, विरह, विकृतिजस्ता नकारात्मक मानव मनस्थिति गीत–संगीतले समेटेका हुन्छन् । गीतमै आह्वान, समाज सुधार, राष्ट्रप्रेमको भावना लगायतका सन्देश हुन्छन् । चाडपर्व, चालचलन, संस्कृतिको चिनारी गीतमा हुन्छ । गीतमा समाजको चित्र र प्रवृत्ति उद्धृत हुन्छ ।

नेपाली समाज संस्कार, घरपरिवार, नातागोता र मानवीय सम्बन्धलाई महत्त्व दिन्छ । नेपाली गीतमा केटाकेटी, महिला–पुरुषको सम्बन्धले प्राथमिकता पाएको देखिन्छ । यसले अभिभावक, भ्रातृत्व र अरू सबैजसो सम्बन्धलाई ओझेलमा पारेको छ । पुस्तौं–पुस्ता र निरन्तरको अवलोकनबाट बालसुलभ मनमस्तिष्कमा यो प्रवृत्तिकै रूपमा स्थापित हुने जोखिम छ । एकलकाँटे, मतलबी र एकल परिवारको समाजमा यो प्रवृत्ति अझ शक्तिशाली रूपमा देखिँदैछ । अरू खालका मानवीय सम्बन्ध अपहेलित हुने प्रवृत्तिलाई नेपाली गीतले मलजल नगरुन् ।

नेपाली गीतमा नारी सौन्दर्य अत्यधिक र पुरुषार्थ कम चित्रित छ । नारीको सुन्दरता वर्णन, फेसन, मादकता र अश्लीलताको वकालतमा नेपाली गीतमा कुनै नियम, सीमा देखिँदैन । मानौं, लेख्न, प्रशंसा र बखान गर्नका लागि अरू सुन्दर र उल्लेखनीय गुण, चरित्र वा कुरा छैनन् । नारी सौन्दर्यजस्तै सत्य, सुन्दर र शाश्वत कुरा, गुण र प्रसंगले यथोचित स्थान पाए भोलिको पिढीमा सन्तुलित दृष्टिकोण विकास हुन्छ । मानव जीवन र समाजका लागि चर्चा हुनुपर्ने बैंस र शारीरिक सौन्दर्यमात्रै त पक्कै होइन होला ।

पिरतीको प्रसंगमा सभ्य–असभ्य, स्वस्थ–अस्वस्थ, उचित–अनुचित, सामान्य–असामान्य, साधारण–असाधारण, लौकिक–अलौकिक अनुरोध, प्रस्ताव, आह्वान धेरै गीतका मर्म हुने गर्छन् । अनुनय, धम्की वा तटस्थ रूपमा राखिने प्रस्तावका कुरा गीतमा अभिव्यक्त हुन्छन् । भौतिक सुखभोगदेखि भट्केको मानिस र आत्मालाई जीवन मार्गमा डोर्‍याउने दिव्य सल्लाह र अनुरोधसम्म अटेको हुन्छ, गीतमा ।

समाजमा हरेक खालका, क्षमता र प्रकृतिका मानिस हुन्छन् । बच्चा, किशोर लगायत मानसिक रूपले अपरिपक्व मानिसलाई यस्तो मर्मले वशिभूत तुल्याउन सक्छ । मायामा मान्छे अन्धो हुने भनिए पनि वास्तवमा हरपल कुनै कुरा अवलम्बन गर्नुअघि सोचविचार पुर्‍याउनुपर्छ । गर्नलाई केटाकेटी बीचमा प्रेममात्रै हो कि जीवन र समाजलाई सही मार्गमा डोर्‍याउन अरू पनि कुरा छन् ? संवेदनशील भएर गीत सिर्जना हुनुपर्छ ।

प्रेममा फस्दा, फसाउँदाका अनुभव, अतिशयोक्तिपूर्ण बेलिविस्तार र चित्रण भएका गीत कम छैनन् । मायाका नाममा आफ्नो मनसँग लहसिएको, हारेको र लाचारी, तृष्णा, आशक्तिका भाव गीतमा हुन्छन् । यसले कामको सिलसिलामा टाढिएर बसेका श्रीमान–श्रीमतीलाई दिग्भ्रमित त पार्दैन ? विछोड, विरह, असफलता, धोका गीत–संगीतको लोकप्रिय र सर्वाधिक हावी भएको प्रसंग र प्रवृत्ति हो । प्राय: सदावहार र लोकप्रिय गीतमा प्रेमका पीडापूर्ण नियति समेटिएको पाइन्छ । मानौं, उदासी नेपाली मनको जीर्ण प्रवृत्ति हो । मानव मन सन्तुलन गर्ने गीतहरू चाहिँदैनन् ? ममा सधैं कौतुहल हुन्छ ।

गुनासो, बदला, असन्टुष्टि, आरोप–प्रत्यारोप अर्काे नकारात्मक तर प्रवृत्तिगत मर्म देखिन्छ, नेपाली गीत–संगीतको । आवेश र आवेगमा होमिने अनि परिणाममा जलेपछि एकले अर्कोलाई दोष दिने, सराप्ने वा चुपचाप सहने वा आफैंलाई अस्वस्थ पीडामा डुबाउने आशय व्यापक रूपमा चित्रित गरिएको हुन्छ ।

सम्बन्धमा मर्यादा, विवेक, धैर्य र जटिलता रोकथामको सन्देशपूर्ण गीत–संगीत आवश्यक छ कि छैन ? असफलता, विछोडको परिस्थितिमा हतास, निराश, अन्धकार, सर्वनाश भएको अर्थमा आत्महत्या, मृत्युुसम्म रोज्ने आशयका विशाक्त र नामर्दिपन ओकल्ने गीत कम छैनन् । महिला–पुरुषको माया मानवीय जीवन, समाज र संवेदनाका अरू धेरै अंशमध्ये एक हो ।

अतिशयोक्तिपूर्ण रूपमा किन महत्त्व दिने ? अरू अंशलाई बिर्सेर जीवन, भविष्य र आत्मविश्वासै डगमगिने सन्देश गीतमा नदिँदा के होला ? मिलन र रोमाञ्चकता आजभोलि लोकप्रिय प्रसंग बन्दैछ । यसले श्रोतामा ऊर्जा र कौतुहलता थप्छ ।

[email protected]
डा. शाक्य स्नायु, दुव्र्यसन तथा मनोरोग विशेषज्ञ हुन् ।

प्रकाशित : भाद्र ८, २०७५ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?