त्यसैले बाजपेयी "अटल" भए 

दिवाकर बागचन्द

काठमाडौँ — अटल बिहारी बाजपेयीलाई श्रदान्जली दिन पुगेका सामाजिक न्याय  अभियन्ता स्वामी अग्निवेश  तथाकथित भारतीय जनता पार्टीका कार्यकर्ताद्वारा कुट्पिट  गरिएपछि आफु हिन्दू हुनुमा मलाई लघुताभास हुनथाल्यो । 

त्यसैले बाजपेयी

८० वर्षीय क्रान्तिकारी स्वामीमाथि भएको आक्रमणले अटलजीको निधनबाट रसाएका मेरा आँखाबाट आशु बर्सिन समय लागेन । अनेक कमजोरीका बाबजुद एउटा लोक्तान्त्रिक धर्मको रुपमा रहेको हिन्दू धर्ममाथि सोही धर्मका स्वघोषित ठेकेदारहरुद्वारा गरिएको "बसु दैव कुटुम्ब कम" को सिद्धान्त र सामजिक न्याय माथिको घिन लाग्दो आक्रमण थियो त्यो । यो दृश्यले कथित धर्मका रक्षकहरुको बौधिक "दिवालीयापन" अर्थात "इन्टेलेक्चुयल ब्यान्क्रप्सी" उजागर गर्थ्यो । यस्ले अटल बिहारी गलत पार्टीका सही नेता भन्ने ९० को दशकको भनाइलाई पुष्टी गरे झैं लाग्यो।


अहिले पुरा भारत शोकाकुल छ । अटल सबैका प्रिय थिए । यस दुखको घडीमा राजनीति र ईतिहासको निर्मम चिरफार गर्नु न्याय संगत हुँदैन । राजनीतिको सरलिकरण सजिलो पनि हुँदैन र अहिले बिबेकपूर्ण पनि ठहरिन्न । अटल मलाई मन पर्ने राजनेता थिए । म राजनेता भनिरहेछु यस्को कारण छ । जो आँफै स्पष्ट हुनेछ । अटल घुँडाको समस्याले गर्दा बिस्तारै हिड्थे । भाषण गर्दा शब्दमा जोड दिएर बोल्थे । बोल्दा बोल्दै कल्पनामा हराउन्थे । त्यो केही पलको शुन्यतामा जनता धैर्यतापूर्वक ध्यान मग्न हुन्थे, मानौ अटलको मुखारबृन्दबाट मोती टप्कदै छ ।


नेताको भाषण सुनाउन गाडी भरेर लग्नु पर्ने अवस्थामा अटलको भाषण सुन्न जनता प्रतिक्षारत रहनु आँफैमा अद्भुभुत थियो । उनको भाषणले यति महत्व किन राख्थ्यो त? भाषण शब्द मात्र होइन । त्यसमा जवाफदेहिता हुनुपर्छ भन्ने अटलले बुझेका थिए । उनको बोलीको नैतिक धरातल हुन्थ्यो । नकरात्मकता उनको परिचय थिएन । अरुलाई पछार्नु, निच देखाउने दाउपेचमा उनी सामेल भएनन् । अरुझै उनी पनि "पोलिटिसियन" त थिए । त्यो हुनै पर्छ । सत्ताको त्रासदी पनि यही हो । चाहेर नचाहेर "पोलिटीसियन" बन्नु पर्ने हुन्छ । पोलिटिसियनले जोड घटाउ गर्छ । अटल भने अलि भिन्न प्रकारका थिए । गुजरात दङ्गामा मौन रहेको आरोप खेपे । तर, बर्तमान प्रधानमन्त्री गुजरातका तत्कालीन मुख्यमन्त्री नरेन्द्र मोदीलाई कडा शब्दमा "राज धर्म" निभाउन आदेश पनि दिए । कार्गिल युद्ध पश्चात कट्टर भारत बिरोधी पर्बेज मुसरफलाई भारत निम्ताए ।


कम्युनिस्ट भएर बिद्यार्थी छँदा, राजनीतिक यात्रा सुरु गरेका बाजपेयी भारत छोडो आन्दोलनमा होमिए । जनसंघका अध्यक्ष पण्डित दिन दयाल उपाध्यायको रहस्यमय हत्यापछि जनसंघका अध्यक्ष बने । अटल बिहारी बाजपेयी हिन्दूवादको वकालत गर्ने पार्टीको मुखिया बन्नु अनौठो थियो । साम्यबादी बिगत भएका अटलको हिन्दूवादी "अवतार" आँफैमा एउटा बिरोधाभास थियो ।


उनको यो बिरोधाभासले मलाई आकर्षित गर्‍यो । आजीवन अबिबाहित अटल फिल्मका शौकिन थिए । जवानीका दिनहरुमा आफ्ना परम मित्र लालकृष्ण अड्वानीको स्कुटरमा बसेर पहिलो दिन, पहिलो शो, फिल्म हेर्न जाने यि दुईको मित्रताको किस्साले उनी मेरा लागि झन तिलस्मी ब्यक्तित्व बन्न पुगे ।


उनको जीवनको बहुआयामिक पाटो छ । उनको आम जीवनशैलीले मलाई झन उनीप्रति खिच्यो । जीवनका साधारण रस र स्वाद, अद्वैत वाकपटुता, विश्वज्ञान र बुद्धिमता, कुट्नीतिक कला र दुरदृस्टीले उनलाई बिराट छबी प्रदान गर्‍यो । उनको जीबनका अनेक रङ थिए । एक साधारण मान्छेका गुण र दोष अनि असाधारण मान्छेमा हुनुपर्ने बिशेषता दुबै उनमा मौजुद थिए ।


उनी कसरी राज नेता भए त? यसको एउटा प्रमुख कारक थियो, उनको ओजस्वी भाषण । उनी भित्र एउटा कवि थियो, जसले उनलाई कल्पनाको उचाई दियो । उनको मानवीयता र बिद्वताले उनको कल्पनाशिलतालाई यथार्थमा उतार्ने सामर्थ्य दियो । फलस्वरुप उनी बिश्वको सबभन्दा ठुलो लोकतन्त्रको सफलतम् प्रधानमन्त्रीमा गनिन्छन् । पण्डित नेहरुलाई यसको पुर्वानुमान थियो किनकी उनी पनि आँफै एउटा बिलकक्षण विद्वान राजनेता थिए । पण्डित नेहरु आफ्ना सांसदलाई अटलका कुरा गम्भिरतापूर्वक सुन्न आग्रह गर्थे ।


कुरो फेरी भाषणकै, भाषण त मोदी पनि गर्छन् । उनले भाषण कै कारण चुनाव जिते । शायद फेरी जित्ने छन् । तर, उनको भाषणमा कल्पनाशिलता छैन । एउटै रटान लाउदा लाउदै उनको भाषणको "डिप्रिसियसन" हुँदैछ। जुन मोदीकै ब्यापारिक शैलीमा भन्ने हो भने कुनै आर्थिक वर्षको अन्तमा “राइट अफ" गरिने छ ।


अटल हिन्दूवादी थिए । तर, जातीवादलाई कलंक मान्थे । उनले एक भाषणमा भनेका थिए, “मन्दिर तो प्रेरणाका केन्द्र है, कैसा मन्दिर जिस्केद्वार सबके लिए खुले नहो ? उनले भाबुक हुँदै भनेका थिए, “ हम ने अपने भाई बहेनको वेद पढ्नेसे रोका । मेरा हिन्दूत्व सिमित नही है, अन्तर जातीय विवाहको बढावा देता है, सम्मान करता हैु ।"


अटल महिलामाथि हुने बिभेद अन्त गर्न चाहन्थे । हिन्दूत्वलाई उचाइ दिन चाह्न्थे । तेसैले उनी हिन्दू धर्मलाई, धर्म होइन जीवनशैली हो भन्ने गर्थे । “पराइलाई पनि अंकमाल गर्ने शक्ति देउ प्रभु" भन्ने उनको हिन्दूत्वको परिभाषा थियो । जुन परिभाषाभित्र उनले ९३ वर्ष बिताए । सायद त्यसैले बाजपेयी "अटल" भए।

प्रकाशित : भाद्र ६, २०७५ १६:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?