कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

पराइ भूमिमा पसिना

आफ्नै परिवेश
युवाका आँखामा विदेशी भूमिको सपना अचम्मसँग नाचेका छन् ।
झमक घिमिरे

काठमाडौँ — गए साता युवाले औपचारिक, अनौपचारिक कार्यक्रम गरेर अन्तर्राष्ट्रिय युवा दिवस मनाए । यस पंक्तिकार युवाका मनोभावना, इच्छा, आकांक्षा, दु:ख, सुख, पीडा, व्यथासँग नजिकैबाट परिचित छे । समृद्ध नेपालको नारा निकै जोडतोडले घन्किरहेको छ ।

पराइ भूमिमा पसिना

नेपालमा काम नपाएर अर्थात रोजगारी नेपाली भूमिमा नपाएर दिनदिनै युवा जनशक्ति बाहिरिरहेका छन् । यसलाई विस्तारै रोक्न सकिएन भने हाम्रा नेताहरूले देखेको समृद्धिको सपना तुहिने मात्र होइन, देश जर्जर हुनेछ । हाम्रा युवा पनि यस विषयमा गम्भीर हुन आवश्यक छ ।

अर्काको भूमिमा गएर जे पनि गर्न तयार हुने हाम्रा जवान पाखुरी किन आफ्नै भूमिमा केही गर्न तयार हुँदैनन् ? सरकार समृद्धिको नारा दिएर चुपचाप बसेर हँुदैन । युवा जनशक्तिलाई रोकेर यही पसिना बगाउने वातावरण बनाउन सकिँंदैन भने समृद्धिको सपना देखेर के काम ? कृषि, उद्योगधन्दा, पर्यटन आदि हरेक क्षेत्रमा युवा जनशक्ति चाहिएको छ । आज कृषि क्षेत्र अस्तव्यस्त छ । कृषियोग्य जमिन भूमाफियाको कब्जामा छ । जमिन अन्धाधुन्द प्लटिङ गरिएको छ । बसाइँ–सराइ भोगिनसक्नु छ । उब्जाउयोग्य जमिनमा धमाधम मानबस्ती बढ्दैछ ।

सरकारले विशेष नीति ल्याएर यसलाई रोक्न सकेन भने यो समस्या विकराल बन्नेछ । यो विषय कहाँनेर युवासँग जोडिएको छ भने उनीहरूले श्रम गर्ने कहाँ ? उनीहरूले पसिना बगाउने ठाउँ कहाँ ? त्यो ठाउँ सुरक्षित गर्न पनि भूमाफियालाई जथाभावी जमिन प्लटिङ गर्नबाट रोक्नु आवश्यक छ ।

पंक्तिकारसँग निकै युवाले प्रश्न गर्ने गरेका छन्– यहाँ बसेर के गर्ने ? विदेश गयो भने दुई–चार पैसा त हुन्छ । आफ्नो जन्मभूमि बसेर के गर्ने भन्ने मानसिकता उनीहरूमा छ । आफ्ना घरपरिवारसँग दु:खसुख बाँडेर विदेशमा बगाउने पसिना यहीं बगाउने नि भन्दा उनीहरू मौन बस्छन् । एकछिन गमेर जवाफ दिन्छन्, ‘सही कुरा गर्नुभयो ।’ विदेशी भूमिमा पैसाको बोट छ, गएर ट्याप्प–ट्याप्प टिपेर ल्याउनलाई ? रगत–पसिना बगाएर पनि ज्यानको सुरक्षा छैन भने किन आफ्नो देशमा रगत–पसिना बगाउन कञ्जुस्याइँ ? आफ्नै भूमिमा गरेर आफ्नै परिवारसँग ढिँडो–रोटी खान किन लाज ?

हाम्रा युवा आफ्नो भूमिमा काम किन गर्न चाहँदैनन् ? उनीहरूका आँखामा विदेशी भूमिको सपना अचम्मसँग नाचेका छन् । कतिका सपना मूर्त हुन्छन् भने कतिका बीचैमा तुहिएर झर्छन् । नेपाली समाजको साँच्चै समृद्धि चाहन्छौं भने नेपाली युवाले एकपटक आफ्नो भूमिको माटो छोएर सोच्नैपर्छ । आफ्नो मातृभूमिको लागि पसिना बगाउन तयार नभएसम्म समृद्धि र विकासको सपना नदेखे हुन्छ । सरकारले विशेष युवामुखी कार्यक्रम ल्याएर युवालाई यहीं स्वरोजगार बनाउन सहयोग गर्नुपर्छ ।

प्रत्येक परिवर्तनका आन्दोलनमा उल्लेखनीय सहभागिता जनाएका युवाले अब राष्ट्र निर्माणमा पनि सहभागी हुनु आवश्यक छ । सरकारले पनि युवाको क्षमता, दक्षता अभिवृद्धि गर्दै रोजगार बनाउनेतर्फ ध्यान दिनुपर्छ ।

प्रकाशित : भाद्र ४, २०७५ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?