१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

कक्षाबेगरका विद्यालय

धेरै विद्यालयका शौचालय फोहोर, दुर्गन्धित छन् । चिप्ला, अँध्यारा र साँघुरा छन् । सरसफाइका लागि पानीको व्यवस्था छैन ।

काठमाडौँ — केही साताअघि राजधानीको एक निजी विद्यालयमा कक्षा ४ की छात्रा शौचालयको धारामा ठोक्किएर घाइते भइन् । उनलाई १५ दिन अस्पताल राखेर उपचार गराउनुपर्‍यो । पूर्वाधार निर्माणमा विद्यालयले गर्ने हेलचेक्र्याइँका कारण हुने यस्ता घटना बेला–बेला सार्वजनिक भइरहेकै हुन्छन् ।

कक्षाबेगरका विद्यालय

तर शिक्षा विकास र शैक्षिक गुणस्तरसँग भौतिक पूर्वाधार निर्माण त्यसमा पनि सुविधायुक्त शौचालयको विषय जोड्ने विषय उति प्राथमिकता परेको देखिँदैन ।

शौचालय समेत व्यवस्थित नबनाउनु विद्यालयको लापरबाही हो । यसले बालिका तथा किशोरीलाई बढी मर्का पर्छ । कतिपय विद्यालयले पाखापखेरालाई शौचालय बनाएका छन् । गुणस्तरीय शिक्षा प्रदान गरेको हुंकार गर्दै चर्को शैक्षिक शुल्क असुल्ने अधिकांश निजी विद्यालयमा समेत विद्यार्थी अनुपातमा शौचालयको व्यवस्था छैन । पालो नपाएर कक्षाकोठामा पढाइ भइरहेको समयमा विद्यार्थी पटक–पटक शौचालय जान शिक्षकसँग अनुमति मागिरहेका हुन्छन् ।

धेरै विद्यालयका शौचालय फोहोर, दुर्गन्धित छन् । चिप्ला, अँध्यारा र साँघुरा छन् । शौचपछि सरसफाइका लागि पानीको व्यवस्था छैन । बालबालिकाले शौचका लागि घरतिर दौडिनुपर्छ । शौचालय र पानीको अभाव आम विद्यालयकै समस्या भए पनि यो विषयलाई शैक्षिक सरोकारवालाले गम्भीर ढंगले लिएका छैनन् । कक्षा ५ नपुग्दै महिनावारी भइसक्ने बालिका तथा किशोरीका लागि शौचालयको समस्याले कष्ट दिन्छ । उनीहरूले शौच गर्दाको समस्या आफ्ना शिक्षिकालाई सुनाइरहेका हुन्छन् । भूकम्पपछि पुनर्निर्माण गरिएका विद्यालय भवनहरूमा समेत पानीको धारायुक्त शौचालय बनाइएको छैन ।

बालबालिकाले विद्यालयमा छ–सात घन्टा समय बिताउँछन् । उनीहरूका लागि शौचालय र पानीको व्यवस्था नगरिनु गैरजिम्मेवारीको पराकाष्ठा हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको शिक्षा हेर्ने एकाइले भौतिक पूर्वाधारयुक्त विद्यालय भवन निर्माण गर्नुपर्ने हो । तर अपांगमैत्री कक्षाकोठा तथा शौचालय किन बनाइएन ? शैक्षिक गुणस्तर सुधारका लागि भौतिक पूर्वाधार विकास पहिलो सर्त हो । सामुदायिक विद्यालयमा मात्र नभई निकै तामझाम गर्ने कतिपय निजी विद्यालयका भव्य भवनमा समेत शौचालय र पानी आदिको उचित प्रबन्ध देखिँदैन ।

विद्यालय शिक्षामा राज्यको लगानी छ । अन्तर्राष्ट्रिय अनुदान, ऋण र सहयोग छ । स्वदेशी/विदेशी संस्था वा व्यक्तिले लगानी गरेका छन् । तर भौतिक पूर्वाधारमा पर्याप्त ध्यान पुगेको छैन । यसको असर विद्यार्थीको सिकाइमा पर्न सक्छ ।

शिक्षा मन्त्रालय अन्तर्गत पाठ्यक्रम विकास केन्द्र, शैक्षिक गुणस्तर केन्द्र छन् । प्रतिस्पर्धाबाट योग्य शिक्षक चयन गर्न शिक्षक सेवा आयोग छ । सरकारी स्कुलका लागि स्रोत शिक्षकको व्यवस्था छ । शिक्षकका लागि तालिम हुन्छ । तलब–भत्ता छ । यति हुँदाहुँदै पनि शैक्षिक गुणस्तर सुधार्न केले रोक्यो ? विद्यालय शिक्षामा राजनीतिक हस्तक्षेप र खिचातानी छ । शिक्षकहरूमा अध्यापनप्रति उदासीनता छ । सरकारी विद्यालयमा १४ प्रकारका शिक्षक दरबन्दीको व्यवस्था हुँदा पनि शिक्षक विद्यार्थी अनुपात मिलेको देखिँदैन । योग्य, दक्ष शिक्षकको अभाव देखिन्छ ।

विद्यालय बालबालिकाले शिक्षाको जग बसाल्ने थलो हो । विद्यालयमा बालबालिकाले रमाउने वातावरण हुनुपर्छ । उज्याला र फराकिला कक्षाकोठा, सुविधायुक्त डेक्स–बेन्च, पानी, शौचालय, पुस्तकालय, खेलमैदान लगायतका न्यूनतम पूर्वाधार हुनुपछ । योग्य, दक्ष शिक्षक पर्याप्त हुनुपर्छ ।

प्रकाशित : भाद्र १, २०७५ ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?