१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

बिहेका कानुनी बेमेल

रामेश्वरी पन्त

काठमाडौँ — कुनै विवाहित पुरुष र अर्कै कुनै विवाहित महिलाबीच शारीरिक सम्पर्क हुनगई शिशु जन्मिए विवाहका रूपमा मान्य हुने कि नहुने ? सन्तानको दायित्व के हुने ?

बिहेका कानुनी बेमेल

मुलुकी देवानी (संहिता) ऐन र २०७४ र मुलुकी अपराध (संहिता) ऐन, २०७४ आगामी भदौ १ बाट लागू हुँदैछ । मुलुकी ऐनलाई विस्थापन गर्न निकै लामो बहस र छलफलपछि ल्याइएका ती कानुनका कतिपय व्यवस्था भने बिझाउने खालका छन् ।


मुलुकी देवानी संहिताको दफा ७० को उपदफा १ (घ) मा विवाह हुने उमेर २० वर्ष तोकिएको छ । २० वर्ष नपुगी गरिएका विवाह दफा ७३ को उपदफा १ (क) अनुसार स्वत: बदर हुन्छ । तर यही दफाको उपदफा २ मा विवाहको परिणामस्वरूप कुनै महिला गर्भवती भए वा निजबाट शिशु जन्मिए निजको मञ्जुरी भएमात्र विवाह बदर हुनसक्ने भनिएको छ । शिशुकी आमाले मञ्जुरी नदिए २० वर्ष मुनिको विवाहलाई मान्यता दिनुको विकल्प के हुन्छ ?


केही समुदायमा बालविवाह हुने गरेको छ । यस्तो परम्परा निरुत्साहित गर्न कानुनी प्रावधानका विषयमा सचेतना जगाउन आवश्यक छ । २० वर्ष नपुग्दै गरिएका विवाह बदर हुँदा पुरुषको हकमा खासै फरक नपर्ला । एक पटक विवाह रद्द भैसकेका महिलाको जीवनमा आइपर्ने असहजताबारे राज्य संवेदनशील हुनैपर्छ । यसो भन्दैमा बालविवाहलाई वैधता दिनुपर्छ भन्ने होइन ।


दफा ७४ को उपदफा १ ले शारीरिक सम्पर्कबाट शिशु जन्मेमा विवाह भएको मानिने भनेको छ । तर उपदफा २ ले ‘जबर्जस्ती करणी र हाडनाता करणीबाट शिशु जन्मिए विवाह भएको मानिने छैन’ भनेको छ । शिशु जन्मिने तर बाबुआमाको विवाह भएको नमानिने अवस्थामा जन्मिएको शिशुको जिम्मेवारी र दायित्व बाबुआमा दुबैले लिनुपर्ने कानुनी व्यवस्था छ ।


बाबु–आमा अलग–अलग बसेर यो कसरी सम्भव होला ? हाम्रो समाजमा यसरी अलग भएर रहन पुरुषलाई जति सहज महिलालाई हुँदैन । अनेक सामाजिक लाञ्छना सहेर एकल रही समाजमा घुलमिल हुन जति कठिन हुन्छ, त्यति नै कठिन बिना बाबुको सन्तानलाई हुर्काउनुपर्छ । सन्तानका बाबुआमा पतिपत्नी हुनै नसकेबाट सन्तानको कानुनी अधिकार र दायित्व कायम राख्न (दफा ११८) हाम्रोजस्तो समाजमा कसरी सम्भव होला ? यसरी जन्मिएका सन्तानले स्वस्थ मानसिकतासाथ हुर्कन र सामाजिक प्रतिष्ठा पाउन सक्लान् ?


ऐन मौन देखिन्छ । ऐनमा भएको बहुविवाह सम्बन्धी व्यवस्था अनुसार विवाहित महिलासँग शारीरिक सम्पर्क गरी सन्तान जन्माउने विवाहित पुरुषको हकमा त्यो बहुविवाह मानिनेछ र कानुनत: अमान्य हुनेछ । तर विवाहित महिलाको हकमा त्यो बहुविवाह नभएर पुन:विवाह हुन जान्छ ।


महिलाले पुन:विवाह गरे अघिल्लो पतिसँगको सम्बन्ध स्वत: समाप्त हुने व्यवस्था छ । त्यसपछि ती महिला कहाँ जाने ? कोसँग रहने ? दफा ८७ मा पत्नीको वासस्थान पतिको घरमा हुने भनिएको छ । तर यस अवस्थामा अघिल्लो पतिसँगको सम्बन्ध स्वत: अन्त्य हुन्छ र पछिल्लो सम्बन्ध पनि कायम हुन सक्दैन ।


दफा ८२ मा पत्नीले कानुन बमोजिम सम्बन्धविच्छेद नहुँदै अर्को विवाह गरे पतिपत्नीको वैवाहिक सम्बन्ध स्वत: अन्त्य भएको मानिने भनिएको छ । तर पतिले सम्बन्धविच्छेद नहुँदै अर्को विवाह गरे उसकी अघिल्लो पत्नीले दफा ९५ अनुसार सम्बन्धविच्छेदका लागि कानुनी बाटो समात्नुपर्ने देखिन्छ । यसले कनुनमै पुरुष र महिलाको वैवाहिक अवस्थामा विभेद गरेको छ । पत्नीले अर्को बिहे गरे पुरुषले कानुनी झन्झट बेगर मुक्ति पाउने । पतिले अर्को विवाह गरे पत्नीले उसको दोस्रो विवाह बदर गराउन वा ऊबाट मुक्ति पाउन कानुनी बाटो समात्नुपर्ने † कानुनले सामाजिक परिवर्तनलाई आत्मसात् गर्नसकेको छैन । दफा ८७ ले ‘विवाहपछि पत्नीको वासस्थान पतिको घरमा हुने’ भनेबाट बदलिँदो समाजलाई हेर्न नभ्याएको हो वा नचाहेको हो भन्ने देखिन्छ ।


महिलालाई बिना बाबुको सन्तान जन्माउन अर्थात् विवाह नगरिकनै सन्तान जन्माउन पाउने अधिकारको व्यवस्था प्रजनन हक सम्बन्धी कानुनबाट गर्न लागिएको छ । तर संसद्मा पेस भएको नागरिकता ऐन संशोधनसम्बन्धी विधेयकको प्रावधान हुबहु पारित भए नागरिकता दिने बेला बाबुको नाम खोजिनेछ । बाबु पत्ता नलागे वा नाम उल्लेख गर्न नचाहे आमाले ‘बाबुको ठेगाना नभएको’ भनेर उल्लेख गर्नु पर्नेछ । यसबाट त्यस्ता सन्तानलाई राज्यले ‘अवैध’ बनाउन खोजेको मात्र नभई महिलाको अस्मितामाथि सार्वजनिक प्रश्नचिन्ह खडा गर्ने मनसाय राखेको प्रस्ट हुन्छ ।


विधिको शासनका लागि प्रचलित कानुनबारे नागरिकमा सचेतना महत्त्वपूर्ण हुन्छ । कस्ता काम गैरकानुनी हो, कस्तो प्रकृतिको सजाय हुन्छ भन्ने विषय नागरिकले बुझ्नुुपर्छ । संविधान र कानुनका सामग्री सर्वसाधारण नागरिकले समेत सहज ढंगले अध्ययन गर्नसक्ने वातावरण तयार गर्नु राज्यको दायित्व हो ।

प्रकाशित : श्रावण २८, २०७५ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?