सेरेमोनियल श्रीपेच

जतिसुकै क्षमता किन नहोस्, स्त्रीलाई हाम्रो सामाजिक सत्ताले एउटी भोग्या बाहेक केही सम्झिनसकेको छैन ।
अनुपम रोशी

काठमाडौँ — ‘साँच्चै तपाईं कति सुन्दर ?’ ‘अनि बिहे किन नगर्नुभएको ?’ ‘तपाईं भौतिकशास्त्रलाई मान्ने मान्छे, शरीरको आवश्यकता त पूरा गर्नुपर्छ होला नि ?’ ‘हामी हुँदाहुँदै उमेरमै जोगी हुने कुराचाहिँ नगर्नु है ।’ साँच्चै तपार्इंलाई भगवानले फुर्सदमै बनाएका हुन् के ।’

सेरेमोनियल श्रीपेच

कैयौं पुरुषले मलाई प्रत्यक्ष भेट, म्यासेन्जर र सामाजिक सञ्जालहरूमा यस्तो भनेका छन् । मान्यजन, केही वरिष्ठ लेखक, पत्रकार, साथीभाइ, अधिकारकर्मी लगायतका पुरुष मित्रहरू नै उनीहरू ।

मेरो कुनै लेख पढेर उक्त पुरुष त्यसको ‘कमेन्ट सेक्सन’मा गएर केही लेख्न मुटु कमाउँछ । तर सबभन्दा पहिला म्यासेन्जरमा लेख्छ, ‘यु आर ग्रेट † ओ हो तपाईंको लेख कति खतरा । म त तपाईंको फ्यान नै भएँ † साँच्चै यस्तो लेख त पुरुषहरूले पनि लेख्न सक्दैनन्... ब्ला, ब्ला, ब्ला...!’

‘ग्रेट माई फुट’ म घृणा गर्छु, यस्ता छुद्र प्रशंसाहरूलाई । त्यस्तो राम्रो लागेको हो भने खुलेआम कमेन्ट गर्नु नि । अझ सेयर गरिदिनु र भन्नु– यो चिज समाजका लागि साँच्चिकै महत्त्वपूर्ण छ, एकपटक सबैले पढौं । दुर्भाग्य † म्यासेन्जरमा सुटुक्क राम्रो भनेर आफ्नोपन देखाउनेले कहिल्यै त्यस्तो गर्न सक्दैन । बस्, उसले त खोजिरहन्छ विभिन्न बहानामा नजिक हुने उपाय । यस्ता प्रशंसाले महिलाको योग्यता माथि होइन, उसको व्यक्तित्वमाथि आँखा गाडेका हुन्छन् । र यो महिलाको अस्तित्वमाथि गरिएको निम्नस्तरीय व्यंग्य बाहेक अरू केही होइन ।
***

महिला गौरवको एउटा शालिन इतिहास । वर्तमान विश्वको आँखामा एउटा यस्तो देश– जहाँ राष्ट्र प्रमुख, न्यायपालिका प्रमुख र व्यवस्थापिका प्रमुखमा महिला आसिन भए । अर्थात् एक समय, नेपालका प्रमुख पाँचमध्ये तीन पद महिलाको हातमा पुग्यो ।

तर यति सब भइसक्दा महिलाका हक–अधिकार र अस्तित्व कति सुनिश्चित हुनसक्यो ? महिला माथिका अन्याय र अत्याचार कति कम हुनसके ? यो अझै विचारणीय छ । पछिल्लो समय ‘बंगलादेशमा डाक्टर पढ्न जाने युवतीले शरीर सुम्पेपछि मात्र डाक्टरको सर्टिफिकेट पाउँछन्’ भन्ने कुराले ठूलै तहल्का मच्चायो । चारैतिर विरोध भएपछि कानुनमन्त्रीले राजीनामासमेत दिन बाध्य भए । एकजना मेडिकल सञ्चालकले छ्यापेको हिलोमा माछा मार्न खोज्दा मन्त्री नराम्ररी चिप्लिएर लडे । ती मेडिकल सञ्चालक र मन्त्री सामान्य उदाहरण मात्र हुन् । यहाँ त हरेक सेकेन्डमा महिलाको चरित्रहत्या हुन्छ ।

चरित्र मात्रै होइन, जीवनकै हत्या हुन्छ । छ वर्षकी बालिकादेखि असी वर्षकी वृद्धासम्म त्यसको सिकार बन्दै आएका छन् ।

सिमोन डी बुउभोले लेखेकी छन्– महिला आफैमा महिला हुन्न, उसलाई महिला बनाइन्छ । सामाजिक, सांस्कृतिक तथा देशको राजनीतिक प्रक्रियाहरूले महिलालाई ‘महिला’ बनाएको हुन्छ । त्यसै अनुरूप महिला कोमल हुन्छे । भावुक हुन्छे, सुन्दर हुन्छे र त्यसलाई सशरीर हेर्न सकिन्छ, मात्र सशरीर । उसको अस्तित्व भनेको आँसु हो, डर हो, सौन्दर्य हो र यौन हो । बुउभोले लेखेजस्तै आज पनि समाजका हरेक पुरुष महिलालाई मात्र सशरीर हेर्छ, अनुभव र व्याख्या गर्छ ।

महिला अस्तित्वलाई यौन दृष्टिले खर्लप्प निलेर अगाडि बढ्ने राजनीतिक अभ्यासलाई आखिर कहिलेसम्म स्वीकार गर्न बाध्य भइरहने ? यहाँ महिलाको चरित्रहत्या हुने शब्द फलाक्न कसैलाई कुनै अप्ठेरो लाग्दैन ।

गायत्री स्पिवाकले लेखेकी छन्, ‘समाजलाई गहिरिएर अध्ययन गर्ने हो भने महिलालाई हेर्ने एउटा गम्भीर प्रकृतिको पुरुष मनोरोग फेला पर्छ । जो समाजका औसत पुरुष मनोविज्ञानमा विद्यमान छ । उनीहरूलाई लाग्दै लाग्दैन कि महिलाको पनि आफ्नो स्वतन्त्र अस्तित्व छ ।’

हाम्रो समाजका सबैजसो मानसिकतामा यस्तो मनोरोगको गहिरो प्रभाव छ । महिलाको मिहेनत, लगन, संघर्ष र अध्ययनलाई नजरअन्दाज गर्ने अवस्था घट्नुको साटो झन्–झन् बलियो भएर गइरहेको छ ।

पुरुषकै छायामा महिलाको अस्तित्व विकास गर्ने परम्परालाई राजनीतिक प्रक्रियाले बदल्नुपर्ने हो । तर यहाँ खुलेआम महिलाको क्षमतामाथि धावा बोलिन्छ ।

जतिसुकै दक्षता र योग्यता भए पनि कार्यक्षेत्रको प्रमुखलाई, मन्त्रीलाई, हुँदा–हुँदा शिक्षक/प्राध्यापकलाई समेत खुसी पारेर दक्षता प्राप्त गरेको अभियोग नखेप्ने महिला कोही छैनन् । जोसुकै होस्, एक आमस्त्री कसैलाई पनि यस्तो श्रापित सोचले डस्न छोडेको छैन । जतिसुकै क्षमता किन नहोस्, स्त्रीलाई हाम्रो सामाजिक सत्ताले एउटी भोग्याबाहेक केही सम्झिनसकेको छैन ।
***

यो धरतीमा जन्मिने महिलाको जीवन अभिशाप होइन । अभिशाप त बनाइएको छ । र त्यस्तो अभिशाप बनाउने जिम्मा पितृसत्तालाई दिइएको छ । त्यो पितृसत्ताले एउटा मनोरोगको रूपमा महिलालाई हेर्ने दृष्टिकोण तय गर्दै आएको छ । त्यही मनोरोगले स्त्रीको सिंगो अस्तित्वलाई पाखा लगाउँछ । उनीहरूको शरीरलाई मात्र सोच्छ, अनुभव गर्छ र त्यही अनुभवलाई व्याख्या गर्ने अक्षम राज्य प्रणालीलाई थप विकास गर्छ ।

अलिकति कडा कुरा गर्‍यो भने एक सक्रिय राजनीतिक कार्यकर्तालाई नै पनि समकक्षी पुरुषले भन्छ– स्वतन्त्रताका नाममा छाडा हुनेहरू नै आफूलाई महिलावादी ठान्दैछन् । यसरी समाजमा महिलावादीको एउटा छुट्टै स्वरूप निर्माण गरिन्छ । उनीहरूलाई हेर्ने दृष्टिकोण नै फरक बन्छ । मानौं, उनीहरू छुट्टै ग्रहबाट आएका स्त्री हुन् । उनीहरूका नाममा ‘छाडा’, ‘बाइफाले’, ‘घमन्डी’ यावत शब्दका उपमाहरू थपिँदै जान्छ । जसलाई साथ दिन्छन्, कति पतिभक्त पत्नीहरू ।

किनकि उनीहरू अन्नपानी तिनै पतिसँग जोडिएको छ ।
***

महिला हुनुको पीडा पुरुषप्रधान समाजको संरचनामा बसेर प्रत्यक्ष लाभ उठाइरहेका पुरुषहरूले बुझ्न सक्ने कुरा होइन । विडम्बना त राजनीतिक दलका विभिन्न ओहोदामा बसेका महिलाहरूको आवाज किन सधैं दबिरहन्छ ? किन बोल्न सक्दैनन्, उनीहरू ? सधैं दलका टाउकेहरूको आवाज मात्र बोल्छन् भन्ने लाञ्छनाबाट मुक्त हुनुपर्छ कि पर्दैन, उनीहरू ? पार्टी अनुशासनको बन्धन भनेर यसरी चरित्रहत्या भइरहनदिनु कस्तो खालको क्रान्ति हो ? स्वविवेकको निर्णय गर्न उनीहरूलाई कठिनाइ भएको हो कि अरू नै बाध्यता छ ?

राजनीतिक होस् या पेसागत, सामाजिक होस् या सांस्कृतिक महिलाहरूको उपस्थिति सधंै ‘कस्मेटिक’ मात्र भयो ? मञ्चमा अतिथिलाई खादा वा माला लिएर उभिनु, स्वागत वा धन्यवाद भाषणको वक्ता हुनु वा केही गरिहाल्न सक्दैनन् भनेर कोषाध्यक्ष वा उपाध्यक्षजस्तो पदमा राखिनु । पुरुष सत्ताको ढाल बन्न निगाहमा प्राप्त हुने पदहरू मात्रै महिला सहभागिता हो र ?

पछिल्लो समय त झन् महिलाको अस्तित्वलाई सेरेमोनियल श्रीपेच बनाइएको छ । र पहिराइएको छ, छुन नमिल्ने उपपगरी जसको कुनै भूमिका छैन । सेरेमोनियल श्रीपेच लगाउन तँछाडमछाड गरिरहेका महिलाहरूले साँचो अर्थमा त्यस पदलाई अनुभूति गर्न सके कि सकेनन् ? त्यसको मूल्यांकन कहिले गर्ने ?

‘भोग्या चिन्तनको’ घेराबन्दीले निर्माण गरेको सेरेमोनियल श्रीपेचमै दंग छौं, हामी जसलाई परिचालन गर्छ, पुरुष सत्ताले । अस्तित्वको आधारभूमि नै विभेदको उद्गम विन्दुबाट सुरु भएपछि समानताको आकाश कल्पना गर्न सकिने कुरा होइन ।

केन्द्रीय तह, जस्तो प्रतिनिधिसभा र राष्ट्रिय सभामा केही संख्यामा महिला सदस्यहरू पुग्न सफल भए पनि राज्यको नीति निर्माण र विवादहरूको समाधान खोज्ने काममा महिलाको भूमिका खोइ ? दलले नै तय गरेको बाटोमा लुरुलुरु हिँड्नु भनेको त्यही चिन्तनलाई साथ दिनु होइन ? जबसम्म यो चिन्तनबाट बाहिर आइँदैन, पुरुष सत्ताबाट पुरुष मात्र होइन, महिला पनि उम्किन सक्नेछैनन् । किनकि यो पुरुष सत्ताका सञ्चालक केवल पुरुष मात्र होइनन्, त्यसमा महिला पनि उत्तिकै सहभागी छन् ।

प्रकाशित : श्रावण २६, २०७५ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?