कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

साउने अर्थतन्त्र

साउने हरियो–पहेंलो रंगभित्र पनि उच्च र न्यून कोटीका पोसाक, सामग्रीमाथिको बहस/प्रस्तुति वर्गीय दूरी बढाउने कारक बनिरहेका छन् ।
उषा थपलिया

काठमाडौँ — साउनको प्रकृति उसै पनि हरियाली । त्यसमाथि केही वर्षदेखि महिलाको शृङ्गार र भेषभूषामा पनि यही रंग छ । अधिकांश महिलाको साउने पहिचान नै बनेको छ, हरियो र पहेँलो रंग । हरियो/पहेँलो पोसाक । नाडीभरि सोही रंगका चुरा । र हातमा मिहेन्दी । सजावटको यो तरिका, गृहिणी महिलामा मात्र सीमित छैन ।

साउने अर्थतन्त्र

बालिका, किशोरी तथा कामकाजी महिलासमेत यसैगरी आफूलाई सजाउँछन् । स्कुल, कलेज पनि साउने महत्त्वको प्रबद्र्धनकै लागि होला, छात्राहरूलाई यसमा रोकटोक लगाउँदैनन् । उल्टै लगाउन प्रोत्साहित गरेका छन् । विद्यालय/कलेज पोसाकमै छात्राहरूका नाडी, हत्केला चुरा र मिहेन्दीले रंगिएका हुन्छन् ।


पश्चिमा शैलीको पोसाक पहिरिने युवतीका नाडीमा समेत अटाई–नअटाई चुरा र हत्केलामा मिहेन्दीका बुट्टा देखिन्छन् । यी सबै गर्न रहर लाग्नेलाई त ठिकै होला । तर यसमा रुचि नभएका महिलालाई भने व्यक्तिपिच्छे स्पष्टीकरण दिँदा हैरान । आस्था र विश्वास व्यक्तिको नितान्त निजी मामिला हो । व्यक्ति पिच्छेको अलग–अलग सोचाइ–बुझाइलाई हरकोहीले ख्याल राख्नुपर्छ । जसरी रुचि भएकाहरू रहर अनुसार लगाउन स्वतन्त्र छन्, त्यसैगरी नलगाउनेहरूको चाहनालाई बहसको विषय बनाइनुहुन्न ।

धार्मिक/शास्त्रीय पक्षको अभाव
लामो परम्परा र संस्कार बोकेकै पर्वसरहै साउन मनाउने गरिएको छ । तर यसको सुरुवात भएको एक दशकसमेत भएको छैन । सुरुका वर्षमा फाट्ट–फुट्ट देखिएको यो क्रम हरेक वर्ष व्यापक किसिमले अघि बढिरहेको छ । प्रकृतिको सुन्दर रूप हरियाली झल्काउने साउनलाई उत्सवका रूपमा मनाउनु अस्वाभाविक होइन । तर नयाँ पर्वकै हिसाबले जेजस्तो तामझाम देखिन्छ, त्यसमाथि विवेचना आवश्यक छ । धार्मिक उपक्रमकै रूपमा सुरु साउने भेषभूषाप्रति पनि जानकारहरू सहमत देखिन्नन् । अधिकांश धर्मशास्त्री साउनमा हरियो र पहेँलो लगाउनुपर्ने कुरालाई कुनै धर्मशास्त्रले निर्देश नगरेको बताउँछन् ।


शास्त्रमा उल्लेख नभए पनि प्रकृतिसंँग एकाकार हुने उपयुक्त अवसरका रूपमा महिलाले हरियो अभियानलाई बढावा दिएको हुनसक्छ । आश्चर्य ! कुन आधारमा र केका लागि यसो गरिरहेको भन्नेबारे भने स्वयं हरियो अभियानवाला महिला नै अनभिज्ञ छन् । यसबारे प्रश्न गर्दा कतिपय उही परिवारको सुख, समृद्धि, पतिको दीर्घजीवन, रोजेखोजे अनुसारको पतिको लालसाको सन्दर्भको मात्र चर्चा गर्छन् ।

आस्था र अवलम्बनबीच अन्तरविरोध
धार्मिक आधार तथा अरू कुनै उपयुक्त कारण नभए पनि महिलाको साउन संस्कारको दायरा हरेक वर्ष फैलँदो छ । व्यक्तिलाई आध्यात्मिक अनुभूति दिलाउने र समाजलाई सुसंस्कृत बनाउने शालीन विधि–व्यवहार जुनसुकै बहानामा सुरु भए पनि ग्राह्य हुन सक्छन् । त्यसमाथि अनावश्यक टिकाटिप्पणी गरिराख्नु पर्दैन । त्यस्तै धार्मिक तथा सांस्कृतिक आधार बोकेका परम्परागत मूल्य र मान्यताका धरोहरलाई जोगाउने र युग सुहाउँदो परिमार्जनसँंगै त्यसको मर्मप्रति नयाँ पुस्तालाई आत्मसात गराउने कुरालाई पनि अन्यथा भन्न मिल्दैन । तर कतै केही आधार नभएको नयाँ प्रचलनले भड्किलो रूप धारण गर्दैछ भने त्यसमाथि विचार–विमर्श गर्न जरुरी हुन्छ ।


झट्ट हेर्दा आस्था हुनेले चाहे अनुरुपको विधि–व्यवहारद्वारा आफूलाई प्रस्तुत गर्न किन नपाउने भन्ने पनि लाग्न सक्छ । तर एउटाले गरेको विधि–व्यवहारबाट अरू धेरैलाई असजिलो अवस्था उत्पन्न हुन्छ भने त्यसले विकृतिको रूप लिन्छ । त्यस्ता व्यवहार बेलगाम रहिरहनुपर्छ भन्ने हुँदैन । आफ्नो इच्छा अनुसार चल्दा कसैले आपत्ति जनाउन पाइँदैन । तर अरूलाई पनि आफ्नै विश्वास जबर्जस्ती लाद्ने परिपाटी मूल समस्या हो । धार्मिक तथा शास्त्रीय आधार नहुँदा–नहुँदै पनि धर्म सम्बन्धी क्षति बेहोर्नुपर्ने डर फैलाएर वा प्रभावमा पारेर सोही बमोजिम चल्ने दबाब दिनु ठिक हुँदैन । लगाउने, खाने र आफ्नो विवेक अनुसार चल्ने कुरा स्वस्फुर्त हुनुको सट्टा अरूको प्रभाव र बोझ हावी हुँदा समाजका लागि प्रत्युत्पादक हुन्छ ।

अर्थतन्त्रसँग जोडिएको पक्ष
साउन महिना चुरा–पोते तथा शृङ्गारका सामान किनबेच हुने तीजपछिकै ठूलो उत्सव बनिरहेको छ । महिलाले उपयोग गर्ने यस्ता सामग्रीको मूल्य एकै छैन । गुणस्तरको नाम दिँदै जति पनि मूल्य तोक्ने छुट व्यापारीलाई छ । त्यसमाथि नियामक निकायले कुनै निगरानी राखेको पाइँदैन । बजारको मनोमानीले आर्थिक हैसियत कम भएका महिलाहरू सताइएका छन् ।


साउने हरियो– पहेँलो रंगभित्र पनि उच्च र न्यून कोटीका पोसाक, सामग्रीमाथिको बहस/प्रस्तुति वर्गीय दूरी बढाउने कारक बनिरहेका छन् । सतही रूपमा हेर्दा यी सामग्रीको बढ्दो खपतले मुलुकमा व्यापारिक गतिविधि बढेको देखिन्छ । ठूला बजार, चोक, गल्ली सबैतिर पसलको संख्या बढ्नुले मुलुकको आर्थिक अवस्थालाई टेवा पुगिरहेको ठानिनु अस्वाभाविक होइन । तर उक्त आर्थिक गतिविधिले मुलुकको अर्थतन्त्र सबल बनाउन खासै भूमिका निर्वाह गर्दैन । महिलाको चाडपर्वको क्रममा नेपालमा जस्ता सामग्रीको किनबेच हुन्छ, ती सबै आयातित हुन् । केही छिटफुट सामग्री स्वदेशी भए पनि विदेशी उत्पादनकै दबदबा देखिन्छ ।


सबैभन्दा बढी बिक्ने र जति मूल्य राख्दा पनि ग्राहकले थाहा नपाउने पोते नेपालमा नबन्ने व्यापारी बताउँछन् । केही वर्ष अघिसम्म नेपाली बजार भारतले धानेको थियो । अहिले बंगलादेश, पाकिस्तानी उत्पादन पनि आएका छन् । अहिले माग थेग्न नसकेर जापान, चेकोस्लोभाकिया, चीन लगायतका देशहरूसमेत नेपालका लागि ती सामग्री पठाउने गतिलो निर्यातकर्ता बनेका छन् । त्यसैले देशभित्र व्यापारिक गतिविधि बढेको देखिए पनि मुनाफाका वास्तविक हकदार सामग्री निर्यातकर्ता मुलुकहरू हुन् । खोइ यो तथ्य बुझेको ?


मुलुकको व्यापार घाटाप्रति सजगता
नेपालले वर्षेनी व्यापार घाटा बेहोर्दै आएको छ । गत आर्थिक वर्षको ११ महिनामा मुलुकको व्यापार घाटा १० खर्ब ६३ अर्ब हुनु र अघिल्लो वर्षको तुलनामा २४ दसमलव ६ प्रतिशतको बढोत्तरी हुनु देशका लागि सुखद होइन । देशभित्रै उत्पादित सामग्रीमार्फत व्यापारिक गतिविधि फस्टाउनसके मात्र मुलुकको अर्थतन्त्रमा टेवा पुग्न जान्छ । त्यसैले स्वदेशी सामग्रीकै उपयोगलाई प्राथमिकता दिने बानी जोकोहीले बसाल्नु जरुरी छ ।


आयातित सामग्री प्रयोगलाई कम गर्दै जाने बानीले देशको अर्थतन्त्रमा सकारात्मक प्रभाव छोड्न सक्छ । आस्था र विश्वासको सही अवलम्बनका लागि देखासिकी र भड्किलोपन आवश्यक पर्दैन । नयाँ–नयाँ पर्व, उत्सव सिर्जना गर्दै विदेशी सामग्रीको बजार विस्तार गरेर आफ्नै मुलुकको हित प्रतिकूल जानुभन्दा देशको अर्थतन्त्र सबल पार्न महिलाले पनि आफ्नो भूमिका महसुस गर्नुपर्छ । मुलुकको उत्पादकत्व वृद्धि गर्न पक्कै समय लाग्छ । तर विदेशी उत्पादनप्रतिको मोह कम गर्न रत्तिभर समय लाग्दैन ।


प्रकाशित : श्रावण २३, २०७५ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?