१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

कोलिफर्मबाट कसरी बच्ने ?

पानी १–२ मिनेटसम्म उमाले वा क्लोरिनजस्ता रासायनिक झोल हाले हानिकारक कोलिफर्म नष्ट हुन्छन् ।
मिलन खरेल

काठमाडौँ — कोलिफर्मलाई खालि आँखाले देख्न सकिँदैन । कोलिफर्म मूलत: मानिस तथा अन्य उष्ण रक्तधारी जीवको दिसा (ठूलो आन्द्रा) मा पाइने गर्छ । जमिन, वनस्पतिजन्य पदार्थ एवं अन्य जलीय वातावरणमा समेत कोलिफर्म पाइन्छ ।

कोलिफर्मबाट कसरी बच्ने ?

दिसामा पाइने सूक्ष्म जीवाणु कोलिफर्म सरसफाइको कमीले खानेपानीको स्रोतमा मिसिन्छ । खुला ठाउँमा दिसा गर्नाले, ढल खोलानालामा मिसाउनाले जीवाणु बाहिरी वातावरणमा आउने गर्छ र नजिकै रहेका खानेपानीका स्रोतमा जीवाणु मिसिन्छ ।


कोलिफर्म ब्याक्टेरियाको समूह हो । यस समूहमा भएका सबै जीवाणु रोग फैलाउने खालका हँुदैनन् । मानिस तथा जनावरको दिसामा ‘फिकल कोलिफर्म’ ज्यादै हानिकारक हुन्छन् । तिनले रोग निम्त्याउँछन् । हानिकारक कोलिफर्ममध्ये केही विशेष प्रकारको वंशानुगत गुण (जेनेटिक स्ट्रेन, ०१५७ : एच ७ भनिने) ‘एस्चेरिचिया कोलाइ’ (ई कोलाइ) नामक ब्याक्टेरिया सबैभन्दा बढी पाइन्छ । दिसाको सम्पर्कमा रहेको ई कोलाइ बाहिरी वातावरणमा निकै चाँडो फैलिन्छ । यिनलाई एकपटक प्रजनन गर्न बिस मिनेटमात्र लाग्छ ।


शंकास्पद मानिएको पानीको नमुनालाई प्रयोगशालामा २४ घन्टासम्म विशेष उपकरण (इन्कुबेटर) मा राखेर ‘मेम्ब्रेन फिल्ट्रेसन पद्धति’मार्फत परीक्षण गरिन्छ । दिसाजन्य कोलिफर्म (फिकल कोलिफर्म) लाई कोलोनी फर्मिङ युनिट (सीएफयु) प्रतिसय मिलिलिटर पानीको एकाइमा मापन गर्ने गरिन्छ । खानेपानीमा फिकल कोलिफर्म शून्य हुनुपर्छ । पौडी पोखरी (स्विमिङ पुल) मा फिकल कोलिफर्म दुई सय कोलोनी प्रतिसय मिलिलिटर पानीभन्दा कम हुनुपर्छ । यस्तै खोला, ताल, पोखरी आदिमा हजार कोलोनी प्रतिसय मिलिलिटर पानीभन्दा थोरै हुनुपर्छ ।


उल्लेखनीय कोलिफर्म देखिनु भनेको पानी प्रदूषित हुनु हो । कोलिफर्म समूहकै उपसमूहमा पर्ने फिकल कोलिफर्म र ई कोलाइ जस्ता जीवाणुयुक्त पानीमात्र पिउन अयोग्य मानिन्छ । खानेपानी तथा अन्य खाद्यपदार्थ यस्ता कोलिफर्म जीवाणुद्वारा दूषित भए–नभएको यकिन गरी त्यस पदार्थमा सरसफाइको गुणस्तर निर्धारण गरिन्छ ।


शंकास्पद पानीमा प्राय:जसो टोटल कोलिफर्म, फिकल कोलिफर्म र ई कोलाइ जस्ता परीक्षण गर्ने गरिन्छ । टोटल कोलिफर्म परीक्षणमा जीवाणु देखिए अन्य दुइटा परीक्षणमार्फत फिकल कोलिफर्म वा ई कोलाइ छ–छैन, यकिन गरिन्छ । दिसामा पाइने कोलिफर्म मिसिएको पानी पिउनाले झाडापखाला सम्बन्धी रोग लाग्ने जोखिम बढ्छ । मानिसमा ई कोलाइ ब्याक्टेरियाको संक्रमण भए–नभएको बिमारीको दिसा प्रयोगशालामा परीक्षणमार्फत यकिन गर्न सकिन्छ ।


सबै ‘एस्चेरेचिया कोलाइ’ले रोग निम्त्याउँदैनन् । केही विशेष प्रकारका जीवाणुको सम्पर्कमा आएपछि खानालाई विषाक्त (फुड पोइजनिङ) बनाउँछन् । दिसाजन्य जीवाणु (हानिकारक कोलिफर्म) पानी वा खाद्यपदार्थ सेवनले झाडापखाला लागेर महामारी फैलन सक्छ । यस्तै रगतमासी (आउँ) हुने, ज्वरो आउने, शरीर थाक्ने, खान मन नलाग्ने जस्ता लक्षण देखिन्छ । पेटका मांसपेशी बाउँडिने, बान्ता आउने, वाकवाकी लाग्ने, रक्तअल्पत्ता हुने, पेट दुख्ने समस्या हुनसक्छ ।


मृगौलाले काम गर्न छाड्नेसम्मका समस्या देखिन सक्छन् । १–२ मिनेटसम्म उमाले वा क्लोरिनजस्ता रासायनिक झोल हाले पानीमा भएका हानिकारक जीवाणु नष्ट हुन्छन् । पानी राख्ने भाँडा पनि सफा र जीवाणुरहित हुनुपर्छ ।


[email protected]
खरेल धरानस्थित केन्द्रीय प्रविधि क्याम्पसको प्राणीशास्त्र विभागमा पढाउँछन् ।

प्रकाशित : श्रावण २३, २०७५ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?