कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

रुवान्डाबाट सिक्ने कि !

प्लास्टिक झोलामा लगाइएको प्रतिबन्धका कारण रुवान्डा सफा छ । हरियाली जताततै ।
सुजीव शाक्य

काठमाडौँ — सिंगापुर र स्विट्जरल्यान्डको गफ छाडौं । सानो मुलुक रुवान्डाबाट सिकौं । रुवान्डा अहिले अफ्रिकाको आँखाका नानी भएको छ । चीनका रास्ट्रपति सी चिनफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी केही दिनअघि रुवान्डा भ्रमण गरे । त्यहाँका राष्ट्रपति पल कगामे संसारका शक्तिशाली मुलुक र त्यहाँका नेताहरूले भेट्नैपर्ने व्यक्ति भएका छन् ।

रुवान्डाबाट सिक्ने कि !

उनी क्यानाडामा भएको जी– ८ राष्ट्रको भेलामा गए । हालसालै भएको विश्वकप फुटबल उद्घाटनमा मस्को पुगेका थिए । बेलायतले कहिले राज्य नगरे पनि रुवान्डा कमनवेल्थ (बेलायतले राज गरेका राष्ट्रहरू) देश बनेको ८ वर्ष भयो । २०२० मा कमनवेल्थ राष्ट्राध्यक्षको शिखर सम्मेलन रुवान्डाको राजधानी किगालीमा हुँदैछ । फ्रान्ससँग चिसिएको सम्बन्ध त्यहाँ नयाँ राष्ट्रपति म्याक्रोनको उदयपछि सुधार
भएको छ ।


अहिले रुवान्डा पहिले फ्रान्सको अधीनमा रहेका राष्ट्रहरूको समूह (फ्रान्कोफां) राष्ट्रहरूको अध्यक्ष पदको दाबेदारका रूपमा लबी गर्दैछ । भूटानको दुई तिहाइ भूमि भएको भूटानमा नेपालको आधाभन्दा कम जनसंख्या (करिब १.२ करोड) छ । चौबीस वर्षअघि संसारले कहिल्यै नबिर्सने नरसंहारमा असी लाख जनतामध्ये १२ लाख मारिएका थिए । त्यस्तो इतिहासबाट परिवर्तनको दिशामा लम्किएको यो मुलुकबाट सिक्न सकिने कुरा धेरै छन् ।

सफा हुन धनी हुनुपर्दैन
किगाली विमानस्थलमा सामान लिएपछि नेपालमा जस्तै चेकिङ हुन्छ । तर सुन होइन, प्लास्टिक झोलाका लागि । प्लास्टिकको झोला फ्याँक्न लगाइन्छ । सबै अचम्मित हुन्छन् । प्लास्टिकको झोलामा लगाइएको प्रतिबन्धका कारण रुवान्डा सफा छ । सहर मात्र होइन, गाउँका कुनाकाप्चा पनि सफा । हरियाली जताततै । जहाँ पायो, त्यहाँ पसल राख्न पाइन्न । झन् फुटपाथ र खाली ठाउँमा एकदमै कडा । बाटो हिँड्दा खान पाइँदैन । तोकिएको ठाउँमा मात्र खानुपर्छ ।


रुवान्डा विकासशील देश भएर पनि विकसित देशजस्तै सफा छ । सफा हुनु धनी देश र धनी मानिसको पहिचान भन्ने ठानिएको छैन । सफा हुनु नेपालमा जस्तो पुँजीवादको प्रतीक भन्ने बुझाइ छैन । नेपालले सिक्नुपर्ने यो महत्त्वपूर्ण पाठ हो । नेपालमा समाजवादका नाममा हामीले फोहोर, दुर्गन्ध र छाडापनलाई प्रतीकका रूपमा अघि सार्‍यौं । सफा, चिटिक्क र स्वस्थ हुनु पुँजीवादको अनुशरण गर्ने हो भन्ने बुझाइ रह्यो ।


रुवान्डाका नागरिकले आय धेरै नभए पनि भएकालाई जतन गरेर राख्न सिकेका छन् । सामाजिक र पारिवारक कार्यक्रमका निम्ति ऋण लिएर लुगाफाटा किन्ने गर्दैनन् । घरमा तन्ना, तौलिया तीन दिनमा एकपटक फेरेर धुनुपर्ने स्कुलबाटै सिक्छन् । मोजा गनाउन सक्छ भनेर बुझेका छन् । त्यसका निम्ति नियमित खुट्टा धुन्छन् । सफा हुनुलाई सभ्यतासँंग जोड्छन् ।

ठूलो सपना ठूलै परिवर्तन
सानो मुलुक, सानो अर्थतन्त्र तर ठूलो सोच । पर्यटनका निम्ति रुवान्डाको आकर्षण गोरिला हो । पर्यटक १५ सय डलर तिरेर गोरिलासँंग एक घन्टा समय बिताउन सक्छन् । होटलहरू ५ सयदेखि २५ सय डलर प्रतिरात पर्ने खालका छन् । रुवान्डाले उच्च श्रेणीका पर्यटक भित्र्याउने गर्छ । विदेशी पर्यटक दुई लाखजति भित्रिन्छन् । यति कम विदेशी पर्यटकबाट रुवान्डाले वार्षिक ४५ अर्ब रुपैयाँ हाराहारी कमाउँछ । नेपालले पाँच गुणा बढी पर्यटक भित्र्याएर ५८ अर्ब रुपैयाँ कमाउने गर्छ ।


अहिले रुवान्डा अफ्रिका महाद्वीपको ‘कन्फरेन्स’ गन्तब्यका रूपमा चिनिएको छ । उसले ४० अर्ब रुपैयाँ खर्च गरेर कन्फरेन्स हल बनाएको छ । सुरक्षाका दृष्टिकोणले राम्रो हुनुका साथै हवाई सम्पर्क विस्तारले धेरै ठूलठूला कन्फरेन्स रुवान्डामा हुने गर्छन् । कन्फरेन्सले पर्यटन व्यवसायको काँचुली फेर्न सहयोग गरेको छ ।


रुवान्डामा सोच ठूलो छ । भनेको कुरा गर्छन् । चार वर्षअघि बनाउन थालिएको दोस्रो विमानस्थल २०१९ को अन्त्यमा तयार हुनेछ । अमेरिकासंँग सिधा हवाई सम्पर्क अर्को महिना सुरु हुँदैछ । ६० अर्ब रुपैयाँको सांस्कृतिक पर्यटन स्थलको बीसवर्षे काम सुुरु भएको छ । चार चरणमा निर्माण हुने यो प्रोजेक्ट तयार हुनेछ । रुवान्डामा बीसवर्षे योजना बन्छन् । पाँच वर्षपछि आउने रेलसेवाका निम्ति विद्यार्थीले रेल सम्बन्धी कोर्स पढ्न थालिसकेका छन् ।

देशप्रति गर्व
रुवान्डाका नागरिक अरू देशमा काम गर्न रुचाउँदैनन् । सरकारले केही कार्यक्रममार्फत वैदेशिक रोजगारलाई अघि सार्न खोज्दैछ, तर नागरिकले त्यति रुचि देखाएका छैनन् । आफ्नो देशमा काम गर्नुलाई उनीहरू महत्त्वपूर्ण ठान्छन् । सानो काम भए पनि त्यसलाई गम्भीरताका साथ लिन्छन् ।


सरकारी कार्यालयमा सचिव स्तरको व्यक्तिलाई भेट्न जाँदा कुर्सी नपुगे आफै लिएर आउँछन् । नेपालमा जसरी घन्टी ट्याउँ–ट्याउँ गर्दैनन् ।


आफ्नो देशप्रति गौरव धेरै ठूलो कुरो हो । हामी नेपाली पाएसम्म आफ्नो देशको खिल्ली उडाउँछौं । सामाजिक सञ्जालमा जे पायो, त्यही भन्छौं । नेपाल खतम छ भन्ने बित्तिकै तक्मा नै पाउनेजस्तो व्यवहार गर्छौं । रुवान्डा यो हिसाबले अलग छ । ऊ संसारको उदाउँदो शक्तिशाली राष्ट्रका रूपमा आफूलाई चिनाउन खोज्छ । विदेशी लगानी र सीपमा विश्वास राख्छन् र सबैसंँग प्रतिस्पर्धा गर्न तयार छन् ।


हामी पनि यो सानो मुलुकबाट सिक्ने कि ?

www.sujeevshaky.com

प्रकाशित : श्रावण १८, २०७५ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?