कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

स्तनपान लज्जा होइन

निर्धक्क स्तनपान गराउन नसक्दा बच्चाले आमाको दूध समयमा र पर्याप्त खान पाउँदैनन् ।
मीना मरासिनी

काठमाडौँ — क्यानाडामा केही साताअघि एक महिला सांसदले संसद् बैठक चलिरहेका बेला कुर्सीमै बसेर बच्चालाई दूध चुसाइरहेको भिडियो सार्वजनिक भयो । गत वर्षमात्र अष्ट्रेलियामा एक सांसदले संसद् बैठकमा बच्चालाई दूध चुसाउँदै उठेर भाषण गरेको र संसद्मा सार्वजनिक महत्त्वको प्रस्ताव पेस गरेको समाचारले निकै चर्चा पाएको थियो ।

स्तनपान लज्जा होइन

दुई वर्षअघि आइसल्यान्डमा एक महिला सांसदले बच्चालाई दूध चुसाउँदै संसद्को रोष्ट्रममा गई सम्बोधन गरेर चर्चा कमाएकी थिइन् । यी बाहेक स्पेनकी क्यारोलिना बेस्कान्स्का, अर्जेन्टिनाकी भिक्टोरिया डोना पेरेज, बेलायतकी एन्नेलिज डोड्स तथा इटालिकी लिसिया रोन्जुलीहरू यस्ता साहसिक महिला नेतृ तथा जिम्मेवार आमा हुन्, जसले संसद्भित्रै आफ्नो बच्चालाई दूध चुसाउने हिम्मत गरेर एकसाथ मातृत्व र नेतृत्वको उदाहरण पेस गरे ।


‘स्तनपान : जीवनको आधार’ भन्ने मूल नाराका साथ अहिले २६ औं विश्व स्तनपान सप्ताह मनाइरहेको अवसरमा महिला सांसदको माथि उल्लेखित कदमको चर्चा झनै सान्दर्भिक भएको छ । सप्ताहको पूर्वसन्ध्यामा युनिसेफ तथा विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको रिपोर्ट अनुसार जन्मेको एक घन्टाभित्र आमाको दूध खान नपाउँदा विश्वमा हरेक वर्ष ७ करोड ८० लाख शिशु मृत्युको उच्च जोखिममा पर्ने गरेका छन् । रिपोर्ट अनुसार हरेक ५ मध्ये २ जना नवजात शिशुले मात्र जन्मेलगत्तै आमाको दूध चुस्न पाएका छन् । विश्वमा लाखौं बालबालिका कुपोषणको सिकार बनिरहेका छन् । आमाको दूध चुस्न नपाउनु त्यसको एउटा मुख्य कारक तत्त्व हो । बाल कुपोषण निवारणको सबैभन्दा वैज्ञानिक तथा सस्तो उपायका रूपमा रहेको स्तनपानलाई प्रबद्र्धन गर्न अग्रणी महिलाले संसद्भित्र गराएको स्तनपानले विश्वका करोडौं आधुनिक आमा तथा समाजका अन्य पुरुष तथा महिला सदस्यलाई निकै महत्त्वपूर्ण सन्देश दिनुका साथै सबक पनि सिकाएको छ ।


स्तनपान लज्जाको विषय होइन, बच्चाको अधिकार हो । अनि आमा र बच्चाको स्वास्थ्यसँग सम्बन्धित विषय हो । महिलाका स्तन तथा स्तनपानको विषय नेपालजस्ता परम्परागत समाजमा सामाजिक ‘ट्याबु’का रूपमा छन् । जसका कारण महिला घर बाहिर दुई–चारजना मान्छे वा घरभित्रै आफूले मान्नुपर्ने मान्छेका अगाडि तथा सार्वजनिक स्थानमा चोलीका तुना फुकालेर बच्चालाई दूध चुसाउन सक्दैनन् । फलत: नियमित रूपमा निर्धक्क भएर बच्चालाई दूध चुसाउनुपर्ने आमाहरू लुकिछिपी गर्न तथा कुनाकानी खोज्न बाध्य हुन्छन् । जसले गर्दा बच्चाले आमाको दूध समयमा र पर्याप्त खान पाउँदैनन् ।


पछिल्लो जनसांख्यिक सर्वेक्षण २०१६ का अनुसार नेपालमा पूर्ण स्तनपान गराउने महिलाको संख्या ६६ प्रतिशत छ । पूर्ण स्तनपान शिशु जन्मेको एक घन्टा भित्रदेखि ५ वर्षसम्म स्तनपान गराउनुलाई बुझिन्छ । शिशु जन्मेको एक घन्टा भित्रमा दूध चुसाउने दर ५५ प्रतिशत मात्र छ । नवजात शिशु जन्मिएपछि सबैभन्दा पहिले आमाको दूध चुसाउनुपर्नेमा नेपालमा हरेक दसमध्ये तीनजना शिशुलाई घिउ, मह तथा चिनी चटाउने गरेको सर्वेक्षणले देखाएको छ । शल्यक्रिया गरेर जन्माइएका शिशुलाई पहिलोपटक आमाको दूध प्रतिस्थापन गरी अन्य चिज खुवाउने गरिएको पनि तथ्यांकले देखाएको छ । नेपालमा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको बिक्री–वितरण कानुनत: प्रतिबन्धित रहेको भए पनि शिशुलाई आमाको दूधको साटो खुवाउने भन्दै अनेक खालका बोतल बन्द चिज बजारमा छ्यापछ्याप्ती पाइन्छन् । शिशुलाई जन्मेको ६ महिनासम्म आमाको दूधमात्र नियमित खुवाउनुपर्छ । तर जागिर तथा व्यवसायमा संलग्न कामकाजी महिलाले चाहेर पनि समयमा दूध चुसाउन पाउँदैनन् । निजामती सेवामा रहेका महिलाले तलबी सुत्केरी विदा ९८ दिनमात्रै पाउँछन् । सरकारी तथा गैरसरकारी निकायमा जागिरे आमाका लागि शिशु स्याहार सेवा तथा स्तनपान कक्षको व्यवस्था छैन । जसका कारण शिशु तथा बालबालिका आमाको स्तनपान, मातृत्वको अनुभूति तथा स्वास्थ्य अधिकारबाट बञ्चित हुनुपर्छ ।


एक अध्ययन अनुसार जन्मेपछि पहिलोपटक आमाको दूध चुसाउन २ देखि २३ घन्टासम्म ढिलो गर्दा शिशुको मृत्यु हुने जोखिम ३३ प्रतिशतले बढ्छ । जन्मेको दुई दिनसम्म पनि दूध चुस्न नपाउने बच्चामा यस्तो जोखिम दोब्बर हुन्छ । पछिल्लो समय आफूखुसी शल्यक्रियाबाट बच्चा जन्माउने क्रम बढ्नु र त्यही अनुसार प्रसव पश्चातको चिकित्सा सुविधा नहुनाले बच्चाले सुरुमै दूध चुस्न पाउने समयलाई ढिलो गरिदिने गरेको युनिसेफको अध्ययनले देखाएको छ । आमाको दूधको विकल्पमा बच्चालाई खुवाइने बट्टाका दूध लगायतका खानेकुराको प्रचार तथा बजारीकरणलाई सीमित गर्न कडा कानुनी उपाय अपनाउन युनिसेफ र डब्लुएचओले आग्रह गर्ने गरेका छन् ।


स्तनपानले बच्चाको रोग प्रतिरोधी क्षमता बढाउनुका साथै स्वस्थ रूपमा वृद्धि र विकासका लागि पोषक तत्त्व प्रदान गर्छ । बच्चा जन्मिसकेपछि आउने आमाको पहिलो विगौती दूधलाई बच्चाको पहिलो भ्याक्सिन पनि भनिन्छ । त्यसमा उच्च मात्रामा पोषक तत्त्व तथा एन्टिबोडी पाइन्छन् । तर परम्परागत समाजमा आमाको यस्तो दूध बच्चालाई खुवाउन नहुने र दुहेर फ्याँक्नुपर्ने मान्यता छ । स्तनपानले आमालाई मधुमेह र क्यान्सरको जोखिम पनि कम गर्छ । हामीकहाँ भने स्तनपान गराउँदा महिलाको सुन्दरतामा कमी आउने, स्तनको आकार बिग्रिने, शरीरको तौल घटबढ हुने जस्ता गलत धारणाले युवती आमालाई स्तनपानमा निरुत्साहित गराउने गरिएको छ । स्तनपानले आमालाई प्रदान गर्ने आत्मीयता, भावनात्मक सहानुभूति, आत्मसन्तुष्टि तथा मानसिक र शारीरिक स्वास्थ्यबारे जनचेतना वृद्धि गर्न जरुरी छ । स्तनपानले बच्चाको स्वास्थ्य उपचार तथा खाना खर्चमा हुने बचतका साथै बच्चाको शारीरिक र बौद्धिक विकासमा गर्ने योगदानका विषयमा सबै आमालाई जानकार बनाउनुपर्छ ।
[email protected]

प्रकाशित : श्रावण १८, २०७५ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?