कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

फाइदाजनक एपेन्डिक्स

एपेन्डिक्समा कोषिकाले शरीरको आन्द्रामा संक्रमण गर्ने खालका हानिकारक ब्याक्टेरिया, भाइरस लगायत नष्ट गरी पाचनतन्त्र स्वस्थ राख्न मद्दत गर्छन् ।
मिलन खरेल

काठमाडौँ — एपेन्डिक्स हाम्रो ठूलो आन्द्राको तल्लो भागमा टाँसिएर वा झुन्डिएर रहेको गँड्यौला आकारको सानो अवशेष अंग हो । यसको औसत लम्बाइ ९ सेन्टिमिटर र चौडाइ ७ देखि ८ मिलिमिटरसम्म हुन्छ ।
एपेन्डिक्समा ब्याक्टेरियाको संक्रमण हुनुलाई एपेन्डिसाइटिस भनिन्छ ।

फाइदाजनक एपेन्डिक्स

यसमा बिमारीलाई खान मन नलाग्ने, ज्वरो आउने, वान्ता लाग्ने, पेटको दाहिनेतर्फ तल्लो भागमा निकै दुख्ने गर्छ । एपेन्डिसाइटिसको खासै कारण पत्ता नलागे पनि यो कडा दिसा (फेकोलिथ), म्युकस, ट्युमर वा अन्य बाहिरी वस्तुको प्रवेशले एपेन्डिक्सको मुख (प्वाल) थुनिएका कारण हुने गर्छ भनिएको
छ । चिकित्सकको सल्लाहमा शल्यक्रिया (एपेन्डोक्टोमी) मार्फत एपेन्डिक्स हटाएर वा एन्टिबायोटिक्स औषधि सेवनबाट यसको उपचार गर्ने गरिन्छ ।

मानिसमा रहेको एपेन्डिक्सलाई काम नलाग्ने अवशेष अंगका रूपमा मान्दै आइएको छ । जीववैज्ञानिकहरूका अनुसार ढुंगेयुगका हाम्रा पुर्खामा एपेन्डिक्स अहिलेको तुलनामा ठूलो, लामो र उपयोगी अंग थियो । तर विकासक्रममा निरन्तर अनुपयोगका कारण यसको आकार क्रमश: घट्दै गएर गँड्यौलाजस्तो र उपयोगहीन हुनपुगेको हो । शल्यक्रिया गरी एपेन्डिक्स झिकिएका व्यक्तिहरूको स्वास्थ्यमा उल्लेखनीय खालको कमी वा समस्या नदेखिएकाले एपेन्डिक्सलाई अवशेष अङ्गको रूपमा मानिएको छ ।

एपेन्डिक्सको महत्त्व
वैज्ञानिकहरूले हालै गरिएका अनुसन्धानबाट एपेन्डिक्स अवशेष अंगमात्र नरहेको दाबी गरेका छन् । उनीहरूका अनुसार एपेन्डिक्सका फाइदा छन् । एपेन्डिक्सले शरीरलाई हानि नगर्ने राम्रा जीवाणु (गट फ्लोरा) लाई सञ्चय गरेर राख्छ । जसले गर्दा आउँ, झाडापखाला, हैजाजस्ता लागेका बिमारीमा राम्रा जीवाणुको पुन:स्थापनामा मद्दत पुग्छ । संयुक्त राज्य अमेरिकाको न्युयोर्कस्थित विन्थ्रप विश्वविद्यालयमा गरिएको एक अनुसन्धान अनुसार शल्यक्रियामार्फत एपेन्डिक्स झिकिएका व्यक्तिमा ‘क्लसट्रिडियम डिफिसाइल कोलाइटिस’ नामक ब्याक्टेरिया संक्रमण एपेन्डिक्स नझिकिएका व्यक्तिहरूको तुलनामा ४ गुणा बढी पाइएको थियो ।

एपेन्डिक्समा रहेका बि–लिम्फोसाइट तथा टि–लिम्फोसाइट जस्ता कोषिकाले शरीरको प्रतिरोधात्मक क्षमता (इम्युन सिस्टम) वृद्धि गरी हाम्रो आन्द्रामा संक्रमण गर्ने खालका हानिकारक ब्याक्टेरिया, भाइरस आदिलाई ‘एन्टिबडी’ उत्पादनमार्फत नष्ट गरी पाचनतन्त्र स्वस्थ राख्न मद्दत गर्छन् ।

मानव भ्रूण पाँच साताको भएपछि एपेन्डिक्सको विकास सुरु हुने गर्छ । बच्चामा सुरुवाती दिनमा एपेन्डिक्सको वृद्धि निकै रफ्तारका साथ हुने गर्छ । यसमा रहेका इन्डोक्राइन कोषिकाले हार्मोन उत्पादनमा वृद्धि गरी भ्रूण तथा बच्चाको शारीरिक विकासमा मद्दत गर्छ ।

कसरी घट्यो एपेन्डिक्स
मुसा, खरायो, चिम्पाञ्जी, गोरिल्ला तथा बाँदरजस्ता शाकाहारी स्तनधारीमा एपेन्डिक्स ठूलो र लामो हुने गर्छ । त्यसमा रहेका पारस्परिक फाइदाजनक ब्याक्टेरियाले वनस्पतिमा हुने ‘सेलुलोज’ नामक कडा पदार्थलाई पचाउन मद्दत गर्छन् । हाम्रा पुर्खामा वनस्पति आहाराका रूपमा खाने भएकाले उनीहरूमा एपेन्डिक्स लामो हुने गथ्र्याे । तर अहिले हामी सजिलै पचाउन सकिने खानेकुरा खाने भएकाले एपेन्डिक्सको आकार घट्दै गएको वैज्ञानिकहरूको दाबी छ ।

[email protected]
खरेल धरानस्थित केन्द्रीय प्रविधि क्याम्पसको प्राणीशास्त्र विभागमा कार्यरत छन् ।

प्रकाशित : श्रावण १७, २०७५ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?