कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

नेपाल–चीन सम्बन्ध: समृद्धिमा सहयात्रा

चीनसँग नेपालको तीव्र विकासको आकांक्षामा सहयोग गर्ने चाहना र सामथ्र्य दुवै छ ।
लीलामणि पौड्याल

काठमाडौँ — नेपाल–चीन सम्बन्धमा अगस्ट १ ऐतिहासिक महत्त्वको दिन हो । ठिक ६३ वर्ष पहिले दुई मुलुकका दूरदर्शी नेतृत्वले दुई देशबीच ऐतिहासिक, सांस्कृतिक र जनस्तरको सम्बन्धलाई कूटनीतिक सम्बन्धमा रूपान्तरण गरे ।

नेपाल–चीन सम्बन्ध: समृद्धिमा सहयात्रा

नेपालको चीनसँगको कूटनीतिक सम्बन्ध सांस्कृतिक तथा जनस्तरको दुई हजार वर्ष पुरानो बलियो र फराकिलो जगमा उभिएको छ । कूटनीतिक सम्बन्ध स्थापना यताका वर्षहरूमा यो सम्बन्ध निरन्तर बलियो र विस्तार हुँदै गएको छ । बेलायत, अमेरिका, भारत र फ्रान्सपछि नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने जनवादी गणतन्त्र चीन पाँचौँ मुलुक हो भने चीनले कूटनीतिक सम्बन्ध स्थापना गरेका मुलुकमध्ये नेपाल २७ औँ हो ।नेपाल र चीन बीचको सम्बन्ध आपसी सम्मान, विश्वास, मित्रता र सद्भावनामा आधारित छ ।

उनीहरू एकअर्काका चासो र राष्ट्रिय हितप्रति संवेदनशील छन् । यो सम्बन्ध एकअर्काको सार्वभौम स्वतन्त्रताको सम्मान, भौगोलिक अखण्डताप्रति पूर्ण समर्थन, एकअर्काका आन्तरिक मामिलामा अहस्तक्षेप सम्बन्धी पञ्चशीलका सिद्धान्तमा आधारित छ । भूगोल, जनसंख्या, अर्थतन्त्र र राजनीतिक प्रणालीका हिसाबले भिन्न रहेर पनि असल छिमेकीपन र विश्वासिलो मित्रताको निरन्तरता हाम्रो सम्बन्धका चारित्रिक विशेषता हुन् । एक चीन नीति नेपालको चीनसँगको सम्बन्धको आधारभूत खम्बा हो । नेपालको सार्वभौम स्वतन्त्रताको सम्मान र सहयोग चीनको नेपालप्रतिको अक्षुण्ण नीति हो । नेपाल–चीन सम्बन्ध समस्यारहित छ भनेर हामी गर्वसाथ भन्छौँ ।


नेपाल र चीन बीचको राजनीतिक सम्बन्धलाई दरिलो र विश्वासिलो बनाउन उच्च राजनीतिक भ्रमणहरू आदान–प्रदान भैरहेका छन् । सन् २०१६ को मार्चमा प्रधानमन्त्री केपी शर्मा ओली, सन् २०१७ को मार्चमै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा सन् २०१८ को जून १९ देखि २४ मा भएको वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण तथा चीनका उपप्रधानमन्त्री वाङयाङको सन् २०१७ को अगष्टमा भएको नेपाल भ्रमणले नेपाल–चीन बहुआयामिक सम्बन्धलाई थप उचाइमा लैजान महत्त्वपूर्ण भूमिका खेलेका छन् ।
नेपालमा नयाँ राजनीतिक विकास र चीनमा भएका पछिल्ला महत्त्वपूर्ण विकासक्रम पश्चात प्रधानमन्त्री केपी शर्मा ओलीले गत जून महिनामा गर्नुभएको भ्रमणले दुई मुलुक बीचको विश्वासको जगलाई अझ मजबुत बनाएको छ । सो भ्रमणक्रममा अन्य थुप्रै महत्त्वपूर्ण सम्झौताका अतिरिक्त नेपाल र चीनबीच रेलवे सञ्जालको विकास सम्बन्धी समझदारी ठूलो ऐतिहासिक महत्त्वको छ ।


चीनसँग रेलसेवा जोड्ने भनेको नेपालमा केही किलोमिटर रेलको बाटो थप्नेमात्र नभएर नेपालको आर्थिक, सामाजिक विकास दूरगामी प्रभाव पार्ने महत्त्वपूर्ण काम हो । रेलवे मार्फत चीनसँग जोडिँदा भूपरिवेष्टित नेपाललाई युरोप, मध्य एसिया, पश्चिम एसिया र दक्षिणपूर्व एसियासँग जोडिने अवसर मिल्छ । किनकि क्षेत्र तथा मार्ग अवधारणा (बीआरआई) मार्फत चीनले ती सबै मुलुकहरूसँग आपसी सम्पर्कको जालो जोडतोडका साथ प्रबर्द्धन गर्दै आएको छ । सन् २०१७ मा ३ हजार ६ सय ७३ वटा मालवाहक रेल चीनबाट युरोप पुगेका छन् ।

बीआरआईमा सहभागी हुनु र चीनसँग रेलमार्फत जोडिनु भनेको चीनले तीव्र रूपमा बहुआयामिक सम्पर्कको जालो प्रबद्र्धन गरिरहेको बाँकी विश्वसँग पनि जोडिनु हो । यो रेल परियोजनाले नेपाली अर्थतन्त्रलाई विश्वव्यापी उत्पादन संरचना (प्रोडक्सन भ्यालु चेन) सँग जोड्न सघाउ पुग्नेमात्र होइन, नेपालको पर्यटन र व्यापार विविधीकरणमा ठूलो परिवर्तनको तागत राख्छ । हिमाल वारपार गर्ने रेल आफैँ विश्वकै सबैभन्दा आकर्षक पर्यटकीय वस्तु मध्येको एउटा हुनेछ । विश्व भ्रमण गर्ने लाखौँ पर्यटकहरूले एकपटक हिमाल छिचोल्ने रेलमा यात्रा गर्न पक्कै लालायित हुनेछन् । हिमाल छिचोल्ने रेल चीनका लागि पनि आफ्नो दक्षिण–पश्चिमी ठूलो भूभागलाई हिमालपारिको अर्को सभ्यता र ठूलो अर्थतन्त्रसँग जोड्ने एक महत्त्वपूर्ण परियोजना हुनेछ । यस परियोजनाले हिमाली क्षेत्र वरिपरि सामाजिक–आर्थिक विकासको लहर ल्याउनेछ ।


लामो दूरीका भूगोलबीच छरितो, सुरक्षित र तुलनात्मक किफायती यातायातको माध्यम नै रेलसेवा हो । भूपरिवेष्टित मुलुकलाई बाह्य विश्वसँग जोड्ने भनेको हवाइजहाज र रेल सञ्जालमार्फत मात्रै हो । हवाइसेवाका आफ्नै सीमा छन् । सडक सञ्जाल जतिसुकै उच्चस्तरीय भए पनि मान्छे र वस्तु ओसार–पसारमा लामो दूरी तय गर्न उपयुक्त माध्यम मानिँदैनन् । त्यसैले नेपाललाई बाह्य विश्व सञ्जाल र अर्थतन्त्रसँग जोड्नका लागि चीनको रेलसेवासँग जोडिनु अपरिहार्य थियो, जुन कामलाई यो भ्रमणले अगाडि बढाएको छ ।

ऐतिहासिक अवसर
गतवर्ष सम्पन्न तीन तहको निर्वाचनपछि नेपाल राजनीतिक स्थायित्वको युगमा प्रवेश गरेको छ । सन् २०१७ को मेमा सम्पन्न ऐतिहासिक अन्तर्राष्ट्रिय शिखर सम्मेलनबाट चीनको बीआरआई अभियानले विश्वव्यापी समर्थन प्राप्त गरेको छ । गत अक्टोबरमा सम्पन्न चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ महाधिवेशन र गत मार्चमा सम्पन्न १३ औँ चिनियाँ राष्ट्रिय जनकांग्रेसको अधिवेशनले चिनियाँ समाजको पुनर्जागरण र सन् २०५० सम्ममा समृद्ध, सशक्त, प्रजातान्त्रिक, सांस्कृतिक रूपमा विकसित, सौहार्द र सुन्दर राष्ट्र निर्माण गर्ने लक्ष्य निर्धारण गरेको छ । नेपाल र चीनबीच विकसित यी पृष्ठभूमिको जगमा दुई देशका नेताहरू गत जूनमा भएको भेटघाटमा आपसी विश्वास बढाई सम्बन्धलाई थप बलियो बनाउन एकमत भएका छन् । दुवै मुलुक बीचको आर्थिक, सामाजिक विकास र स्थायित्वले क्षेत्रीय विकास र स्थायित्वमा समेत स्वत: योगदान पुर्‍याउनेछ ।

नेपालका सम्भावना
प्राकृतिक स्रोत, सौन्दर्य, जैविक र सांस्कृतिक विविधताका आधारमा नेपाल विश्वकै एक धनी राष्ट्र हो । तर हामीले ती स्रोतहरू तीन करोड नेपालीको समृद्धिका लागि अझै प्रयोग गर्नसकेका छैनौँ । जलस्रोत नेपालको मुख्य प्राकृतिक स्रोत हो । सिंचाइको फाइदा, सफा झरनाको पिउने पानी र जलक्रीडा जस्ता पानीको बहुउपयोगबाट नेपालले अर्बौँ डलरको लाभ लिनसक्ने सम्भावना छ । तर सिंचाइको अभावमा मुख्य अन्नबालीहरूको उत्पादन क्षमताका हिसाबले हामी यस क्षेत्रमै निम्छरो छौँ । आन्तरिक र बाह्य पर्यटकको चाप बढिरहेको भए पनि नेपालका विमानस्थल लगायतका पूर्वाधारहरू लाखौँ पर्यटक धान्ने क्षमताका सुविधा सम्पन्न छैनन् । हाम्रो निर्यात–आयातको अनुपात चिन्ताजनक छ । हाम्रा स्रोतको उपयोग तथा विकासमा देखिएका यी कमजोरीहरूका सूची यहाँ प्रस्तुत गर्नुको अर्थ नेपालसँग अथाह सम्भावना छ भन्ने उजागर गर्नु हो ।

चीनको अवस्था
चीनले सुधार र खुलापन लागू गरेको चालीस वर्षमा सामाजिक–आर्थिक विकासमा आश्चर्यजनक प्रगति गरेको छ । विगत पचास वर्षमा चीनको प्रतिव्यक्ति आय एक सय डलरबाट आठ हजार डलर नाघेको छ । चीन सबैभन्दा धेरै पर्यटक पठाउने र सबैभन्दा धेरै वैदेशिक मुद्रा सञ्चिति भएको मुलुक हो । उच्च गतिको रेल र गरिबी निवारण अभियानमा चीन विश्वलाई उदाहरण बनेको छ । चीनले आफ्ना अनुभव, स्रोत र क्षमतालाई अन्य मुलुकसँग साझेदारी गर्ने प्रस्ताव गरेको छ । चीनसँग रेलवे, सडक, सुरुङमार्ग, पुल, एयरपोर्ट, फोहोर व्यवस्थापन, ऊर्जा उत्पादन तथा ट्रान्समिसन, पर्यटन र कृषि विकासमा अद्वितीय अनुभव, प्रविधि र दक्ष मानव संसाधनको प्रचुरता छ ।

नेपालको समृद्धिमा चीन
चीनले नेपालको आर्थिक–सामाजिक विकासमा धरै ठूलो योगदान पुर्‍याएको छ । सन् २०१५ को भूकम्पपछिको खोज, उद्धार र पुनर्निर्माणमा चीनको सहयोग अविस्मरणीय छ । चीनले आफूँग भएको स्रोत, साधन, क्षमता तथा अनुभव नेपालजस्ता छिमेकीसँग बाँडेर साझा भाग्य समुदाय (कम्युनिटी अफ सेयर्ड डेस्टिनी) निर्माण गर्ने उद्देश्य राखेको छ । नेपालको समृद्धिको यात्रामा चीन असल छिमेकीमात्र नभएर अपरिहार्य साझेदार पनि हो । समृद्धिका लागि पूर्वाधार विकास, कृषि, ऊर्जा, औद्योगिक उत्पादन वृद्धि र पर्यटनजस्ता प्राथमिकताहरू हामीले तय गरिसकेका छौँ । अबको ध्यान परियोजना विकास, छनोट, निर्माण, सञ्चालन तथा सम्भारमा हाम्रो सक्षमता विकास गर्ने हुनेछ । यस कार्यमा उदारतापूर्वक सघाउन चीन तत्पर छ । चीन आफ्ना छिमेकीहरूलाई समृद्धिको सहयात्रामा सँगसँगै अगाडि बढाउन तत्पर देखिएको ऐतिहासिक अवसर छोप्न हामीले हाम्रा काम र निर्णयहरूमा तदारुकता ल्याउनु आवश्यक छ ।

निचोड
प्राकृतिक तथा सांस्कृतिक स्रोतको धनी नेपालले सामाजिक–आर्थिक विकास कार्यलाई दु्रतगतिमा अगाडि बढाउने अवसर अहिले आएको छ । जननिर्वाचित सरकारले राजनीतिक स्थिरता र समृद्धिको आकांक्षा पूरा गर्न आन्तरिक र बाह्य स्रोत परिचालन गर्न आवश्यक छ । नेपाललाई अहिले आर्थिक स्रोत, उच्चस्तरीय सुलभ प्रविधि र अनुभवी जनशक्तिको खाँचो छ । चीनसँग नेपालको तीव्र विकासको आकांक्षामा सहयोग गर्ने चाहना र सामथ्र्य दुवै छ । बीआरआईको फ्रेमवर्कमा रहेर आपसी हितका कुरामा सहकार्य गर्न दुवै राष्ट्रले सहमति जनाइसकेका छन् । नेपाल र चीनले सँगसँगै अगाडि बढ्दै दुई मुलुक र हिमाल वारिपारिको समग्र क्षेत्रको आर्थिक–सामाजिक विकासमा योगदान गर्न सक्छन् । हामी हिमाली क्षेत्रको आर्थिक–सामाजिक प्रगतिका लागि साझेदार र लाभग्राही हौँ । दुबै मुलुकक लागि यो ऐतिहासिक अवसर हो । हाम्रो भविष्य उज्यालो छ । सहकार्यबाट अगाडिको बाटोलाई निरन्तर प्रज्वलित राख्न राखौं ।


पौड्याल चीनका लागि नेपाली राजदूत हुन् ।

प्रकाशित : श्रावण १६, २०७५ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?