१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

क्रिकेटको कोसेढुंगा

मनिषराज पाण्डे

काठमाडौँ — विश्व क्रिकेटमा आज दुई महत्त्वपूर्ण विषय चर्चामा छन् । पहिलो, नेपाली क्रिकेट ऐतिहासिक क्षणमा आइपुगेको छ– गत मार्चमा हासिल गरेको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको मान्यतालाई मूर्तरूप दिने अभियानको पहिलो खुड्किला बनेर ।

क्रिकेटको कोसेढुंगा

दोस्रो, मार्च १८८७ मा सुरु भएको इङल्यान्डको पहिलो आधिकारिक टेस्ट क्रिकेट यात्रा पनि ऐतिहासिक मोडमा आइपुगेको छ– एजबेस्टनमा हुने भारत विरुद्धको खेल इङल्यान्डको १००० औं टेस्ट क्रिकेट भएर ।


लड्र्समा एकदिने ट्वान्टी–२० त्रिकोणात्मक शृंखलामा मेरिलबोन क्रिकेट क्लब (एमसीसी) र नेदरल्यान्ड्ससित खेलेर पूर्वतयारीका साथ नेपालको टिम आज नेदरल्यान्ड्ससित भिड्दैछ । यो खेल नेपाल र नेदरल्यान्ड्सका लागि उत्तिकै महत्त्वपूर्ण छ । नेदरल्यान्ड्सले सन् २०१४ तिर गुमाएको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको मान्यतालाई पुन: प्राप्त गरेको हो । अहिले नेपालले प्राप्त गरेको यो मान्यता ४ वर्षका लागिमात्र हो । यसलाई स्थायित्व दिन हामीले थप प्रयत्न र सिङ्गो राष्ट्रले पनि थप अभिभारा बहन गर्नुपर्ने बेला आएको छ ।


नेपाली क्रिकेट जुन धरातलमा उभिएको छ, त्यसले सुखद यात्रालाई प्रतिविम्बित गरिरहेको छ । विश्वका सबै दिग्गज र नवप्रवेशी क्रिकेट राष्ट्र समयको महत्त्वलाई बुझेर स्थापित हुने प्रयासमा लागेको प्रशस्त उदाहरण छन् । क्रिकेटको रोचकता र समय सापेक्षता आत्मसात गर्दै इतिहासका विभिन्न कालखण्डमा क्रिकेटको स्वरूप, शैली, नीति, नियम आदि परिमार्जन हुँदै आएका छन् । यस्ता परिवर्तन आत्मसात गर्दै समयको प्रवाहमा जुन–जुनले आफूलाई ढाल्न सफल भए, ती राष्ट्र नै विभिन्न स्वरूपका क्रिकेटमा स्थापित हुनसकेका छन् । आईसीसीका सबै स्वरूपका क्रिकेट वरियताक्रमले ती राष्ट्रका स्तर र प्रदर्शनलाई प्रतिविम्बित गरिरहेको हुन्छ ।


नेपाली क्रिकेटले दुइटा महत्त्वपूर्ण स्वरूप एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता पाइसकेपछि अर्को गन्तव्य टेस्ट क्रिकेटको मान्यता हो । यो लक्ष्यका लागि आजबाट हुने एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको यात्रा कोशेढुङ्गा सावित हुनेछ ।


दक्षिण एसियाली राष्ट्र बंगलादेश र अफगानिस्तानको क्रिकेट विकासलाई मात्रै पनि हामी आफ्नो क्रिकेट विकासको योजनामा स्रोत सन्दर्भका रूपमा लिन सक्छौं । फुटबलको अत्यधिक क्रेज भएको बङ्गलादेशले सन् १९९७ मा मलेसियामा भएको अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ट्रफीमा विजयी भएसँगै ठूलो फड्को मार्न सफल भयो । सन् १९९९ को क्रिकेट विश्वकपमा छनोट भयो । सन् २००० मा टेस्ट खेल्ने राष्ट्रको मान्यतासमेत प्राप्त गर्‍यो । बङ्गलादेशसँग नेपालले सन् १९९६ को पहिलो एसियन क्रिकेट काउन्सिल (एसीसी) ट्रफी खेल्दाका क्षणहरू मेरो स्मृतिपटलमा अझै ताजा छन् । हाम्रो त्यतिबेलाको कमी–कमजोरी अन्तर्राष्ट्रिय प्रतियोगतामा ‘एक्सपोजर’ नहुनुमात्र हो जस्तो लाग्छ । क्रिकेटको प्राविधिक पक्षलाई केलाउँदा पनि त्यतिबेलै नेपाली क्रिकेटले सकारात्मक सन्देश दिइसकेको थियो । अफगानिस्तानले नेपाली क्रिकेट विकासको सम्भावनालाई झन् उजागर गरेको छ । सन् १९९५ मा मात्रै गठन भएको अफगानिस्तान क्रिकेट बोर्डले सन् २००१ मा आईसीसीको एफिलिएट सदस्यता प्राप्त गर्दै छोटो समयमै टेस्ट खेल्ने राष्ट्रको मान्यता प्राप्त गरिसकेको छ । नेपालले पनि सबै उपलब्धिलाई संस्थागत विकास गर्ने बेला आएको छ ।


क्रिकेट विकासमा सबैभन्दा महत्त्वपूर्ण पात्र खेलाडी नै हो । खेलाडीको लगनशीलता, मिहेनत, दृढसंकल्प र आत्मविश्वासको प्रतिफल हुनुपर्छ, आजको नेपालको क्रिकेट । सबै कालखण्डमा खेलाडीले पुर्‍याएको योगदान स्तुत्य छ । कतिसम्म भने विगतमा स्रोतको अभाव हुँदा खेलाडीहरू आफ्नै वा अरू शुभचिन्तकको सहयोगमा क्रिकेटका सरसामग्री जुटाउने, अभ्यास गर्ने, क्लब सञ्चालन गर्ने, विभिन्न प्रतियोगितामा सहभागी हुने गर्थे । पहिले क्रिकेटबाट केही लिनेभन्दा पनि दिने धेरैजसोको मनस्थिति हुन्थ्यो । लगाव हुन्थ्यो । सौखका रूपमा खेल्ने परिपाटी थियो । क्रमश: पेसेवर खेलका रूपमा विस्तारित हुँदैछ, जुन क्रिकेट विकासका लागि आवश्यक छ । खेललाई माथि उठाउन यसको व्यवसायीकरणको पनि उत्तिकै खाँचो छ ।


क्रिकेट विकासमा अर्को नभई नहुने विषय भौतिक पूर्वाधार हो । विगतमा टर्फ पिचको अभाव थियो । पिचमा म्याट राखेर क्रिकेट म्याचहरू खेलिन्थे । स्तरीय खेल मैदान र रंगशालाको कमी थियो । अहिले पनि त्यस्तै छ । पहिले खेलिने राष्ट्रिय खेल र केही नाम चलेका घरेलु प्रतियोगिता केही सीमित सहरमा मौसमी पारामा खेलाइन्थे । केही प्रतियोगितामा बाहय खेलाडी झिकाई खेल्ने गरिन्थ्यो । कुनै पनि प्रतियोगिताले निरन्तरता वा स्थायित्व प्राप्त गर्न नसक्नु हामीकहाँ देखिएको कमजोरी हो । यसले घरेलु क्रिकेट प्रतियोगिताको दिगो संरचना र योजना कहिल्यै आएन भन्ने देखाउँछ ।


साङ्गठनिक रूपले नेपाली क्रिकेट विकासमा प्रमुख भूमिका खेल्नेछ । हुन त नेपाल क्रिकेट संघ (क्यान) ले लामो इतिहास बोकेको छ । तर केही वर्ष यताको विवादले नेपालको व्यवस्थापकीय क्षमताबारे विश्व समुदाय समक्ष राम्रो सन्देश जान सकेन । स्रोत नहुँदा र हुँदाको समयमा संघ–संस्थामा कस्तो परिवर्तन आउँछ भन्ने उदाहरण क्यान बन्न पुग्यो । क्यानको क्रियाशीलता, पारदर्शिता र संस्थागत तथा वित्तीय निष्ठालाई माथि उठाई सक्रिय संघको रूपमा स्थापना गराउनु अबको आवश्यकता हो । यस कार्यमा सम्बन्धित सबै सरोकारवालाको भूमिका अपरिहार्य छ । क्रिकेटको सर्वोच्च निकाय कमजोर र निरीह भयो भने राष्ट्रको साखमा धक्का पुग्छ र बाहय तत्त्व हावी हुनसक्ने सम्भावना रहन्छ । क्यानको अन्योलले सबै खेलाडी, खेलकर्मी र खेलप्रेमीलाई चिन्तित तुल्याएकै हो । अन्योल निराकरण जरुरी छ ।


क्रिकेट खेलसित खेलाडी सँगसँगै विभिन्न पक्ष जोडिएका हुन्छन् । खेलाडी उत्पादन गर्न सानो उमेरका बालबालिकादेखि लगानी गर्नुपर्छ । स्कुल, क्लब, जिल्लादेखि राष्ट्रिय स्तरसम्मको क्रिकेट विकास योजना र तदनुरूपको लगानीबाट मात्र व्यावसायिक क्रिकेटको विकास हुनसक्छ । क्रिकेट खेल महंँगो हुन्छ । खेलाडीका साथसाथै प्रशिक्षक, अम्पायरजस्ता प्राविधिक दक्ष जनशक्ति उत्पादनमा उचित लगानी खाँचो छ । दिग्गज क्रिकेट राष्ट्रहरूसँगका राम्रा सिकाइ भित्र्याउनु, क्रिकेटमा लगानीमैत्री वातावरण सिर्जना गर्नु र तहगत रूपमा संस्थागत विकास गर्नु आवश्यक छ । हाम्रा छिमेकी राष्ट्रहरू क्रिकेटमा अगुवा छन् । उनीहरूबाट अधिकतम लाभ लिन सक्नुपर्छ ।


खेलाडीको क्षमता विकास सम्बन्धी कार्य अन्तर्राष्ट्रिय मापदण्ड अनुसार गर्दै जानुपर्छ । खेल प्रशिक्षक, प्रशिक्षण र प्रशिक्षण स्थल स्तरीय हुनैपर्छ । न्यूनतम खेल सुविधाबाट खेलाडी बञ्चित हुनुहुँदैन । शारीरिक र मानसिक रूपमा स्तरोन्नति गर्नुपर्छ, खेलाडीलाई खेलबाटै सम्पन्न गराउने वातावरण सिर्जना गर्नुपर्छ । सकेसम्म खेलाडीलाई खेलबाट विमुख नहुने उपाय पहिल्याउनैपर्छ, जसले पलायनको सम्भावनालाई न्यून गर्छ । खेल जीवनबाट अवकाश लिइसकेपछि पनि क्रिकेटबाट प्राप्त उपलब्धिको प्रशंसा खेलाडीको मुखबाटै सुन्ने वातावरण निर्माण जरुरी छ ।


मुुलुकलाई समृद्ध बनाउन खेल क्षेत्रबाट क्रिकेटले प्रचुर सम्भावना बोकेको छ । खेलाडीको अथक योगदानबाट प्राप्त एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको यात्रालाई दिगो बनाउनुपर्छ । त्यसका लागि क्रिकेट खेलको विकासका लागि सरोकारवालाको समझदारी र आपसी विश्वासको वातावरण सिर्जना गरी क्यानको अन्योल समाप्त गर्नुपर्छ । सँगै व्यवस्थापकीय क्षमता वृद्धि गरी खेलको संस्थागत विकासमै सबैको ध्यान केन्द्रित हुनुपर्छ ।

पाण्डे क्रिकेट खेलाडी संघ नेपालका अध्यक्ष हुन् ।

प्रकाशित : श्रावण १६, २०७५ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?