कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

सक्षमताको कसीमा सम्बन्धविच्छेद

सम्बन्धविच्छेदबाट कतिपय महिलाले राहत महसुस गरेका छन्, कोही भने तावाबाट उम्किएको माछो भुङ्ग्रोमा परेसरह भएका छन् ।
डा. प्रभा कैनी

काठमाडौँ — गत मङ्सिरमा एक बहिनी आफ्नो विवाहको निम्ता दिन मकहाँ आइन् । उनको हातमा रातो बुट्टेकार्ड र अनुहारमा उधुम प्रसन्नता देखिन्थ्यो । हितैषी र आफूले विशेष सम्मान गर्ने केही व्यक्तिलाई आफैं निम्तो दिन हिंँडेकी रहिछन् । निकै फरासिली बहिनीले भनिन्, ‘म्यारिज इज क्रिएटेड इन हेभन, हैन र दिदी ? त्यही हेभनको अनुभूत गर्न गइरहेकी छु । मेरो खुुसीमा हजुर अनिवार्य उपस्थित हुनुपर्छ ।’

सक्षमताको कसीमा सम्बन्धविच्छेद

उनी निम्तो दिएर गएपछि मसँंगै बसेकी बहिनीले ओठ लेप्य्राइन्, ‘नौलो छँदा नौ फूल गाँस, रहँदा–बस्दा जगल्टाको नाश । म पनि विवाह गर्दा यसरी नै फुर्किएकी थिएँ । त्यो उन्माद, त्यो उत्सुकता कति छिटो नामेट भयो ! मेरा लागि त सम्बन्धविच्छेद पो स्वर्गको सिर्जनाजस्तो छ । हैन र दिदी ?’

मैले उनलाई भनेँ, ‘उनको वैवाहिक सम्बन्ध सधैं राम्रै रहन पनि सक्छ । केही गरी सम्बन्धविच्छेद भए पनि उनलाई उति फरक पर्दैन । तिम्रा लागि विवाह विशादमा बदलियो । सम्बन्धविच्छेदले पनि कुनै चमत्कारी अवस्था ल्याउने आशा नगरे हुन्छ । सम्बन्धविच्छेद गर्न नहतारिनु । छोराछोरीकी आमा, त्यसमाथि साक्षर, आफ्नो कमाइ शून्य हुनेका लागि सम्बन्धविच्छेदले खासै सहयोग पुर्‍याउँदैन ।’

ती बहिनी पनि गएपछि मैले दुई नेपाली महिला सम्झिएँ– ‘अकुपाई बालुवाटार’ अभियानकी पर्यायवाची बनेकी विदुषी ढुङ्गेल र बलिउडकी ख्यातिप्राप्त नेपाली चेली मनिषा कोइराला । केही वर्ष पहिले विदुषीले काठमान्डु पोस्टमा विवाहको पक्षमा लामो वकालत गरेकी थिइन् । ‘महिलाका यावत दु:ख र पीडाको दोष विवाहजस्तो उत्कृष्ट संस्थामाथि थोपर्नु सर्वथा गलत हो । विवाह नै यस्तो व्यवस्था हो, जसद्वारा महिला–पुरुष दुवैले सुख–दु:खको अनुभूति बाँड्छन्, भावना र प्रेमको गाँठो कसिलो बनाउँछन् र जीवनका उत्तम लक्ष्य प्राप्तिका लागि श्रीमान्–श्रीमतीले संँगसँंगै पाइला चाल्न सक्छन्,’ उनको ठम्याइ थियो । त्यसबेला उनी नवविवाहित थिइन् ।

‘विवाह भनेको अँध्यारोमा हाम फाल्नु हो, न त्यो सुन्दरताका आधारमा सफल हुन्छ, न त्यो कुनै यौन सामञ्जस्यको आधारमा’ भन्ने विश्वेश्वरप्रसाद कोइरालाकी नातिनी अभिनेत्री मनिषा कोइरालाको विवाह अँध्यारोमा हाम फालेसरह भयो । वैवाहिक जीवन धेरै टिकेन । सम्बन्धविच्छेदपश्चात् आफू तनावमुक्त रहेको उनले सामाजिक सञ्जालमार्फत व्यक्त गरेकी थिइन् ।

एक थरी मानिस सम्बन्धविच्छेदले महिलाको क्षमता प्रदर्शन गर्छ भन्नेमा विश्वास गर्छन् भने अर्का थरी यसलाई बाध्यात्मक परिस्थितिका रूपमा मात्र लिने गर्छन् । मनिषाका लागि डिभोर्सले स्वतन्त्रता प्रदान गर्‍यो, तिक्ततापूर्ण सम्बन्धबाट उन्मुक्ति मिल्यो । सम्बन्धविच्छेदको अधिकारका कारण पीडादायी दाम्पत्य जीवनयापन गर्नुपर्ने बाध्यात्मक परिस्थितिबाट मनिषाले जस्तै अन्य महिलाले छुटकारा पाएका छन् । तर सम्बन्धविच्छेद सबैका लागि सुखद नहुन पनि सक्छ ।

वैवाहिक सम्बन्ध सधैं सबैका लागि उत्तिकै उत्साहजनक रहँदैन । विवाहित दम्पतीबीच मायाप्रेम, सद्भाव, विश्वास र भावनात्मक सम्बन्ध सदावहार रहिरहन्छ भन्ने निश्चितता हुँदैन । वैवाहिक सम्बन्ध र पितृसत्तात्मक प्रणाली अलग–अलग विषय हुन् भनेर विश्लेषण गर्न सक्ने महिला कति छन् ? अधिकांश नेपाली युवतीका लागि विवाह समर्पित हुनु हो, परनिर्भरता स्वीकार्नु हो, पतिको घरमा आइपर्ने न्याय–अन्यायका अनेक शृङखला सहन तयार हुनुपर्ने अवस्थाको द्योतक हो ।

अहिले पनि बहुसंख्यक बाबुआमाका लागि विवाह छोरीप्रतिको दायित्व पन्छाउने एक प्रमुख घटना हो । कुनै बाबुआमाले छोरीले दु:ख नपाओस् भनेर सोच्लान् । उनीहरू आफ्नो सम्पत्ति छोराछोरीमा बराबर बाँडेर, दुबैलाई एकैखाले शैक्षिक अवसर दिएर र समान व्यवहार गरेर होइन कि सम्पन्न घरानाको, पठित र राम्रो आर्जन गर्नसक्ने वरको खोजी गरेर छोरीलाई पठाउन उद्यत हुन्छन् । संक्षेपमा, आफ्नो दायित्व अरूमा सारेर आनन्दको सास फेर्छन् । विवाहपश्चात् पतिकी भोग्या, सासू–ससुरा, नन्द–आमाजू, देवर–जेठाजू भान्जा–भान्जीकी सेविका बन्न तयार हुनुपर्ने हुन्छ, अन्यथा उनको खाने र बाँच्ने कुरामै प्रश्नचिन्ह खडा हुन्छ । यस अवस्थामा शिक्षित समूहका केहीमा क्रमिक परिवर्तन देखिँदै छ ।

पति–पत्नीबीच समझदारी टुटेपछि एकले अर्कालाई बाधा र बन्धन दिन उपयुक्त हुँदैन भन्ने मान्यतामा सम्बन्धविच्छेदको सिद्धान्त अघि सारियो । धेरै महिलाले सम्बन्धविच्छेदको प्रावधान उपयोगबाट उन्मुक्तिको अनुभूति पनि गर्दै छन् । सम्बन्धविच्छेदको प्रावधानले महिला–पुरुष कसलाई फाइदा–बेफाइदा गर्छ, यकिन गर्न गाह्रो छ । यसमा परिस्थितिअनुसार व्यक्तिपिच्छे अनुभव फरक–फरक पर्न सक्छ ।

सरसर्ती हेर्दा हाम्रो समाजमा विवाहको बन्धनबाट उम्कने प्रयत्न पुरुषले भन्दा महिलाले धेरै गरेको जस्तो लाग्छ । महिलाकै अग्रसरतामा सम्बन्धविच्छेद सम्बन्धी कानुन बनेकाले उनीहरूले नै यसबाट फाइदा उठाएको हुनुपर्ने अनुमान धेरैले लगाउँछन् । दमयन्ती दत्ताले केही वर्षअघि भारतमा सम्बन्धविच्छेद खोज्नेहरूमध्ये महिलाभन्दा पुरुष चार गुणा बढी रहेको तथ्याङ्क देखाएकी थिइन् । नेपालमा त्यस्तो आधिकारिक तथ्याङ्क छैन । सम्बन्धविच्छेद दर भने बढ्ने क्रममा देखिन्छ । महिलाले चाहे तुरुन्त सम्बन्धविच्छेद गर्न पाउने र आफूले चाहँदा हजार अप्ठ्यारा व्यहोर्नुपर्ने पुरुषहरूको गनगन निकै सुनिन्छ । महिलाका लागि दया गरेर नीति निर्माताले केही सजिलो प्रावधान तयार गरिदिएका छन् ।

सम्बन्धविच्छेदपछि संख्याका हिसाबले जति पुरुषले आनन्दको अनुभूति गर्छन्, त्यति नै महिलाले गर्न सक्दैनन् । किनकि पुरुषजस्तो महिलाका लागि आर्थिक, सांस्कृतिक र सामाजिक रूपले सबल बन्ने अवस्था मजबुत छैन ।

महिला आन्दोलनले हासिल गरेका केही उपलव्धि जोडजाड गरिएका पुराना मेसिनका पार्टपुर्जा जस्ता छन् । एकातिर गुडाउन खोज्यो, अर्कोतिर मोडिन्छन्, एक ठाउँमा जोड्यो, अर्कोतिर भाँचिन्छन् । नारी अधिकारका आन्दोलन महिलाको सर्वोपरी र दीर्घकालिक क्षमता विकासभन्दा क्षणिक उपलव्धिमा अल्मलिएको छ । महिला आन्दोलनले उत्तम साधन, प्रक्रिया अथवा मार्ग अपनाउन आवश्यक हुन्छ ।

सरसर्ती हेर्दा लाग्न सक्छ, विवाह नारी–पुरुष बीचको आकर्षणबाट सिर्जित सुमधुर सम्बन्ध, कामको साझेदारी, सहबास र चाहना भएको खण्डमा सन्तान उत्पादनका लागि हो । विदुषीले भनेझैं विवाह समस्या नहुनपर्ने हो, तर मध्ययुगिन आदर्श र दीक्षाबाट दीक्षित नेपाली समाजमा कति चेलीले विदुषीको जस्तो वैवाहिक सम्बन्धको अभ्यास गर्न पाएका छन् ? आगो–पानी साक्षी राखेर पण्डितले सात जुनीसम्म यही दाम्पत्य जीवन सफल होस् भन्ने वाचा बकाएर, दानका रूपमा बाबुआमाले सुम्पेका चेलीहरूले सहसा यो मर्यादा तोड्न सक्छन् ? एक जनाले चिया पकाउने अर्काले भाँडा माझ्ने, सहमति मिल्दासम्म संँगै बस्ने सहमति र समझदारी टुङ्गिएको दिनमा आआफ्नो बाटो लाग्नेजस्तो सजिलो छ, हाम्रा तमाम दिदी–बहिनीलाई ?

कतिपय समुदायमा बालविवाह संस्कृतिकै रूपमा छ । छोरीलाई स्कुल पठाउनभन्दा विवाह गरेर घर पठाइदिन बल गर्ने बाबुआमा पनि छन् । अर्काको तजबिजमा बिहे गरेर गएका अबोध बालिका र किशोरीले बाबाआमाले आफूलाई अरूको संरक्षणमा सुम्पेकाले घर र माइतीको इच्छा अनुसार चल्नु आफ्नो प्रमुख धर्म हो भन्ने बुझेका हुन्छन् ।

यस्तै वर्गका महिला सबैभन्दा धेरै घरेलु हिंसाको सिकार हुन्छन् । टेक्ने डालो न समात्ने हाँगो भएका यस्ता नारीका लागि जेजस्तो अत्याचार भए पनि सहनु अथवा मरिजानु (आत्महत्या) जस्ता दुइटामात्र विकल्प रहन्छन् । यस्तो अवस्थामा गुज्रँदै गरेका महिलाका लागि सम्बन्धविच्छेदको प्रावधानले केही न केही राहत दिएको छ । तर कतिपय महिला सम्बन्धविच्छेदपछि तावाबाट उम्किएको माछो भुङ्ग्रोमा परेसरह भएका छन् ।

सम्बन्धविच्छेद बाध्यताको उपज हो । यो महिलाको क्षमता वृद्धिको संकेत पनि हो । सम्बन्धविच्छेदको अधिकार कस्ता महिलाले धेरै उपयोग गरेका छन् भन्ने विषय पनि मननीय पाटो हो । आफ्नो क्षमता र आर्जनमा बाँच्न सक्ने महिलाले परिस्थितिलाई आफ्नो नियन्त्रणमा राख्न सक्छन् । उनीहरूका लागि सम्बन्धविच्छेद हुँदैमा आकाश खस्दैन । आफ्नो रोजाइ अनुसार स्वतन्त्र अनुभूति गर्न पाउँदा उनीहरू झनै खुसी रहन सक्छन् । तर अरूको तजबिजका विवाह स्वीकार्नुपर्ने, मन, वचन र कर्मले बडो दत्तचित्तका साथ शरीर सुम्पेर र अरूको सेवा गरेर आफ्नो अस्तित्व आर्जन गर्नुपर्ने, परनिर्भर नारीका लागि न विवाहले स्वर्गीय अनुभूति दिनसक्छ न सम्बन्धविच्छेदले सहज बाटो तय गर्छ ।

सम्बन्धविच्छेद गर्न खोज्ने बहिनीलाई केही महिनापछि फोन गरेँ । बुबाआमा, दाजुभाइको सल्लाह र छोरीहरूको शिक्षादीक्षालाई ख्याल गर्दै उनी सम्बन्धविच्छेदको प्रक्रियाबाट पछि हटिछिन् । मैले उनलाई भनेँ, ‘कानुनले अधिकार दिएको छ, तर अधिकार उपयोग गर्न आफू कति सक्षम छु भन्ने विचार गर्नुपर्छ । सक्षम व्यक्तिले जति सजिलोसँंग उपलब्ध अधिकार उपयोग गर्न सक्छन्, अदक्ष र असक्षमले सयौंपटक सोच्नुपर्छ ।

एक सुलभ परिस्थितिको याचनामा अरू जटिल समस्या व्यहोर्नु नपरोस् भनेर अनुकूल परिस्थितिका लागि पर्खनुपर्छ । यो बाध्यात्मक परिस्थिति हो । कानुन सबैका लागि समान छ, तर सक्षम र असक्षमले भिन्न–भिन्न तरिकाले प्रयोग गर्नुपर्छ । त्यसैले पहिला आफू सबल बन्ने कोसिस गर । त्यसपछि हरेक परिस्थितिको मुकाबिला तिमी आफैं गर्न सक्छ्यौ ।’

प्रकाशित : श्रावण १५, २०७५ ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?