छुवाछूत कानुनमै विभेद

रञ्जना विश्वकर्मा

काठमाडौँ — कान्तिपुर दैनिकमा असार २८ गते ‘पानी छोएको निहुँमा कुटपिट गर्नेलाई जेल सजाय’ शीर्षक समाचार छापियो । समाचारअनुसार छुवाछूतको घटनामा पीडकलाई कैद सजाय तोकिएको त्यो सम्भवत: पहिलो फैसला हो । त्यसअघिका अधिकांश मुद्दामा मिलापत्र हुन्थ्यो । केहीमा जरिवाना र क्षतिपूर्ति तिराइन्थ्यो ।

महोत्तरी जिल्ला अदालतका न्यायाधीश दण्डमणि शर्माको इजलासले न्यूनतम भए पनि कैद, जरिवाना र क्षतिपूर्ति तोक्नु सराहनीय छ । यो फैसलाले कानुन हुनुको औचित्य पुष्टि गरेको छ । छुवाछूत गर्नेलाई कारबाही पनि हुने रहेछ भन्ने देखाएको छ । छुवाछूत अपराधको जाहेरी दर्ता गराउनसमेत अनेक संघर्ष गर्नुपर्ने परिस्थितिमा उक्त फैसलाले पीडितलाई न्यायका लागि पहल गर्न उत्प्रेरित गरेको छ ।

जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) ऐन, २०६८ ले छुवाछूतलाई सामाजिक अपराध मानेको छ । छुवाछूत सरकारवादी फौजदारी कसुरका रूपमा समावेश भए पनि कार्यान्वयन पक्ष दयनीय देखिन्छ । समाज र फौजदारी न्याय प्रणाली अनुदार, गैरजिम्मेवार र अमानवीय बन्नाले कानुन कार्यान्वयन फितलो बनेको हो । छुवाछूत गरेको प्रमाणित भई सजाय भएपछि पनि छरछिमेक र समाजको धम्कीपूर्ण व्यवहार र अवहेलनाले पीडितलाई थप पीडा दिने गरेको छ ।

ऐनको दफा ७ मा कुनै पनि आधारमा जातीय भेदभाव वा छुवाछूत गरेको ठहरिए न्यूनतम पाँच सय रुपैयाँसम्म जरिवाना वा अधिकतम तीन वर्षसम्म कैद वा कैद र जरिवाना दुवै सजाय हुन सक्ने उल्लेख छ । न्यूनतम वा अधिकतम कति सजाय गर्न सक्ने स्वविवेकीय अधिकारले फैसला सुनाउँदा न्यायाधीश पूर्वाग्राही हुन सक्ने जोखिम छ ।

सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को अनुसूची १ भित्रको मुद्दा सरकारवादी भई चल्छ । त्यस्तो मुद्दाको सूचना दिने व्यक्ति वादी पक्षको गवाह हुन्छ । जाहेरवालाका सूचनाका आधारमा यस्तो मुद्दामा प्रहरीद्वारा अनुसन्धान तहकिकात हुन्छ । तर प्राय: कमजोर अनुसन्धान तहकिकातका कारण वादी पक्ष हार्ने गरेको अध्ययन प्रतिवेदनहरूले देखाएका छन् । यसो हुनुको कारण अनुसन्धान तहकिकात गर्ने प्रहरी कर्मचारीको जातीय आग्रह/पूर्वाग्रह नहोला भन्न सकिँदैन ।

जबरजस्ती करणीमा ५ बर्षदेखि १५ वर्षसम्म कैद निर्धारण गरिएको छ भने मानव बेचबिखनमा २० वर्षसम्मको कैदको व्यवस्था छ । महिला बलात्कृत हुनु, मानव बेचबिखन हुनुजत्तिकै गम्भीर अपराध हो जातीय छुवाछूतको अपराध । धार्मिक मूल्यमान्यताबाहेक कुनै अमूक व्यक्तिलाई छुवाछूत गर्नुमा कुनै पनि विज्ञानसम्मत कारण छैन । बलात्कारमा जातीय छुवाछूत तथा भेदभावभन्दा फरक शारीरिक हमला हुन्छ ।

बलात्कृत र बेचबिखन हुँदा जति मानव अस्तित्व, आत्मसम्मानमा चोट पुग्छ, त्योभन्दा कम चोट छुवाछूतमा पुग्दैन । हिन्दु समाजबाहेक अन्य समाज र अन्य कुनै पनि प्राणीमा यही प्रकृतिको छुवाछूत छैन । तर सजायसम्बन्धी व्यवस्था हेर्दा लाग्छ, बलात्कृत र बेचबिखन हुनु आकाश पल्टिएसरह हो, छुवाछूत गर्नु केही होइन । गाईगोरु मार्नु निकै ठूलो अपराध हो तर छुवाछूत गर्नु केही होइन । मुलुकी ऐन, चौपायाको महलको ११ नं. ले जानीजानी गाईगोरु मारे १२ वर्ष कैद गर्ने व्यवस्था गरेको छ । मान्छेको अस्तित्व स्वीकार नगरेको कुराको अपराधमा अधिकतम तीन वर्ष कैद हुन्छ । यसले के देखाउँछ भने गाईगोरुको अस्तित्वभन्दा मान्छेको अस्तित्व, आत्मसम्मान केही होइन । बरु लागूऔषध सेवनसम्बन्धी अपराधको गाम्भीर्यलाई माथि राखिएको देखिन्छ । जब कि लागूऔषध सेवनले नितान्त सेवनकर्ताको स्वास्थ्यमा हानि पुर्‍याउँछ । छुवाछूतले एउटा समुदायलाई नै मान्छेको दर्जा नदिएको ठहर्‍याउँछ ।

कुनै अपराधमा कति सजाय निर्धारण गर्ने भन्ने विषय कानुन निर्माणकर्ताको स्वविवेकमा भर पर्ने रहेछ । सजाय निर्धारण गर्नुका पछाडि अन्य कुनै विधिसम्मत, विवेकसम्मत, न्यायसम्मत, युक्तिसंगत, तुलनात्मक आधार र कारण नचाहिने रहेछ । एउटा उदाहरण लिऊँ, एउटा नाबालक बच्चा आफ्नो बाबुलाई भन्छ, ‘बाबा मेरो साथीले मलाई ‘कामी’ भनेर जिस्क्याउँछ, हेप्छ, यो कामी भनेको के हो, हामी कामी हैन है ?’ त्यो जातका आधारमा हुने मानसिक अत्याचार भएन ? नाबालक अवस्थामै अत्याचारको सिकार हुनुपर्ने अवस्था कतिसम्म पीडादायी हो भन्ने हेक्का जातीय छुवाछूतको अपराधको सजाय निर्धारण गर्दा राख्नुपर्छ कि पर्दैन ?


जातीय भेदभाव तथा छुवाछूतको अपराध उन्मूलन हुने प्रकृतिको हो । यसका लागि सजायको मात्रा बढाउनुपर्छ । एउटालाई सजाय गरेको देखेर अपराध गर्न अर्को व्यक्ति हतोत्साही हुने, डराउने अवस्था बन्नुपर्छ । यस्ता अपराधविरुद्ध शून्य सहनशीलताको नीति अपनाउनुपर्छ ।

ranjanabk2047@gmail.com
विश्वकर्मा उच्च अदालत विराटनगरकी शाखा अधिकृत हुन् ।

प्रकाशित : श्रावण १३, २०७५ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्

केटाकेटीलाई के सिकाउने ?

टीका भट्टराई

काठमाडौँ — एकथरी हाम्रा केटाकेटीलाई तत्काल के सीप, ज्ञान चाहिन्छ त्यही सिकाउनुपर्छ भन्छन् भने अर्का थरी भविष्यमा आवश्यक हुन सक्ने विषयवस्तु पढाउनुपर्छ भन्छन् । अब पाठ्यपुस्तक घोकाएर त हुने कुरै भएन, विषयवस्तु के बनाउने, कस्तो विधि प्रयोग गर्ने भन्ने आम प्रश्न हो ।

बाँच्ने सीप
हाम्रो शिक्षाले तत्कालै उपयोग हुने वा भविष्यमा बाँच्ने सीप सिकाउन सकेन, प्रविधिको उपभोगसम्म गर्न जानिहाले पनि विज्ञान र प्रविधिको विकासमा काम गर्न सक्ने बनाएन, उनीहरू आत्मनिर्भर हुन सकेनन् भन्ने ठम्याइ छ । यो कुरा खाद्यान्न उत्पादन हेर्दा स्पष्ट हुन्छ । संसारको ठूलो हिस्साले बिस्तारै खेती गर्ने क्षमता गुमाइरहेको छ ।

खाद्यान्न उत्पादन, प्रशोधन र नियन्त्रण बिस्तारै केही कम्पनीका कृषिविज्ञका हातमा सीमित हुँदै छ । खाद्यसंकट निवारण गर्ने हो भने विश्वको ठूलो जनसंख्या प्रत्यक्ष रूपमै यसमा संलग्न हुन जरुरी छ । अहिलेको वतावरणीय संकट बुझ्न पनि कृषि उत्पादन पद्घति बुझ्नुपर्छ । यस दृष्टिले कृषि एक बहुपक्षीय जीवन सीपका रूपमा देखिएको छ । केही औद्योगिक देशले प्राथमिक तहदेखि नै कृषिको प्रयोगात्मक शिक्षा दिन थालेका छन् ।

तेस्रो सहस्राब्दीमा कस्तो शिक्षा चाहिन्छ भनी सुझाउन फ्रान्सले आफ्ना पूर्वशिक्षामन्त्री एवं युनेस्कोका पूर्वनिर्देशक डेलर्सको अध्यक्षतामा आयोग बनाएको थियो । आयोगको एउटा सुझाव थियो– बदलिँदो परिस्थितिमा के सिकाउने भन्ने निश्चित गर्न नसकिने भएकाले केटाकेटीलाई बदलिन सिकाउनुपर्छ । बदलिन केटाकेटीलाई बृहत् चित्र दिनुपर्छ ताकि उसले आफैं किन र कसरी फेरिनुपर्छ भन्ने कुरा गर्न सकोस् । हामीकहाँ गाउँघरमा काम गर्दै पढेर हुर्केका केटाकेटी बढी परिवर्तनशील देखिन्छन् किनभने उनीहरूले जीवनलाई समग्रतामा देख्न र भोग्न पाएका हुन्छन् । उनीहरूमा खट्न सक्ने शारीरिक क्षमता पनि हुन्छ । सफलताका लागि शारीरिक स्वास्थ्य महत्त्वपूर्ण हुन्छ ।

हामीले विशिष्टताका नाममा हरेक वस्तुलाई टुक्रा पारेर हेर्नेबुझ्ने गरेका छौं । कतिपय अवस्थामा यसो गर्न आवश्यक हुन्छ तर काम विशिष्ट पक्षमा गरे पनि बुझाइ समग्रतामै हुनुपर्छ । अर्थात् कसैको टाउको दुख्यो भने डाक्टरले उसको पेटबारे पनि बुझेको हुनुपर्छ । व्यक्तिलाई एक व्यक्तिका रूपमा बुझ्न उसलाई आवश्यक पर्ने सकेसम्म सबै पक्ष बुझाउन सकियो भने उसले आफूलाई परिस्थितिअनुरूप ढाल्न सक्छ ।

विद्यालय तहमै कर तिर्नेजस्ता आर्थिक अभ्यास सिकाउन जरुरी रहेको कुरा उठिरहेको छ । बचत गर्ने शिक्षा हराइसकेको छ । बचत गर्नु उपभोगभन्दा महत्त्वपूर्ण हो । बचत र दान सँगै आउनुपर्छ । यो सानैदेखि सिकाउनुपर्ने र सिकाउन सकिने विषय हो । बचत पैसाको मात्र नभएर अन्न अनि स्रोतको पनि हो । स्रोतको उपभोग घटाउने, पुन: प्रयोग गर्ने र त्यसको रूपान्तरण गर्ने शिक्षा व्यक्तिगत बचतदेखि विश्वको तापक्रम घटाउन योगदान गर्नेसम्म जोडिएको छ ।

संवेगात्मक बुद्घिमत्ता
मेरा पिता भन्नुहुन्थ्यो, ‘आफूमा भय उत्पन्न गर्ने काम गर्नु हुँदैन ।’ यस्ता कुरा भावनात्मक बुद्धिमत्ताका हुन् । बेलाबेला यी कुरा धर्म, विवेक, नैतिक शिक्षाजस्ता विषयसँग पनि मिसाइन्छन् । तर त्यहाँ स्वनिर्णयभन्दा उपदेश बढी हुन्छ, तर्क कम हुन्छ । संवेगात्मक बुद्धिमत्ताको लक्ष्य आनन्दमा रहन सक्नु हो । आनन्द आफूले सकेजति प्रयत्न गरेर आफू जेजस्तो अवस्थामा छ, त्यसलाई सगौरव स्वीकार गर्न सक्ने प्रवृत्तिले आउँछ । यो सिकाउनैपर्छ ।

तनावले मानिसलाई सफलता दिन्छ भन्ने दृष्टिकोण पनि बाहिर आएका छन् । शैक्षिक जगत्ले त्यसलाई पद्धतिगत रूपमा स्विकार्न बाँकी छ । एक किसिमले परीक्षा यसै दृष्टिकोणको अभिव्यक्ति हो । हाम्रामा बढी भएको हो ।

सम्हाल्ने सीप
समय, वस्तु, स्थान व्यवस्थापन गर्न हाम्रो सिकाइ कमजोर छ । पाठ्यपुस्तक घोक्न सक्नेहरूले उच्च अंक ल्याउँछन् तर धेरैजसोमा संगठनात्मक वा अरू सीप निकै कमजोर रहन्छ । यसैकारण पनि उच्च अंक ल्याउनेहरू जीवनमा सफल हुन संघर्ष गर्छन् । व्यवस्थापनको शिक्षा सकेसम्म अभ्यासबाटै सिकाउनुपर्छ । पढेलेखेका मानिसभन्दा अनपढ भनिने गृहिणी धेरै संगठित छन् । पुरुषको उन्नति उनीहरूकै मूल्यमा हुने गर्छ ।

परम्परागत विषयवस्तु र रुचि
भाषा, गणित, विज्ञान, सामाजिक शास्त्र, इतिहास, भूगोल, संस्कृति विद्यालयमा सिकाइने मुख्य परम्परागत विषय हुन् । अलिकति हुनेखानेहरूले गणित, विज्ञान, अर्थकरी विद्या अर्थात् पैसा कमिने विषय, ती विषय सिक्न आवश्यक हुने दृष्टिले अंग्रेजी भाषा पढ्न पढाउन जोड दिन्छन् । रोजगारीको अर्को होड चलेको छ । आवश्यक छ । तर तुरुन्त पैसा नकमिने, समाज बुझ्ने विषय पनि त्यत्तिकै जान्नु आवश्यक छ । संसार जति पैसाले चलेको छ, सायद त्योभन्दा बढी नैतिक बल र विश्वासले चलेको छ । हामीले धर्म निरपेक्ष रूपमा त धर्मबारे पढाएकै छैनौं । कि त अन्ध अनुयायी बनाउन सिकाएका छौं या त वास्तै गरेका छैनौं । सायदै कुनै विद्यालयले आफ्ना विद्यार्थीलाई पशुपति वा स्वयम्भू वा मस्जिद वा चर्च लगेको छ ।

पढ्ने केटाकेटीको रुचि अर्को ज्यादै महत्त्वपूर्ण विषय हो । अहिले संगीत सिक्ने मानिस इन्जिनियर भइरहेछन् । इन्जिनियर हुनुपर्ने मानिस समाजशास्त्री । मूलत: पैसा र महत्त्वका कारणले यस्तो भएको छ । यथार्थमा कुनै विषय कम र अर्को महत्त्वपूर्ण भन्ने छैन । विषय यस्तै कुरा हो । समाजमा सबै किसिमका विषय, दृष्टिकोण चाहिन्छन् । प्रकृतिले मानिसमा यो विविधता दिएको छ । सबैका लागि शिक्षा धारणाका प्रवर्तक डेलर्स यसलाई ‘आफू आफू बन्ने सिकाइ’ भन्छन् । हामीले हाम्रा केटाकेटीलाई आफूलाई चिन्न सिकाउनुपर्छ र पैसाले रोकेन भने त्यसअनुसारको विषय रोज्न दिनुपर्छ । कति देशमा उच्च शिक्षामा पस्नुअघि आफूले सिक्ने विषयसँग सम्बन्धित काममा पस्ने अवसर दिइन्छ ।

आलोचनात्मक चिन्तन र सिर्जनशीलता
आलोचनात्मक चिन्तन र सिर्जनशीलता एक अर्काले परस्पर माग गर्ने विषय हुन् । आलोचनात्मक चिन्तनले सिर्जनशील बनाउँछ भने सिर्जनशील हुन आलोचानात्मक चिन्तन जरुरी छ । शिक्षावादी सर केन रविन्सन कलाको अध्यापनबाट यो कुरा हासिल हुने तर कला, नृत्य, संगीत, चित्रकलाजस्ता पाठ्यक्रमको प्राथमिकतामा पुछारमा पर्ने गरेको बताउँछन् । अभिव्यक्ति कला सिर्जनशीलताको एक भाग हो । सामान्यत: सिर्जनशीलता अवलोकनबाट प्राप्त हुन्छ । घोकेर ठीक उत्तर दियो भने उच्च अंक दिने परिपाटीलाई सुधार गर्नु दीर्घकालीन हितका दृष्टिले जरुरी छ । परीक्षा र पढाइको तरिका फेरेर सिर्जनशीलता प्रवद्र्धन गर्न सकिन्छ । शिक्षकले आफ्नो दिमाग चलाउन भने अलि मेहनत गर्नुपर्छ ।

उत्सुकता अनि एकाग्रता
हामी बोलीचालीमा ‘पढी सक्ने’ शब्दावली प्रयोग गर्छौं । पढ्ने भन्नुको सट्टा सिक्ने भन्नासाथ सिकेर कहिले सकिन्न भन्ने अभिव्यक्ति आइहाल्छ । विद्यार्थीमा पढ्ने उत्सुकता बनाइराख्नु महत्त्वपूर्ण छ । परम्परागत शिक्षाशास्त्रीहरूले त्यति महत्त्व नदिने गरेका विचारक ओशो भन्छन्, ‘त्यो शिक्षक महान् हो, जसले विद्यार्थीमा सिक्ने भोक जगाउँछ ।’

सिकाइ औपचारिक तरिकाबाट मात्र हुँदैन । अहिले सूचना र प्रविधिको विकासले ज्ञान मानिसको पहुँचमा छ । आफूलाई आवश्यक पर्ने मात्र ज्ञान कसरी प्राप्त गर्ने भनेर सिक्न जरुरी छ । यसले समय प्रशस्त लिन सक्छ । प्रविधिको उपलब्धताका कारण सूचनाको बाढी छ । कसरी ध्यान भंग हुनबाट आफूलाई जोगाउने भनेर सिक्न पनि त्यत्तिकै महत्त्वपूर्ण छ । शिक्षा मनोवैज्ञानिकहरू सहमत छन्, सिकाइ त्यतिबेला हुन्छ, जतिबेला सिकारु एकाग्र भएर सिक्नमा लाग्छ ।

भट्टराई शिक्षा नीति तथा अभ्यास केन्द्रसँग सम्बन्धित छन् ।

प्रकाशित : श्रावण १३, २०७५ ०७:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्