कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

घट्दो छ उच्च शिक्षामा नेपाली विद्यार्थीको आकर्षण

डा. सागर न्यौपाने

काठमाडौँ — डा. गोविन्द केसीको अनशनसंगै मेडिकल कलेज कहाँ खोल्ने र कहिले खोल्ने विवाद भइरहे पनि समग्रमा उच्च शिक्षा दिने शैक्षिक संस्थाहरुको आश्यकता कति छ भन्ने कुरामा बहस भएको छैन । खासमा नेपालीहरुमा उच्च शिक्षाप्रतिको आकर्षण नै घटेको तथ्या‌ंकहरुले देखाएको छ ।

घट्दो छ उच्च शिक्षामा नेपाली विद्यार्थीको आकर्षण

हाल देशमा चिकित्सा शास्त्रका नयाँ शिक्षण संस्था खोल्ने या नखोल्ने, कहाँ-कहाँ खोल्ने/नखोल्ने भन्नेमा डा. केसीको सत्याग्रहले देशका राजनीतिक दल, नागरिक समाज तथा सर्वसाधारणलाई पक्ष बिपक्षमा विभाजन गरिदिएको अवस्था छ । चिकित्सा शास्त्र मानव जीवनमा प्रत्क्षय सरोकार राख्ने तथा तुलनात्मक रुपमा अन्य शैक्षिक संकाय भन्दा अनेक तवरले आर्थिक चलखेल हुने संकाय भएकोले बढी चर्चा वा चासो हुनु स्वाभाविक नै हो । चिकित्सा शास्त्रको सरगर्मी संगै समग्र रुपमा अन्य उच्च शिक्षाका बारेमा बहस गरौं । किन नेपालमा उच्च शिक्षा पढाउने संस्थाहरु धमाधम खुलिरहेका छन्? के ती शैक्षिक संस्थाहरुले जनचाहना अनुसारको शिक्षा प्रदान गरी राखेका छन्? विगत केहि वर्षदेखि शैक्षिक संस्थाहरु व्यापारिक मलहरु जसरी खुलिरहेका छन् । अवस्था हेर्दा लाग्दछ, नेपाल उच्च शिक्षा प्रदान गर्ने केन्द्र हो । धमाधम खुलेका नयाँ विश्वविद्यालयहरुले उच्च शिक्षामा जनलहर उर्लिएको चित्रण गर्दछ तर यथार्थ ढ्याक्कै उल्टो छ ।


विश्वविद्यालय अनुदान आयोगको सहयोगमा तयार पारिएको भनिएको नेपालको उच्च शिक्षा नीति, २०७२ मा उल्लेख गरिएको छ कि "नेपालमा उच्च शिक्षा प्रतिको जनचाहना द्रुत गतिमा बढेको छ । हरेक वर्ष विद्यार्थी भर्ना दर बढेको छ । उच्च शिक्षासँग सम्बद्ध नयाँ संस्थाहरू प्रति वर्ष थपिँदै गएका छन्.…" (उच्च शिक्षा नीति, २०७२, ४. अ ) । हालैसालै नेपाल सरकारको केन्द्रीय तथ्यांक बिभागले प्रकाशन गरेको नेपालको तथ्यांकीय झलक २०७५ ले उक्त उच्च शिक्षा नीति, २०७२ मा उल्लेख गरिएको भन्दा उल्टो तथ्य उजागर गर्दछ (हेर्नुहोस् -तालिका) । स्मरण रहोस् उक्त तथ्यांकमा स्नातक, स्नाकोत्तर र विद्यावारिधि छुट्टाइएको छैन । उच्च शिक्षा भन्नाले १२ कक्षा भन्दा माथिको पढाई भन्ने बुझिन्छ । विश्वविद्यालय अनुदान आयोगकै स्रोत उल्लेख गर्दै केन्द्रीय तथ्यांक बिभागको तथ्यांक अनुसार आर्थिक बर्ष २०६९/७० मा उच्च शिक्षा अन्तर्गत बिद्यार्थी संख्या ५,६९,६६५ थियो । आर्थिक बर्ष २०७०/७१ मा झन्डै २० प्रतिशतले घटेर ४,५८,६२१ मा पुगेको देखाउछ । त्यसै गरी आर्थिक बर्ष २०७१/७२ मा अघिल्लो वर्षको तुलनामा लगभग ११ प्रतिशतले घटी ४,०७,९०४ मा झरेकोछ । आर्थिक वर्ष २०७२/७३ मा आइपुग्दा अघिल्लो वर्ष झै ११ प्रतिशतकै हाराहारीमा बिद्यार्थी संख्या घटी ३,६१,०३७ मा आइपुगेको देखाउछ । आर्थिक वर्ष २०६९/७० बाट २०७२/७३ सम्म आइपुग्दाको हिसाब गर्ने हो भने लगभग ३७ प्रतिशतले बिद्यार्थी घटेको सहजै देखिन्छ । केन्द्रीय तथ्यांक बिभागले प्रकाशन गरेको तथ्यांकमा त्रुटी छैन भने कुन तथ्य र आधारमा उक्त नीतिमा उक्त कुरा उल्लेख गरिएको हो प्रश्न उठाउन मिल्ने कि नमिल्ने? पक्कै पनि उक्त नीति तर्जुमा गर्दा विज्ञहरु सम्मिलित टोली थियो होला । यस तथ्यले हाम्रा नीति निर्माताहरु कुन सतहमा छन् भन्ने चित्रण गर्दछ ।


विगत चार आर्थिक वर्ष आ.ब. २०६९/७० देखि आ.ब. २०७२/७३ कै तथ्यांक (तालिका) गहिरिएर हेरौं । शिक्षा संकायमा विगत चार वर्षमा बिधार्थी संख्या ६० प्रतिशतले घटेको छ । १ लाख ३६ हजार भन्दा बढी बिधार्थी घटेका छन् । त्यसै गरी मानविकी तथा समाजशास्त्रमा बिधार्थी संख्या ५४ प्रतिशतले घटेको छ । व्यवस्थापन संकायमा २२ प्रतिशतले बिद्यार्थी संख्या घटेको छ । संस्कृत र वन विज्ञानमा ७५ प्रतिशतले घटेको छ भने बिज्ञान तथा प्रबिधि संकायमा ६६ प्रतिशतले बढेको छ । त्यस्तै कानून संकायमा ४७ प्रतिशतले बिद्यार्थी बढेका छन् । इन्जिनियरिङ्गमा १० प्रतिशतले बढेका छन् । हाल देशमा बहसको रुपमा रहेको चिकित्सा शास्त्रमा पनि बिधार्थीको संख्या खासै बढेको देखिएन । आ.ब. २०७१/७२ बाट आ.ब. २०७२/७३ आइपुग्दा झन्डै ९ प्रतिशतले विद्यर्थीको संख्या घटेको देखाउछ । तथ्यांक आफै बोल्छ, मेडिकल कलेजहरु थप्नु जरुरी छ कि छैन? भएका प्राइभेट मेडिकल कलेजहरुमा नेपाली बिद्यार्थी घटेका समाचार अखबारहरुमा आइराखेका छन् । किन शिक्षा, मानविकी तथा समाजशास्त्र अनि व्यवस्थापनमा संख्यात्मक अनि प्रतिशतमा बिद्यार्थी घटे ? किन बिज्ञान तथा प्रबिधि, कानून अनि इन्जिनियरिङ्गमा बिद्यार्थी बढे? स्मरण रहोस्, समग्रमा उच्च शिक्षामा बिद्यार्थी संख्या आ.ब. २०६९/७० देखि आ.ब. २०७२/७३ सम्म आइपुग्दा ३७ प्रतिशतले घटेको छ । द्रुत गतिमा घट्दै गइरहेको उच्च शिक्षाप्रतिको निरासाजनक जनचाहनाको अवस्थाको सिर्जना हुनुका केहि प्रमुख कारणहरु (क) बेरोजगार उन्मुख गुणस्तरहिन उच्च शिक्षा (ख) आर्थिक भार/बैदेशिक रोजगार (ग) सर्वसुलभ उच्च शिक्षालयहरुको कमी र, (घ) बैदेशिक अध्ययन/प्रतिभा पलायन आदि हुन् ।


बैदेशिक अध्ययनमा नेपालबाट वर्षेनी कति बिद्यार्थीहरु जाने गर्दछन्, त्यसबारे संक्षिप्त व्याख्या गरौं । यूनेस्कोको अनुमानित आँकडा (स्रोत: यूनेस्को इन्सिच्युट फर स्टेटिस्टिक्स को वेबसाइट, २४ जुलाई २०१८, थप हेर्नुस्: UIS.Stat) अनुसार सन् १९९८ मा बैदेशिक अध्ययनमा ४,२८५ जना नेपाली बिद्यार्थी गएकोमा सन् २०१७ मा आइपुग्दा ४४,२५५ पुगेको थियो । पक्कै पनि बैदेशिक अध्ययनमा नेपाली बिधार्थीको लहर बढेकै हो तर के यस कारणले गर्दा नै नेपालका उच्च शिक्षालयहरुमा बिद्यार्थी घटेका हुन् त? यूनेस्को कै अनुमानित आँकडा अनुसार आ.ब. २०६९/७० मा लगभग ३० हजार नेपाली बिधार्थी बैदेशिक अध्ययनमा थिए भने आ.ब. २०७२/७३ मा ४० हजारको हाराहारीमा नेपाली बिधार्थी विदेशमा उच्च शिक्षा गर्न गएका थिए । जस अनुसार, बैदेशिक अध्ययनमा लगभग १० हजार बिद्यार्थी आ. ब. २०६९/७० देखि आ.ब. २०७२ /७३ बढे अर्थात् १० हजार नेपालका विश्वविद्यालयहरुमा बिधार्थी घटे । अब हेर्नुस् नेपालको तथ्यांकीय झलक २०७५ तालिका, आ.ब. २०६९/७० को तुलनामा आ.ब. २०७२/७३ सम्म आइपुग्दा २ लाख भन्दा बढी बिधार्थी नेपालमा उच्च शिक्षामा भर्ना भएका छैनन् । वर्षेनी उच्च शिक्षामा जान योग्य बिद्यार्थी बढे होलान्, मानौ अघिल्लो चार आर्थिक वर्षदेखि उच्च शिक्षामा भर्ना योग्य बिधार्थीको संख्या समान थियो । अब सोचौ, अन्य १ लाख ९० हजार बिद्यार्थी कहाँ गए? यसको खोजी गरौं । बैदेशिक रोजगारमा गए कि उच्च शिक्षाको आर्थिक भार बोक्न सकेनन् र उच्च शिक्षामा भर्ना भएनन् कि शहर केन्द्रित उच्च शिक्षालयहरुमा दूर दराजका गरिबका छोराछोरीलाई उच्च शिक्षाको पहुँच भएन कि? यसबारे बहस गरौं, अनुसन्धान गरौं ।


समग्रमा, सम्बन्धित निकायले सतही रुपमा मुट्ठी भरका व्यक्तिहरुका स्वार्थ सिद्ध गर्ने नीति नबनाउन । भएका उच्च शिक्षा प्रदान गर्ने विश्वविद्यालयहरुको स्तर उन्नति गरौं, गुणस्थरीय बनाऔं, शहर केन्द्रित शिक्षालयहरुलाई सर्वसुलभ बनाउँदै देशका दुर्गम ठाउँहरुमा स्थान्तरण गरौं । विगत चार आर्थिक वर्षको तथ्यांकले नयाँ शिक्षालयहरु थप्नु पर्ने कारण देखाउदैन । के साँच्चिकै नेपालमा अब नयाँ नयाँ उच्च शिक्षा प्रदान गर्ने शिक्षालयहरु खोल्नु जरुरी छ कि ती शिक्षालयहरुमा बिद्यार्थीको आकर्षण र पहुँच बढाउनु? किन उच्च शिक्षामा जनचाहना वा आकर्षण घट्दै गइरहेको छ त्यसको कारणहरु खोतलेर सोहि बमोजिम वर्तमान उच्च शिक्षा नीति, २०७२ परिमार्जित गर्दै चिकित्सा शिक्षा विधेयक मात्र होइन समग्र उच्च शिक्षाको गुणस्थर तथा सच्चि कै द्रुत गतिमा उच्च शिक्षाप्रतिको जनचाहना बढाउने ऐन कानुनहरु बनाउनु नै सरकारको दुरदर्शी नीति हुनेछ ।


(ओक्लाहोमा स्टेट यूनिभर्सिटी, ओक्लाहोमा, अमेरिकाबाट विद्यावारिधि गरेका न्यौपाने हाल अमेरिकाको ओहायोमा जलस्रोत इन्जिनियर छन् ।)

प्रकाशित : श्रावण ९, २०७५ १४:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?