सुन र आइमाई

सुनको सन्दर्भलाई लिएर महिलाको अधोगतिको व्याख्या गर्न नथाक्ने प्रगतिवादी पुरुषचाहिँ ससुराले दिएका सुनका गहनामा झिलिक्क परेर किन हिँड्छन् ?
लीला लुइँटेल

काठमाडौँ — ‘आइमाईलाई सुन भए अरू केही चाहिँदैन, सुनका लागि आइमाईले प्राणै फाल्छन्, सुन भए आइमाई चिताबाट पनि उठेर आउँछन्, सुनको हो भनिदियो भने आइमाईले घाँटीमा जाँतो नै पनि झुन्ड्याएर हिँड्छन् ।’ घरपरिवारभित्र मात्र नभएर कार्यक्षेत्र तथा सार्वजनिक स्थानहरूमा समेत हुने यस्ता साझा टिप्पणी अधिकांश नेपाली महिलाले सुनेको हुनुपर्छ ।

अझ प्रगतिवादी कहलिएका पुरुष मित्रहरू महिलाको उन्नति हुन नसक्नुको मुख्य कारकका रूपमा शृङ्गार र सुनका गहना नै रहेको दर्शन छाँटेर कहिल्यै पनि थाक्दैनन् । यसरी सुनका सन्दर्भबाट महिलाको आलोचना गर्ने पुरुषहरूले आमा, दिदीबहिनी तथा पत्नीले सुनका गहना किन्न खोज्दा माथि उल्लिखित टिप्पणी गर्ने तर ससुराबाले विवाहमा लगाइदिएका औँठी, सिक्री, ब्रासलेटलगायतका गरगहनामा झिलिक्क परेर हिँड्न पाउँदा गौरवको अनुभव गर्ने दृश्य पनि हाम्रो समाजमा छ ।

सुन बारेका यस्ता सन्दर्भ कुनै व्यक्तिको स्वभाव एवं परिवारको आन्तरिक समस्या भनेर मात्र पन्छिन सकिने स्थिति भने पटक्कै देखिँदैन । राज्यको नेतृत्ववर्गमा रहेका अधिकांश व्यक्तिहरूको सम्पत्ति विवरणमा उल्लिखित सुन दाइजोबाट पाएको भन्ने गरिएकाले पनि सुन संस्कृतिको पालनपोषण राज्य एवं नेतृत्ववर्गबाटै भएको स्पष्ट हुन्छ । अझ रुढिवादी कुसंस्कारहरूको अन्त्य तथा शोषित, उत्पीडित पीडितका पक्षमा ‘जनयुद्ध’ लडेको हवाला दिने र आफूलाई क्रान्तिकारी भनाउन चाहनेहरूले समेत दाइजोमा प्रशस्त सुन ल्याएको/पाएको घोषणा गौरवतापूर्वक (निर्लज्जतापूर्वक ?) गरिरहेका छन् ।

त्यसैगरी ‘दुलही पक्षले दुलाहा पक्षलाई बढीमा चालीस ग्राम सुन वा सो बराबरको प्रचलित मूल्यले हुने रकमको गहना र तोकिएको रकमसम्मको कपडा तथा अन्य जिन्सी सामान राजीखुसीले दिन सक्नेछ’ भनेर नेपालको कानुनमै व्यवस्था गरिएको पाइन्छ भने अर्काेतिर कुनै राजनैतिक पार्टीले ‘आफ्नो पार्टी निर्वाचनमा विजयी भए १२ कक्षा पढेका र विवाहको उमेर भएका महिलालाई आधा तोला सुनको मङ्गलसूत्र वा सो बराबरको रकम दिने’ भनेर घोषणापत्रमै उल्लेख गरेको हास्यास्पद स्थिति पनि हामी सबैले देखेसुनेकै हो ।

हाम्रो पारम्परिक एवं अत्याधुनिक दुवै प्रचलनले महिलाका लागि धेरै गरगहनाको सिर्जना गरेको पाइन्छ । त्यसैले उनीहरूलाई विवाहमा दुलाहा पक्षले गहना दिनु आवश्यक भएको हुनसक्छ । त्यसैले गहना त्यसमा पनि सुन उनीहरूको प्रिय भएको हुनसक्छ । अर्काेतिर हाम्रो सामाजिक संरचनामा महिलाका हातमा चलअचल सम्पत्तिको हिस्सा नहुँदा शरीरमा भएका न्यून रकमका गहनाले उनीहरूलाई सङ्कटको समयमा थोरै भए पनि राहत दिनसक्ने देखिन्छ ।

एकछिन मानौँ— यी विविध कारणले महिला त गहनाका भोका भए रे, तर त्यही सुनको सन्दर्भलाई लिएर महिलाको आलोचना गर्दै उसको अधोगतिको व्याख्या गर्न नथाक्ने दार्शनिक एवं प्रगतिवादी पुरुषचाहिँ ससुराले बाले दिएका सुनका गहनामा झिल्लिक्क परेर किन हिँड्छन् ? अझ यसमा जनवादी एवं प्रगतिवादी राजनीति गर्ने क्रान्तिकारीहरूकै लर्काे ठूलो देखिन्छ । ससुराले ज्वाइँलाई दिने सुनको सन्दर्भलाई परम्परागत प्रचलन रूपमा व्याख्या गर्दै त्यसको विरोध गरेर ठूलाबडाको चित्त दुखाउन नचाहेको भनाइका साथ ‘मैले मागेको होइन, दिनेले दिए के गर्नु त, चलनको विरोध गर्नुभएन’ भन्नेजस्ता गैरजिम्मेवारपूर्ण अभिव्यक्ति पनि मैले धेरै पुरुष मित्रहरूबाट सुनेकी छु ।

शोषित, उत्पीडित तथा सामन्तवादको अन्त्यका लागि जनयुद्ध लडेर नेतृत्वमा पुगेको धाक दिने र पुग्ने सपना देख्नेहरूले एकजना ती निरीह ससुराबालाई रुढिवादी कुसंस्कारका विरुद्ध सम्झाउने सामथ्र्य नभएको त पक्कै होइन होला । यसरी सुन प्राप्त गर्ने व्यक्तिहरूले दाइजोमा सुन नल्याएको निहुँमा लोग्ने र सासूहरूबाट जिउँदै जलाइएका महिलाहरूलाई जिम्मेवार नेतृत्ववर्गको हैसियतले कसरी पो सान्त्वना देलान् अनि त्यस्ता पीडकलाई कुन नैतिकताका आधारमा कारवाहीका लागि आवाज उठाउने सामथ्र्य राख्लान् ? अर्काेतिर दाइजोमा यसरी सुन बटुलेको सार्वजनिक घोषणा गरेर जग हँसाउन समेत बाँकी नराख्ने प्रगतिवादीहरू नै महिलाको अधोगतिको कारकका रूपमा सुनका गहना रहेको कुरा गरेर थाक्दैनन् । योभन्दा बिडम्बना र हास्यास्पद कुरा यस धर्तीमा अरू के हुन सक्छ ?

यति कुरा गरिसकेपछि मनमा लागेका प्रश्न– महिलाले लगाएर हिँड्दा कमजोरी एवं अधोगतिको कारक मानिने सुन पुरुषले लगाएर हिँड्दाचाहिँ गौरवको प्रतीक कसरी हुनसक्छ ? कमजोरी एवं अधोगतिको कारक मानिने सुन नलगाउन महिलालाई अर्तीउपदेश दिन पछि नपर्ने प्रगतिवादी एवं क्रान्तिकारी मित्रहरूले पुरुष सहकर्मीलाई तिमीलाई सुनका गहना लगाएर किन हिँड्नुपर्‍यो भनेर सार्वजनिक रूपमा सोध्ने हिम्मत राख्छन् कि राख्दैनन् ?

विवाहमा ससुरासँग दाइजोका रूपमा सुन लिनु अपराध हो भनेर सार्वजनिक रूपमा आफ्ना धारणा व्यक्त गर्न किन नसकेको ? आफूले लगानी गरेर जोड्दा मात्र अधोगतिको कारक हुन् अनि अर्कालाई घरखेत बन्धकी राख्न बाध्य बनाई लिएको सुनचाहिँ गौरवपूर्ण के कारणले हुने ? अर्काको सम्पत्तिमा राल किन चुहाएर सित्तै पाए अलकत्रासमेत खाने प्रवृत्तिलाई हामीले कहिलेसम्म बढावा दिइरहने ?

कुनै पनि मानिस व्यक्तिगत रूपमा स्वतन्त्र हुन्छ नै तर एउटा बिम्बात्मक स्वरूप प्राप्त गरिसकेको अनि समाजको प्रतिनिधित्व गर्ने भनिएका व्यक्तिको प्रत्येक क्रियाकलाप सार्वजनिक चासोको विषय बन्नपुग्छ । त्यसैले समाजमा एउटा स्थान बनाइसकेको र बनाउन प्रयत्नरत व्यक्तिको कथनी र करणीमा विपर्यास नहुँदा मात्र सकारात्मक सन्देश प्रवाह गर्नसक्ने यथार्थतर्फ सबैको ध्यान जानु जरुरी छ र यसैमा उसको सफलता निहित हुन्छ ।

प्रकाशित : असार २८, २०७५ ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्

कठै विश्वविद्यालय !

सत्ता र शक्ति दुरुपयोग गरी नेपाली भाषालाई जथाभावी बिगार्ने र पाठ्यक्रमलाई विकृत तुल्याएर विश्वविद्यालयलाई नै ध्वस्त बनाउने अधिकार कसैलाई छैन ।
लीला लुइँटेल

काठमाडौँ — विश्वमै अत्यन्त आदर एवं सम्मानसाथ हेरिने विश्वविद्यालय नेपालका सन्दर्भमा चाहिँ अहिले विभिन्न दलको परेड खेल्ने मैदान, भाँडभैलोको भण्डार एवं अंशबन्डाको केन्द्र बन्नपुगेको कुरामा कसैको विमति नहोला । यसै पङ्क्तिकारद्वारा केही समयअघि त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रममा लेख्दै नलेखिएका पुस्तकको थुप्रो लगाएर भाँडभैलो मच्चाइएको चर्चा गरिएको थियो ।

विश्वविद्यालयमा देखापरेका यस्ता भाँडभैलोलाई सम्बोधन गरेर विश्वविद्यालय प्रशासनबाट नैतिकताका आधारमा अथवा औपचारिकताकै लागि भए पनि आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्ने जिम्मेवारीबोध नगरी लाचारी व्यक्त गरेको देखियो । विश्वविद्यालयका पदाधिकारीहरू पेसागत धर्म एवं योग्यताका आधारमा नभई अन्यत्र कतैको निगाहबाट विश्वविद्यालयमा प्रवेश पाएका हुनाले यस्ता गम्भीर विषयमा अल्मलिँदा कुनै जिनिस प्राप्त नहुने अनि ठूलो दौडधुपसाथ निगाहामा पाएको पद जोगाउनतिर नै उनीहरूको ध्यान केन्द्रित भएको होला ।

‘जेठा मामाको त भाङ्ग्राको धोती कान्छा मामाको के गति’ भन्ने नेपाली उखान अनुरूप त्रिभुवन विश्वविद्यालयमा गरिएको भाँडभैलोकै सिको गरी मध्यपश्मिाञ्चल विश्वविद्यालयको पाठ्यक्रममा पनि ‘विद्वान’ हरूले भाँडभैलोरूपी ताण्डवको पराकाष्ठा देखाएरै छाडेका छन् । यस विश्वविद्यालयको नेपाली बीए र एमएको पाठ्यक्रममा पनि नलेखिएका पुस्तकको ओइरो लगाइएको छ ।

यस्ता लेख्दै नलेखिएका पुस्तकको लेखक हुने सबैभन्दा भाग्यमानी लेखक रमेशप्रसाद भट्टराई रहेका छन् । यस विश्वविद्यालयको नेपाली बीएको पाठ्यक्रममा उनका ‘कविता सिद्धान्त, उपन्यास सिद्धान्त, आधुनिक नेपाली उपन्यासको इतिहास, आधुनिक नेपाली नाटकको इतिहास, समालोचना सिद्धान्त, पाश्चात्यका समालोचना : सिद्धान्त र प्रयोग, डायस्पोरा सिद्धान्त, सिर्जनात्मक लेखन : पद्धति र प्रयोग, नेपाली रङ्गमञ्च र चलचित्रको सिद्धान्त’ जीवेन्द्रदेव गिरीसँग सहलेखन भनिएको ‘आधुनिक भाषाविज्ञानको सिद्धान्त र नेपाली भाषा’ तथा एमएको पाठ्यक्रममा ‘उपन्यासको सैद्धान्तिक आधार, समालोचना सिद्धान्त’ जस्ता कतै नछापिएका थुप्रै पुस्तक छन् । उनका के कति पुस्तक प्रकाशित छन् भन्ने कुरा सबैलाई जानकारी छँदैछ ।

यसैगरी दयाराम श्रेष्ठका नेपाली बीएको पाठ्यक्रममा ‘स्नातक कविता सञ्चय, स्नातक काव्य सञ्चय, स्नातक कथा सञ्चय, स्नातक नाटक सञ्चय, स्नातक समालोचना सञ्चय’ तथा नेपाली एमएको पाठ्यक्रममा ‘नेपाली साहित्यको इतिहास (प्रारम्भिक काल), नेपाली साहित्यको इतिहास (माध्यमिक काल), स्नातकोत्तर निबन्ध सञ्चय, नेपाली समालोचना सञ्चय, केही प्रमुख नेपाली उपन्यासका समाजशास्त्र’ जस्ता नलेखिएका थुप्रै पुस्तकले यी पाठ्यक्रमको शोभा बढाएका छन् ।

यिनै पाठ्यक्रममा समाविष्ट जीवेन्द्रदेव गिरीका ‘निबन्ध सिद्धान्त, आधुनिक नेपाली निबन्धको इतिहास, स्नातक निबन्ध सञ्चय, नेपाली लोकसाहित्य सञ्चय, बालसाहित्य सिद्धान्त, नेपाली बालसाहित्यको इतिहास, निबन्धको सैद्धान्तिक आधार’, रामप्रसाद ज्ञवालीका ‘आधुनिक नेपाली समालोचनाको इतिहास’, ‘आधुनिक नेपाली कविताको इतिहास’ तथा भिक्टर प्रधानको ‘जीवनी साहित्य सिद्धान्त र इतिहास’ जस्ता थुप्रै कृति रहेका छन् । यीमध्ये कतिपय पुस्तक बीए र एमए दुवैको पाठ्यक्रममा समाविष्ट गरिएकाले दुवै तहमा एउटै कुरा पढाउने हो कि ? त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रममा पनि राखिएको तर हालसम्म नलेखिएको केशव सुवेदी र कृष्णहरि बरालको ‘पूर्वआधुनिक नेपाली गद्य’ तथा ‘पूर्वआधुनिक नेपाली पद्य’ जस्ता कृति पनि यस विश्वविद्यालयको पाठ्यक्रममा पनि समावेश गरिएका छन् ।

नलेखिएका पुस्तकको ओइरो लगाउनु मात्र यी पाठ्यक्रमका विशेषता होइनन्, यी पाठ्यक्रम निर्माताहरू पाठ्य–पुस्तक र सन्दर्भ पुस्तकको फरक पनि छुटयाउन नसक्ने विशिष्ट योग्यता भएका देखिन्छन् । एउटै पाठ्यक्रममा कतिपय पुस्तकलाई पाठ्य–पुस्तक र सन्दर्भ पुस्तक दुवैतिर राखिने हास्यास्पद कृत्य पनि गरिएको छ । रामचन्द्र पोखरेलको ‘नेपाली नाटक सिद्धान्त र समीक्षा’ तथा राजेन्द्र सुवेदीको ‘नेपाली समालोचना : परम्परा र प्रवृत्ति’ आदि यसका उदाहरण हुन् । कतिपय विषयमा भने पाठ्य–पुस्तक र सन्दर्भ पुस्तक नछुटयाई एकैठाउँमा राखिएकाले यिनमा कुन पाठ्य–पुस्तक हो र कुन सन्दर्भ पुस्तक हो भन्ने कुरा छुटयाउन अरूको त के कुरा तिनै पाठ्यक्रम निर्मातालाई पनि हम्मे पर्ने देखिन्छ ।

अझ सबभन्दा हास्यास्पद कुरा त यस पाठ्यक्रममा ‘आधुनिक नेपाली निबन्ध’ नामक कृति उल्लेख गरी ‘इतिहास र पाठ’ (लेखन तोक्ने) भनेर लेखिएको छ भने कतिपय स्थानमा त पाठ्य–पुस्तक भनी लेखेर कुनै पुस्तकको नामै नदिई खाली ठाउँ छोडिएको छ । यी त सामान्य नमुनामात्र हुन्, पाठ्यक्रममा यस्ता कुरा त कति छन् कति ?

विश्वविद्यालयका पदाधिकारी एवं कर्मचारीचाहिँ नेपाली एमएमा खासै विद्यार्थी आएनन् अनि बीएमा त झन् विद्यार्थी भर्ना नै भएनन् भनेर गुनासो गर्छन् रे । लेख्दै नलेखिएका पुस्तकको ओइरो लगाएर यस्तो पाठ्यक्रम बनाएपछि कस्तो शिक्षा आर्जन गर्नाका लागि आउन् त विद्यार्थी ? विश्वविद्यालयलाई आफ्नो निजी सम्पत्ति नै ठानेर लेख्दै नलेखिएका पुस्तकहरूको ओइरो लगाएर पाठ्यक्रम तयार गर्ने महामहिम विद्वानहरूको पहुँच निकै बलियो छ रे । त्यसैले विश्वविद्यालय पदाधिकारीका आसेपासेलाई पाठ्यक्रम निर्माणको भत्ता खुवाउने र लेखक बनाइदिने विकृतियुक्त पाठ्यक्रम निर्माताका विरुद्ध विश्वविद्यालय मौन रहन बाध्य भएको कुरा विश्वविद्यालयका कतिपय पदाधिकारीकै स्वीकारोक्ति छ । जागिर धरापमा पर्ने भन्दै नाम सार्वजनिक गर्न नचाहने कतिपय शिक्षक–कर्मचारी पनि यही कुरा बताउँछन् । अझ यस पङ्क्तिकारले उक्त पाठ्यक्रममा उल्लेख भएको भिक्टर प्रधानको पुस्तकबारे जानकारी माग्दा उहाँले ‘को बौलायो फेरि ?’ भन्ने प्रतिप्रश्न गर्नुभयो ।

नेपाली भूगोल, भाषा, जातीयता, संस्कृति आदि विभिन्न पक्षमा प्रहार भइरहेका सन्दर्भमा जति आलोचना गरे पनि नपुग्ने यस्ता अनेक विकृतिको ओइरो लगाएर नेपाली भाषा साहित्यको पठन–पाठनमाथि नै वितृष्णा उत्पन्न गराउने दुष्प्रयास नेपालीका तथाकथित विद्वानहरूबाट भएको छ । नेपाली भाषालाई चारैतिरबाट आक्रमण गरी थिलथिल्याएर कमजोर तुल्याउने दुष्प्रयास भइरहेका बेला नेपाली भाषाकै खेतीबाट जीवन धानिरहेकाहरूबाटै नेपाली भाषा लगायत शिक्षा प्रणालीलाई नै ध्वस्त पार्ने अभिष्टले प्रेरित यस्ता दुष्कर्म अत्यन्त निन्दनीय छन् ।

यस खाले हावादारी एवं मनचिन्ते पाठ्यक्रमको निर्माण नेपाली शिक्षा प्रणालीलाई नै ध्वस्त गराउने दुष्प्रयास एवं बदनियतपूर्ण कुकृत्य गरी सिङ्गो नेपाली जातिलाई नै विनाशको खाडलमा धकेल्ने अनेक परिपञ्च मध्येको शृङ्खलाकै निरन्तरता हो भन्ने कुरा अब छर्लङ्गै भएको छ । यस्ता क्रियाकलापमा ठूलै लेनदेनको कुरा पनि सुनिन्छ । सत्य हो भने यो निन्दनीय मात्र नभएर अपराध पनि हो । वैयक्तिक स्वार्थपूर्तिका लागि सत्ता र शक्तिको दुरुपयोग गरी नेपाली भाषालाई जथाभावी भाँचकुँच गरेर बिगार्ने र पाठ्यक्रमलाई नै विकृत तुल्याएर विश्वविद्यालयलाई नै ध्वस्त बनाउने अधिकार कसैलाई छैन । यी सबै क्रियाकलाप हेर्दा यस्ता विश्वविद्यालयहरू नेपाली भाषा साहित्यप्रति युवा विद्यार्थीलाई वितृष्णा पैदा गराएर नेपालीको पहिचान समाप्त पार्नकै लागि स्थापना गरिएका हुन् त ? विश्वविद्यालय कसैको निजी सम्पत्ति नभएकाले यस्ता प्रश्नको उत्तर उसले दिनुपर्ने कि नपर्ने ?

यस सन्दर्भमा विश्वविद्यालयले आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्न र औपचारिकताकै लागि भए पनि सम्बन्धित पाठ्यक्रम निर्माण गर्ने तथाकथित विद्वानहरूसँग तुरुन्त स्पष्टीकरण लिएर तिनको नामसमेत सार्वजनिक गरी समाज र देशप्रतिको जिम्मेवारीबोध गर्नुपर्छ कि पर्दैन ? यसैगरी स्वघोषित लेखकहरूको पनि यसमा मिलेमतो नभए नैतिकताकै आधारमा भए पनि यस्ता कुकृत्यबारे आफ्ना धारणा सार्वजनिक गर्नु अनिवार्य छ । अन्यथा यस्ता प्रायोजित कुकृत्य विश्वविद्यालयका पदाधिकारी, पाठ्यक्रम निर्माता, स्वघोषित लेखक लगायत सबैको मिलेमतोमा भएको स्पष्टै बुझिन्छ ।

यस्ता व्यक्तिलाई त प्राध्यापकहरूको कलङ्क नै मान्दा पनि हुन्छ । नेपाली भाषाविरुद्ध जथाभावी गर्ने तथा शिक्षा नीतिलाई नै ध्वस्त पार्न खोज्ने खलनायकहरूलाई बेलैमा चिनेर तिनका यस्ता कुकृत्यबाट नेपाली भाषा एवं शिक्षा प्रणालीको जगेर्नाका लागि सम्पूर्ण नेपाली जाति एवं शिक्षाविदको ध्यान यतातर्फ जानु अत्यावश्यक भइसकेको छ । अन्त्यमा, नेपाली भाषामाथि र शिक्षा व्यवस्थामाथि नै खलल पुर्‍याउने यस्ता क्रियाकलापचाहिँ अख्तियार दुरुपयोग निवारण आयोगको परिभाषामा भ्रष्टाचारभित्र पर्छ कि पर्दैन, थाहा भएन । अनि विश्वविद्यालयका कुलपति र सहकुलपतिले यसलाई कसरी लिन्छन्, त्योचाहिँ हेर्न बाँकी नै छ ।

प्रकाशित : वैशाख २४, २०७५ ०७:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्