१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

कमजोर छैनन् अब फूलहरू

शिक्षित तथा सहरी परिवेशमा पनि पुत्रमोह कायमै देखिएको छ ।

काठमाडौँ — एक दशकभन्दा बढी समयदेखि अधिकांश आफन्त तथा परिचितसँग एकै प्रकारको सवाल–जवाफ गर्दै आइरहेकी छु– ‘छोराछोरी कति छन् ?’ ‘एउटा ।’ ‘छोरा कि छोरी ?’ ‘छोरी ।’ ‘ए ! अनि अर्को नजन्माउने ? छोरा एउटा त चाहिन्छ नि !’ ‘हामी यसैमा सन्तुष्ट छौँ ।’ ‘त्यसो भनेर कहाँ हुन्छ र ? एउटै सन्तान त्यो पनि छोरी !

कमजोर छैनन् अब फूलहरू

आफ्नो परम्परा र संस्कृतिलाई पनि त हेर्नुपर्छ नि !’ यस्तै–यस्तै भनाइ सुन्दै आएकी छु म, एउटी छोरीकी आमा ! तर एउटा मात्र सन्तान छोरो हुनेहरूलाई भने यस्ता कुनै पनि भनाइको सामना गर्नु पर्दैन । त्यसैले छोरा भयो भने एउटै मात्र सन्तान भए पनि हुने, तर छोरी भए छोराको आसमा एक–दुई सन्तानको बोझ थप्दै जानुपर्ने चाहे त्यसमा आफ्नो इच्छा होस् या नहोस् π तिनको उचित लालनपालनको क्षमता आफूमा होस् या नहोस्, परम्पराको निरन्तरताका लागि सन्तान जन्माइदिनुपर्ने !

किनकि हाम्रो समाजमा स्थापित पुरातन परम्परा तथा संस्कृतिका कारण अझै पनि छोराको उपस्थिति आवश्यक तथा सुखद मानिएको छ । वरत्रमा अंश र वंशको निरन्तरता अनि परत्रमा पिण्डपानीको प्राप्ति र मुक्तिका लागि छोरा नभई नहुने कर्मकाण्डीय संस्कृतिका कारण स्थापित समाज मनोविज्ञानले गर्दा छोरा नहुनेहरूको अचेतनमा लुकेको अभाव बेलाबखत बाहिरिने गर्छ । चेतनाको विकास नभएको, अशिक्षित अनि ग्रामीण परिवेशको त कुरै छाडौँ, सहरको शिक्षित, सभ्य तथा प्राज्ञिक परिवेशमा पनि आफ्नै कोखको सन्तानलाई लिंगका आधारमा कम र बढी महत्त्व दिइने प्रवृत्तिप्रति हैरान भएकी म यसो हुनाको कारण खोज्दै थिएँ । संयोगवश एकजना अग्रजसँगको संवादमा त्यसको कारण पनि फेला पारेँ ।

उनको सोधाइ पनि उही थियो, मेरो जवाफ पनि उस्तै– ‘एउटी छोरी ।’ ‘एउटा छोरा त चाहिन्छ नि !’ ‘तर मलाई त्यस्तो लागेको छैन ।’ ‘त्यसो भनेर कहाँ हुन्छ र बहिनी π फूल–प्रसाद अर्थात् छोरा–छोरी दुवै हुनुपर्छ । फूल भगवान्लाई चढाउने अनि प्रसाद आफूले खाने ।

तपाईंसँग फूल मात्र भयो, प्रसाद भएन नि !’ हाम्रो पुरुषप्रधान समाजमा छोरा र छोरीलाई दिइएको उपमा सुनेर म चकित भएँ, तर पनि उनीसँग प्रतिवाद गर्न चाहिनँ । संवाद सकिएर उनी अलग्गिए पनि मेरो मानसपटलबाट फूल–प्रसादको बिम्ब हराउन सकेन । एकाबिहानै भगवान्लाई फूल चढाउनु अघिल्लो दिन चढाएको बासी अनि ओइलाएको फूल बटुलेर चोखो ठाउँमा विसर्जन गर्ने अनि प्रसादका रूपमा चढाएको फलफूल या अन्य वस्तु खानका लागि लिने आफ्नै दैनिकी सम्झेँ ।

मन चसक्क चस्कियो । त्यो बासी ओइलाएको फूल अनि भर्खर टिपेका ताजा फूलमा ‘छोरी’को प्रतिबिम्ब देख्दा प्रश्न आफैसँग गरेँ— के छोरी यस्तै कमजोर अनि क्षणिक जीवनका फूल हुन् त ? के तिनको नियति कुनै ईश्वरको चरणमा अर्पित हुनु र विलीन हुनु मात्र हो ? खोइ त फूलको आफ्नो अस्तित्व अनि पहिचान ? फूल—छोरी π छोरी—फूल π आँखा वरिपरि घरि आँगनमा ढकमक्क फुलेका रङ्गीचङ्गी फूल घरि पढाइमा मस्त भएकी छोरीको अनुहार घुम्न थाल्यो । यही लुकामारीले अन्तत: एउटा निष्कर्ष निकाल्यो— हो, छोरी फूल हो, किनकि ऊ कोमल भावना र ममताकी प्रतीक हो । छोरी फूलजस्तै सुन्दर–सुकुमार पनि हुन्छन् । दया, माया, प्रेम, त्याग, समर्पणजस्ता कोमल भाव छोराको तुलनामा छोरीमा बढी हुन्छ । तर पनि छोरी अब अरूको इच्छाले टिपिने, दिनभरमै ओइलाएर झर्ने कमजोर प्रकृतिका फूल भने होइनन् ।

केही दिनअघि यसै पत्रिकाको मुखपृष्ठमा दिवंगत डा. उपेन्द्र देवकोटाको पार्थिव शरीरलाई उनका छोरीहरूले काँध दिएर अन्तिम संस्कारका लागि लैजाँदै गरेको तस्बिर छापिएको थियो । उनलाई दागबत्ती दिने र काजकिरियाको संस्कारसमेत पत्नी र छोरीहरूले नै गर्ने जानकारी गराइएको थियो । आफ्नो परम्परा र संस्कारप्रति निष्ठावान् मेरा ती अग्रजलाई म विनम्र निवेदन गर्न चाहन्छु कि फूलहरू कमजोर छैनन् अब π उनीहरू आफ्ना जन्ममदातासँग जीवनभर काँधमा काँध मिलाएर हरेक चुनौती सामना गर्न सक्छन् भने उनीहरूको अवसानपश्चात् काँध थाप्ने, अन्तिम संस्कार पूर्ण गर्दै पिण्ड–पानी दिएर परम्परागत मान्यतामा पितृ तार्न पनि सक्छन् ।

विगतमा पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालालाई दागबत्ती दिएर अन्तिम संस्कार गर्ने कार्य उनकी छोरी सुजाता कोइरालाले गरेकी थिइन् । यसबाहेक अन्य थुप्रै छोरी पनि छन्, जसले परम्परादेखि बन्देज लगाइएको मृत्यु संस्कारमा सहभागी हुने साहस देखाएर एउटा नवीन सांस्कृतिक मूल्य–मान्यता स्थापित गरे । त्यसैले अब अन्त्य हुनुपर्छ, फूलको अस्तित्वमाथि औंला ठड्याउने प्रवृत्तिको !

प्रकृति प्रदत्त जैविकीय संरचनाका आधारमा महिला वर्गलाई एकातिर अशुद्ध मानेर देवकार्य तथा पितृकार्यबाट पृथक राख्ने र अर्कातिर भगवानका पाउमा चढाउने फूल भन्दै उसलाई अस्तित्व र अधिकार दुवैबाट बञ्चित गराउने पितृसत्तात्मक संस्कृतिका कारण कमजोर पारिएका छोरीहरू यसरी नवीन संस्कृति स्थापनामा अग्रसर हुनु सामाजिक रूपान्तरणतर्फको थप उपलब्धि हो । अत: नमनीय छन्, यी सशक्त फूलहरू !

धर्मका नाममा अपव्याख्या स्वरूप स्थापित कर्मकाण्डीय संस्कृतिले छोरीको अस्तित्व स्वीकार नगरेको हुनाले नै छोरा नहुनेहरूको अन्तिम संस्कार तथा काजकिरिया एवं पिण्ड–पानीका लागि नजिकको नातामा रहेको छोरो (पुरुष) खोज्नुपर्ने, त्यसबापत उसले सम्पत्तिको केही भाग प्राप्त गर्ने परम्परागत संस्कारका कारण नै छोरा नहुनेहरू अंश–वंश र पिण्ड–पानीका लागि चिन्तित हुने गरेको हो ।

त्यसैले अझै पनि गाउँघरतिर छोरा नहुनेलाई छोरा हुने दाजुभाइले हेप्ने, घोचपेच गर्ने अनि सम्पत्तिमा आँखा गाड्ने प्रचलन देखिन्छ । यसको परिणामस्वरूप छोरा जन्माउनकै लागि धेरै छोरी जन्माउने, बहुविवाह गर्ने लगायत छोरी भ्रूणहत्याले प्रश्रय पाइरहेको देखिन्छ । यी सबै कार्यले तुलनात्मक रूपमा महिला वर्गको जीवनमा नकारात्मक असर पुर्‍याउने गर्छन् ।

शिक्षित तथा सहरी परिवेशमा पनि पुत्रमोह कायमै देखिएको छ । यससँग सम्बन्धित व्यक्तिहरूका भनाइमा यस्तो मोह आफ्नो इच्छाले भन्दा पनि लोकलाज अनि समाजका कारण जाग्ने गर्छ । यस्तै परिवेशका एक परिचितलाई सम्झन चाहेँ– उनका छोरीहरू अत्यन्त प्रतिभाशाली, पढाइमा अब्बल, कुनै कमी छैन । छोरा नहुँदा सामान्यत: चित्त बुझाएका उनको अन्तस्करणमा सुषुप्त रहेको हीनताबोधले त्यतिबेला टाउको उठाउँदो रहेछ, जतिबेला उनका आफन्त वा मित्रहरूले कसैको छोरा जन्म्यो कि त्यसको खबर उनीसमक्ष पुर्‍याउने गर्छन् ।

तिनीहरूले जानी–जानी उनलाई त्यस्तो खबर सुनाउने गर्दारहेछन् । एक प्रकारको मानसिक यातनाको यस्तो पीडाले उनलाई निकै सताउँदो रहेछ र उनी चाहन्छन्, कसैको छोरा जन्मेर पार्टी दिएको, न्वारन, पास्नी, व्रतबन्ध आदि उत्सव गरेको प्रसङ्ग, गफ, धाक आफूकहाँ नआए हुन्थ्यो । छोरा हुनेले नहुनेलाई मानसिक चोट पुर्‍याउने अनि नहुनेले पीडाबोध गर्दै जसरी भए पनि छोरा जन्माउन लाग्नुपर्ने समाज मनोविज्ञानको अन्त्य नभएसम्म छोरीहरूलाई महत्त्वहीन–अस्तित्वहीन मानिने परम्पराको पनि अन्त्य सम्भव देखिँदैन ।

आफूलाई सर्वशक्तिमान ईश्वरको स्थानमा राखेर महिला वर्गलाई आफ्नो पाउमा चढाइने फूल ठान्ने पुरुषप्रधान सांस्कृतिक संरचना भत्काउन सक्षम भैसकेका छन्, अब फूलरूपी छोरीहरू ! हार्दिकता र कोमलताका गुणले घरपरिवारको व्यवस्थापनमा सफल छोरीहरू लगनशीलता र बौद्धिक क्षमताका कारण समाजका हरेक पक्षमा सफल बन्दै समाज र राष्ट्रलाई योगदान दिइरहेका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित छोरीहरू कुनै पनि छोराका तुलनामा कम छैनन् । त्यसैले छोरीलाई कमजोर देख्ने कमजोर मानसिकतामा अब पूर्णत: परिवर्तन आउनैपर्छ । अबका छोरीहरू भगवानको चरणमा अर्पित हुने र पुरुषको कोटको शोभा बढाउने फूलमात्र होइनन्, परिआएको खण्डमा उत्तरदायित्वको पहाडलाई काँधमा उठाउन तथा अन्याय विरुद्ध ज्वालामुखी बनेर विस्फोट हुन सक्षम भैसकेका छन् । सलाम ! यी नवसंस्कृतिका संवाहक फूलहरूलाई ! हो, कमजोर छैनन्, अब फूलहरू !

[email protected]

प्रकाशित : असार १८, २०७५ ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?