सीपीसी हेडक्वाटरमा ओली

बेइजिङ डायरी
प्रधानमन्त्रीकै हैसियतमा अर्को देशको राजनीतिक दलको कार्यालय जानु र उसको कार्यक्रमलाई सम्बोधन गर्नु व्यावहारिक नहुन सक्छ ।
चेतनाथ आचार्य

काठमाडौँ — चीन भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली असार ६ गते चिनियाँ कम्युनिष्ट पार्टी अर्थात् ‘सीपीसी’ केन्द्रीय समितिको पार्टी स्कुल विभागले गरेको कार्यक्रममा सहभागी भई ‘समृद्धिमा राजनीतिक दलको भूमिका’ विषयमा सम्बोधन गरे । नेकपाका अध्यक्ष पनि रहेका प्रधानमन्त्री ओली सीपीसीको कार्यालय जाँदा नेपालमा छिटफुट रूपमा उनको आलोचना पनि भयो ।

सीपीसी हेडक्वाटरमा ओली

एउटा राजनीतिक दलका नेताले अर्को देशको राजनीतिक दलको मुख्यालय जानु सामान्य हो । तर प्रधानमन्त्रीकै हैसियतमा अर्को देशको राजनीतिक दलको कार्यालय अवलोकन र उसले गरेको कार्यक्रमलाई सम्बोधन गर्ने चलन सामान्यत: व्यावहारिक नहुन सक्छ । चीनमा सन् १९४९ देखि चिनियाँ कम्युनिष्ट पार्टीले सत्ता चलाउँदै आएको छ । बेइजिङको केन्द्रमा पर्ने थिआनमन स्क्वायरको उत्तर–पश्चिमको भाग चोङनानहाइमा छ, चिनियाँ कम्युनिष्ट पार्टी सीपीसीको हेडक्वाटर । सीपीसीको हेडक्वाटर मात्र होइन, चिनियाँ राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको कार्यालय पनि यहीँ छ । चीनमा सरकारभन्दा सीपीसी शक्तिशाली हुने भएकाले सीपीसीको हेडक्वाटर नै समस्त चीनलाई सञ्चालन गर्ने प्रशासनिक कार्यालय मानिन्छ । यहाँबाट सबै मन्त्रालय र सरकारी प्रशासनिक निकायको नियन्त्रण हुने गर्छ ।

नेपालका प्रधानमन्त्रीले औपचारिक चीन भ्रमण गर्दा चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीलाई भेट्ने नियमित र सामान्यजस्तै हो । चीनका सर्वोच्च पदहरूदेखि दोस्रो तहका उपराष्ट्रपति र चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्षसँग पनि भेट्छन् । त्यस बाहेक प्रधानमन्त्रीले कुनै विश्वविद्यालयमा गएर प्रवचन दिने चलन छ । यसभन्दाअघि प्रधानमन्त्रीका रूपमा चीन भ्रमणमा आएका ओलीले रनमिन विश्वविद्यालयमा गएर प्रवचन दिएका थिए । तर यसपटक उनले कुनै विश्वविद्यालय गएर मन्तव्य दिएनन् । यसको साटो सीपीसीको केन्द्रीय पार्टी स्कुल विभागमा गएर प्रवचन दिए ।

सीपीसीको पार्टी स्कुल विभाग चीनका नीति निर्माता उत्पादन गर्ने थलो हो । यहाँ चीनका ख्यातिप्राप्त वैज्ञानिक र प्राध्यापकहरू छन् । उनीहरूले चीनको आर्थिक, राजनीतिक, कूटनीतिक, शैक्षिक, सांस्कृतिक तथा सामाजिक संरचनाको ‘आर्किटेक’ तयार गर्छन् । पार्टी स्कुलका विज्ञहरू चिनियाँ राष्ट्रपति तथा प्रधानमन्त्रीका सल्लाहकार सो–सरह मानिन्छन् । यस्तो महत्त्वपूर्ण थलोमा गएर प्रधानमन्त्री ओलीले प्रवचन दिए, त्यो पनि चीन–नेपाल सम्बन्ध वा त्यस्तै कुनै नियमित विषयमा नभई समृद्धिमा राजनीतिक दलको भूमिका शीर्षकमा । आखिर किन गए, प्रधानमन्त्री ओली सीपीसीको हेडक्वाटर ? यो निकै तयारीसाथ गरिएको कार्यक्रम थियो र यसको सांकेतिक अर्थ पनि निकै गहन छ ।

सीपीसी महासचिवमा निर्वाचित भएपछि सी चिनफिङले चिनियाँ सपना अगाडि सारे । त्यसको लगत्तै उनले ‘वान बेल्ट वान रोड’को अवधारणा ल्याए । अहिले त्यसलाई ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बीआरआई) भनिन्छ । जब उनी सीपीसीको १९ औँ महाधिवेशनबाट दोस्रोपटक महासचिवमा निर्वाचित भए, तब सीपीसीको विधानमै सी चिनफिङ विचार समेटियो । उनले नयाँ युगमा चीन प्रवेश गरेको भन्दै गरिबी निवारण र भ्रष्टाचार निर्मूलीकरण गर्दै चीनलाई विश्वकै उन्नत राष्ट्र बनाउने उद्घोष गरे । उनले ‘साझा समृद्धिका लागि मानवभाग्य समुदाय निर्माण’ नारासँगै साझा जितबाट छिमेकी मुलुक लगायत अन्य विकासोन्मुख मुलुकहरूको पनि विकासमा सहकार्य गर्ने नीति अगाडि सारे ।

यी कुरालाई उनले पोबोआवो एसिया मन्च, ब्रिक्स, एससीओ, जीबीस, एपेक लगायतका अन्तर्राष्ट्रिय मञ्चमा निकै महत्त्वसाथ राख्दै आएका छन् । आफू समृद्ध भएर मात्र हुँदैन, छिमेकी देशहरूलाई पनि उकास्नका लागि सरसहयोग गर्नुपर्छ भन्ने मान्यतालाई चिनियाँ कूटनीतिको एउटा मुख्य विषय बनाइएको छ । चीनको १४ मुलुकहरूसँग सिमाना जोडिन्छ । यी १४ मुलुक पूर्वाधार विकास र आर्थिक तथा सामाजिक दृष्टिमा चीनभन्दा कमजोर छन् । त्यसकारण छिमेकी मुलुकलाई चिनियाँ नाराले धेरथोर आशावादी बनाएको छ ।

नेपालमा दुई ठूला कम्युनिष्ट पार्टीको एकीकरणबाट बहुमतको सरकार बनेर राजनीतिक स्थायित्वमा पाइला सारेकामा चीन उत्साहित भएको छ । पार्टी एकता, राजनीतिक स्थायित्व र आर्थिक मुद्दामा केन्द्रित हुन चीनले धेरै पहिलेदेखि नेपालका कम्युनिष्ट पार्टीहरूलाई सुझाव दिँदै आएको थियो । आफ्नो सुझाव अनुसार परिणाम देखिँदा नेपालमा लगानी र सहयोग गर्न चीनलाई सजिलो भएको छ । चीनले नेपालमा लामो समयदेखि भरपर्दो साझेदार मित्र खोजिरहेको थियो ।

पञ्चायती व्यवस्थाभरि चीनले निर्विकल्प रूपमा राजसंस्थालाई भरपर्दो साझेदार बनायो । बहुदलीय प्रजातन्त्रको पुन: प्राप्तिपछि राजसंस्थासँगै मुख्य राजनीतिक दलहरूसँग हात मिलायो । २०४७ देखि २०६३ सम्म च्याउसरी दलहरू देखिए । राजतन्त्र पनि कमजोर हुँदै गयो । यस्तो अवस्थामा चीनले नेपाली सेनालाई भरपर्दो साझेदार मित्र बनाउने प्रयास गर्‍यो । गणतन्त्रको आगमनसँगै नेपाली सेना सरकारको अधीनस्थ भएपछि चीन नयाँ शक्तिको खोजीमा थियो । नयाँ संविधानको निर्माणपछि नेपालमा तीन तहको निर्वाचन सम्पन्न भई राजनीतिक संक्रमणकालको अन्त्यसँगै निर्वाचनबाट कम्युनिष्ट पार्टी बहुमतसाथ उपस्थित भएपछि चीनलाई सजिलो भयो । आखिर झण्डा, नाम र अन्तर्राष्ट्रिय गोत्र सीपीसी र नेकपाका साझा छँदै थिए ।

अहिले चीनले नेकपालाई भरपर्दो साझेदार शक्तिका रूपमा लिएको संकेत देखाएको छ । सीपीसीको पार्टी स्कुल विभागले गरेको कार्यक्रममा ओलीलाई निम्त्याएर प्रवचन दिन लगाउनु यसको एउटा संकेत हो । प्रधानमन्त्री ओलीको सम्बोधनले पनि यसलाई नै संकेत गरेको छ । ओलीको सम्बोधनको विषय उनैले अगाडि सारेको समृद्ध नेपाल सुखी नेपाली नारासँग समान छ । त्यसको अघिल्लो दिन उनले चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटमा सी विचारको मुक्तकण्ठले प्रशंसा गरेका थिए । प्रशंसासँगै सीका नीति तथा कार्यक्रमलाई नेपालले साथ र समर्थन दिने कुरा पनि उनले बताए ।

संसारमै आफ्नो प्रभाव फैलाइरहेको चीनले ओलीमार्फत नेकपालाई सामिप्यमा राखेर सी चिनफिङको नारा ‘साझा समृद्धिका लागि मानवभाग्य समुदाय निर्माण’ नेपालमा प्रवेश गराउँदैछ । तसर्थ अब नेपालमा चिनियाँ लगानी उल्लेख्य वृद्धि हुने सम्भावना छ । चिनियाँहरूको बुझाइमा यसले ‘समृद्ध नेपाल सुखी नेपाली’ नारालाई पनि पुरा गर्न सहयोग गर्नेछ ।

लेखक चिनियाँ अन्तर्राष्ट्रिय रेडियो (सी.आर.आई.) नेपाली सेवा, बेइजिङमा विदेशी विशेषज्ञका रूपमा कार्यरत छन् ।

[email protected]

प्रकाशित : असार १४, २०७५ ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?