कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

बाआमालाई रमाइलो वातावरण

आफ्नै परिवेश
झमक घिमिरे

काठमाडौँ — वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावताका सामाजिक सुरक्षा भत्तामा वृद्धि गरिनेछ, हाम्रो नेतृत्वको सरकार बन्यो भने भन्ने चुनावी एउटा एजेन्डाकै रूपमा अगाडि सारेका थिए । देशका ज्येष्ठ नागरिकहरू निकै उत्साहित बनेर खुसी हुँदै चुनावमा सहभागी भएका थिए । उनीहरूको उत्साह र खुसी हेर्दा गज्जबकै थियो ।

बाआमालाई रमाइलो वातावरण

पंक्तिकारले मनमनै महसुस गरेकी थिइ– उनीहरूको यो खुसी र उत्साह कहिल्यै नमर्ने हुन्छ कि हुँदैन ? उनीहरूको मुहारमा त्यो खुसीको कान्ति छरिरहेको देख्न पाए कति आनन्द हुन्थ्यो मन । यस्तै सोच्दै मैले पनि मतदान गरेकी थिएँ । मभन्दा उत्साहित देखिन्थे, ती बुढा बाआमाहरू । कोही हिंँड्न नसक्ने कसैको सहारामा बोकिएर आएका थिए ।

कोहीलाई छोराछोरी, नातिनातिनीहरूले ल्याएका थिए । त्यो हेर्दा लाग्थ्यो, मान्छेहरू निकै सचेत रहेछन्, परिवर्तनप्रति । त्यसप्रति जनआस्था पनि उत्तिकै प्रगाढ रहेछ । बुढा बाआमाहरू भन्थे– यो मर्ने बेलामा पनि यसो चियापानी खर्च बढाउने सरकार बन्यो भने अलिकति सुविस्ता हुन्थ्यो नानी । बस् अहिले समाज पहिलाको जस्तो छोराछोरीले बाबुआमालाई हेर्ने खालको छैन । बाबुआमाले सकुन्जेलमात्र छोराछोरीको लागि राम्रा, प्यारा हुन्छन् । सक्न छोडेपछि बाबुआमा काम नलाग्ने वस्तुजस्तै बन्छन् र छोराछोरीले उनीहरूको स्याहारसुसार गर्नुको सट्टा पैसा तिरेर वृद्धाश्रम पठाउँछन् ।


बूढा बाआमाहरू नेपाली छोराछोरीहरूको लागि पनि समस्या बनिरहेका छन् । अर्थात् बोझ बनिरहेका छन् । यो पंक्तिकारले कतिपय बूढा बाआमाहरू वृद्धाश्रममा छोराछोरीले राखे पनि खुसी देखिए पनि कहिलेकाहीं ती छोराछोरीहरू ती वृद्धाश्रममा राखिएका बूढा बाआमाहरूको सन्चोविसन्चो सोध्न र भेटघाट गर्नसम्म नजाँदा मन कुँड्याएर रोएको देखेकी छे । छोराछोरीको न्यास्रोपन मेट्न बगाउँछन् । त्यही आँसु पुछिदिने आफन्तको साथ पाइरहेका छैनन् ।

ती बाआमाहरूले यो पंक्तिकार आफ्नै कहिलेकाहीं विचलित मनलाई शान्त पार्न वृद्धाश्रम पुग्छु । उनीहरूसँग भलाकुसारी गर्छु, उनीहरूको चहराइरहेको मनको घाउमा अलिकति भए पनि मल्हम लाइदिएर फर्किन्छु । खोइ किन हो, मन यसो गर्दा आनन्दित हुने गर्छ । तर यो पटक सामाजिक सुरक्षा अन्तर्गत वृद्धाभत्ता बढाएन, यसमा वृद्धा बाआमाहरूको गुनासो छ । हामीलाई चुनावमा भोटबैंक मात्र बनायो सरकारले ।


हुन पनि हो, अरु केही गरेन–गरेन, सामाजिक सुरक्षा भत्ताचाहिं धेरथोर बढाइदिएको भए यिनीहरूको यत्रो ठूलो गुनासो हुँदैनथ्यो । सरकारले सामाजिक भत्ता दिन थालेपछि वृद्धा बाआमाहरू खुसीमात्र होइन, आफ्नो जीवनयापनको माध्यम पनि यही बनाउने गरेका छन् ।

बूढेसकालमा छोराछोरीले नहेरे पनि उनीहरूले जीवन चलाउने माध्यम यसैलाई बनाएका छन् । त्यसैले यो सरकारप्रति उनीहरूले ठूलो अपेक्षा गरेका थिए । त्यो अपेक्षा यसबेला निराशामा बदलिएको छ । यसपाली उनीहरूको लागि बजेट छुट्टिएन । समाजमा बूढा बाआमाहरूलाई आफ्ना छोराछोरीहरूले सिहार्ने, समाल्ने क्रमश: घट्दैछ । उनीहरू छोराछोरीको लागि बोझ बन्दैछन् । उनीहरू एक्लै हुँदै जाँदैछन् ।

कामकाजी छोराछोरीको लागि उनीहरूलाई एक्लै छोड्नु एक खालको बाध्यता पनि छ । तर अहिले केही छोराछोरीहरूलाई छोडेर अधिकांश छोराछोरीहरूको लागि बाआमाहरू अल्झाउने बोझ बन्दै गइरहेका छन् । अब उनीहरूको लागि सरकारले विशेष योजना ल्याएर उनीहरूलाई बूढेसकाल भनेको कुनै अभिशाप होइन, हाँसीखुुसी बिताउने पल हो भन्ने प्रत्याभूति दिलाउन सक्नुपर्छ । र उनीहरू भित्रको क्षमता अनुभवहरूलाई उचित ढंगले राष्ट्रनिर्माणमा प्रयोग गर्नसके कति जाती हुन्थ्यो । सबै वृद्धा बाआमाहरू केही गर्न नसक्ने हुन्छन् भन्ने छैन ।

त्यसैले उनीहरूलाई सक्ने काम दिएर मनोरञ्जनात्मक वातावरणमा बाँकी जिन्दी काट्न सजिलो बनाइदिनु सरकार, समाज र सबै आफन्तजनको कर्तव्य र दायित्व हो । हामी सबै त्यो उमेरमा पुग्छौं । त्यो उमेर पार गरेरै जानुपर्छ । यो सृष्टिको शाश्वत सत्य हो भन्ने कुरा वर्तमानमा हामीले भुलिरहेका छौं । किनभने हामीमा जे पनि गर्न सक्ने शक्ति, ऊर्जा छ, बलवर्गत तागत सबै छ । उमेर बित्दै जाँदा यो सबै विस्तारै–विस्तारै क्षीण हुँदै जान्छ ।

एक दिन हामी हाम्रा बाआमाहरूकै स्थानमा पुग्छौं । त्यतिबेलाको जिन्दगीको बारेमा अहिलेदेखि सोचेर हामी युवा पुस्ताले वृद्धवृद्धाको लागि विशेष वातावरणको लागि पहल गरौं, ताकि हाम्रा बाआमाहरू बाँचुन्चेल रमाएर जिन्दगी काट्न सकुन् ।

प्रकाशित : जेष्ठ ३०, २०७५ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?