१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

उत्तर कोरियाबारे भुल्न नहुने मुद्दा

द न्यूयोर्क टाइम्स

काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनबीच हुने भेटको सिंगापुरमा अन्तिम तयारी भइरहेको छ । उक्त भेटवार्ताको प्रमुख एजेन्डा आणविक हतियार नै हुनेछ । तर बिर्सन नहुने कुरा भनेको उत्तर कोरिया विश्वकै सबैभन्दा सर्वसत्तावादी शासन प्रणाली भएको राष्ट्र हो ।

उत्तर कोरियाबारे भुल्न नहुने मुद्दा

तसर्थ राष्ट्रपति ट्रम्पले किमलाई म्याकडोनाल्डको फ्रेन्चाइज खोल्ने अनुमति दिँदैमा देश ‘आधुनिक राष्ट्र’ बन्दैन भनेर बुझाउन सक्नुपर्छ । उत्तर ‘आधुनिक’ हुन त्यहाँका नागरिकमाथि भइरहेको अत्याचारलाई अन्त्य गर्दै स्वतन्त्रता दिन पनि तयार हुनुपर्छ ।

संयुक्त राष्ट्र संघको २०१४ को एक प्रतिवेदन अनुसार उत्तर कोरियामा मानव अधिकार उल्लंघनको घटनाहरूको स्थिति निकै भयावह छ, जसको तुलना अरु कुनै पनि राष्ट्रसँग गर्न सकिँदैन ।

उत्तर कोरियालीहरूले मलाई बताए अनुसार त्यहाँका प्रहरीले समय–समयमा अपार्टमेन्टहरूको विद्युत आपूर्ति बन्द गरिदिन्छ र कोठाको खानतलासी गर्न थाल्छ । यसको मुख्य उद्देश्य कसैले अवैध रूपमा ल्याइएको विदेशी भिडियो वा डिभिडी प्रयोग गरिरहेको छ वा छैन भनेर छानबिन गर्नु हुन्छ । यदि यस्तो खानतलासीका बेला कसैको घरबाट दक्षिण कोरियालीहरू अभिनित भिडियो भेटिएमा त्यस परिवारका सबै सदस्यलाई दण्ड दिन कठोर श्रम शिविरमा पठाइन्छ ।

कुनै पनि देशले प्रविधि, प्रोपोगान्डा (संगठित प्रचार) र प्रहरीलाई नागरिकमाथि आधिपत्य जमाउन त्यो हिसाबमा प्रयोग गर्दैनन् । त्यहाँ राज्यले गर्ने संगठित प्रचार साह्रै उग्र हुन्छ । हरेक नागरिकको घरमा लाउड स्पिकर हुन्छ, नभए समुदायलाई नै हुनेगरी पोलमा लाउड स्पिकर राखिएको हुन्छ र त्यसबाट उत्तर कोरियाका सर्वोच्च नेताका गाथाहरूमात्रै बजाइन्छ ।

१९९० मा जब उत्तरमा अनिकाल लागेको थियो, त्यसबेला त्यहाँको राष्ट्रिय सञ्चार माध्यमले डाइटिङका फाइदाहरूलाई जोडतोडका साथ प्रचार गरेको थियो । यस्तै त्यहाँको राष्ट्रिय नारा ‘दिनमा दुईपटक मात्रै खाना †’ बनाइएको थियो । टेलिभिजनमा धेरै भात खाने मानिस पड्किएको वृत्तचित्र देखाइएको थियो । यस्तै त्यहाँका रेडियो र टेलिभिजनमा उत्तरकै स्टेसन र च्यानल बाहेक अन्य केही पनि सुन्न र हेर्न नमिल्ने बनाइएको हुन्छ । यद्यपि कालोबजारमा भने यस्ता टेक्निसियनहरू भेटिन्छन्, जसले त्यस्ता रेडियो/टिभीमा केही परिवर्तन गरी चिनियाँ र दक्षिणी कोरियाली प्रसारण समात्ने बनाइदिन सक्छन् । तर पक्राउ परेको खण्डमा भने परिवारकै बास श्रम शिविरमा हुन्छ । यस्ता श्रम शिविरमा एक लाखभन्दा बढी नागरिक रहेको अनुमान छ ।

नाजी क्याम्पमा परेर बाँचेका र अन्तर्राष्ट्रिय बार एसोसियसनबाट उत्तर कोरियाका जेलहरूको अध्ययन गर्न बनेको समितिका सदस्य थोमस ब्युरेंगथालले भनेका थिए, ‘मेरो विचारमा उत्तर कोरियाका श्रम शिविरको अवस्था हिटलरको नाजी क्याम्पको भन्दा कठोर र क्रूर छ ।’

त्यहाँको मानव अधिकारको अवस्थामा सुधारको मागले वार्ता भंग हुने सम्भावना छ भने अहिलेको प्राथमिकता आणविक हतियार नै हुनुपर्छ । तर ट्रम्पले किमलाई उत्तरले आफ्नो शासन प्रणाली र मानव अधिकारको अवस्थामा सुधार नगरे विश्वले उनीहरूलाई हेर्ने दृष्टिकोणमा कुनै परिवर्तन आउने छैन भन्ने कुरा बझाउन सक्छन् र त्यो प्रयत्न गर्नुपर्छ ।

१९९४ मा उत्तरसँग सम्झौताका लागि खाका तयार पारेका रोबर्ट गालुचीका अनुसार पनि अहिलेको मुख्य विषय भनेको आणविक हतियार नै हो । ‘तर अन्तत: यो सामान्यकरणलाई दिगो बनाउन त्यहाँको मानव अधिकारको विषयलाई पनि सम्बोधन गर्न जरुरी छ,’ उनले भने । यस्तै इन्टरनेसनल क्राइसिस ग्रुपका रोबर्ट म्याल्ले पनि आणविक हतियार सम्बन्धको छलफलमा मानव अधिकारको विषयलाई प्रवेश गराएर त्यसलाई जटिल बनाउनहुन्न भन्ने पक्षमा छन् । तर उनी त्यसमा केही थप्छन्, ‘यदि बाहिर देखिए जस्तै उत्तरको प्रमुख लक्ष्य भनेको अमेरिकी प्रतिबन्धलाई हटाएर सामान्य द्विपक्षीय सम्बन्ध विस्तार गर्नु रहेको छ भने उनीहरूलाई थाहा हुनुपर्छ, त्यहाँको शासन सत्ताले नागरिकमाथि दमन गर्न नछोडेसम्म यस्तो हुन सक्दैन ।’

केही समययता उत्तरका अधिकारीहरू त्यहाँको मानव अधिकारको अवस्था सुधार हुनुपर्छ र त्यसका लागि छलफल गर्न सकिन्छ भन्ने पक्षमा रहेको देखिन्छ । त्यहाँका केही उच्च अधिकारीहरूको बयानहरूमा उनीहरू यो विषयलाई समय अनुसार सम्बोधन गर्ने पक्षमा रहेको चित्रित हुन्छ । यद्यपि उनीहरू पश्चिमाहरूले त्यहाँका जेल तथा श्रम शिविरका बारे बढाइ–चढाइ गरेर प्रतिवेदनहरू बनाएको आरोप लगाउन भने पछि पर्दैनन् ।

त्यसैले ट्रम्पले किमलाई आणविक हतियार निशस्त्रीकरणका साथै त्यहाँका जनताको जीवनस्तरमा सुधार गर्नका लागि केही काम गर्न मनाउन सक्छन् । किनभने विश्वमा रहेका केही आणविक हतियार सम्पन्न राष्ट्र मध्येको एकमात्र नभई उत्तर निरंकुश राष्ट्र पनि हो र वार्ता हतियारसँग मात्र नभई त्यहाँका मान्छेको जीवनसँग जोडिएको छ ।

निकाेलस क्रिष्टोफ

द न्युयोर्क टाइम्सबाट अनूदित

प्रकाशित : जेष्ठ २९, २०७५ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?