आफै भित्रको सुखको खजाना 

बीर बहादुर बोहरा

काठमाडौँ — एउटा बेजोड सन्देश बोकेको लघु कथा छ । एक दिन एक जना धनी बाबुले आफ्नो कलिलो छोरालाई गरीब बस्तीमा घुमाउन लैजान्छन् । उनको उद्देश्य छोरालाई मानिसहरु कतिसम्म गरीब छन् भन्ने बोध गराउने हुन्छ । गरीब बस्तीमा हप्तौं घुमेर फर्किने क्रममा बाबुले छोरा लाई सोध्छन्, “छोरा यात्रा कस्तो लाग्यो ?”

आफै भित्रको सुखको खजाना 

“धेरै राम्रो, तर हामीसँग केवल एउटा सानो पौडी पोखरी मात्र छ, तिनीहरुसँग सिंगो नदी छ । हामीसँग एउटा महँगो बत्ति छ, तिनीहरुसँग लाखौं ताराहरु छन् । हामीसँग जमिनको एक सानो टुक्रा छ, तिनीहरुसँग अनन्त आकाश छ ।” आशा अनुरुप छोराबाट उत्तर नपाएर बाबु तीन छक्क पर्छन् ।


यो हामी सबैको कथा हो । हामीसँग जे छ त्यसमा रमाउन होइन । जे छैन त्यसको अभावमा आजीवन पिरोलिन्छौं ।


“समृद्ध नेपाल र सुखी नेपाली” को नारा अचेल हरेक नेपालीको मुखमा झुन्डिएको छ तर सुखको स्रोत के हो र कसरी प्राप्त गर्ने भन्ने बारे भने हामी अबुझ छौं ।


मानव जातिको करिब १० हजार वर्षको लिखित इतिहासमा मानव जीवनको सुखकै लागि तमाम सुविधाहरु थपिए । सिद्धान्तहरु प्रतिपादित भए । तर हिजो भन्दा आज मानिस भौतिक रुपमा अलि सुखी देखिए पनि मानसिक रुपमा सुखी भएको प्रतित हुन्न ।


गत सहस्राब्दीकै महान चिन्तक कार्ल मार्क्सले मानिसको दुखको कारण सर्वहारा वर्ग र पूँजीपति वर्ग बीचको अत्यास लाग्दो आर्थिक बिषमतालाई माने । अतिरिक्त मूल्यले सर्वहारा माथि भएको आर्थिक शोषणबाट उन्मुक्तिको उपाय वर्ग संघर्ष ठाने उनले । सर्वहारा वर्गको जीवनमरणको संघर्षमा विजय हुने र संक्रमणकालिन व्यवस्था समाजवाद, जहाँ राज्य त हुन्छ तर निजी सम्पत्ति हुन्न, हुँदै वर्ग विहीन, राज्य विहीन र निजी सम्पत्ति विहीन सुखी समाज निर्माण हुने उनको निचोड थियो । तर साम्यवादी क्रान्ति सम्पन्न भएका मुलूकहरुको अवस्था हेर्दा यस्तो छनक कहि कतै भेटिन्न ।


बिसौं शताब्दीका विख्यात मनोवेत्ता अब्राहम मास्लोले मानव आवश्यकताका तहहरु माथि व्याख्या गर्दै आत्म रुपान्तरणको अन्तिम सोपानमा मानिस आनन्दको अतिरेकमा अवतरित हुने बताए । उनका अनुसार मानिसको पहिलो आवश्यकता दैहिक हो, जस अन्तर्गत उसले खाना, नाना, छाना र प्रजनन सुखानुभूति खोज्छ । यतिले उ सन्तुष्ट हुन सक्दैन । यि सबै गर्नका लागि उसलाई सुरक्षाको प्रत्याभुति हुनु पर्छ । दैहिक र सुरक्षाको प्रत्याभूतिसँगै अब मानिसलाई प्रेम र स्नेहको आवश्यकता पर्छ । त्यसपछि उसले सम्मान खोज्छ । आवश्यकताको पाचौं चरणमा मानिस आत्मसिद्ध भई समग्रतामा सृजनशिल हुन्छ र अन्ततः आत्म रुपन्तरणको भावविभोर अन्तहीन आनन्दमा लीन हुन्छ ।


हाम्रै नेपाली माटोमा आजभन्दा २६०० वर्ष अघि गौतम बुद्धले दुख मुक्तिको सविस्तार आधना पद्धति पस्के । दुख र दुख मुक्तिका बारे उनका चार आर्य सत्य प्रस्तुत छन । संसारमा दुख छ । दुखको कारण छ । दुखको कारण हटाएर दुखमुक्त हुन सकिन्छ । दुख मुक्तिको उपाय अष्टाध्र्ग मार्ग हो । उनले सुझाएको अष्टाङ्ग मार्ग साधनाको सिढी मात्र हो, अन्तिम मन्जिल त बेशर्त र अन्तहीन सुख र आनन्द नै हो ।


बिकासको वैभवले पहिले भन्दा अहिले शिखर चुमेको छ । परिस्थति व्यापक फेरिएको छ तर मानिसको मनस्थिति भने उही छ । मानव जातिको सुखको खोजी कस्तुरी मृगको मृगतृष्ण झै भएको छ । हामी दौडिएका त छौं तर सुख प्राप्त भने कहिल्यै गर्न सक्दैनौं । बाहिरी बस्तु र उपभोगमा खोजिने सुखको दुर्दशा यस्तै बिषादमा गएर अन्त्य हुन्छ ।


यस आलेखको शुरुमा उल्लेखित कथामा झैं हामी अरुको पछि दौडिन्छौं । आफ्नो स्वधर्ममा जीउन छोडेर अरुको देखासिकीमा रमाउँछौ । गितामा श्री कृष्णले “स्वधर्मे निधनम् श्रेय, परधर्मो भयावह” त्यसै भनेका होइनन् अर्थात अरुको धर्ममा जीउनु भन्दा आफ्नो धर्ममा मर्नु श्रेयस्कर हुन्छ ।


शरीर विज्ञानका अनुसार मानिस आनन्दित हुन इन्डोरफिन्स नामक हर्मोन श्रवित हुनुपर्ने हुन्छ । शारिरीक व्यायामको माध्यमबाट यो द्रवित हुने हो । यसको स्रोत बाहिर छैन । त्यस्तै हाम्रै शरिरबाट निस्किने सेरोटोनिनले हामीलाई हाम्रो प्राकृतिक अवस्थामा राखि राख्न मद्दत पुर्‍याउछ । टोरन्टो विश्वविद्यालयले विगत २६ वर्ष यताका कैयौं शोधहरु संश्लेषण गरेर यो कुरा सही सावित गरेको छ ।


बाह्य सुविधाले हामीलाई सजिलो गरी जीउन सहयोगसम्म पुर्याउन सक्छ तर मनको मैलो पखाल्न सक्दैन । हाम्रो मन मैला मुक्तिका लागि आफ्नै चेतना प्रयोग गर्नुपर्ने हुन्छ । हाम्रो ज्यादातर समय विगत र भविश्यको पीडा र चिन्तामा रुमल्लिन्छ । हाम्रो विचारको अन्तहीन श्रृंखलाले वर्तमानको सुखद समयसमेत निरस बन्न पुग्छ । जर्मनमा जन्मिएर कर्मथलो क्यानाडालाई बनाएका प्रख्यात आध्यात्मिक गुरु एकहर्ट टोलको प्रशिद्ध पुस्तक “पावर अफ नाव”मा मानिस भूत र भविश्यको चिन्तामा कसरी हराउछ र सुखि र आनन्दित जीवनका लागी वर्तमानमा कसरी बाँच्ने भनी सविस्तार बताइएको छ ।


पतन्जली योग सूत्रमा चित्तको वृति नै दुखको कारण हो भनिएको छ । चित्तको वृतिबाट मुक्त हुन सके हामी तत्क्षण सुखी हुन्छौं । योगले चञ्चल चित्तदशाबाट मुक्त हुन सहयोग पुर्‍याउँछ । हामी भित्र चेतना छ, प्रतिभा छ । अन्तरहृदयको त्यही चेत प्रयोग गरी हाम्रो जीवन धन्य बनाउन सक्छौं ।


हामी मध्ये धैरैलाई लाग्न सक्छ, आपसी प्रतिस्पर्धा र निरन्तर चिन्तन् आजको युगको अनिवार्य आवश्यकता भइसक्यो । विकासका लागि यो अनिवार्य सर्त हो । तर अचम्म के छ भने फलको आशा नगरी गरिएका हरेक कर्मले शिखर चुमेका छन् । अल्बर्ट आइन्सटाइनको विज्ञान, लियोनार्दो दा भिन्चिको कला, लुडविग भन विथोइनको संगीत या लियो टल्सटोयको साहित्य कुनै प्रतिस्पर्धा र पुरस्कारको रागले गरिएका कर्म होइनन् बरु निष्काम कर्मको अमनी दशामा श्रृजिएका कृति हुन् जसको प्रभाव र महत्वप्रति सिंगो मानव जाति धन्य छ । हाम्रा धर्मग्रन्थहरुले निष्काम कर्मको महिमा बर्णन गरेका छन् ।


अलेक्जेण्डर द ग्रेट संसार जित्न निस्किदै थिए । उषाको सुमधुर लाली किरणको मजा लिंदै एकजना सन्त समुद्रि तटमा पल्टिरहेका थिए । ति सन्तप्रति अलेक्जेण्डरको आदरभाव थियो । त्यसैले उनले सन्तलाई सोधे, “म संसार विजयका लागि निस्किदै छु, जानु भन्दा पहिला तपाईलाई जे चाहिन्छ म दिन तयार छु ।”


“म र मेरो कुकुर यो विहानीको घामको मजा लिदैंछौ, सक्छौ भने तिमी अली पर हटि देउ ताकी सूर्यको किरण नछेकियोस्” सन्त भन्छन् । आत्मराम पुरुष बाह्य सुखमा नभै आफै भित्र आनन्दित रहन्छ भन्ने कुराको यो बेजोड नजिर हो ।


भौतिक सुविधाले मात्रै सुखि हुन सकिने भए गेस लिभरमोर जस्ता वाल स्ट्रिटका ठूला धनाढ्य, इभेर क्रियुगर जस्ता उद्योगपति, मरलिन मुनरो जस्ता कलाकार, र क्लियोपेट्रा जस्ति सुन्दरीले आत्महत्या गर्ने थिएनन् ।


बुद्धको अन्तिम देशना छ, “अप्पो दिपो भव ।” जसको अर्थ हुन्छ आफै दियो बन । आफू भित्रको प्रभा दोहन गरी आफ्नै प्रकाश प्रज्वलित नगरेसम्म हामी सुखी हुनै सक्तैनौ ।


Email: [email protected] or [email protected]

प्रकाशित : जेष्ठ २५, २०७५ १७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?