‘कृषि, उद्योग र पर्यटनलाई प्राथमिकता’

कान्तिपुर संवाददाता

काठमाडौँ — मुलुकमा केन्द्रीय, प्रदेश र स्थानीय सरकार छन् । ती सरकारले सय दिन पनि पार गरिसके । केन्द्रले अधिकार प्रत्यायोजन र आवश्यक कानुन निर्माण गरिनसकेको हुनाले प्रदेश सरकारहरु क्षमताअनुसार चलेका छैनन् । कामले गति लिन नसके पनि प्रदेशले समृद्धिका सम्भावना केलाउन थालेका छन् । यही सन्दर्भमा कान्तिपुर मिडिया ग्रुपले शुक्रबार रुपन्देहीको मणिग्राममा छलफल गरेको थियो । छलफलका सहभागीले प्रदेश नं ५ को समृद्धिका विषयमा राखेका धारणाको सम्पादित अंश:

डा. प्रकाश श्रेष्ठ
उपाध्यक्ष
प्रादेशिक योजना आयोग

उद्योग, पर्यटन, वाणिज्य र कृषि गरी चारवटै क्षेत्रमा यो प्रदेशले विकास गर्न सक्ने प्रशस्त सम्भावना छ । यसलाई शक्तिका रूपमा लिएर अघि बढ्न आवश्यक छ । उद्यमशीलतामा ध्यान दिनुपर्छ । यसले उत्पादन बढाउन र रोजगारी सिर्जना गर्न सहयोग गर्छ । समस्यालाई लुकाएर होइन, बहसमा ल्याएर समाधान गर्नुपर्छ । देशमा ३ वटा सरकार बनेका छन् । स्थानीय सरकार प्रत्यक्ष नागरिकसँग जोडिएको छ । स्थानीय सरकारले गरेका कामको समीक्षा गरौं । विकासका लागि सबै एकतावद्ध भएर लाग्नुपर्छ ।

दीर्घबहादुर केसी (कुमार)
केन्द्रीय सदस्य
अखिल नेपाल फुटबल संघ

खेलले पर्यटन प्रवद्र्धनसाथै युवालाई दुव्र्यसनबाट बचाउँछ । अन्तर्राष्ट्रियस्तरमा मुलुकलाई चिनाउँछ । खेलकुदलाई प्राथमिकतामा राखेर विकास गर्नुपर्छ । बुटवलमा एन्फा एकेडेमी छ । त्यहाँ बालकलाई आवासीय सुविधासहित फुटबल सिकाइरहेका छौं । राम्रा र उदीयमान खेलाडी उत्पादन भएका छन् । विगतमा एन्फाका विकृति उजागर गर्न मिडियाले ठूलो भूमिका खेलेको थियो जसले गर्दा एन्फामा नयाँ नेतृत्व मिलेको छ ।

गोपाल ज्ञवाली
प्रदेश अध्यक्ष, खानी तथा
क्रसर उद्योग व्यवसायी महासंघ

नदीजन्य पदार्थको उत्खनन र उपयोगमा राज्यका फरक–फरक धारणा छन् । गिटी, बालुवा विदेशबाट झिकाउने होइन, यहींको प्रयोग गर्ने हो । यस क्षेत्रका विकृतिलाई औंल्याउन जरुरी छ । नीतिनिर्माण तहमा पुगेका व्यक्तिपिच्छे नयाँ नियम बन्छन् । यसले गर्दा व्यवसायी मर्कामा परेका छन् । जताततै पूर्वाधार विकासको लहर चलेको छ । यस्तो विकास नदीजन्य पदार्थबिना सम्भव छैन । नदीजन्य पदार्थको उत्खनन र व्यावसायीकरणमा के गर्नुपर्ला, वैज्ञानिक आधार खोज्न आवश्यक छ । यसबारे बहस चलाउनुपर्छ ।

नारायणप्रसाद भण्डारी
अध्यक्ष
उद्योग व्यापार संगठन, रूपन्देही
हाम्रो प्रदेशले धेरै सम्भावना बोकेको छ । उद्योग, व्यापार र पर्यटनमा अथाह सम्भावना छन् । तर अपेक्षा र योजनाअनुसार विकास हुन सकेको छैन । लुम्बिनी गुरुयोजना पूरा भएको छैन । यसले गर्दा पनि लुम्बिनीको विकास हुन नसकेको हो । विशेष आर्थिक क्षेत्र (सेज) पटक–पटक उद्घाटन भयो । सञ्चालनमा आएको छैन । मोतीपुरमा बन्न लागेको प्रदेशस्तरीय करिडोर छिटो सकियोस् । तिलोत्तमामा बन्न लागेको प्रदेशस्तरीय मेडिकल कलेजलाई प्रक्रियामा लैजानुपर्छ ।

‘पर्यटनबाटै समृद्धि’
शंकर पोखरेल,मुख्यमन्त्री
यो प्रदेश विकासशील छ । सबै कुरामा औसत विकास छ । औसत विकासलाई उच्च बनाउने हाम्रो योजना छ । खाका बनाइरहेका छौं । केन्द्रीय मानसिकतामा काम गर्दा विकासमा पछाडि परेको हो । अहिले ‘स्थानीय’ सँग आइडिया लिएर काम गरेका छौं ।
यसो गर्दा विकास प्रभावकारी र आवश्यकतामुखी बन्दोरहेछ । प्रदेशको विकासका आधार कृषि, पर्यटन र उद्योग हुन् । कृषिले जीवनस्तरमा बदलाव ल्याउन सकिन्छ । तर समृद्धि सम्भव छैन । मूल समृद्धिको आधार पर्यटन हो । उद्योगबाट धेरै परिवर्तनको आस छ । परासीदेखि बर्दियासम्म अन्नका भण्डारका रूपमा रहेको तराईमा व्यावसायिक खेतीलाई प्राथमिकता दिइनेछ । लुम्बिनीलाई केन्द्र भागमा राखेर पर्यटन विकास गरिनेछ ।
चुरे रेन्जमा जलाशय बनाएर पाल्पादेखि रोल्पासम्मको भूभागमा पनि पहाडी पर्यटन पदमार्ग बनाउने सोच छ । दाङ, नेपालगन्ज र रूपन्देहीमा ठूला औद्योगिक करिडोर बन्नेछन् । रूपन्देहीलाई पर्यटन र वाणिज्यमा पनि अगाडि ल्याइनेछ । अन्तर्राष्ट्रिय गौतम बुद्ध विमानस्थललाई अब तोकिएकै समयमा सकिनेछ । यसको सञ्चालनले मात्रै पनि यहाँको विकासमा ठूलो रोल खेल्नेछ ।
यो प्रदेशको ५० प्रतिशत जंगल छ । जंगललाई व्यवस्थित गरेर शैक्षिक पर्यटकलाई आकर्षित गरिनेछ । शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि काम गरिनेछ । विकासमा सुशासन र सुशासनलाई कार्यान्वयन प्राथमिकतामा रहनेछ । यसो भए प्रदेश ५ विकासमा देशकै पहिलो नम्बर बन्नेछ ।

ज्ञानु पौड्याल
अध्यक्ष, महिला तथा
बालबालिका सञ्जाल, रूपन्देही
अब समृद्धिको यात्रामा छौं । तर भौतिक विकासले मात्र सम्भव हुँदैन । सामाजिक विकास जरुरी छ । हाम्रो प्रदेश विकासमा अगाडि छ । तर बालविवाह, बहुविवाह, दाइजो, तिलक, छुईलगायत प्रथा छन् । यसले समाजलाई पछाडि धकेलेको छ । कानुनमा लेखिएका अधिकार वास्तवमै महिला, बालबालिकाले पाएका छन् या छैनन्, यसबारे अनुसन्धान गरेर विषय उठाउन र समस्या हटाउन आवश्यक छ ।

सागर धम्म
भिक्षु, लुम्बिनी
नेपाल र पर्यटन परिपूरक छन् । धार्मिक पर्यटनको महत्त्व छ । बुद्धजन्मस्थल लुम्बिनीका कारण प्रदेश ५ ले मुलुककै मुहार फेर्न सक्ने सामथ्र्य राखेको छ । तिलौराकोट र रामग्रामले पनि यहाँको गरिमा बढाएका छन् । बुद्धको आध्यात्मिकतालाई समेटेर विकास, व्यवस्थापन र प्रचार गर्नुपर्छ । लुम्बिनीको महत्त्व झल्काउन र त्यहाँको विकासलाई पूरा गर्न लुम्बिनी विकास कोषमा बौद्धिक र सक्षम व्यक्ति प्रतिस्पर्धाबाट ल्याउनुपर्छ । उद्योगका कारण लुम्बिनी क्षेत्रमा धेरै प्रदूषण बढेको छ । प्रदूषण न्यूनीकरणमा ध्यान दिनुपर्छ ।

सुमित्रा शर्मा
केन्द्रीय सदस्य,
गैरसरकारी संस्था महासंघ
हरेक तहमा सुशासन कायम राख्न राज्यले पहल गर्नुपर्छ । नागरिक समाजले राज्यको विकास र राजनीतिक परिवर्तनमा भूमिका खेलेको छ । नागरिक समाजबाट अभियान सुरु भएपछि मात्रै राजनीतिक दल आन्दोलनमा होमिने गरेका छन् । अभियान सफल भएपछि उनीहरूको योगदानको कदर भएको छैन । नागरिक अभियान चलाउने एनजीओ र आईएनजीओलाई एउटै डालामा नराखियोस् ।

हरि अर्याल
अध्यक्ष, नेपाल पुस्तक तथा
स्टेसनरी व्यवसायी महासंघ

तिनाउ नदीको अतिक्रमण तीव्र छ । नदी बहाव क्षेत्रमै ठूलो बस्ती बसेको छ । यो क्रम बढ्दै गयो भने बाढीले एक दिन विनाश ल्याउँछ । यसबारे सचेत बन्नुपर्छ । प्रदेश ५ का हरेक क्षेत्रमा नागरिकले लगानी गर्न खोजेका छन् । राज्यले लगानीमैत्री वातावरण बनाउनुपर्छ । विकासमा निजी क्षेत्रले ठूलो भूमिका खेलेको छ । यसको कदर होस् । राज्यले सबैका लागि शिक्षा भनेको छ तर समान शिक्षाको अवसर भने पाएका छैनन् । यसका लागि पैरवी आवश्यक छ ।

चन्द्रप्रकाश श्रेष्ठ
अध्यक्ष, सिद्धार्थ होटल तथा
रेस्टुरेन्ट व्यवसायी संघ, रूपन्देही
पाँच वर्षभित्र वार्षिक २० लाख पर्यटक ल्याउने राष्ट्रिय लक्ष्य छ । यसका लागि लुम्बिनी र आसपासमा पूर्वाधार विकास गर्न जरुरी छ । एकैपटक धेरै पर्यटक आउँदा कसरी राख्ने, केमा खर्च गराउने योजना बनाउनुपर्छ । लुम्बिनीसँग अन्य पर्यटकीय क्षेत्र जोड्नुपर्छ । भारतीय बाटो भएर आउने पर्यटकले यो क्षेत्रमा एक दिन पनि बिताउँदैनन् । रकम खर्च पनि गर्दैनन् । अब सार्क मुलुकका पर्यटकबाट पनि भिसा शुल्क लिनुपर्छ । लुम्बिनीमा कम्तीमा एक दिन बिताउनैपर्ने अवस्था तयार गर्नुपर्छ ।

विदुर ढुंगाना
जगदम्बा सिमेन्ट उद्योग
प्रदेश ५ त्यसमा पनि रूपन्देही विकासले चम्कने क्षेत्र हो । यहाँको भौगोलिक क्षेत्र र सामाजिक बनोट निकै उपयोगी छ । भारतसित सीमा जोडिएको छ । चीनसितको सिधै नाका जोड्न सक्ने सामीप्य छ । बेलहिया नाका नाकाबन्दीका समयमा पनि खुला रह्यो । यसले अन्य क्षेत्रका नेपालीलाई पनि अभाव हुन दिएन । विडम्बना अहिले यो नाका अवरुद्ध छ । भारतबाट ल्याएको सामान भन्सार पास गराउन एक हप्ता लाग्छ । सुनौलीमा पालो कुरेर बसेका ट्रकको लाइन मात्रै छ । भन्सार गराउन व्यवसायीले पैसा तिर्नुपरेको छ । कि बेलहिया नाकाको विकल्प खोज्नुपर्‍यो नत्र यसको स्तरोन्नति गर्नुपर्छ ।

नवराज श्रेष्ठ
पूर्वअध्यक्ष, उद्योग
वाणिज्य संघ, बुटवल
कृषि र पर्यटन प्रदेश ५ का मेरुदण्ड हुन् । छोटो दूरी र सहज नाकाका कारण औद्योगिक सम्भावना पनि धेरै छ । सेवा क्षेत्रमा व्यापार, व्यवसाय र स्वास्थ्य तथा शिक्षाको विकासका लागि पनि प्रदेश निकै अगाडि बढेको छ । अब यिनलाई व्यवस्थित गर्न राज्य लाग्नुपर्छ । अब कसरी देशको छिटो र दिगो विकास गर्न सकिन्छ, त्यसमा राजनीतिक दल, बौद्धिक समुदाय र निजी क्षेत्र मिलेर अघि बढ्नुपर्छ । सबैले एउटै धारणा बनाउन सक्यौं भने विकास छिटो र सहज हुनेछ ।

ध्रुव न्यौपाने
पैँचो पसल प्रालि
कृषि परम्परागत पेसा हो । एक न एक तरिकाले कृषिसँग जोडिएका छौं । अहिले निर्वाहमुखी कृषि भइरहेको छ । प्रदेश ५ मा कृषिबाट क्रान्ति ल्याउन सम्भव छ । यसैले परम्परागत र निर्वाहमुखी कृषि प्रणाली फेर्नुपर्छ । कृषि क्षेत्रमा उपकरणको प्रयोग बढाउनुपर्छ । हरेक खेतीलाई व्यावसायीकरण गर्नुपर्छ । प्राथमिकता भने पनि बैंकहरूले अहिलेसम्म कृषि ऋणलाई सहज बनाएका छैनन् । अनुदान सिधै किसानका घरमा जाने र सहज ऋण लिने वातावरण बन्नुपर्छ । यसो भए प्रदेशको विकासमा कृषिले ठूलो भूमिका खेल्नेछ ।

कुलप्रसाद न्यौपाने
अध्यक्ष, सिद्धार्थनगर
उद्योग वाणिज्य संघ
प्रदेशमा उद्योग व्यवसायको विकासका प्रशस्त सम्भावना छन् । यहाँ ठूला र घरानियाँ उद्योगी छन् । अहिले नयाँ लगानीकर्ता पनि उद्योग र व्यवसाय प्रवद्र्धनमा आएका छन् । विकासका ठूलठूला आयोजना सुरु भएका छन् । सबल बन्ने प्रशस्त सम्भावना छन् । तर ती सम्भावनालाई आत्मसात् गर्न सकिएको छैन । राज्यले लगानीमैत्री वातावरण बनाउनुपर्छ । विकासमा ठूलो भूमिका निजी क्षेत्रले खेलेको छ । यसको मूल्यांकन गर्नुपर्छ ।

ओमकार गौचन
पूर्वसदस्य
लुम्बिनी विकास कोष
युवा पलायन निकै बढेको छ । अझ यहाँ त महिला र वृद्धवृद्धा मात्र छन् । विदेशमा कमाउने मोहमा युवा देशमा नबस्ने भएका छन् । यिनलाई जसरी पनि रोक्नुपर्छ । त्यसका लागि मुलुकभित्र रोजगारी सिर्जना गर्नुपर्छ । हाम्रो प्रदेशमा रोजगारीका धेरै अवसर छन् । ती अवसरको प्रचार गर्‍यौं र अवसर दियौं भने धेरै युवा विदेश जानबाट रोकिनेछन् । युवासहितको विकासले मात्रै प्रदेश सबल बनाउन सकिनेछ ।

सञ्जय वजियम
पर्यटन व्यवसायी

सबैले प्रदेशलाई पर्यटनको ठूलो सम्भावना भएको बताउने गरेका छन् । अहिले पर्यटनबाटै समृद्धिको सपना देख्न थालिएको छ । पर्यटनलाई प्राथमिकतामा राखेर विकास गर्ने भन्ने पनि सुनिएको छ । वास्तविक पर्यटनको विकास गर्न राज्यले स्पष्ट नीति अझै ल्याएको छैन । यसले गर्दा विश्वकै प्रख्यात बुद्ध जन्मस्थल भएर पनि हामीले उचित लाभ लिन पाएका छैनौं । राज्यले पर्यटकको संख्या बढाउने हो र पर्यटन प्रवद्र्धन गर्ने हो भने अनलाइन पद्धतिबाट टिकटको व्यवस्था गर्नुपर्छ । भिसा शुल्क अनिवार्य गर्नुपर्छ । यसले मात्रै पर्यटकबाट स्थानीयले फाइदा लिन पाउनेछौं । यहाँ आएका पर्यटकलाई धेरै दिन राख्न सक्नेछौं ।

डा. मनोहर जोशी
वरिष्ठ मनोरोग विशेषज्ञ
स्वास्थ्य क्षेत्रमा प्रदेश ५ निकै अगाडि छ । यहाँ मेडिकल कलेजसहित स्वास्थ्य विशेषज्ञसहितका अस्पताल छन् । धेरै खालका बिरामीलाई हाम्रै प्रदेशमा उपचार उपलब्ध छ । यद्यपि स्वास्थ्य क्षेत्रमा निकै विकृति पनि छ । राज्यको लगानी लागेकै सरकारी स्वास्थ्य संस्थामा धेरै विकृति छन् । यिनलाई निराकरण गर्नु आवश्यक छ । नेपालमा सरुवा रोगको निकै संक्रमण छ । त्यसमा पनि पशुजन्य कीटका कारण हुने संक्रमण अझ बढी नै छ । यसलाई रोक्न जनचेतना आवश्यक छ । रोग लागेर उपचारभन्दा रोग नै लाग्न नदिन राज्यले अभियान चलाउनुपर्छ । यस्तो अभियानमा सञ्चार माध्यमले साथ दिनुपर्छ ।

टंक पोखरेल
केन्द्रीय सदस्य
च्याम्बर अफ कमर्स

प्रदेशको विकासका लागि उद्योग, व्यापार, पर्यटन र कृषि ४ वटै क्षेत्रको सँगसँगै विकास हुन जरुरी छ । यसका लागि योजनाबद्ध विकास जरुरी छ । निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिटो सम्पन्न हुनुपर्छ । लुम्बिनी गुरुयोजना सम्पन्न गर्नुपर्छ । बेलहिया नाकालाई चुस्त बनाउनुपर्छ । लुम्बिनी क्षेत्रको विकास गरेर पर्यटन प्रवद्र्धनमा ध्यान दिनुपर्छ । पर्यटकलाई भुलाउन लुम्बिनीसँग जोडेर अन्य क्षेत्रको पनि विकास गर्नुपर्छ । भौतिक पूर्वाधारलाई बढावा दिनुपर्छ । राज्यले निजी क्षेत्रलाई सुविधासहित लगानीको वातावरण बनाउनुपर्छ ।

उज्ज्वल कसजु
वरिष्ठ उपाध्यक्ष
उद्योग वाणिज्य संघ, बुटवल
संघीय संरचनाले उद्योगी व्यवसायीहरू निकै खुसी छन् । लगानी बढाउँदै लगेका छन् । आफ्नो क्षेत्रलाई एक न एक उत्पादनले चिनाउने उद्योगी, व्यवसायीको अभियान नै छ । अब स्वदेशी उत्पादनलाई प्राथमिकता दिने नीति बन्नुपर्छ । यसले एकातिर उद्यमशीलता बढ्छ भने अर्कोतिर रोजगारीको पनि सिर्जना गर्छ । अहिलेसम्मको औद्योगिक नीति उद्योगी अनुकूलको छैन । राज्यले समस्या एकातिर र समाधान अर्कोतिर खोज्छ । यसको सट्टा उद्योग व्यवसायसम्बद्ध प्रतिनिधिलाई नीति, योजना बनाउने कार्यमा पनि समावेश गर्नुपर्छ ।

बोनिन पिया
पूर्वअध्यक्ष
रूपन्देही उद्योग संघ
अहिलेसम्मका सबै सरकारले औद्योगिक विकासलाई प्राथमिकता दिने बताउँदै आएका छन् । ठूलठूला उद्योगधन्दा खोलेर विकास गर्ने र युवालाई विदेश पलायन हुनबाट रोक्ने बताएका छन् । विडम्बना औद्योगिक क्षेत्रको विकास अझै भएको छैन । निर्माण सुरु भएका औद्योगिक क्षेत्र निकै सुस्त छन् । सञ्चालनमा आएका औद्योगिक क्षेत्र पनि वर्तमान अवस्थाअनुसारका छैनन् । विद्युत् समस्या, जग्गा, वातावरणलगायत समस्याले उद्योगीहरू समस्यामा छन् । औद्योगिक विकासका लागि राज्यले प्राथमिकता दिने हो भने उल्लिखित समस्या समाधान गर्नुपर्छ ।

एजाज आलम
प्रदेश अध्यक्ष
नेपाल उद्योग परिसंघ
यहाँ ठूला उद्योग धेरै छन् । धेरै सञ्चालन तयारीमा छन् । जग्गा अभावमा सञ्चालनमा आउन सकेका छैनन् । किनकि औद्योगिक क्षेत्रमा जग्गा छैन । विद्युतीय समस्या र जग्गा समस्याले अन्य क्षेत्रमा उद्योग खोल्न थुप्रै चुनौती छ । नयाँ औद्योगिक क्षेत्र निर्माण गर्न थालिएका योजना राज्यले तत्काल अघि बढाओस् । औद्योगिक क्षेत्रमा हुने विद्युतीय समस्या समाधान गरोस् । औद्योगिक ऋणका लागि समस्या छ । सबै गोपनीयता खुलाउनुपर्ने बाध्यता छ । यसर्थ औद्योगिक ऋणलाई सहज बनाइयोस् । कच्चा पदार्थको आयात सहज होस् ।

विनोद पहाडी
पूर्वसांसद
रूपन्देही
सामाजिक संरचनामा भएको असमानता र विभेदले धेरै नागरिक समस्यामा छन् । ती समस्यालाई राष्ट्रिय बहसमा ल्याउन र समाधान गराउन चाहन्छन् । विडम्बना उनीहरूका कुरा राज्यले वास्ता गर्दैन । विभेदविरुद्धका अभियानलाई सार्थक सहयोग होस् । विकासको मापदण्ड सामाजिक संरचना पनि हो । यसलाई ध्यान दिएर राज्यका नीनि, विधि र योजना ल्याउन आवश्यक छ ।

अशोककुमार पौडेल
प्रमुख
राष्ट्र बैंक, सिद्धार्थनगर
प्रदेशका सबल पक्ष धेरै छन् । कर्जा र लगानीका हिसाबले १ नम्बर हुँदै छ । यहाँ उद्योग व्यवसाय र भौतिक पूर्वाधार योजना सञ्चालनमा छन् । तिनमा लगानी गर्न बैंकको आकर्षण छ । लगानी अवसरकै लागि बैंक, वित्तीय संस्था खुलेका छन् । सहकारीका दृष्टिले यो प्रदेश अगाडि छ । धेरै नागरिकले सहकारीमा आबद्ध भएर आवश्यकता पूर्ति गरेका छन् । कृषिमा ऋण बढेको छ । ढंग पुर्‍याएर आउने सबैले ऋण पाउने अवस्था छ । लुम्बिनीका कारण फस्टाउँदै गएको पर्यटनमा लगानी बढेको बढ्यै छ । लगानीका आधार र व्यवस्था राम्रो छ ।

महेन्द्रकुमार श्रेष्ठ
व्यवसायी
रूपन्देही

सीमा क्षेत्र नजिक छ । यसले फाइदा भएको छ । तर पछिल्लो समयमा निकै अवरोध बढेको छ । यसलाई सरलीकरण गरियोस् । यो क्षेत्रमा पर्यटकको संख्या बढेको छ । तर पर्यटनबाट फाइदा लिन पाइएको छैन । यहाँका गुम्बाले पर्यटक राखिदिँदा व्यवसायी समस्यामा छन् । गुम्बामा पर्यटक बस्न नपाउने गराउनुपर्छ । देशको विकासमा निजी क्षेत्रले ठूलो भूमिका खेलेको छ । राज्यले यसको मूल्यांकन गरोस् ।

वनमाली निराकार
साहित्यकार
हाम्रो प्रदेश विकासशील प्रदेश हो । हामी सबै विकास चाहन्छौं । विकास सबैको आवश्यक कुरा हो । तर विकास के हो भनेर धेरैले बुझेका छैनौं । हामी दिगो र आवश्यकता परिपूर्ति हुने विकास चाहन्छौं । यसबाट सक्षम नेपाली बन्न चाहन्छौं । यसका लागि सत्य र तथ्यमा आधारित सूचना आवश्यक छ । विश्लेषणात्मक सामग्री चाहिन्छ । सामाजिक परिवर्तन जरुरी छ । समाजको मुहार फेर्ने साहित्य र सिर्जना उजागर गर्न‘पर्छ ।

डा. शंकरप्रसाद नेपाल
सहायक प्राध्यापक, त्रिवि
लुम्बिनीबाट समृद्धि सम्भव छ । यो सबैले भन्दै आएका छौं । पर्यटन हाम्रो विकासको आधार हो । त्यो पनि भनेका छौं । तर लुम्बिनीमा कसरी पर्यटन प्रवद्र्धन गर्ने ? यसबारे सोचेका छैनौं । राज्यले अहिले बनाएको नीति अंगीकार गर्ने हो भने लुम्बिनीबाट हामीले सोचे जति फाइदा लिन सक्दैनौं । सार्क मुलुकका पर्यटक बढी आउँछन् । उनीहरूलाई भिसा शुल्क लाग्दैन । यो गलत छ । यस्तो नीति फेर्नुपर्छ । लुम्बिनीमा आउने पर्यटक कम्तीमा एक दिन बस्नैपर्ने गराउनुपर्छ ।

प्रस्तुति : दीपेन्द्र बडुवाल र अमृता अनमोल

प्रकाशित : जेष्ठ १३, २०७५ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्

अराजक खेलाडी मूकदर्शक एन्फा

राजु घिसिङ

काठमाडौँ — थ्रीस्टार क्लबले चिरपरिचित प्रतिद्वन्द्वी मनाङ मस्र्याङ्दीलाई हराएर अघिल्लो शनिबार पाँचौं उदयपुर गोल्डकप फुटबलको उपाधि जित्यो । खेल सकिँदा दुवै टिम १० खेलाडीमा सीमित भएका थिए ।

इलाममा हालै भएको माईभ्याली गोल्डकपमा थ्रीस्टार र एपीएफका खेलाडीबीच झगडा हुँदै गर्दाको क्षण । फाइल तस्बिर

थ्रीस्टारका अजायी मार्टिन्स र मनाङका विमल बस्नेतले रातो कार्ड बेहोर्दै मैदान छाडे । दोस्रो हाफमा उनीहरू झगडामा ओर्लिएको भिडियो भाइरल नै भएको छ ।

हुन त यी मनाङ र थ्रीस्टारको खेल कुनै पनि बेला तनावपूर्ण हुने गर्छ । तर कुरा खेललाई लिएर हुने झगडाको होइन, मोफसलका प्रतियोगितामा भइरहेका नियमित झगडाको हो । बल मैदानको एकातिर थियो, त्यसै बेला मैदानको अर्को क्षेत्रमा विमल र मार्टिन्स एकअर्काविरुद्ध आक्रमणमा ओर्लिएका थिए । रेफ्री नवीन्द्र महर्जनले दुवैलाई रातो कार्ड दिएर मैदानबाहिर पठाए । तत्काललाई झगडा साम्य भयो । फाइनल सकियो । थ्रीस्टार च्याम्पियन ।

विश्वव्यापी रूपमै ‘फेयर–प्ले’ नारा दिइएको फुटबलमा हातपात गर्ने खेलाडीलाई दण्ड दिन रातो कार्ड मात्र पक्कै पनि पर्याप्त सजाय हुन सक्दैन । उदयपुर जिल्ला फुटबल संघद्वारा आयोजित उदयपुर गोल्डकपको फाइनलमा भएको उक्त घटनालाई लिएर अखिल नेपाल फुटबल संघ (एन्फा) ले छानबिन समिति बनाएको छ । मोफसलका प्रतियोगितामा भएको घटनालाई लिएर सम्भवत: एन्फा आफैंले पहिलोपल्ट केही गर्ने तदारुकता देखाएको हो ।

एन्फा आफ्नै राजनीतिमा रुमल्लिएको बेला मोफसलमा नकआउट प्रतियोगिताको ओइरो नै लाग्यो । त्यसैले राजधानी सुनसान भए पनि लिग नहुँदा मोफसलकै प्रतियोगिता नेपाली फुटबलको ‘मेरुदण्ड’ बन्यो । तर यही समयमा मैदानभित्र खेलाडीहरू अनुशासनहीन बन्ने क्रम पनि बढ्यो । २०७५ सालको पहिलो प्रतियोगिता माईभ्याली गोल्डकपमा एपीएफका खेलाडीले इलामको मैदानमा देखाएको हर्कत विश्व फुटबलको नारा सुहाउँदो थिएन ।

युट्युबमा छाएको भिडियोअनुसार एपीएफका डिफेन्डर आदित्य चौधरीले थ्रीस्टारका मार्टिन्सलाई हातपात गरेको देखिन्छ । मैदानमा ढलेका मार्टिन्सलाई एपीएफका युवराज खड्काले लातले हानेका छन् । रातो कार्ड पाएर बाहिरने क्रममा आदित्यले मैदानमै जर्सी खोलेर फालेका छन् । आदित्य उनै खेलाडी हुन्, जो १२ औं साग, बंगबन्धु गोल्डकप र सोलिडारिटी कप विजेता नेपाली टिमका महत्त्वपूर्ण सदस्य थिए । ती उपाधि जित्दा उनलाई नेपालीले हिरोका रूपमा सम्मान गरेका थिए । गत महिना इलाममा देखिएको उनको रूप हिरोका लागि कदापि स्वीकार्य हुन्न ।

आर्मीका फरवार्ड नवयुग श्रेष्ठ लाखौं नेपाली बालबालिकाका लागि रोल–मोडल नै हुन् । उनीहरू नवयुगले जे गर्छन्, त्यसैलाई पछयाउन चाहन्छन् । तर नवयुगले झापा गोल्डकपको फाइनलमा दर्शकप्रति गरेको ‘व्यवहार’ पछयाउन लायक थिएनन्, उनको चरित्र रोल–मोडल मान्न लायक थिएन । त्यसैले त टिम म्यानेजर प्रकाशराज थापाले दर्शकसँग माफी माग्नुपरेको थियो । त्यसमा दर्शकले पनि भलाद्मीपन भुलेका थिए ।

इंग्ल्यान्ड, स्पेन, जर्मनी वा त्यस्तै फुटबल व्यवस्थित गरिएको देशमा भएको भए आदित्य, युवराज, मार्टिन्स, विमल, नवयुगको करिअरप्रति नै गम्भीर प्रश्न तेर्सिने थियो । उनीहरूलाई थुप्रै खेल वा लामो अवधिको प्रतिबन्ध र जरिवाना त कसैले रोक्न सक्ने थिएन । उनीहरूले नेपालमै भएकाले, त्यो पनि एन्फाले बेवास्ता गर्दा खुलेर खेल्ने र चाहेअनुसार व्यवहार गर्ने अवसर पाइरहेका छन् । अखिर यस्तो कहिलेसम्म ?सर्लाहीमा चैतमा भएको राजर्षि जनक कप फाइनलको दृश्य त अझै भयानक थियो । टिम थिए, सुदूरपश्चिम ११ र आर्मी । दोस्रो हाफमा विकास खवासलाई डरलाग्दो ‘फाउल’ गरेपछि रेफ्री सुदीश पाण्डेले सुदूरपश्चिमका आरोनलाई रातो कार्ड दिएका थिए । आरोन मैदानमै थिए, रेफ्री पाण्डे अर्कैतिर लागे । अनि भयो हातपात । त्यसले मैदानलाई नै मोर्चामा परिणत गरिदियो । दुवै टिमका खेलाडी किक वर्षामा लागेका थिए । यसबीच दर्शकले पनि आर्मीका खेलाडीलाई प्रहार गरे । वागमती नगरपालिकाका मेयरजस्तो गरिमामय पदमा चुनिएका व्यक्ति पनि मैदानमै पुगेर खेलाडीलाई हप्काउन भ्याए ।

अन्तत: त्यो दिन फाइनल स्थगित भयो र बाँकी समय भोलिपल्ट खेलाउने आयोजक वागमती युवा क्लबको निर्णयलाई सुरक्षाको कारण देखाउँदै आर्मीले अस्वीकार गरिदियो । टिमलाई काठमाडौं फर्काउन पनि आर्मीले ब्यारेकबाहिरको स्थिति बुझ्नुपरेको थियो । खेलाडीलाई नै सुरक्षा दिन सक्दैन भने त्यस्तो स्थानमा प्रतियोगिता आयोजना गर्न एन्फाले किन स्वीकृति दिन्छ ? खेलाडीलाई सुरक्षित र क्लबलाई व्यवस्थित गर्न सके मात्र प्रतियोगिता सफलतापूर्वक सम्पन्न हुनसक्छ । त्यसैले एन्फाले प्रतियोगितालाई मान्यता दिनुपूर्व मापदण्ड तोक्ने बेला भइसकेको छ ।

सर्लाहीको झगडाले एन्फाको रेफ्री समितिको सिफारिसबिना पुगेका निर्णायकहरूले राजर्षि जनक कप खेलाइरहेको रहस्य खुलेको थियो । यसरी सहभागी हुँदा रेफ्रीमाथि दुव्र्यवहार हुन्छ भने त्यसको जिम्मेवार कसलाई मान्ने ? हुन त बुढासुब्बा गोल्डकपमा युद्ध शाही र तिलोत्तमा गोल्डकपमा जुमनु राईले रेफ्रीलाई हातपात गरे पनि त्यस घटनाप्रति एन्फा चुप बसेको थियो । देशको फुटबलको सर्वोच्च संस्थाले नै आँखा चिम्लिने गर्छ भने त्यस्तो अवस्थामा रेफ्रीले कसरी सही निर्णय दिनसक्छ ?

अर्को कुरा, राजधानीमा भएका प्रतियोगितामा रेफ्रीमाथि हातपात गर्दा खेलाडीले एक वर्षदेखि १६ महिनासम्म प्रतिबन्ध बेहोरेका छन् । खेलाडीबीच एक–अर्कामा हातपात हुँदा पनि थप खेलमा निलम्बन गरिएका छन् । तर त्यस नियमलाई एन्फाले काठमाडौं उपत्यकामै सीमित गरेको छ, मोफसलको प्रतियोगितामा लागू गर्ने प्रयास गरेको छैन । आज रातो कार्ड बेहोरेका वा झगडा गरेका खेलाडीले भोलि अर्को प्रतियोगितामा पुरस्कृत भइरहेको भेटिन्छ । रातो कार्ड र हातपातले खेलाडीलाई प्रतिस्पर्धामा खासै असर गरेको देखिन्न । त्यसैले खेलाडीको बढ्दो अनुशासनहीनता तोड्न पनि मोफसलका प्रतियोगितालाई एन्फाले मापदण्ड बनाएर नियमन गर्नुपर्ने टड्कारो आवश्यकता छ ।

प्रकाशित : जेष्ठ १३, २०७५ ०८:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्