कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

भ्रष्टाचारमा लैंगिकता

सार्वजनिक निकायमा महिलाहरूको संलग्नताको दरलाई जति उच्च बनाइन्छ, त्यति भ्रष्टाचारको तह न्युन हुँदै जान्छ ।
उषा थपलिया

काठमाडौँ — मुलुकका प्राय: सबै क्षेत्रमा व्याप्त भ्रष्टाचार समग्र नेपालीको ठूलो टाउको दुखाइको विषय हो । २०४६ सालपछि भ्रष्टाचार अन्त्यका लागि प्रत्येक नवगठित सरकार सैद्धान्तिक रूपमा सधैं प्रतिबद्ध रहे, तर अहिलेसम्म बनेका सरकारले त्यसमा सफलता हासिल गर्न सकेनन् ।

भ्रष्टाचारमा लैंगिकता

बदलामा भ्रष्टाचारले संस्थागत रूपमै फैलिने अवसर पाएको प्रस्ट देखिन्छ । भ्रष्टाचारसंँग नजोडिएको कुनै निकाय मुलुकभित्र पाउन असम्भवप्राय: भइसकेको छ ।

भ्रष्टाचारको सवालमाथि लैङ्गिक हिसाबले पनि प्रशस्तै विचार–विमर्श हुने गरेको छ । यस मामिलामा सकारात्मक र नकारात्मक दुवै हिसाबले महिलाहरू पनि जोडिने गरेका छन् । सानादेखि ठूला सबै खाले भ्रष्टाचारमा मुख्य दोषी अधिकांश पुरुष हुने गरेको देखिन्छ । यद्यपि केही घटनामा महिलासमेत दोषी देखिएको तथ्य बाहिर नआएको होइन ।

तर पुरुष दोषी भएको भ्रष्टाचारमा समेत महिलाहरू नै कारकतत्त्वको रूपमा दरिने गरेका छन् । अर्थात पुरुषलाई भ्रष्टाचार गर्न उक्साउने र त्यसका लागि बाध्य बनाउने काममा महिलाहरूको भूमिका सर्वोपरी हुने व्याख्या, विश्लेषण प्रशस्तै हुने गर्छन् । यस क्रममा आफ्नो पति/प्रेमीलाई गलत आयका लागि श्रीमती/प्रेमिकाले सबैभन्दा धेरै बाध्य पार्ने तर्कको व्यापकताका साथै आमा, दिदी/बहिनी/छोरी लगायत परिवारका अन्य महिला सदस्यहरूको दबाबले समेत पुरुष पात्र भ्रष्टाचार उन्मुख हुने गरेको टिप्पणीले ठाउँ पाएको देखिन्छ ।

व्यक्ति आफै विवेकी र इमानदार भए, अर्को व्यक्तिको उक्साहट र दबाबले उसलाई गलत बाटोमा हिँडाउन सक्दैन । तर धरमर पाराको चरित्रमा भने गलत रवैयाले निर्णायक भूमिका खेल्न सक्ने ठाउँ पक्कै रहन्छ । भ्रष्टाचार र महिलाको सवाल पनि ठिक सोही प्रवृत्तिको विषय–वस्तु हो । हैसियत प्रस्तुतिको प्रतिस्पर्धा, देखासिकी चरित्र र अरुभन्दा आफू उपल्लो तहमा दरिने लालसाले धेरैजसो महिलालाई गाँजेको, मन नहुँदा–नहुँदै पनि सहमत हुनुपर्ने समाजको दृष्टान्तले झल्काउँछ ।

केही सोही विशेषतागत चरित्र र केही अतिरञ्जनाको आधारमा भ्रष्टाचारको आधारभूमिको रूपमा महिलाहरूलाई प्रतिस्थापित गर्ने खुकुलो परिवेश निर्माण हुनु दु:खद स्थिति हो । हैसियतमा पुग्ने जो व्यक्ति अविवाहित या सन्तानविहीन छन्, उनीहरूले सोही तथ्यलाई उजागर गर्दै आफूले भ्रष्टाचार गर्नुपर्ने कुनै कारकतत्त्व आफूसँंग नभएको बताउने गरेबाट पनि भ्रष्टाचार र परिवार बीचको सम्बन्धलाई स्पष्ट गर्छ । अरुको देखासिकीलाई मतलव नराख्ने तथा असीमित आकांक्षाको जञ्जालमा नपँmस्ने हो भने भ्रष्टाचारी मनोवृत्तितर्फ बढेको पुरुषलाई सही मार्गमा डोर्‍याउने ताकत पनि महिलाहरूसंँग नभएको होइन । तर कमाइको तरिका जस्तोसुकै भए पनि भौतिक सम्पन्नताकै आधारमा समाजमा उच्चस्थान हासिल हुने जुन परिपाटी बनेको छ, त्यसबाट महिलाहरू आफै पछाडि फर्कन चाहेको देखिँदैन । तसर्थ भ्रष्टाचारको कारकतत्त्वको रूपमा महिला र घरपरिवारलाई जसरी दोष देखाउने गरिन्छ, हुबहु नभए पनि त्यसको आंशिक सत्यलाई भने नकार्न सकिँदैन ।

खालिदादेखि लीलासम्म
भ्रष्टाचार न्युनीकरणका लागि महिलामाथिको अपेक्षाका विपरीत राष्ट्रियदेखि अन्तर्राष्ट्रिय तहमा केही निराशाजनक घटना विगतदेखि नै सार्वजनिक हुँदैआएका छन् । हालै मात्र भ्रष्टाचारको अभियोगमा बंगलादेशकी विपक्षी नेतृ खालिदा जियाले ५ वर्षे कारावासको सजाय पाइन् ।

७२ वर्षीया जियाले अनाथ बालबालिकाहरूका लागि विश्वभरबाट संकलित रकममध्ये लगभग साढे २ करोड रुपैयाँ भ्रष्टाचार गरेको अदालतले ठहर गर्‍यो । विगतमा २ कार्यकाल गरी १० वर्ष प्रधानमन्त्री भइसकेकी र हाल प्रतिपक्षी दलकी नेता रहेकी जियाबाट त्यस्तो संवेदनशील बालबालिकाको रकममा समेत भ्रष्टाचार ठहर हुनु समग्र महिलाकै लागि विडम्बना हो ।

केही अघि दक्षिण कोरियाकी पहिलो महिला राष्ट्रपति पार्क गेउन हाई शक्तिको दुरुपयोग र भ्रष्टाचार गरेको आरोपमा अदालतबाट दोषी ठहर भइन् । १८ मध्ये १६ वटा अभियोगमा दोषी मुकरर ६५ वर्षीया पार्कले १ करोड ६८ लाख अमेरिकी डलर जरिवाना त कुझाउनुपर्‍यो नै, उनको २४ वर्षे जेल जीवनसमेत सुरु भइसकेको छ । विश्व तहमा यस्तै घटना विगतमा पनि नभएका होइनन् । पाकिस्तानकी प्रभावशाली पूर्व प्रधानमन्त्री बेनजिर भुट्टो पनि भ्रष्टाचारको अभियोगबाट अछुतो रहिनन् ।

अभियोग प्रमाणित भएकै आधारमा अदालतले भुट्टोलाई ५ वर्ष जेल सजाय सुनायो । उनका पति असिफ अली जर्दारीले भने भ्रष्टाचारकै अभियोगमा ८ वर्षको जेल जीवन व्यतित गरे । त्यस्तै थाइल्यान्डकी प्रथम महिला प्रधानमन्त्री यिङलक सिनावात्रालाई समेत भ्रष्टाचारको अभियोगमा ५ वर्ष जेल सजाय सुनाइयो । अन्तर्राष्ट्रिय तहमा अरु धेरै प्रभावशाली महिलाहरू भ्रष्टाचारसंँग जोडिएको पाइन्छ । पछिल्लो समय नेपालमा पनि नगरपालिकाकी एक प्रमुख प्रशासकीय अधिकृत लीला अधिकारी भ्रष्टाचार अभियोगमा रंगेहात पक्राउ परिन् । पानीट्याङ्की निर्माण सम्पन्न गरेपछि अन्तिम बिल भुक्तानी र कार्य अनुभव पत्र दिने प्रयोजनमा सेवाग्राहीसँंग ५ लाख रुपैयाँ घुस लिँदै गर्दा उनी पक्राउ भएबाट भ्रष्टाचारमा उनको नियत स्पष्ट देखिन्छ ।

भ्रष्टाचार न्युनीकरणको अवसर
भ्रष्टाचारको सवालसंँग जोडेर केही नकारात्मक विश्लेषण गरिए पनि त्योभन्दा धेरै गुणा बढी भ्रष्टाचार न्युन गर्नसक्ने शक्तिको रूपमा महिलाहरूलाई उभ्याउने गरिएको छ । महिलाहरू इमानदार र कर्तव्यपरायण हुन्छन्, नियमसंगत भन्दा बाहेक अन्य किसिमका लालचमा नपँस्ने प्रवृत्तिले गर्दा राज्यका निकायमा जति धेरै महिलाको उपस्थिति बढ्छ, बेथिति, विकृति र भ्रष्टाचारको तह त्यति घट्दै जान्छ भन्ने चर्चा पनि प्रशस्तै हुने गर्छ । यसै सवालमाथि अन्तर्राष्ट्रिय तहमा समेत थुप्रै अनुसन्धान भएका छन् । तिनका आधारमा सार्वजनिक निकायमा महिलाहरूको संलग्नताको दरलाई जति उच्च बनाइन्छ, त्यति भ्रष्टाचारको तह न्युन हुँदै जान्छ भन्ने कुरा स्थापित भएको पाइन्छ ।

अझ भ्रष्टाचार विरुद्ध सफलता हासिल गर्न मेक्सिको, पेरु लगायत देशमा पुरुषहरूलाई हटाएर सार्वजनिक कार्यालयहरूमा महिलालाई नियुक्त गरियो । यसले आशातीत सफलता पनि ल्यायो । महिलाहरू स्वभावैले नरम प्रवृत्तिका हुनेहुनाले नकारात्मक खतरा मोल्ने साहस उनीहरू हत्तपत्त गर्दैनन् । उनीहरूको यही प्रवृत्तिले पनि भ्रष्टाचारबाट उनीहरूलाई टाढै राख्न मद्दत गर्ने तथ्य ती अनुसन्धानमा पाइन्छन् । महिलाहरू सामान्यतया घर र कार्यालयसँंग मात्र अन्तरसम्बन्धित हुने गर्छन् । पुरुषहरू जस्तो बाहिरी समूहसंँगको उठबस, खाने–पिउने अवस्था, मोलाहिजाको माहोल आदिबाट महिलाहरू टाढै रहेका हुन्छन् । यसले गर्दा गलत तत्त्वले सम्बन्ध स्थापित गर्ने मौका त्यति सजिलै पाउन सक्दैन र गैरकानुनी लेनदेनको प्रस्तावसमेत पुरुषको जति अनुकूल स्थितिमा महिलासमक्ष पुग्न सक्दैन ।

स्थानीय, प्रदेश तथा संघीय निर्वाचनमार्फत राज्यका विभिन्न तहमा महिलाहरूको उत्साहजनक उपस्थिति भएको छ । यो उपस्थिति केवल संख्या देखाउन नभई महिलाहरूप्रति जनताले गरेको विश्वासलाई सफलीभूत बनाउने गतिलो अवसरको रूपमा उपयोग हुनुपर्छ । महिला सहभागिता विनाका कुनै पनि निकाय मुलुकमा अहिले रहेका छैनन् भने विगतमा जस्तो अधिकारविहीन अवस्थामा पनि महिलाहरू रहेका छैनन् । अधिकारसंँगै जिम्मेवारी र जिम्मेवारीसँंगै आर्थिक पक्ष पक्कै जोडिएको हुन्छ । आर्थिक अपचलनसँंग सर्वप्रथम आफू टाढा रहने र अरुलाई पनि खबरदारी गर्ने अविभारा हरेक तहका जनप्रतिनिधि महिलाहरूले गर्नैपर्ने कार्यभित्र पर्छ ।

आफ्नो पेरिफेरीमा हुने गलत क्रियाकलापको निरीह साक्षीमात्र बन्ने छुट अब महिलालाई प्राप्त छैन । सयौं महिलाले गरेको राम्रो कामको प्रचार गर्न जति गाह्रो छ, एक जनाबाट भएको गलत रवैयाको दुष्प्रचार त्यति नै सहज हुने गर्छ, राम्रो काम गर्ने महिलाहरूको छविलाई पनि त्यही गलत प्रवृत्तिले धमिलो बनाइदिन्छ । पुरुषले गरेको भ्रष्टाचारमा समेत महिला कारकतत्त्वमा दरिने अवस्थाको अन्त्य भएको छैन । यसमाथि महिलाहरू आफै भ्रष्टाचारमा लिप्त हुनथाल्ने हो भने अहिले चुनिएका महिलाहरूप्रति जनताको क्षोभ थेगिनसक्ने गरी बढ्ने निश्चित छ । यस्तो गतिविधिले राज्य सञ्चालनका प्रक्रियामा महिलाको आगामी सहभागिताको बाटोमा समेत संकुचन आउन नसक्ला भन्न सकिन्न । त्यसैले महिलाहरूले आफूमा निहित इमानदारी, कर्तव्यपरायण र निष्ठालाई डगमग हुन नदिई भूमिका निर्वाह गर्नसके भ्रष्टाचारले जर्जर बनेको मुलुकले नयाँ जीवन पाउनेछ । महिला सहभागिताको प्रभावकारिता पनि सोही उपलब्धिसँंगै चुलिनेछ ।

प्रकाशित : जेष्ठ १०, २०७५ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?