कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

यस्तो हुनेछ १० वर्ष पछिको नेपाल

केपी शर्मा ओली

काठमाडौँ — आज कान्तिपुरले एउटा उत्साहजनक कार्यक्रम गरेको छ । हुन त सञ्चार माध्यम पढ्ने–पढाउने, सुन्ने–सुनाउने, सिकाउने, मनोरञ्जन दिने, सूचना दिने र मिलाउने–जुधाउने कामहरूमा रुचि राख्ने ठाउँ हो । यसले कहिले माया पनि पोख्छ, कहिले रिस पनि फेर्छ ।

यस्तो हुनेछ १० वर्ष पछिको नेपाल

तर आजको (म्याराथन) कार्यक्रमचाहिँ अलिकति पृथक् ढंगले गरियो । यसभित्र यी सबै पक्षभन्दा फरक एउटा उत्साह र भविष्यको पक्ष रहेको छ । यसले मान्छेलाई शारीरिक, मानसिक स्फूर्ति दिन्छ । मैले आजको कार्यक्रममा नेपालीहरूको सपना र आफ्ना उद्देश्यहरू एकदम संक्षिप्तमा राखें पनि । कोही विदेशी अबको १० वर्षपछि नेपालबाट फर्केर जाँदा कसैले कस्तो रहेछ त्यो देश भनेर सोधेपछि उसले सायद यस्तो भन्ने छ :

‘नेपाल मानिस र प्रकृतिले संयुक्त रूपमा सिर्जना गरेको एक स्वर्ग रहेछ । नेपालमा जनतालाई खान–लगाउन कुनै दु:ख छैन । नेपाल उत्पादन र निर्माणमा पनि काफी अगाडि छ । नेपालीहरू स्वस्थ छन् । आरोग्यता नेपालीको पहिलो प्राथमिकतामा छ । उपचारको राम्रो बिमा भएकाले रोग लाग्दा कसैलाई दु:ख छैन । प्रकृतिको नियम हो– जन्मेपछि मर्नु । तर अभावबाट होइन, नेपालमा प्रकृतिको अकाट्य नियमबाट मात्रै मानिस मर्छन् । नेपालमा छोराछोरी पढाउन नसक्ने कोही छैन । पढाउने क्रममा उनीहरू छोराछोरीको प्रतिभा कुन विषयमा छ भन्ने थाहा पाएर रुचिको विषय मात्रै पढाउँछन्, जसले गर्दा बालबालिकाको प्रतिभा प्रस्फुटित हुन पाउँछ ।

नेपालीहरूको वैज्ञानिक ज्ञानले प्रकृतिको अथाह सम्भावनालाई उचित र उच्चतम ढंगले पहिल्याउन सक्ने सामथ्र्य पाएको छ । प्रकृति र धर्तीभित्र रहेको असाधारण सम्भावनाको उच्चतम प्रयोग गरिरहेको छ नेपालले । समृद्ध देशका बासिन्दा नेपालीहरू सभ्य, मिलनसार र मैत्रीभाव राख्ने खालका छन् ।

नेपालमा बन्दुक पड्काइन्छ कहिलेकाहीँ, तर लडाइँका लागि होइन, शान्तिका लागि । राम्रा कुराको सुरुवात र समापनका हर्षबढाइँहरूमा नेपालमा गोली पड्कन्छ, युद्धका लागि होइन । बाँकी दुनियाँले आफ्ना निर्णय लाद्न बन्दुक पड्काउँछन् । नेपालले चाहिँ खुसियालीमा मात्र पड्काउँछ ।

नेपालका आवासहरू ज्यादै सुन्दर र सफा छन् । नेपालका गल्ली राम्रा र ठिक्कका छन् । पहाडको देश भए पनि बाटाहरू चौडा र सुरुङमा चल्ने रेल छन् । वाग्मती नदी त पिउँ–पिउँ लाग्ने सफा छ । पशुपति परिसरमा धार्मिक हिसाबले मात्रै होइन, फोहोर होला कि भनेर जुत्ता फुकाल्न मन लाग्दोरहेछ । पर्यटकहरूका लागि राम्रा, सुन्दर ठाउँ र आतिथ्यले भरिएका होटलहरू छन् । होम–स्टे झन् सुन्दर छ, जहाँ प्राकृतिक आतिथ्यता झनै लोभलाग्दो छ । म त तीन दिनमा फर्किऊँला भनेर गएको, भिसा थपेर एक महिनै बसेँ । अर्काे साल म तिमीलाई पनि नेपाल लैजान्छु । नेपाल वास्तवमा नघुमी नहुने ठाउँ रहेछ ।

नेपालमा नदीहरू नियन्त्रित छन् । सिँचाइको राम्रो व्यवस्था छ । किसानहरू खुसी छन् । फलफूल र अन्न कसरी फल्छ भन्ने हेर्न नेपाल जानुपर्छ । हिमाली जडीबुटी र हिमाली च्याङ्ग्रा हेर्नपरे नेपालै जानुपर्छ । मैले जडीबुटी मिसिएको हिमाली हावाको शुद्ध पोषणयुक्त अलिकति चीज ल्याइदिएको छु । तिमीलाई उपहार ! यसको स्वाद लिऊ । यो स्वाद चाखेर तिमीले नेपाल बुझ्न सक्छौं । हिमाल बुझ्न सक्छौं ।’ यस्तो हुनेछ अबको १० वर्षपछिको नेपाल ! कान्तिपुरले यस्तै नेपालको परिकल्पना गरोस् भन्ने म चाहन्छु ।

म पहिलोचोटि २०२७ सालमा काठमाडौं आउँदा त यो कान्तिपुरी अलकापुरी नगरीको हाल बेहाल थियो । उहिले भानुभक्त बुढाले त झन् कस्तो देखे होलान् ? अलिकति असन, अलिकति इन्द्रचोक, अलिकति भेडासिंह, अलिकति रक्तकाली र यतैउतै हनुमानढोका अनि वसन्तपुर । यसो घण्टाघर र रानीपोखरी हेरेर मोहित भएर बुढाले अलकापुरी कान्तिपुरी नगरी लेखे होलान् ! अबको १० वर्षपछि पनि अलकापुरी कान्तिपुरी नगरीका बारेमा लेखिनेछ । र, यो संसारका विभिन्न भाषाहरूमा लेखिनेछ । मान्छेहरूले यो कान्तिपुर भन्ने पत्रिका एउटा ऐतिहासिक थापाथली भन्ने ठाउँमा छ भन्नेछन् ।

यो अबको १० वर्षभित्रै हुने कुरा हो । १० वर्षको अवधिमा पनि नभए कहिले हुने ? सहरमा बाटो बनिसकेपछि गाउँमा खेत खन्न जाने होइन । सहरमा बाटो बन्दै गर्दा गाउँमा खेत पनि खन्दै गर्ने हो, हिमालमा चौंरी पाल्ने हो । सबै कुरा एकै पटक गर्ने हो । लेट्स स्टार्ट ! गर्‍यो भने किन हुँदैन ? अहिले हामीले अभियान सुरु गरेका छौं । यसको परिणाम चाँडै देखिन थाल्छ । तपाईंहरूको पत्रिका छाप्ने कागज बनाउने ‘पेपर मिल’ अहिले हामीसँग छैन । तर त्यो नभएको होइन । हामीले सुरु गरिसकेका थियौं । तर हामी उल्टो बाटो फर्कियौं । हामीसँग त्यो भएको भए कोलकातामा कान्तिपुरको कागज रोकिएर ठूलो समस्या हुने थिएन होला ।

एकताका कागज रोकियो । पत्रिका रोकिने अवस्था आयो । समस्या पैदा भयो । म पाखुरा सुर्किंदै आफैं (भारतीय) दूतावास जानुपरेको थियो । ‘के हो यो तमासा ?,’ मैले भन्नुपरेको थियो, ‘हाम्रो भूपरिवेष्टित राष्ट्रको अधिकारमाथि खेलबाड गर्न पाइन्छ ?’ कान्तिपुरसँग मेरो लिनु–दिनु केही पनि होइन । अहिले एक कप चिया खाँदैछु, त्यो पनि दूध–चिनी हालेको होइन ।

हामीलाई चाहिने पेपर उत्पादन गर्न हामी किन नसक्ने ? हाम्रो छाला–जुत्ता कारखाना थियो, कपडा उद्योग थियो । सब समाप्त भयो । हामी चल्ला काढ्ने र अन्डा खानेतिर लागेनौं । दिनैपिच्छे कति एक–एकवटा अन्डा खाने भनेर पक्लक्क पोथी नै काटेर खाइदियौं । यो तरिकाले न हो बर्बाद भएको ! अब कपडा उद्योग सुरु गर्ने, कपास खेती सुरु गर्ने । जुत्ता उत्पादन अहिले नै निजी क्षेत्रबाट राम्रैसँग भइरहेको छ । सबै कुरा सरकारले नै उत्पादन गर्नुपर्छ भनेर म भन्दिनँ । जसले गरे पनि हुन्छ, तर देश आत्मनिर्भर हुनुपर्छ । यसका लागि सबैजना लाग्नुपर्छ ।

खानुपर्ने र लाउनुपर्नेजति विदेशबाट ल्याउने अनि व्यापार घाटा भयो भनेर हुन्छ ? माटो यत्रोविघ्न यहाँ छ, हामी अन्तबाट इँटा ल्याउनसमेत बेर लगाउँदैनौं । हामी त सुरा छौं नि, गोर्खा हौं ! बुद्धि पो छैन अलिकति ! नेपालबाट सामान लगेर अरूले काम गर्छन्, हामी गर्दैनौं । १० वर्षमा तपाईंले चिज उद्योग खोलेर चिज उत्पादन गर्न किन सक्नु हुन्न ? गाई पालेर डेरी प्रडक्ट किन निकाल्न सक्नु हुन्न ?

सकिन्छ नि ! अघि मैले खेलाडीहरूलाई चाहिन्छ कि भनेर ल्याएको चकलेट यूएईमा बनेको रहेछ । बालुवाको भूमिबाट हामीकहाँ चकलेट आउँछ । हामीचाहिँ के गर्दैछौं ? तपाईं पत्रकारहरूलाई मज्जा आउँछ– केपी ओलीको छाला निक्लने गरी हान्न । तपाईंहरूलाई ‘न्युज भ्यालु’ को महत्त्व हुन्छ । मलाई ‘डेभलपमेन्ट भ्यालु’ महत्त्वपूर्ण छ ।

मरुभूमिको यूएईले चकलेट बनाउँछ । मरुभूमिकै इजरायलको दुई प्रतिशत जनसंख्या कृषिमा आधारित छ । त्यहाँ मृतसागर र साढे चार सय मिटर जमिन समुद्र सतहभन्दा गहिरो छ । त्यो एउटा इतिहासबाट नभई सम्झौताबाट निर्मित देश हो । दक्षिण एसियाबाट सबभन्दा पहिले नेपालले मान्यता दिएको देश हो । पहिले–पहिले बाँच्नका लागि लडाइँ गथ्र्याे, अहिले जित्नका लागि गर्छ सायद । तर दुई प्रतिशत कृषिमा आधारित जनसंख्याले इजरायलको शतप्रतिशत मानिसलाई खान पुर्‍याउँछ, आकर्षक पैसा कमाउँछ ।

अस्ति मैले इजरायलका राजदूतलाई भेटेको थिएँ । अनि के निर्यात गरेर पैसा कमाउँदैछौ भनेर सोधेको, उनले यसपटक ‘भ्यालेन्टाइन डे’ मा गुलाब निर्यात गरेर खुब कमाइयो भने । साँझ फूल टिपेर रातारात युरोपका सबै देशहरूमा बिहानै गुलाब पुर्‍याएछन् इजरायलीहरूले । त्यसै गर्नका लागि भनेर उनीहरूले लामो तयारीका साथ फूलबारी लगाएका रहेछन् । एकै दिनमा ठूलो रकम उनीहरूले कमाए । मान्छेको भावनालाई पनि उनीहरूले यसरी नगदमा परिणत गरिदिए ।

आवश्यकता भनेको खान–लाउन मात्रै होइन । मान्छेका अनेक भावनात्मक आवश्यकता हुन्छन् । त्यसलाई पनि इजरायलीहरूले ‘क्यास’ गरिरहेका छन् । हामी पनि यो काम गर्न सक्छौं । तपाईंहरू पहिले आफूलाई विश्वास गर्नु हुन्छ कि गर्नु हुन्न ? इमानदार रहने प्रयास गर्नु हुन्छ कि गर्नु हुन्न ? एक दिन गायक शिशिर योगी र म एउटै कार्यक्रममा पर्‍यौं । योगीले गीत गाउनुभयो– म एउटा देश बनाउने मान्छे खोजिरहेछु ।

मैले सुनें, गीत साह्रै राम्रो थियो । यसो हेरें । शिशिर योगीलाई पल्टाइपल्टाई हेरें । उनले खोजेको मान्छे नै त्यहाँ कराइरहेको छ, गाइरहेको छ । तर उनी आफैं त्यो खोजिरहेका छन् फेरि ! अनि मैले भनें, योगीजी ! तपाईंले खोजिरहनुभएको मान्छे आज म देखाइदिन्छु । तपाईंको दाहिने, देब्रे, पछाडि, अगाडि सबैतिर तपाईंले खोजेजस्ता मान्छे छन् । ती सबैको बीचमा तपाईं बसेकै सिटमा तपाईंले खोजिरहेको मान्छे बसिरहेको छ । अर्थात् त्यो मान्छे तपाईं नै हो । तपाईं–हामी सबै हौं ।

अन्त किन खोज्दै हिँड्नु हुन्छ योगीजी ? आफैं ‘त्यो मानिस’ किन नहुने ? मैले भ्रष्टाचार नगर्ने मान्छे खोजिरहेछु, तर म आफैंचाहिँ गर्छु भने खोज्नुको के अर्थ हुन्छ ? आफैंबाट सुरु गर्नुपर्छ– म भ्रष्टाचार गर्दिनँ, अरूलाई पनि गर्न दिन्नँ । हरेक काम गर्नुभन्दा अगाडि सोध्नुस् आफैंलाई, के मैले गरिरहेको काम ठीक छ ? भित्रबाट इमानदार उत्तर ‘ठीक छ’ भन्ने आउँछ भने गर्नुस्, छैन भने रोक्नुस् ।

(कान्तिपुर रनर हाफ म्याराथनको आठौं संस्करणको शनिबार समुद्घाटन गरेपछि प्रधानमन्त्री केपी ओलीद्वारा कान्तिपुरकर्मीसँगको अन्तक्र्रियामा व्यक्त विचारको सम्पादित अंश)

प्रस्तुति : घनश्याम खड्का

प्रकाशित : जेष्ठ ६, २०७५ १३:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?