कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

कांग्रेसमा पदमोह

कांग्रेसलाई सबल बनाए मात्रै लोकतान्त्रिक पद्धतिको जगेर्नासँगै गणतन्त्रको संस्थागत विकासमा टेवा पुग्छ ।
सुदर्शन आचार्य

काठमाडौँ — गुट र परिवार व्यवस्थापनमा मात्रै लाग्ने पार्टी नेतृत्व पंक्तिका कारण कांग्रेस दिनानुदिन खुम्चिँदै गएको छ । मूलत: पार्टीमा मिलाएर लैजाने दायित्व सभापतिको हो । सभापतिले एकलौटी रूपमा उपसभापति, महामन्त्री, सह–महामन्त्री र प्रवक्ताको चयन गर्नुभयो ।

कांग्रेसमा पदमोह

तर त्यसमा जनताद्वारा स्वीकृत अनुहारले स्थान नपाउँदा जनतामा नकारात्मक सन्देश गएको छ । यसबाट राजनीति आदर्शका खातिर हो कि केवल सत्ता प्राप्ति र गुट सञ्चालनका लागि भन्ने सवाल उठेको छ ।

भनिन्छ– आदर्श ठम्याउन र पक्रन निकै गाह्रो छ । त्यसको पालना त झनै कठिन छ । देउवाको राजनीतिक इतिहास कांग्रेसमा लामै छ । तर सत्ताका लागि आफ्नो राजनीतिक इतिहास नै दाउमा लगाएर पार्टीसमेत तोडेको दृष्टान्त छ । चुनाव दुई उद्देश्यले हुन्छन्– सत्ता र सिद्धान्तका लागि । पछिल्लो निर्वाचनले वाम गठबन्धनलाई सुविधाजनक बहुमतका साथ सत्तामा पुर्‍याइदियो ।

सिद्धान्तत: अबको सत्तारुढ दलको बाटो कस्तो हुन्छ, हेर्नै पर्नेछ । तर सत्तालाई सही राजमार्गमा डोर्‍याउन प्रतिपक्षको पनि महत्त्वपूर्ण भूमिका हुन्छ । प्रतिपक्ष आज नेतृत्वका कारण डगमगाउने खतरा छ । सिद्धान्तमा निष्ठापूर्वक अड्दामात्र जनसमर्थन प्राप्त हुने हो । नेतृत्वकै कारण कांग्रेसमा सिद्धान्त नै समाप्त हुने हो कि भन्ने संशय उत्पन्न भएको छ ।

लोकतान्त्रिक पद्धति चाहिएको कांग्रेसलाई हो । सम्भावित अधिनायकवादबाट मुलुकलाई जोगाउने दल कांग्रेस हो । तर कांग्रेसले कार्यकर्तालाई समेत परिचालन गर्नसकेको छैन । भारतमा गान्धी आफ्नो कालखण्डमा कार्यकर्तालाई दिने काम केही नहुँदा उनीहरूलाई जम्मा पारेर हरिकीर्तन गराउनुहुन्थ्यो । यहाँ भने सही ढंगले कार्यकर्तालाई परिचालन गर्न नसक्दा एकातिर पार्टीको लोकप्रियतामा ह्रास आउँदै गएको छ भने अर्कातिर कार्यकर्तामा स्वार्थले प्रश्रय पाउँदै गएको छ ।

पार्टीमा योगदान नदिएका परिवार र सत्य बोल्ने आँटै गर्न नसक्ने समूह पार्टी नेतृत्वको वरिपरि हावी हुँदा कांग्रेस क्षयीकरणको बाटोमा गएको हो । सभापति देउवाले आफू इतरकालाई पदाधिकारीमा मनोनित नगर्नुले पनि उहाँको अभिष्ट छर्लंग पार्छ । हालै सम्पन्न केन्द्रीय समिति बैठकमा नेतृत्वउपर नेताहरू तथ्यसहित आक्रामक रूपमा प्रस्तुत हुँदासमेत नेतृत्वमा सच्चिने चेत खुलेन ।

पञ्चायतमा झैं अहिले पनि कांग्रेसभित्र मेरो मूल्याङ्कन भएन भन्ने आवाज पर्याप्त सुनिन्छ । राजनीतिक जीवनचर्यामा लिन होइन, दिन जान्नुपर्छ । लिनकै लागि कांग्रेसको राजनीतिमा लागेकाहरूले पेसा छनोट नै गलत गरे । लिनका लागि धिरुभाइ अम्बानी वा विनोद चौधरीले झैं ठूलो लगानी गरेर कम्पनी खोल्नुपर्छ, नकि राजनीतिमा प्रवेश । तर दैनिक आर्थिक लाभ नआउँदा कांग्रेस नेतृत्वलाई विचलित बनाउँछ भन्नेहरूको कमी छैन, कांग्रेसमा । त्यो सत्य हो भने यसले आउँदा केही वर्ष कांग्रेसले क्षयीकरण नै बेहोर्नुपर्ने हुन्छ, किनकि विधि र विधान अनुसार अझै केही वर्ष कांग्रेसमा नेतृत्व परिवर्तनको सम्भावना छैन । नेतृत्वमा शीघ्र फल प्राप्तिको उत्कट अभिलाषा हुँदा ऊ आफैं र संस्थासमेत बर्बादीमा जान्छ ।

अग्रिम महाधिवेशनबाट नेतृत्व परिवर्तन गर्दै भोलिको कांग्रेस बदलिन्छ र बदल्नुपर्छ भन्ने सन्देश सुदूर भविष्य बोकेका नेताले दिन जरुरी छ । कृष्णप्रसाद सिटौलादेखि गगनकुमार थापासम्मको नेतृत्व पार्टी र मुलुकले हेर्न पाएको छैन । प्रकाशमान सिंहदेखि गुरुराज घिमिरे र प्रदीप पौडेलसम्मको आवश्यकता भोलिको कांग्रेस र मुलुकका लागि उत्तिकै छ । अब सिटौलादेखि सिंह र थापादेखि पौडेलसम्मले विगतको कमी–कमजोरीबाट सिक्दै नयाँ ढंगले पार्टी सञ्चालन गर्ने अठोटका साथ जुट्नुपर्छ ।

मध्यरातमा यशोधरा र शिशु पुत्रलाई बिछ्यौनामा छाडेर सिद्धि र मुक्तिको खोजीमा वनवास जाँदा सिद्धार्थसँगै को नै थिए र ? तर सिद्धि प्राप्तिपछि गौतम बुद्धसँग आज अनुयायी थुप्रै छन् । पार्टी वा मुलुक निर्माणका सन्दर्भमा नेता कहिलेकाहीं एक्लो हुनसक्छ । तर उच्च मनोबलका साथ अगाडि बढ्दा भोलिका मितिमा पछ्याउनेहरू थुप्रै हुनेछन् । यसका लागि पदमोह भने त्याग्न जरुरी छ । रामको वनवास वा सिद्धार्थको दरबार त्याग कुनै पथभ्रष्ट थिएन । पार्टीलाई कम्पनी र पदलाई कम्पनीको मालिक ठानेर जब कमाउने माध्यम बनाइन्छ, त्यो नै हो– पथभ्रष्ट, जुन आज कांग्रेसमा भइरहेछ । यसैबाट मुक्त गरेर लोकतान्त्रिक दललाई सबल बनाउनुपर्छ, अनिमात्रै लोकतान्त्रिक पद्धतिको जगेर्नासँगै गणतन्त्रको संस्थागत विकासमा टेवा पुग्छ ।

प्रकाशित : जेष्ठ ४, २०७५ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?