२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

चिकित्सकहरूलाई मनोरञ्जन

आफ्नै परिवेश
डाक्टरहरू पनि आफ्नो कार्यक्षेत्रको व्यस्तताबाट एकछिन पन्छिएर संसारसँग रमाउन चाहन्छन् ।
झमक घिमिरे

काठमाडौँ — मान्छे जुनसुकै पेसा–व्यवसायमा लागेको होस् या जुनसुकै क्षेत्रमा लागेर काम गरोस् । उसलाई मनको एक कुनामा रमाउने, हाँस्ने इच्छा रहिरहन्छ । मेडिकल डाक्टरहरू हरदम बिरामीको सेवामा खटिरहनुपर्ने अवस्थाबाट एकछिन भए पनि उन्मुक्ति लिएर मानवीय अनेक गुण र क्षेत्रका मान्छेसँग घुलमिल हुन, रमाउन चाहन्छन् ।

चिकित्सकहरूलाई मनोरञ्जन

मान्छे मेसिन हुन सक्दैन, ऊसँग मानवीय गुण हुन्छ । त्यस अर्थमा डाक्टरहरू पनि आफ्नो कार्यक्षेत्रको व्यस्तताबाट एकछिन पन्छिएर संसारसँग रमाउन चाहन्छन् । बिरामीको टरटराहट व्यवहारदेखि आफूलाई अलग राखेर अरू थुप्रै कुरासँग परिचित हुन चाहन्छन् । मैले जीवनमा थुप्रै डाक्टरसँग संगत गर्ने मौका पाएँ । केही मेसिनजस्ता पनि पाएँ, जोसँग बिरामीसँग गर्ने मानवीय व्यवहारको गुण रति पनि छैन । जसले आफूलाई सबैभन्दा ठूलो दर्ताको मान्छे ठान्छ र अरूलाई मान्छेको व्यवहार गर्दैन । यस्ता डाक्टरसँग बिरामीले आफ्ना समस्या खेलेर राख्न सक्दैनन् । उनीहरूले बिरामीको समस्या ध्यान दिएर सुन्दा पनि सुन्दैनन् ।

डाक्टर र बिरामी बीचको सम्बन्ध यहाँनेर यसैकारणले बिग्रिने गरेको छ । मैले यस्ता डाक्टरसँग पनि संगत गर्न पुगेकी छु । जो आफूकहाँ आएका बिरामीको समस्या राम्रोसँग सुन्छ, उनीहरूको समस्या समाधानमा हरदम प्रयत्न गरिरहन्छ । उसले बिरामीको सेवामै आनन्द लिइरहेको हुन्छ । हुन त जुनसुकै क्षेत्रमा काम गर्ने मान्छे पनि असल र खराब हुन्छन् । हाम्रो नजर कहिल्यै असल कुराप्रति जाँदैन । जहिले–तहिले खराब कुराप्रति मात्र जान्छ । हाम्रो दिमागले पनि त्यही खराब कुरै सोच्छ र त्यही नकारात्मक दृष्टिकोण समाजमा छाड्छ । आज मेडिकल डाक्टरलाई हेर्ने दृष्टिकोण पनि समाजमा राम्रो छैन । समाजले भन्छ, फलानाको छोरा वा छोरी डाक्टर पढेर त्यो पढेको खर्च नउठाई छोड्दैन ।

हुन पनि हो, प्राय: सबैजसो डाक्टरले आफ्नो निजी क्लिनिक यत्रतत्र सर्वत्र चलाइरहेकै हुन्छन् । बिरामीको सेवा गर्ने नाममा चर्काे फि असुलेकै हुन्छन् । यी निजी क्लिनिकहरूले पनि सबैले नराम्रो धन्दा गरिरहेका छन् । आशय यस पंक्तिकारको कदापि होइन । यी भित्र पनि राम्रा पक्षहरू छन् । राम्रा डाक्टर पनि छन्, तिनले साँच्चै सेवामूलक उद्देश्य लिएर खोलेका पनि छन् । मेडिकल डाक्टरसँग भएको अरू क्षेत्रका मान्छेसँग घुलमिल हुने चाहना, उनीहरूसँग भएको फरक खालको सोख या प्रतिभा उजागर गर्ने चाहना नजिकबाट जोकोहीले पनि बुझ्न गाह्रो छ । केही मान्छेले मात्र बुझ्न सक्छन् या उनीहरूको भावना ध्यान दिएर सुन्न सक्छन् । आत्मसात गर्न सक्छन् ।

डाक्टरले पनि केहीमात्र मानवीय व्यवहार गर्न सक्छन् । सच्चा सेवा गर्न सक्छन् । यसै प्रसंग कोट्याउँदा केही समय पहिले पंक्तिकारले धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेडिकल डाक्टर र यिनका विद्यार्थी मिलेर गरेको कार्यक्रममा अतिथिको रूपमा सहभागी हुने मौका पाएकी थिई । कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिलाई निम्त्याइएर अनुभव सुनाउन लगाइयो । फरक क्षेत्रका व्यक्तिलाई एकैठाउँ भेटेर उनीहरूका अनुभव सुन्दा आनन्द लाग्यो ।

यस्ता कार्यक्रमले मान्छेलाई आनन्दमात्र दिने होइन, सबै क्षेत्रका मान्छेले एकअर्कामा घुलमिल हुन र आपसमा चिनजान हुन आफ्ना भावना साटासाट गर्न सजिलो हुन्छ, मेडिकल डाक्टरले सधैंको व्यस्तताबाट एकछिन भुलेर रमाउन पाउँछन् । मानसिक तनावबाट मुक्त हुने मौका पाउँछन् र बिरामीलाई दिने सेवा सहज र सरलसँग दिन सक्छन् । हामीकहाँ मेडिकल डाक्टरलाई हेर्ने दृष्टिकोण अलि भिन्नै छ । उनीहरू यन्त्र–मानव जस्तै हुन् यी जतिबेला पनि चल्न सक्छन् भन्ने खालको सोचाइ छ । हुन पनि हो, उनीहरू त्यस्तै पेसामा संलग्न छन् । रात भन्न पाउँदैनन्, दिन भन्न पाउँदैनन् । भोकतिर्खा भन्न पाउँदैनन् । तर उनीहरू पनि मान्छे हुन्, मान्छेमा हुने सबै गुण उनीहरूसँग छ । त्यसैले उनीहरूलाई पनि मानिसमा स्वस्थ हुन आवश्यक छ, मनोरञ्जनको आवश्यकता छ ।

प्रकाशित : जेष्ठ १, २०७५ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?