चालीस लागेपछि

द न्यूयोर्क टाइम्स

काठमाडौँ — तपाईंलाई आफू कति वर्षको देखिन्छु भनेर थाहा पाउन मन छ भने फ्रेन्च क्याफेभित्र पस्नुहोस् । त्यहाँ तपाईंको अनुहारलाई लिएर सानोतिनो जनमत संग्रह नै हुन्छ ।म पेरिसमा ३० लागेपछि बस्न थालेकी हुँ । त्यतिबेला वेटरहरूले मलाई ‘म्याडममोजेल’ (सुश्री) भन्थे ।

म कुनै क्याफेमा छिरेंँ भने उनीहरू ‘बोन्जोर (शुभप्रभात/हेलो) म्याडममोजेल’ भनेर मेरो अगाडि कफी राखिदिन्थे ।

जब म चालीस लागेंँ, त्यसपछि भने समूहगत रूपमा नै वेटरहरूमा परिवर्तन आयो । उनीहरू मलाई ‘म्याडम’ (पाका वा विवाहित महिलालाई गरिने सम्बोधन) भन्न थाले । सुरु–सुरुमा उनीहरूले ‘म्याडम’ भनेर परीक्षण गरिरहेको जस्तो लाग्थो, पछि एक्कासी असिना परेजस्तो सबैतिरबाट यस्तै सम्बोधन ओइरिन थाल्यो । अब म क्याफे छिर्दा उनीहरू ‘बोन्जोर म्याडम’ भन्छन्, पैसा तिर्दा ‘मेसी (धन्यवाद) म्याडम’ र त्यहाँबाट निस्कँदा ‘अख्भ्वां (फेरि भेटौंला) म्याडम’ भन्छन् । कहिलेकाहीं त धेरै वेटरहरूले एकैपल्ट यस्तो भन्छन् ।

एकातर्फ मलाई यो परिवर्तनले केही नयाँ कुरा जान्न उत्साही बनाइरहेको छ– के यी वेटरहरू काम सकिएपछि कतै वाइन खान जम्मा हुन्छन् र कुन केटीलाई के भनेर सम्बोधन गर्ने भनेर निर्णय लिन्छन् ? रिस उठ्दो कुरा त पुरुषहरू भने सदैव ‘मस्युर (श्रीमान)’ कहलाइन्छन् । सबैभन्दा खत्तम कुरा, उनीहरू मसँग विनम्र हुन खोजेका हुन् । उनीहरूलाई लाग्छ, म सुश्री भनिनका लागि ठूली भइसकें ।सडक किनारमा माग्न बसेकी एक महिलाका कारण मलाई लागेको छ– केही कुरा सदाका लागि परिवर्तन भइसक्यो । उनी मिनीस्कर्ट लगाएर मभन्दा केही कदम अगाडि हिँडेकी युवतीलाई ‘बोन्जोर म्याडममोजेल’ भन्छिन् र मलाई ‘बोन्जोर म्याडम’ ।यी सबै परिवर्तनहरू यति छिटो भए कि म पचाउनै सकिरहेकी छैन । मसँग अझै पनि धेरै लुगाहरू छन्, जुन म ‘म्याडममोजेल’ हुँदा लगाउँथँे । मेरो भण्डारमा ‘म्याडममोजेल–युगको’ क्यानफुड पनि टन्नै छ । तर मलाई सम्बोधन गरिने शब्दहरूले भने म अर्कै उमेरावस्थामा प्रवेश गरिसकँें भन्ने बताउँछन् । लिफ्टभित्र बत्तीको प्रकाशमुनि मेरो अनुहारको भाव पढेर मेरी छोरी मलाई भन्छे– ‘ममी, तपाईं बूढी हुनुभएको छैन, तर तपार्इं पक्कै पनि जवान हुनुहुन्न ।’आखिर के हो यो ‘जवान नहुने’ उमेर ? २० को उमेर समूहकाले ४० वर्षकालाई धेरै दशक अगाडिका मानिसहरू– जसले यो युगका धेरै कुरा भोग गर्न छुटाए– भनेको सुन्छु । तर वृद्ध उमेर भएकालाई सोध्यो भने उनीहरू पुन: ४० वर्षको हुन चाहन्छन् ।

‘म ४० को हुँदा कहाँ मैले आफूलाई बूढो भनेर सम्झन्थँें त ?’ सन् १९८५ मा ४० बसन्त पार गर्नुबारे किताब लेखेका मानवशास्त्री स्ट्यान्ली ब्रान्डेस भन्छन्, ‘म त्यो बेलालाई सम्झन्छु र सोच्छु, म निकै भाग्यमानी थिएँ । म त्यो समयलाई वास्तविक जीवनको सुरुआतका रूपमा लिन्छु, नकि जीवनको समाप्तिको सुरुआत ।’

‘द हन्ड्रेड–इयर लाइफ’का सहलेखक तथा अर्थशास्त्री एन्ड्रयु सक्ट भन्छन्, ‘चालीस वर्ष प्राविधिक रूपमा पनि अब जीवनको बीचको उमेर होइन । ‘अहिले ४० मा रहेकामध्ये ५० प्रतिशत ९५ वर्षसम्म बाँच्ने सम्भावना छ ।’

अंक ४० को गहिरो प्रतिकात्मक अर्थ पनि छ । यशुले ४० दिनसम्म वर्त बसेका थिए । मोहम्मद त्यतिबेला ४० वर्षकै थिए, जतिबेला उनलाई अल्लाहका दूतले दर्शन दिए । इजरायलीहरू ४० वर्ष मरुभूमिमा रुमल्लिए । यस्तै केही भाषामा ४० को अर्थ ‘धेरै’ भन्ने पनि हुन्छ ।वर्ष चालीस जहिले पनि महत्त्वपूर्ण हुन्छ । ‘चालीसमै मानिसहरू आफू जे हो, त्यो हुन्छन्,’ ७० टेकिसकेका बेलायती लेखक भन्छन्, ‘यदि कसैले ४० को हुँदा पनि आफू के हो भनेर थाहा पाउँदैन भने उसले कहिल्यै थाहा पाउँदैन ।’म्याडम शब्दसँग जोडिएपछि ममाथि नयाँ नियमहरू पनि लागू हुनथालेका छन् । जब म कहिलेकाहीं बच्चपना देखाउँदै केही नजाने जस्तो गर्छु, मानिसहरू दंग पर्दैनन्, बरु हाँसोको पात्र बनाउँछन् । अनभिज्ञता मेरा अनुहारमा देखिनु हुँदैन । मानिसहरू मबाट सधैं सही कामको मात्रै अपेक्षा राख्छन् । म भेटघाटका लागि सधैं समयमै पुग्नुपर्छ ।

मस्तिष्कमाथि गरिएको अनुसन्धानले ४० पुगेपछि केही काम गर्न गाह्रो हुन्छ– हामी जवान मानिसभन्दा केही छिट्टै विच्कन्छौं, नयाँ सूचनाहरू विस्तारै ग्रहण गर्छौं र तथ्यहरू सम्झनलाई पनि गाह्रो हुन्छ । कहिलेकाहीं त ‘हेमोरोइड्स’ जस्ता शब्द सम्झनलाई ४८ घन्टै खर्चनुपर्छ ।यसको अर्को पाटो पनि छ । हामीले गर्ने काम अनुभवले खारिएको परिपक्व र तर्कसंगत हुन्छ । हामी जवानहरूले भन्दा राम्रोसँग कुनै पनि परिस्थितिको मूल्यांकन गर्न, भावनालाई नियन्त्रणमा राख्न र द्वन्द्वको समाधान गर्न सक्षम हुन्छौं । हामीमा अर्थ व्यवस्थापन गर्ने र विषयको गम्भीरतालाई बुझेर त्यसको विश्लेषण गर्ने क्षमता पनि धेरै हुन्छ । हामी जवानहरूभन्दा बढी भावनात्मक पनि हुन्छौं । र सबैभन्दा ठूलो आफ्नो खुसीका लागि बढी संवेदनशील हुन्छौं ।

दुई हजार वर्ष पहिला एरिस्टोटलले ‘वयस्क’ मानिसबारे भनेका थिए– ‘आफूसँग प्रचुर मात्रामा आत्मविश्वास भए पनि उनीहरू मनलाग्दी गर्दैनन्, न त आफूमा भएको डर नै देखाउँछन् । दुवै कुराको मेल हुन्छ, उनीहरूको भावमा । उनीहरू न सबैलाई विश्वास गर्छन्, न अविश्वास । तर मानिसको मूल्यांकन सही गर्न सक्छन् ।’ यही कुरा अहिलेको न्युरोसाइन्स र मनोविज्ञानले पनि पुष्टि गरेका छन् । म मान्छु, हामीले वास्तवमै अगाडि बढ्न सिकेका छौं । हामी कुनै पनि वस्तुको अन्तरनिहित विषयमा ध्यान दिन्छौं । हामीलाई हाम्रा अभिभावकले पनि परिवर्तन हुन प्रेरित गर्न छोडिसकेका छन् । हामी कुनै कुरा कहिले हास्यास्पद हुन्छ भन्न सक्छौं । ४० लागेपछिको यात्रामा ‘कसैले मलाई मनपराउँदैनन्’ भन्ने छोडेर ‘कसैलाई मतलब नै हुँदैन’ भन्ने भावमा पुग्छौं ।

यसो भए पनि यो दशक निकै अलमल्याउने खालको हुन्छ । एकातर्फ हामी मानिसहरूले देखाउने व्यवहारबाट परिणामको पूर्वाभाष गर्न सक्षम हुन्छौं भने अर्कोतर्फ दोहोरो अंक याद राख्न सक्दैनौं । यो उमेरमा कित हामीले यथेष्ठ कमाउन थालिसकेका हुन्छौं वा त्यसको बाटोमा हुन्छौं र हामीलाई ‘बोटोक्स’ (चाउरीपना कम गर्ने औषधी) को प्रयोग ठिक हो भन्ने लाग्न थाल्छ । हामी आफ्नो व्यावसायिक जीवनको उच्च विन्दुमा हुन्छौं र त्यो कसरी सकिन्छ पनि देखिरहेका हुन्छौं ।

यो उमेरमा सम्झन लायकका उपलब्धि भने कम हुन्छन् । बाल्यकाल र तरुण अवस्थामा देखिने उपलब्धि धेरै हुन्छन्– हामी बढिरहेका हुन्छौं, हरेक वर्ष नयाँ कक्षामा प्रवेश गरिरहेका हुन्छौं, स्नातक सकाउँछौं, सवारी चलाउने लाइसेन्स प्राप्त गर्छौं । त्यसपछि २० देखि ३० को बीचमा प्रेम हुन्छ, बिहे हुन्छ, जागिर खान्छौं आफू र आफ्नो परिवार रोखदेखको जिम्मेवारी बहन गर्न थाल्छौं । त्यसैबेला बच्चा हुन्छ, जागिरमा बढुवा हुन्छ । यी सबै कुराले दिने चरमोत्कर्षले हामीलाई अगाडि बढ्न र वयस्क भएर जीवन जिउन प्रेरित गर्छ । चालीस लागेपछि भने प्राप्त सबै उपलब्धिहरूले हामीलाई चकित तुल्याउन छोडिसक्छ । हाम्रो उपलब्धिमा खुसी र उत्साही हुने अभिभावक र गुरुहरू आफ्नो उत्तराद्र्धको समयमै व्यस्त हुन्छन् । बरु बालबच्चा छन् भने हामी उनीहरूको उपलब्धिमा चाहिँ खुसी हुन थाल्छौं ।

‘पाँच वर्षअघि कसैलाई भेट्दा उनीहरू ‘वाह ! तपाईं हाकिम हो भन्थे ?’ ४४ वर्षे एक टेलिभिजन प्रोडक्सन कम्पनीका प्रमुखले मसँगको भेटमा भने, ‘तर अहिले त्यही हुनु कुनै ठूलो विषय नभएको जस्तो दर्शाउँछन् ।’हामी कस्तो उमेरमा पुग्यौं ? हामी केही काम गर्न र १० किलोमिटर दौडका लागि अझै सक्षम छौं । तर यो उमेरमा नयाँ विषयले पनि महत्त्व पाउँछ– हामी मृत्युप्रति सजग हुन्छौं । त्यो पहिले हुँदै थियो । हामी धेरैजसो विषयमा त्यति उतिविघ्न चिन्तित हुँदैनौं, जुन विषय पहिले हाम्रालागि सबैभन्दा महत्त्वपूर्ण हुन्थे । अब हामी प्यारेन्टस–टिचर मिटिङमा जान्छौं, पर्वहरूमा परिवारका लागि खाना पकाउँछौं ।

अहिले मलाई कोही कसैले यो सब परिवर्तन गर्न केही गर्नुपर्छ भन्ने लाग्न थालेको छ । र त्यो ‘कोही’ भनेको मै हुँ भन्ने पनि महसुस भइसक्यो । यो संक्रमणकालीन उमेर सहज भने छैन । मलाई सधैं वयस्कहरूले विश्वका लागि केही गरिरहेका छन् भन्ने लाग्थ्यो र अहिले पनि लाग्छ । उनीहरूले क्यान्सरको उपचार गरिरहेका छन्, नयाँ शोधहरू गरिरहेका छन् । उनीहरू विमान उडाउँछन् । उनीहरूलाई कुन समाचार पत्रिकाको पहिलो पृष्ठमा छाप्ने भन्ने थाहा हुन्छ । संकटको बेला पनि म वयस्कहरूको समझदारीलाई नै विश्वास गर्छु ।मलाई वयस्क देखिनुमा कुनै गुनासो छैन । तर म ४० को भएर वयस्क भएकोमा भने उदास छु । किनकि मलाई लाग्छ, मैले आफूमा भएको क्षमताभन्दा अगावै बढुवा पाएँ ।

- पामेला डुकरम्यान
(द न्युयोर्क टाइम्सबाट अनूदित ।)

प्रकाशित : वैशाख २९, २०७५ ०७:३४
प्रतिक्रिया
पठाउनुहोस्

कारले बिगार्ने सहरी सौन्दर्य

द न्यूयोर्क टाइम्स

अमेरिका — हामी आश्चर्यजनक खोजहरूको नयाँ युगमा बाँचिरहेका छौं । पछिल्लो महिना, लस एन्जलसले अब उप्रान्त नयाँ ठूलो सडक नबनाउने अप्रत्यासित निर्णय गर्‍यो । जबकि उक्त सहरबारे वर्षौंसम्मको धारणा नै ‘जति धेरै सडक त्यति थोरै ट्राफिक जाम’ भन्ने थियो ।

लस एन्जलसले यस्तो निर्णय गर्नु केही अघि जर्मनीको उच्च अदालतले प्रदूषण कम गर्न सहरको केन्द्रमा डिजेल कारहरूलाई प्रतिबन्धित गर्नुपर्ने विचार अगाडि सारेको थियो । स्मरण रहोस्, जर्मनी डिजेलबाट चल्ने इन्जिन प्रविधि आविष्कार गर्ने देश हो । यस्तै त्यहाँको भोक्सवागन कम्पनी विश्वकै अग्रणी कार निर्माता कम्पनी हो, जसले विश्वमा लाखौं कारहरू बेच्ने गर्छ । उसले आफूद्वारा उत्पादित गाडीले उत्सर्जन गर्ने प्रदूषणबारे ढाँटेर कार बेच्न धेरै नै खर्च गथ्र्यो । अदालतको आदेशपछि पनि भोक्सवागनले आफू उक्त आदेशलाई मान्न तयार नभएको प्रतिक्रिया दिएको थियो ।

यी दुई घटना ९ हजार ६ सय ५६ किलोमिटरको दूरीमा भिन्न राजनीतिक अवस्थामा भए पनि जोडिएका छन् । हाल आएर आम मानिस र हाम्रा केही साहसी नेताहरू धेरै कार खरिद गरेर सहरलाई जाम गर्नुको विपक्षमा उभिन थालेका छन् । सयौं वर्षको अनुभवले हामीलाई आफ्नो मुर्खताबारे पाठ सिकाएको छ । यसैबीच तीनवटा विचार सतहमा आएका छन् । पहिलो– हरेक कार अर्को कारको दुश्मन हो । तपाईंको कार अगाडि रोकिएको कार नै तपाईंलाई सबैभन्दा मन नपर्ने कार हो । कारहरू बढ्नु भनेको यात्राको समय र प्रदूषण बढ्नु हो ।

दोस्रो– केही समयपछि कारहरूको ठूलो संख्याले सहरलाई हिँड्ने, साइकल चढ्ने र सार्वजनिक सवारी साधन प्रयोग गर्ने मानिसहरूका लागि अनुपयुक्त बनाउँछ । कारहरूले यताउति दौडन रुचाउने बालबालिका, शान्त वातावरणमा सडक किनारको बेन्चमा बसेर पढ्न चाहने मानिसहरूलाई सीमित रहन बाध्य तुल्याउँछ । त्यसैले हामी हाम्रो सार्वजनिक स्थान, छिमेकी–छिमेकी बीचको वार्तालाप र अन्तत: आफ्नो व्यक्तिगत गतिशीलता अर्को कार र त्यसपछिको कारका लागि त्याग्न बाध्य हुन्छौं ।

र, अर्को अजीव तथ्य पनि अगाडि आउँछ, जुन निकै अप्रत्यासित लाग्छ, त्यो हो– धेरै सडकले जामलाई हटाउँदैन, बरु झनै बढाउँछ । यो तथ्य विज्ञहरूले सन् १९३० ताका नै पत्ता लगाइसकेका थिए । जब राजमार्ग र द्रुतमार्गको निर्माण गरिन्छ, तब त्यसलाई भर्न कारहरू देखापर्न थाल्छन् । यो प्रवृत्तिलाई यतिसम्म बुझिएको थियो कि यसलाई नाम पनि दिइयो– इनड्युस्ड ट्राफिक डिमान्ड ।

हामीले अत्यन्त जटिल प्रकृतिको राजमार्गका तथ्यांक संकलन गर्ने ‘इन्रिक्स’ कम्पनीलाई हालसालै विस्तार भएका लस एन्जलसको १ अर्ब ६० करोडको अन्तर राज्य द्रुतमार्ग ४०५ (आई–४०५) र हुस्टनको २ अर्ब ८० करोडको विश्वकै चौडो २६ लेनको क्याटी द्रुतमार्ग बारे अध्ययन गर्न भन्यौं ।

आई–४०५ विस्तार भएपछिको तथ्यांकले बिहान र साँझको बेला यात्राको समय झनै धेरै बढेको देखियो । क्याटी द्रुतमार्गको तथ्यांक भने केही राम्रो थियो । यी दुवै विस्तार परियोजनाका पक्षधरहरू निसन्देह यो सडक नबनेको भए बढ्दो ट्राफिकले जामको समस्या झनै विकराल हुने तर्क गर्छन् । तैपनि हामी यी सडक विस्तार गर्नुको साटो भएका सडक तथा पुलहरूको स्तर उन्नतिका लागि उक्त करोडौं डलर प्रयोग गर्नुपथ्र्यो भन्नेमा स्पष्ट छौं । सुखद कुरा मान्नुपर्छ, अहिले धेरैभन्दा धेरै सहरहरू सडकबाट कारहरूको दादागिरीलाई अन्त्य गर्दै सडक यात्रु तथा अन्य यात्राका साधनहरूको आधिपत्यलाई स्थापित गर्ने पथमा अघि बढ्न थालेका छन् ।

लन्डनले आफ्नो सहरको केन्द्रमा कारहरूको अनियन्त्रित प्रवेशलाई अन्त्य गरेको १५ वर्ष पुगेको छ । यसो गर्दा नीतिगत रूपमा अधिकांश पैसा सार्वजनिक सवारी साधन तथा साइकल लेनको निर्माणमा खर्च हुन्छ । अमेरिकाको सियाटल र क्यालिफोर्नियाका केही सहरमा पनि यो नीति लागू गर्ने विषयले त्यहाँको संसदमा प्रवेश पाएको छ । न्युयोर्कले भने यो नीतिलाई एक दशकमा दोस्रोपटक अस्वीकार गरेको छ । तर यो उपाय सधैंका लागि अस्वीकृत गर्न भने सक्दैन, किनभने सहरलाई यो अत्यन्तै आवश्यक भइसकेको छ ।

यस्तै भिडभाडयुक्त एसियाका केही सहरहरूमा पनि नागरिकले चाहेर कार किन्न पाउँदैनन् । सांघाईका बासिन्दाले कारभन्दा पहिला लाइसेन्स प्लेट बोलकबोल गरेर किन्नुपर्छ, जसको मूल्य १३ हजार डलरभन्दा माथि पुगिसकेको छ । बेइजिङमा भने लाइसेन्स प्लेटका लागि गोलाप्रथा नै गरिन्छ । यस्ता उपायहरू हेर्दा निकै कठिन देखिए पनि २०१० मा ११ दिन लगाएर खोलिएको ९६ किलोमिटर लामो ट्राफिक जामका अगाडि यो कदम समझदार नै लाग्छ । अत्यधिक भिडभाडयुक्त सडकमा कार चढेर घुम्नेहरूले अन्य नागरिकमा त्यसको आर्थिक बोझ थुपारिरहेका हुन्छन् । उनीहरूले अन्य मानिसहरूको निर्वाध रूपमा आवत–जावत गर्न पाउने अधिकार त कुण्ठित गरेकै हुन्छन् नै, सँगै सार्वजनिक खुला क्षेत्रलाई मासेर स्वास्थ्य पनि बिगारिरहेका हुन्छन् ।

अन्त्यमा, दशकौं पहिला सहरका सडकहरूमा साना गाडीहरूलाई रजाइँ गर्न दिनुले मानिसको जीवन–गुणस्तर बिगारेको छ । हामीले यहाँ कुनै नौलो तथ्य प्रस्तुत गरेका होइनौं । यो तथ्य सहरी विकासका विज्ञहरूले पहिल्यै थाहा पाइसकेका हुन् । सडकको गाडी चल्ने लेन हटाएर साइकल लेन र फुटपाथलाई फराकिलो बनाउँदा नै ट्राफिक समस्या कम गर्न सकिन्छ । यसले सडक किनारका व्यापारिक कारोबार पनि बढाउँछ ।

तैपनि नीति निर्माताहरूले कार चालकहरूको स्वार्थले थिचिएका आफ्ना हाकिम, सहर र राज्यका राजनीतिज्ञहरूका सामु निरीह भए । तर अब हामीले सार्वजनिक सवारीको साधनमा वृद्धि गर्नका लागि आम मानिसहरू जागरुक भएको देख्ने बेला आएको छ । किनकि सडक फराकिलोमात्रै बनाउनु भनेको बुद्धिमता कदापि होइन । बुद्धिमानी त हुन्, जो आफ्नो निजी गाडी मोहलाई त्यागेर सहरका सडक र सवारी आवागमन व्यवस्था सबैका लागि सहज बनाउन अग्रसर हुन्छन् ।

(जस्टिन गिलिस र हल हार्वेद्वारा लिखित,द न्युयोर्क टाइम्सबाट अनूदित)

प्रकाशित : वैशाख १४, २०७५ ०७:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्