कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

क्षमा अभ्यर्थना कि प्रवञ्चना

सीताको जन्मभूमि टेकेर फेरि पनि छलकपट भयो भने ‘मुखमा राम–राम बगलीमा छुरा’ भन्ने कहावत नै मोदी डक्ट्रिन वा मोदीमन्त्रका रूपमा परिभाषित हुनेछ ।
कृष्ण पहाडी

काठमाडौँ — भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो नेपाल भ्रमणको साइत वैशाख २८ गते जुरेको छ । मोदीका कठोर आलोचकहरूको आरोप छ, मोदी कामभन्दा कुरा बढी गर्छन्, अनि कहिलेकाहीं जे भन्छन्, काम ठ्याक्कै उल्टो गर्छन् । प्रधानमन्त्रीको रूपमा पहिलोपटक नेपाल भ्रमण गर्दा मोदीले चोक–चोकमा ओर्लिएर नेपालीसँग हात मिलाए, तर संविधान जारी भएपछि तिनै नेपालीको गालामा नाकाबन्दीको थप्पड हिर्काए ।

क्षमा अभ्यर्थना कि प्रवञ्चना

नेपालको संसद्मा भाषण गर्दा संविधान बनाउन ऋषि–मन चाहिने उपदेश दिए । तर जब संविधान बन्यो, क्रुद्ध ऋषि दुर्वासाको स्वरूपमा पो मोदी प्रकट भए र नेपालीमाथि जाइलागे । त्यो इतिहासको तितो अध्याय थियो, तसर्थ जति दोहोर्‍यायो, त्यति नै कोक्याउँछ । त्यो तितोलाई बिर्साउन अब मिठोको खाँचो छ, त्यस्तो मिठास शब्दमा होइन, व्यवहारमा छचल्किनुपर्छ । यस पटकको नेपाल भ्रमण मोदी स्वयंका लागि अपूर्व अवसर हो । त्यसका लागि मोदी आफैँले छाती फराकिलो गर्न सक्नुपर्छ ।

विगतको तिक्तताका लागि हात जोडेर क्षमायाचना गरे मोदीको उचाइ घट्ने होइन, अझ बढ्छ । त्यो संस्कार छैन भने केही उचनीच भएकोमा दु:ख व्यक्त गरे पुग्छ । क्षमा अभ्यर्थनाको त्यस्तो गुण मोदीमा छ–छैन, एक साताभित्रै थाहा हुनेछ । मोदी राग शब्दको खोक्रो आडम्बर मात्र हुनेछ वा सम्बन्धको रसिलो आयाम, थाहा पाउन केही दिन पर्खनैपर्छ । यसै पनि नागरिक स्तरमा नेपाल र भारतबीच अनेक कालखण्डमा विभिन्न धाराद्वारा सिञ्चित सम्बन्ध प्रगाढ छ, अनि आत्मीय एवं अनुपम पनि । मोदी हुन् वा ओली, कसैलाई पनि यो सम्बन्ध खलबल्याउने जनादेश दुवैतर्फका नागरिकले दिएका छैनन् । सक्ने भए सम्बन्धको यो रंगलाई अझ गाढा बनाऊ, सक्दैनौ भने पनि कमसेकम फिक्का बनाउने काम नगर । यही नै इतिहासको भाव हो, परिस्थितिको माग हो र दुवैतिरका आम नागरिकको आवाज हो ।

सन् १९५९ अगाडिसम्म भारत र चीनबीच युद्ध भएन, किनकि दुवैको बीचमा तिब्बत थियो । चीनले पूर्णरूपमा तिब्बत कब्जा गरेको ३ वर्षभित्रै चीन–भारतबीच युद्ध भयो । सुरक्षा स्वार्थलाई नै दृष्टिगत गरेर होला, भारतले तिब्बत स्वतन्त्रता आन्दोलनलाई कतै देखिने कतै नदेखिनेगरी सक्ने सहयोग गरिरह्यो । चीन र भारतबीच नेपाल अवस्थित भएका कारण दुई भीमकाय मुलुकलाई जुध्न नदिन भौगोलिक रूपमै पनि नेपालको ठूलो योगदान छ । यथार्थमा भारत र चीनबीच नेपाल तगारो होइन, मित्रता र दुवैको सुरक्षाका लागि बलियो सेतु हो । तसर्थ शान्त, स्थिर र समृद्ध नेपालको उपस्थिति चीन र भारत दुवैको सुरक्षाका लागिसमेत अत्यावश्यक छ । यसका लागि चीन–भारत दुवैले नेपाललाई सघाउनुपर्ने हो ।

नेपालमा विद्यमान द्वन्द्वलाई चर्काउने होइन, समाधान गर्न योगदान गर्नुपर्ने हो । कुनै बेला साधनाको नाममा उत्तर भारतको पर्वतीय इलाकामा भाैंतारिएका मोदीलाई हिमालय क्षेत्रको संवेदनशीलताबारे राम्रो ज्ञान छ । तर यदाकदा त्यो ज्ञान पनि निस्तेज हुँदोरहेछ । २०७२ सालमा भारतले नेपालमा थोपरेको नाकाबन्दी चिनियाँ प्रभाव विस्तारका लागि लिस्नो बन्न पुग्यो । त्यसैको थकथकी अहिले भारतीय वृत्तमा देखिन्छ । यस पटकको नेपाल भ्रमण मोदीका लागि विवेक प्रदर्शन गर्ने अर्को अवसर हो । विगतका त्रुटिहरूप्रति क्षमा अभ्यर्थनाले विश्वासको नयाँ सेतु निर्माण हुनसक्छ । त्यसो हुनसकेन भने मोदीको यो भ्रमण पनि नियमित प्रवञ्चना मात्र हुनेछ । छलकपट र धोकाको शृङखला अब फेरि दोहोरिँदैन भन्ने पूर्ण विश्वास दिलाउन मोदीले भरमग्दुर प्रयत्न गर्नुपर्छ । त्यसका लागि शब्दको होइन, असल यत्नको खाँचो छ ।

नेपाल र भारतबीच रोटीबेटीको सम्बन्धबारे धेरै चर्चा हुने गरेको छ । तर यो सम्बन्ध केही कोणबाट आस्थाको त केही कोणबाट विश्वासको सम्बन्ध पनि रहेको छ । नागरिक स्तरमा यस्तो सम्बन्ध आज पनि कायम छ । तर सरकारी संयन्त्रका कारण त्यस्तो विश्वास बेलाबखत खण्डित भएको छ । २०७२ सालमा मोदी नेतृत्वको सरकारका कारण त्यस्तो सम्बन्धमा चिरामात्र परेन, धाँजा पनि फाट्यो, जुन सबैभन्दा ठूलो अनर्थ थियो । तथापि भारतभित्रै नागरिक स्तरबाट त्यो अनर्थको विरोध भएको थियो । नाकाबन्दीको विरोधमा काठमाडौँमा शान्ति समाजद्वारा आयोजित तीनवटा प्रदर्शनबाट यो पंक्तिकारसहित दर्जनौं अधिकारकर्मीहरू पक्राउ परेको समाचार भारतीय सञ्चार माध्यमहरूमा समेत छ्यापछ्याप्ती प्रकाशित भएको थियो ।

भारतमा सत्तारुढ भारतीय जनता पार्टी र स्वयं मोदीको राजनीतिक जीवनमा धार्मिक आयाम जोडिएकोले होला, मोदीको अभिव्यक्तिमा पनि त्यसको प्रतिविम्ब देखिन्छ । तर अब शिव सर्किटको कुरा गर्दा पशुपतिनाथ र काशी विश्वनाथसम्म मात्र होइन, काठमाडाैंबाट मुम्बई हुँदै नासिक त्रयम्वकेश्वरसम्म जोड्ने योजना सार्वजनिक गरे हुन्छ । राम–सीता सर्किटको कुरा गर्दा जनकपुरबाट अयोध्यासम्म मात्र होइन, रामेश्वरमसम्मको विस्तारित योजना अघि सारे हुन्छ । बुद्ध सर्किटको कुरा गर्दा नेपाल र भारतबीच मात्र किन, दक्षिणमा श्रीलंका र पूर्वमा बर्मासम्मको विस्तारित परियोजनालाई मूर्तरूप दिए हुन्छ । मुक्तिनाथ, लुम्बिनी हँुदै बोधगया, कुशिनगर र कोलम्बोसम्म फैलने त्यस्तो सर्किटमा ढिलो–चाँडो चीन अवश्य जोडिनेछ, जुन सर्किटको हव अर्थात केन्द्र बुद्धको जन्मस्थल लुम्बिनी हुनेछ ।

आर्थिक करिडोरको कुरा गर्दा विराटनगरदेखि मोदीकै गृहराज्य गुजरातको अहमदावादसम्म आर्थिक सर्किटको र बारा–पर्सादेखि दिल्लीसम्म औद्योगिक सर्किटको योजना अघि सार्दा हुन्छ । रेल सर्किटको कुरा गर्दा रक्सौल–काठमाडौँमात्र किन, रक्सौल–काँकडभिट्टा र रक्सौल–कञ्चनपुरसम्मको परिकल्पनालाई मूर्तरूप दिए हुन्छ । हवाई सर्किटको कुरा गर्दा नेपालको हकमा आकाशजस्तै विशाल ह्दय भारतको हुनुपर्ने हो, तर हवाई क्षेत्र (एयर स्पेस) बारे भारतको गोलमटोल व्यवहारले शंका बढाउने नै काम गरेको छ ।

जल परिवहनको कुरा गर्दा बंगालको खाडीदेखि गंगा हुँदै नारायणी, कर्णाली र कोशीसम्म चल्ने जल सर्किटको योजना अघि सारे हुन्छ । तर नदी जोड्ने कुरा गर्नु अगाडि कमसेकम मन जोड्ने काम हुनुपर्छ । भारतको सुरक्षाका खातिर आज पनि भारतीय सेनामा नेपालीहरू कार्यरत छन्, तर नेपालीहरूले भारतका कतिपय अस्पतालमा उपचार गराउँदा भारतीयले भन्दा बढी शुल्क तिर्नुपर्ने प्रावधान किन ? पुनर्विचार गर्नुपर्छ । तिनै नेपालीहरू नेपाल फर्कंदा सिमानामा भारतीय प्रहरीहरूबाट किन लुटिन्छन् ? भारतीय सत्ताले यसको जवाफ दिनुपर्छ । नेपाली व्यापारीहरूले भारतको लालफिताशाही कर्मचारीतन्त्रबाट पाएको कष्ट र हन्डर कहिले अन्त्य हुन्छ ? समग्रमा भन्नुपर्दा नेपाललाई कक्र्याउन होइन, फक्रिन दिन भारत नीति प्रतिपादन हुनुपर्ने हो । जनसंख्या, क्षेत्रफल दुवै दृष्टिले भारत नेपालभन्दा कैयौं गुणा ठूलो देश हो । तर पनि किन हो, भारतले बेला–बेला नेपाली सीमा मिच्ने, अतिक्रमण गरी छुस्के चरित्र र सानो चित्तको प्रदर्शन गर्ने गर्छ । यस्तो आचरण नदोहोरिने सुनिश्चितता हुनुपर्छ ।

भारतमा आधा अर्ब जनसंख्या बसोबास गर्ने नेपाल सिमान्त उत्तर प्रदेश, बंगाल र विहारमा आज पनि भीषण ऊर्जा संकट छ, जसका कारण पश्चिम र दक्षिण भारतको तुलनामा यी क्षेत्रहरू अविकसित छन् । त्यो संकट हल गर्न ऊर्जा सर्किटको योजना तीव्र बनाउनु भारतकै लागि अत्यावश्यक छ । त्यसका लागि नेपालमा उत्पादन भई निर्यात हुने बिजुली कुन देशको कम्पनीले निर्माण गरेको हो भनेर छुट्याउने र छुवाछूत गर्ने मानसिकता भारतले त्याग्नुपर्छ ।

बितेको तीन दशकमा भारत र चीनले थुप्रै क्षेत्रमा फड्को मारेका छन् । अर्को तीन दशक यी देशहरू आपसमा नजुध्ने र युद्धमा नफँस्ने हो भने अझै धेरै फड्को मार्ने र ठूलो आर्थिक शक्ति बन्ने निश्चित छ । समृद्ध र विकसित छिमेकीहरूको सान्निध्यले नेपाल स्वयं पनि लाभान्वित हुनेछ । सामरिक दृष्टिका अतिरिक्त जलस्रोत, पर्यटन र जनशक्तिका हिसाबले नेपालको महत्त्व दुवै छिमेकीहरूले राम्रोसँग बुझेका छन् । नेपाल भनेको यस्तो बियाड हो, जहाँ छरिने द्वन्द्वको विउलाई छिमेकमा ‘कलम’ वा प्रत्यारोपण गरिन्छ कि भन्ने त्रास पनि दुवै छिमेकीमा व्याप्त छ ।

नेपालमा चीनको विस्तारित भूमिका र बढ्दो प्रभावले भारत केही अत्तालिएको छ । बिरालोलाई पनि झ्यालढोका थुनेर चुट्न थालेपछि घाँटी न्याक्न सक्छ भन्ने हेक्का मोदीले पहिले नै राखेको भए सायद आज यतिविघ्न अत्तालिनुपर्ने थिएन । तर विगतबाट पाठ नसिक्ने हो भने भारतले अझ धेरै अत्तालिनुपर्ने दिन पनि आउन सक्छ । तथापि नेपालीहरू चीनको हौवा देखाएर भारतसँग सौदाबाजी गर्न चाहँदैनन्, मात्र नेपालको स्वाभिमानप्रति भारतको अटल सम्मान तथा सौहार्दपूर्ण व्यवहार अपेक्षा गर्छन् । नेपालका राजनीतिक दलहरू कसैलाई चेप्ने र कसैलाई खेद्ने काममा भारत संलग्न हुनुहुँदैन । संक्षेपमा भन्नुपर्दा नेपालको कुनै क्षेत्रलाई भडकाउने काम भारतले बिर्सेर पनि गर्नु हुँदैन । मोदीले जे कुरा जनकपुरमा गर्ने हो, त्यही कुरा मुक्तिनाथमा पनि भन्नुपर्छ । जनकपुरबाट सुरु हुने यात्रामा मोदीले सद्भावको पक्षमा र घृणा र विखण्डनको विपक्षमा बलियो सन्देश प्रवाहित गर्नसके भने त्यो सुखद सुरुवात हुनेछ । तर सीताको जन्मभूमि टेकेर फेरि पनि छलकपट भयो भने ‘मुखमा राम–राम बगलीमा छुरा’ भन्ने कहावत नै मोदी डक्ट्रिन वा मोदीमन्त्रका रूपमा परिभाषित हुनेछ । आशा गरौं, त्यो हुने छैन ।

सन् २०१४ अगस्टमा प्रधानमन्त्रीको रूपमा पहिलोपटक नेपाल आउँदा मोदीले सुपर हिरोजस्तो धेरै नेपालीको मन जितेका थिए । त्यही वर्ष नोभेम्बरमा सार्क शिखर सम्मेलनमा भाग लिन नेपाल आउँदा पनि मोदीको छवि हिरोकै जस्तो रह्यो । तर नेपालमा संविधान जारी भएपछि भारतले नाकाबन्दी थोपरेका कारण हिरोबाट जिरो हुँदै मोदी भिलेन बन्नपुगे । यस पटक मोदीको छवि कस्तो हुने हो, हेर्न बाँकी छ । मोदीको ‘मिसन छिमेक यात्रा’ एक वर्षपछि भारतमा हुने लोकसभा निर्वाचनलाई दृष्टिगोचर गरेर भइरहेको हुँदा नेपालीका लागि यो भ्रमण ‘हात्ती आयो फुस्सा’ भन्ने उखान चरितार्थ हुनसक्छ । पुराना घोषणा नवीकरण गरेर नयाँ प्रचारबाजी सहित यो भ्रमणको समापन हुनसक्छ ।

मोदीले अब भाषणमा बुद्धको नाम लिएर मात्र पुग्दैन, ह्दयको सिंहासनमा बुद्धलाई बसाउन सक्नुपर्छ । नेपाल र नेपालीको मन जित्न धेरै केही गर्नु पर्दैन, नेपालको स्वतन्त्रता र सार्वभौसत्ताप्रति शंकारहित अर्चना प्रकट गरे पुग्छ । भारतले महात्मा गान्धीलाई नोटमा देखाएर मात्र हुँदैन, अहिंसात्मक जीवनधारालाई सर्वत्र आत्मसात गर्न सक्नुपर्छ ।

महात्मा गान्धीका अनुसार सत्याग्रहीले डरलाई सदाका लागि विदा गर्छन् र विरोधीसँग विश्वास गर्न पनि डराउँदैनन् । यदि बीसपटक विश्वासघात भएको छ भने पनि सत्याग्रही एक्काइसांैपटक पनि विरोधीमाथि विश्वास गर्न तयार रहन्छन्, किनकि सत्याग्रहीको आफ्नो नाउ विश्वासबाटै चल्छ । नेपाली जनता सत्याग्रही जस्तै छन् । भारतीय सत्ताले २० पटक
धोका दिए पनि २१ औँ पटकसमेत विश्वास गर्न नेपाली तयार छन् । तर कहिले नेपालको सार्वभौमसत्तामा धावा बोल्नेगरी, कहिले नेपालको स्थिरतामा प्रहार गर्नेगरी भारतले प्रदर्शन गर्ने गरेको अशोभनीय आचरण अनि निरन्तर अस्थिरता सिर्जना गरेर आफू निर्णायक बन्न खोज्ने मानसिकता सदासदाका लागि अन्त्य हुनुपर्छ । आशा गराैं, नेपालीले २१ औंपटक पनि यही प्रवञ्चना दोहोरिएको दु:खद अनुभूति गर्नु नपरोस् । क्षमा अभ्यर्थनाबाट नयाँ सिँढी उक्लनसके मोदी भ्रमण सफल मानिनेछ ।

प्रकाशित : वैशाख २८, २०७५ ०८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?