कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

ज्युँदो बुद्धलाई जगाउने कि ?

आफ्नै परिवेश
झमक घिमिरे

काठमाडौँ — सन्दर्भ यही साताको बुद्ध जयन्तीको छ । विश्वभर मानिसले बुद्धलाई शान्तिका प्रतीकका रूपमा हेर्छन् । उनीप्रति श्रद्धा गर्छन्, आस्था राख्छन् । बुद्धले चुनेको मार्ग अहिले पनि सान्दर्भिक छ । बुद्ध आफैंमा दार्शनिक हुन्, आफ्नो समयका । बौद्ध एउटा धर्म नभएर दर्शन हो । यो जुनसुकै जाति सम्प्रदायले अवलम्बन गर्न सक्छ । आफ्नो जीवनमा जोड्न सक्छ ।

ज्युँदो बुद्धलाई जगाउने कि ?

अहिले विश्व अशान्त छ । त्यसको सन्तापले आक्रान्त छ । कतै जातीय युद्ध भइरहेको छ, कतै धार्मिक युद्ध । कतै कोभन्दा को शक्तिशाली भन्ने युद्ध भइरहेको छ । यी सबै युद्धले मानव सभ्यताको विकास होइन, विनाश गर्छ । तर यो कुरा विश्वका शक्तिशाली मुलुकका शासक, प्रशासकले किन बुझ्न कन्जुस्याइँ गरिरहेका छन् ? उनीहरूको दिमागभित्र कसरी विश्व जगतमा आफ्नो साम्राज्य फैलाउने भन्ने कुरा सवार छ । यसले विश्व मानव समुदायमा कलहको बीजमात्र रोप्दैन, यसको कारण विश्व अशान्तिमय बन्दैछ ।

यहाँ अहंकार ज्यादा भयो, कोही आफ्नो अहंकार छाड्न तयार छैनन् । विश्वका सामु कमजोर किन देखिने भन्ने दम्भ छ । विश्वका सबै शक्तिशाली शासक, प्रशासकले सोच्ने बेला आएको छ । अब शक्ति विश्वका प्राणी, जीव, जनावर र मानव जातिको साझा घर ध्वस्त र आतंकित पार्ने काममा खर्च नगरी सबैको साझा घर, विचार, विवेक, सिर्जनाले सजाउने काममा सारा शक्ति खर्च गरे कति जाती हुन्थ्यो † यो कुरा बुद्धले २५६२ वर्ष अगाडि सिकाएका थिए । तर विश्व मानव समुदायले बुझ्न सकेन । हरेक वर्ष बुद्ध जयन्ती धुमधामका साथ मनाइन्छ । तर व्यवहारमा अलिकति पनि बुद्ध दर्शनको पालना गरिएको छैन । कतिपय यस्ता छन्, जसले बुद्धलाई आफ्नो आराध्यदेव मानेर पुज्छन् भने उनको दर्शनलाई बौद्ध धर्मका रूपमा मान्छन् । उनीहरूले पनि बुद्धको वास्तविक मतलाई कदर गर्न सकिरहेका छैनन् । उनीहरूमा पनि सहिष्णुताको कमी छ, सत्यताको कमी छ, अनि विश्व मानव समुदायप्रति गर्ने प्रेमको कमी छ ।

उनीहरूले आफ्नो सीमित भूगोल वरिपरिमात्र प्रेमको भाव फैलाउनसके, सहअस्तित्वलाई स्वीकार्नसके यो पनि एक अर्थमा राम्रै पक्ष हो । तर विश्व शान्तिका लागि यतिले मात्र पर्याप्त हुँदैन । प्रत्येक नागरिकले आ–आफ्नो क्षेत्रबाट पहल गर्नु आवश्यक छ । ठूला शक्तिशाली देशहरूले साना, कमजोर देशहरूलाई हेप्ने, होच्याउने, दमन गर्ने नीति लिन हँुदैन । अहिले आफूलाई स्वतन्त्रता, प्रजातन्त्रको ठूलो रक्षक भनेर दुहाइ दिने मुलुकहरू नै विश्व मानव अधिकार, शान्तिको विषयमा गम्भीर बनेको देखिँदैन । बुद्धले भनेका थिए, ‘कुनै प्राणीलाई दु:ख नदिनु ।’ अर्थात् सबैलाई समान ठानेर मानवोचित व्यवहार गर्नु, जसले गर्दा मानव जातिमा शान्ति बढ्छ । प्रेम जाग्छ, सहिष्णुता पलाउँछ ।

हुन पनि हो, मानव जातिले जस्तो व्यवहार गर्‍यो, त्यस्तै व्यवहार फिर्ता पाउँछ । तर मानव जाति मानव जातिकै संहारमा तल्लिन भयो । अनि आफैं अशान्त भयो र विश्वलाई पनि अशान्त पार्‍यो । जसका कारण विश्वमा अहिले सुरक्षाका नाममा हातहतियार, गोला, बारुद्ध, विभिन्न भयावह विस्फोटक पदार्थको निर्माण र किनबेचमा खर्बौं खर्च हुँदै आइरहेको छ । त्यो पैसा भोकमरी, गरिबी, शान्तिको लागि खर्च भए कति जाती हुन्थ्यो । तर हामीले कहिल्यै आफूभित्र सुतिरहेको बुद्धलाई जगाउने प्रयास गरेनौं । बुद्ध त ज्युँदो रूपमा हामीभित्रै छ । त्यसलाई जगाएर हामीले विश्व शान्तिको लागि एक पाइला भए पनि चाल्ने हो कि ?

प्रकाशित : वैशाख २१, २०७५ ०७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?