कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

दाँत सड्ने समस्या

डा. प्रकाश बुढाथोकी

काठमाडौँ — मुख गन्हाउने, दाँतबाट रगत आउने, दाँत किराले खानेजस्ता समस्या देशभरि विकराल छन् । अचेतना र गरिबीका कारण मात्र नभई स्वास्थ्यप्रति गम्भीर नहुने आम नेपालीको प्रवृत्ति पनि यसका लागि जिम्मेवार छ । नेपालका करिब ७० प्रतिशतभन्दा बढी बालबालिका तथा ९० प्रतिशत वयस्कमा दाँत सडेको पाइन्छ ।

दाँत सड्ने समस्या

दाँत झरेरै जाने हो भन्ने भ्रम छ । मुख स्वास्थ्य राम्रो मुस्कान मात्र होइन, समग्र स्वास्थ्यसँग दोहोरो सम्बन्ध छ । त्यसैले शरीरसँग छुट्याएर हेर्न सकिँदैन । प्राय: मुखका रोग र अन्य रोगको समान सामाजिक कारण र जोखिम हुन्छन् । आत्मविश्वास र व्यक्तित्वमा निखार ल्याउन पनि मुखको राम्रो हेरचाह गर्नु आवश्यक छ ।

फ्लोरिडेटेड दन्तमञ्जनले २ मिनेट दाँत माझ्दा मुखका हानिकारक ब्याक्टेरिया ९५ प्रतिशतले कम हुन्छ । विगत १८ वर्षमा नेपालमा दन्तचिकित्साले फड्को मारेको छ । अहिले १३ वटा डेन्टल कलेजबाट ६ सय स्नातक र ५ वटा स्नातकोत्तर कलेजबाट ५ दर्जन बढी बर्सेनि जनशक्ति उत्पादन हुने गरेका छन् । अहिलेसम्म नेपाल मेडिकल काउन्सिलमा २ हजार ३ सय दन्तचिकित्सक दर्ता भएका छन् । अन्तर्राष्ट्रिय मापदण्डअनुसार हरेक ४ हजारमा १ दन्तचिकित्सक हुनुपर्ने भए पनि नेपालमा हरेक २५ हजारमा १ दन्तचिकित्सक छन् । सहरमा अनुपात कम भए पनि गाउँमा लाखमा १ पनि पाइँदैनन् । सरकारी दरबन्दी ५ दर्जन पनि छैन ।विगत २ दशकमा नेपाली दन्तचिकित्साले निकै ठूलो फड्को मारिसकेको छ । नेपालको दन्तचिकित्सामा हुने निदान, उपचारका लागि आवश्यक सरसामान युरोप, अमेरिकबाटै ल्याइए पनि उपचार पद्धति सस्तो र गुणस्तरीय छ । हात मात्रै नेपाली दन्तचिकित्सकको छ ।

त्यसैले होला नेपालको दन्तचिकित्सा क्षेत्रप्रति नेपालीको त कुरै छाडांै, केही विदेशीको समेत विश्वास लिई ध्यान केन्द्रित गर्न सफल भएको पाइन्छ । वार्षिक जापानी, अमेरिकी, जर्मनीलगायत १५ हजार बढी विदेशीले नेपालमा सामान्य तथा कस्मेटिक उपचार गराउँछन् भने आकस्मिक दन्तउपचार ३० हजार बढीले लिने गरेको अनुमान छ ।विश्वमा उपलब्ध ९९ प्रतिशत बढी दन्तसेवा नेपालमै उपलब्ध भइसकेका छन । सहरमा सुन्दरताको चाहना राख्ने र स्वास्थ्य जनचेतना भएका ग्राहक र बिरामी बढी हुने भएकाले आधुनिक दन्तउपचारका ९० देखि ९५ प्रतिशत उपचार सहरकेन्द्रित छन् । यसमा सौन्दर्यसम्बन्धी उपचार तथा उच्च गुणस्तरका दाँत राख्ने बढी छन् । जति महँगो, त्यति राम्रो भन्ने कुरा सौन्दर्यको रूपमा होला तर कम पैसामा उपलब्ध हुने उपचार विधि प्रयोग गर्दैमा त्यो कमसल हुन्छ भन्ने हुँदैन भन्ने दाँतमा चाँदी भराइमा लागू हुन्छ । दाँत निकाल्ने, भर्ने, सफा गर्ने र राख्ने/झिक्ने खालका उपचार दक्ष, अर्धदक्ष र अदक्षद्वारा भए पनि उपलब्ध भइरहेका छन् ।

नेपालको दन्तउपचार सेवा सस्तो, विश्वसनीय र भरपर्दाे त छ नै त्यसैमा हरेक सेवामा सहजता र नेपाली कलात्मक हात पनि छ । विदेशमा लिइने दन्तसेवाको शुल्क र नेपालमा लिनेको अन्तर आकाश–जमिनको छ भन्ने साक्षीका रूपमा विदेशमा बस्ने नेपाली, गैरआवासीय नेपाली तथा यहाँ उपचार गराएका हजारौं विदेशी छन् । उनीहरूका अनुसार विदेशमा लाग्ने उपचार खर्चमा त यहाँ दाँतको उपचारका अलावा आउने जाने तथा नेपालमा भेटघाट गर्न पुग्छ । तसर्थ सरकारी स्तरबाट दन्तअस्पताल खोल्ने र भइरहेको दन्तचिकित्सा सेवालाई थप विश्वासनीय बनाउनु आवश्यक छ । यसो गर्नसके नेपाल दन्तचिकित्साको ‘हब’ बन्न सक्छ ।डेन्टल सर्जन डा. बुढाथोकी नेपाल चिकित्सक संघका केन्द्रीय सहकोषाध्यक्ष हुन् ।

प्रकाशित : वैशाख १६, २०७५ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?