बलात्कारपछि पुन:स्थापना

पविता मुडभरी

काठमाडौँ — विद्यालयमा ४–५ कक्षा अध्ययन गर्ने आठ–दस वर्षका बालबालिका प्रेमपत्रका कुरा गर्छन् । कुनै व्यक्ति आफूलाई असाध्यै मनपरेको अर्का साथीलाई निसंकोच सुनाउँछन् ।

बलात्कारपछि पुन:स्थापना

प्रेमभाव झल्काउँदै लेखिएका कागजका टुक्रा आफ्नो झोलामा कसले हालिदिएछ भनी अत्तालिँदै केही बालिका त शिक्षक–शिक्षिकासम्म आइपुग्छन् । सानै उमेरदेखि बालबालिका बीचको लैंगिक आकर्षण र सामिप्यता बढ्दै जाँदा स्वाभाविक देखिने यौन कौतुहलताका कारण कतिपय अवस्थामा विद्यालय बाहिर तिनका क्रियाकलाप बलात्कारका घटनासम्म पुगिसकेका हुन्छन् । त्यसैले बालिकाका यस्ता उजुरी, समस्यालाई शिक्षकले गम्भीर भई केलाउनु र परामर्श दिनुपर्छ, हँसिमजाकमा उडाइदिनु हुँदैन ।


बलात्कारका घटना दिनहुँजसो समाचारमा आइरहेका हुन्छन् । बलात्कार सम्बन्धी विभिन्न घटनामा बालकदेखि वृद्धसम्म तानिएका छन् । बलात्कार विरुद्ध सरकारले कानुन सुधार गर्न, दोषीलाई कठोर सजाय दिलाउन र सचेतनामूलक कार्यक्रम सञ्चालनमा ढिलाइ गर्नु हुँदैन । अब अभियानकै रूपमा छोरालाई पनि परामर्श र निगरानी गर्न उत्तिकै जरुरी देखिएको छ । यो अभियान घर, समाज, विद्यालय र पाठ्य–पुस्तकमार्फत सञ्चालन गर्न सक्छौं । छोरी बेलुका अबेरसम्म घर नआउँदा कसैको गिद्धे दृष्टि छोरीमाथि पर्‍यो कि भनेर हामी चिन्ता लिन्छौं । तर राति अबेर घरभित्र पसेको छोराले कसैमाथि कुकृत्य गर्‍यो कि भनेर रत्तिभर सोच्दैनौं । यस्तो विभेदजन्य मानसिकता बदल्न जरुरी छ । धेरै बालबालिकाले डर र धम्कीका कारण यौन दुव्र्यवहारका घटना बाहिर ल्याउनसकेका हुँदैनन् । ग्रामीण क्षेत्रमा गरिबी, अशिक्षा र अभिभावकको संरक्षण तथा निगरानी अभावमा बालिका बढी बलात्कृत हुन्छन् । सहरी क्षेत्रमा सामाजिक सञ्जालको दुरुपयोग, अश्लील भिडियोको विगविगीले यौन दुव्र्यवहारमा प्रेरित गरिरहेको हुनसक्छ । बालिकालाई फकाउन, धम्क्याउन र पैसाको प्रभावमा पारी घटना सामसुम पार्न सकिने मानसिकताले यस्ता घटना बढाइरहेको हुनसक्छ ।
बलात्कृतलाई केही समय सामाजिक संघ–संस्थाले संरक्षण दिन्छन्, मिडियाले राम्रै साथ दिन्छ, कानुनले न्यायिक उपचारका लागि पहल गरिदिन्छ । तर त्यसपछिका दिन उसले कसरी बिताउने भन्ने प्रश्नको उत्तर हामीले खोज्न आवश्यक छ । १० वर्ष नपुग्दैकी बालिका बलात्कृत भएर संरक्षण खोज्दै सेल्टरमा बस्दाको अवस्था कस्तो होला ? शारीरिक बलात्कारबाट विक्षिप्त बालिकालाई समाजले थोपर्ने मानसिक पीडा अझ कहालीलाग्दो हुन्छ । बलात्कारबाट पीडित कतिपय बालिकाले विभिन्न गैरसरकारी संघ–संस्थामा आश्रय लिइरहेका छन् । कलिला बालबालिका सुरक्षा, संरक्षण र न्यायका लागि जोखिम मोल्दै परिवार छाडेर यस्ता संस्थामा के कसरी कुन अवस्थामा बसिरहेका होलान् !


बलात्कारको घटनापछि समाज र परिवारमा तिनको पुन:स्थापना सहज र सम्मानित रूपमा कसरी गर्ने भन्ने विषय चुनौतीपूर्ण छ । बलात्कारपछि स्वास्थ परीक्षण र उपचारका लागि सहज व्यवस्थासमेत सरकारले गर्न सकेको देखिँदैन । मुद्दा दर्तापछि बलात्कृत व्यक्ति घरमै बस्ने कि संरक्षण स्थलमा भन्ने प्रश्न पनि उत्तिकै मननीय छ । आफ्नै बाबु, दाजु तथा छिमेकी विरुद्ध मुद्दा दर्ता गरेर त्यही घर–समाजमा बस्दा असुरक्षित महसुस हुने अवस्था बन्छ । बलात्कारका विषयमा सामाजिक मनोविज्ञानमा परिवर्तन अत्यावश्यक भइसकेको छ । बलात्कृतलाई इज्जत र अस्मिताको विषय उठाएर थप पीडित बनाउने सामाजिक मनोविज्ञान पनि दोषी छ । बलात्कृत भन्ने बित्तिकै उसको सारा जीवन सकियो भन्ने सामाजिक मनोवृत्ति व्याप्त छ । समाजमा बलात्कारलाई वैधता दिलाउन बलात्कारीसँगै विवाह गरिदिने अभिभावक कैयांै छन् ।


बलात्कारीलाई मृत्युदण्डको सजाय हुनुपर्ने माग उठिरहेको छ । बालकबाट भएका बलात्कारका घटनालाई अपराध भन्ने कि अज्ञानतावश भुल ? बलात्कारका घटनामा १० वर्ष मुनिका बालकको संलग्न रहे कारबाही गर्ने कानुन छैन । कानुनले यस्ता बालकलाई सम्झाइ–बुझाइ अभिभावकको जिम्मा लगाउनुपर्ने र १४ वर्ष माथिकाले बलात्कार गरे बाल सुधार गृहमा राख्न सकिने भनेको छ । बलात्कारी बालकलाई कस्तो सजाय, परामर्श र सामाजिक स्थान दिने भन्ने प्रश्न पनि मननीय छ ।

प्रकाशित : वैशाख १२, २०७५ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?