कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

कस्तो पुरूषले बलात्कार गर्छ ?

महिलालाई एक्लै देख्नेबित्तिकै सिध्याउनुपर्छ भन्ने आपराधिक मानसिकता भएका पुरुषको संख्या बढेको हो त ? के कुराले उनीहरूलाई यस्तो रोगी बनाएको छ ? खोज्नुपर्ने विषय भएको छ ।
दुर्गा कार्की

काठमाडौँ — बलात्कारका समाचार रेडियो/पत्रिकामा मात्रै होइन, म्यासेजमा पनि आउँछन् । यस्ता समाचार/सन्देशले भावनात्मक रूपमा धेरै नै दिमाग हल्लाउँछन् र मन खल्बलिन्छ । यस्ता घटना र यसको प्रकृतिको फेहरिस्त यहाँ प्रस्तुत गर्न मन लागेन । सबै घटनाले उत्तिकै मुटु हल्लाएका छन् ।

कस्तो पुरूषले बलात्कार गर्छ ?

महिलालाई एक्लै देख्ने बित्तिकै पुरुषभित्रको त्यो पुरुष किन जाग्छ ? मैले एकजना मनोविद, बलात्कारीसँग दैनिक बयान लिने प्रहरी र अपराधशास्त्रीसँग कुरा गरें । महिलालाई एक्लै देख्ने बित्तिकै कस्ता पुरुषमा त्यो अपराध गर्ने सोचाइ आउँछ ? वा सबै पुरुषभित्र यस्तो खालको सुषुप्त आपराधिक मानसिकता हुन्छ र महिलालाई एक्लै देखेपछि त्यो एक्कासी जुर्मुराउँछ ?

केही समयअघि एकजना साथीले भनेकी थिइन्, ‘सार्वजनिक बसमा हिँंड्दा सबै पुरुषको अनुहार हेर्छु, कस्तो पुरुषले बलात्कार गर्छ होला भनेर सोच्छु ।’ साँच्चै कस्तो पुरुषले बलात्कार गर्छ त ? अथवा कस्तो मानसिक अवस्थामा भएको पुरुषभित्रको कुन तत्त्वले उसलाई यस्तो अपराध गर्न उक्साउँछ ? मनोविद सुषमा रेग्मी यसलाई एक प्रकारको रोग भन्छिन् । ‘आफ्नी छोरी, नातिनी, बहिनी, भतिजी, भान्जीलाई समेत एक्लै देख्दा यस्तो विचार आउने पुरुष रोगी हो । स्वस्थ पुरुषमा यस्तो विचार आउनै सक्दैन,’ उनी भन्छिन् । एक किसिमको रोग जसलाई ‘साइकोसेक्सुअल डिसअर्डर’ भनिन्छ । ‘यस्तो रोग लागेको पुरुषले सामान्य पुरुषले भन्दा धेरै र अप्राकृतिक यौन सम्बन्ध खोज्छ, त्यस्ता व्यक्तिलाई महिलाको छाया देख्दासमेत यस्तो विचार आउन सक्छ,’ मनोविद रेग्मी भन्छिन् । यस्तो रोगको उपचार छ र उपचार गरे निको हुन्छ । तर कतिलाई आफ्नो रोगबारे थाहा छैन र भए पनि खुलेर आउनसकेका छैनन् ।

अहिलेका घटनाहरू हेर्दा महिलालाई एक्लै देख्ने बित्तिकै सिध्याउनुपर्छ भन्ने खालका आपराधिक मानसिकता भएका पुरुषको संख्या बढेको हो त ? अर्थात रोगी पुरुषको संख्या बढेको हो ? के कुराले उनीहरूलाई यस्तो रोगी बनाएको छ ? खोज्नुपर्ने विषय भएको छ ।

कुरा गर्ने क्रममा घटना पहिला पनि हुन्थे, समाजमै गुपचुप रहन्थे, अहिले बाहिर आउने वा प्रहरीमा रिपोर्ट हुने प्रवृत्ति बढेको हो भन्नेमा तीनैथरी एकमत देखिए । अपराध अनुसन्धान गर्ने अर्थात पीडकसँग प्रत्यक्ष बयान लिने प्रहरीले तथ्याङ्क विगतका वर्षहरूको तुलनामा घटेको भनेको छ । तर अपराधशास्त्री माधव आचार्य भन्छन्, ‘अपराधशास्त्रले बाहिर आएका घटनाको १० गुणाचाहिँ समाजभित्रै रहन्छन् भन्ने मान्यता राख्छ ।’ भनेपछि सम्पूर्ण घटना बाहिर आएको मान्न सक्ने अवस्था छैन ।

प्रहरी भन्छ, ‘पछिल्लो समय बलात्कारमा युवाको संलग्नता बढ्नुको कारण इन्टरनेट हो । बालकदेखि युवा सबैको हातमा निर्वाध पहुँचमा पुगेको मोबाइल यस्ता घटना बढ्नुमा प्रमुख कारण हो । अर्को कारण, गरिबी र अशिक्षा ।’ नेपाल प्रहरीको अपराध महाशाखाका प्रहरी उपरीक्षक नरेन्द्र उप्रेती भन्छन्, ‘बलात्कारमा संलग्न पुरुषहरू धेरैजसो गरिब, अनपढ र कानुनबारे ज्ञान नभएका छन्, जसलाई अपराधपछि आउने परिणामबारे थाहा छैन ।’ यसैगरी मादक पदार्थ सेवन पनि यस्ता घटना हुनुको अर्को प्रमुख कारण रहेको छ । उप्रेतीले सिन्धुलीको एउटा घटनासमेत सुनाए, जहाँ एउटै व्यक्तिले ९ वटासम्म बलात्कार गरेको छ । दण्डहीनता पनि बलात्कार बढ्नुको अर्को प्रमुख कारण हो ।

इन्टरनेटको निर्वाध प्रयोग वृद्धिले यो अपराध बढेको कुरामा अपराधशास्त्री माधव आचार्यको पनि सहमति छ । काठमाडौं स्कुल अफ लमा अपराधशास्त्र र फौजदारी कानुन पढाउँदै आएका प्राध्यापक आचार्यले अर्को कारण पनि आंैल्याए, जुन हो, पुराना सामाजिक मूल्य–मान्यता र संरचना कमजोर हुनु । ‘बालिका र वृद्धामाथि भइरहेको यौन आक्रमण नैतिकताको ह्रास हो,’ उनी भन्छन् ।

अपराधशास्त्री आचार्य भन्छन्, ‘उसलाई जब आफ्नो अपराध लुकाउन सक्छु वा बाहिर प्रकट हुनसक्दैन भन्ने लाग्छ, अनि उसले यस्तो अपराध गर्छ । अवसर देख्ने बित्तिकै ऊभित्रको सुषुप्त अपराध प्रकट हुन्छ । खासगरी घरभित्रै वा हाडनाताभित्र हुने र बालिकालाई चकलेट दिएर हुने बलात्कारमा घटना बाहिर आउँदैन वा लुकाउन सक्छु भन्ने अपराधीको मानसिकता बलियो रहेको हुन्छ ।’

आचार्यका अनुसार अपराधीलाई यस्तो अपराध गर्न बल मिल्ने अर्को बलियो कारण राजनीतिक संक्षरण हो । आफ्नो अपराध लुकाउन पीडकले राजनीतिक संरक्षण लिने र दलहरूले पनि सजिलै उसलाई संरक्षण दिने प्रवृत्तिले अपराधीको मनोबल अकासिएको छ । गुन्डागर्दी र बलात्कार एकअर्कामा अन्तरसम्बन्धित भएको र यी दुबैमा यही राजनीतिक संरक्षण लिने र दिने मानसिकताले काम गरेको उनको ठम्याइ छ ।

निकृष्ट खालका घटना हुनथालेपछि अधिकारकर्मी र राजनीतिक दलमा आबद्ध महिलाले बलात्कारीलाई मृत्युदण्डको कानुन बनाउनुपर्ने आवाज जोडतोडले उठाउन थालेका छन् । तर प्राध्यापक आचार्यको यसमा विमति छ । उनको विचारमा कानुन कमजोर भएर घटना बढेको हुँदै होइन । यही अवस्थामा मृत्युदण्डको कानुन ल्याए पनि अपराध कम हुँदैन । ‘कानुन कमजोर हुन्थ्यो भने बलात्कार कसुरमा सजाय भोगेको मान्छेले फेरि बलात्कार गर्नुपथ्र्यो, तर यस्तो सूचना मकहाँ अहिलेसम्म आएको छैन,’ आचार्य भन्छन् ।

दण्डहीनता र अपराधीलाई तत्काल कारबाही हुन नसक्नु, अपराध अनुसन्धानमा समय लगाएर अपराधीलाई चलखेल गर्न प्रशस्त समय दिइनु नै कमजोरी हो । भएको कानुन अनुसार फाष्ट ट्रयाक कोर्टमार्फत एक महिनाभित्र अपराधीलाई सजाय दिन र यस्तो कामको व्यापक प्रचार–प्रसार गर्नसके घटना न्यूनीकरण हुने उनको विश्वास छ । अर्को उपाय पनि उनी सुझाउँछन्, घुम्ती अदालत । उनका अनुसार घटना जहाँ भएको हो, १५ दिनभित्र अनुसन्धान सक्ने र अदालत गाउँमै गएर फैसला गर्ने हो भने यसले दिने सन्देश र यो कामको प्रभावकारिता अत्यन्तै छिटो देखिन्छ ।

यस्ता घटना हुनुमा देशको राजनीतिक संक्रमणकाललाई देखाएर केही समय अघिसम्म राज्य र प्रहरीको पन्छिने प्रवृत्ति थियो । तर अब राजनीतिक संक्रमणकाल अन्त्य भइसकेको छ । अब पनि बलात्कारजस्तो गम्भीर अपराधमा संलग्नलाई उम्काउन मेलमिलाप गर्ने र संरक्षण दिने हो भने महिलाका लागि यो संक्रमणकालको अन्त्य कहिल्यै हुन सक्दैन ।

त्यसैले यस्तो अपराधमा संलग्न पुरुष रोगी हो भने कारबाहीसँगै उपचार पनि होस् । यस्तो सन्देश दिऊँ कि यस्तो रोग हुन्छ र जसको उपचार सम्भव छ । अनि बलात्कारको घटनामा जतिसक्दो चाँडो पीडितले न्याय पाउने र दोषीलाई कडा कारबाही हुने, कारबाही भएको प्रचार व्यापक गर्ने वातावरण बनाऔं ।

[email protected]

प्रकाशित : चैत्र ३०, २०७४ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?