१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

रहेनन् गाउँ फर्कका अभियन्ता

पहिलो प्रतिनिधिसभाका चार कम्युनिस्ट सांसदमध्येका एक थिए, कमलराज रेग्मी, जो पछि पञ्चायत प्रवेश गरे र दलविहीन उक्त व्यवस्थाको प्रशिक्षण पाठशाला मानिने ‘गाउँ फर्क’ अभियान हाँक्न पुगे ।
हरिबहादुर थापा

काठमाडौँ — पहिलो प्रतिनिधिसभा, २०१६ का जीवित एकाध सांसदमध्येमा पर्थे, कमलराज रेग्मी । बिहीबार बिहानदेखि उनी पनि हामीबीच रहेनन् । पुराना राजनीतिज्ञ रेग्मीको ९२ वर्षको उमेरमा निधन भयो ।

रहेनन् गाउँ फर्कका अभियन्ता

उक्त प्रतिनिधिसभामा कम्युनिस्ट सदस्यहरू ‘सिला’ खोज्नुपर्ने अवस्थामा थिए, अहिलेजस्तो दुई तिहाइ कहाँ पाउनु ! २०१६ असार १६ मा प्रतिनिधिसभाको पहिलो बैठक कांग्रेसले भरिएको थियो । दुई तिहाइ बहुमत ल्याएको उक्त दलका ७४ सांसद थिए । १ सय ९ सदस्यीय प्रतिनिधिसभामा कम्युनिस्ट सांसद भने चार जना मात्रै थिए । तिनै चारमध्येका एक थिए, कमलराज रेग्मी, जो क्रान्तिकारी छविका थिए ।

२०१५ फागुन ७ गते भएको निर्वाचनको परिणाम देशैभरिबाट कांग्रेसका पक्षमा आउँदै थियो । रेग्मीको चुनाव क्षेत्र थियो– ‘पाल्पा–पूर्व ९४–नम्बर’ । त्यही चुनावमा पाल्पा–पश्चिम ९३ नम्बरबाट प्रतिस्पर्धारत कम्युनिस्ट पार्टी महासचिव केशरजंग रायमाझीले निकटतम प्रतिद्वन्द्वीसमेत बन्न नसकी चौथो नम्बरमा मत ल्याए । महासचिवको लज्जास्पद हार र देशभर कम्युनिस्टको मतसंख्या कमजोर देखेपछि रेग्मीले पनि जित्ने आशा मारिसकेका थिए तर भाग्यवश उनी झिनो मतान्तरमा विजयी भए र चौथो कम्युनिस्ट सांसद बन्न पुगे । त्यसो त देशैभरि उम्मेदवारी दिएको कांग्रेसको चुनावी प्रतिस्पर्धा नै कम्युनिस्टसँग थिएन, नेपाल राष्ट्रिय गोरखा परिषद्सँग थियो । ४७ क्षेत्रमा मात्रै चुनाव लडेको कम्युनिस्टसँग कांग्रेसको प्रतिस्पर्धा दस क्षेत्रमा मात्र थियो ।

कम्युनिस्ट दर्शनका प्रशिक्षणकर्ता रेग्मी कांग्रेसका घोर विरोधी थिए । भलै राजनीतिक जीवनको प्रारम्भमा उनी कम्युनिस्ट थिएनन् । जयतु संस्कृत आन्दोलनमा सक्रिय रेग्मीे कांग्रेस नेता बीपी कोइराला र डिल्लीरमण रेग्मीसँगको संगतमा मात्र थिएनन्, उनीहरूबाटै प्रशिक्षित पनि थिए । कोइराला र रेग्मीबीच झगडा चर्किएपछि उनी कांग्रेसबाट बाहिरिए । त्यसपछि कम्युनिस्ट संगठन विस्तारका क्रममा रहेका शैलेन्द्रकुमार उपाध्यायका साथमा पुगे । उनलाई उपाध्यायले बनारसको गल्लीमा कम्युनिस्ट बनाए । सदस्य बन्नुपूर्व उनलाई ‘जात–भात, परम्परा, अन्धविश्वास केही नमान्न’ वचनबद्ध मात्र तुल्याएन् कि वेशभूषा र खानपान शैलीसमेत परिवर्तन गराए । रेग्मीकै शब्दमा, ‘म पतलुुङ र पाइन्ट लगाउँदिनथेँ, रक्सी पिउँदिनथेँ । कम्युनिस्ट बन्न रक्सी पिउनैपर्ने र पतलुङ लगाउनैपर्ने भयो ।’

रेग्मी कम्युनिस्ट भएको एक वर्ष पनि भएको थिएन । २००७ मा प्रजातन्त्र बहालीका निम्ति भएको ‘दिल्ली सम्झौता’ विरुद्ध कम्युनिस्टहरू आन्दोलनमा उत्रिए भने डा. केआई सिंहको सशस्त्र विद्रोह पनि जारी रह्यो । कम्युनिस्टहरूद्वारा त्यही कालमा सिर्जित नारा हो– ‘दिल्ली सम्झौता धोका हो ।’ प्रजातन्त्र बहालीसँगै उत्पन्न विद्रोह साम्य पार्ने क्रममा कम्युनिस्टमाथि प्रतिबन्ध लाग्यो भने केआई सिंह चीन पलायन भए । केही वर्षको अन्तरालपछि राजा महेन्द्रले कम्युनिस्ट प्रतिबन्ध फुकुवा गरे । अनि सिंहलाई स्वदेश फिर्तामात्र गरेनन्् कि प्रधानमन्त्री नै बनाए ।

क्रान्तिकारी शैली र कम्युनिस्ट दर्शनबाट जनतालाई प्रशिक्षित तुल्याएकै कारण रेग्मी सांसद बन्न सफल भएका हुन् । तर, डेढ वर्षकै अन्तरालमा राजा महेन्द्रले २०१७ पुस १ मा ‘कू’ गरे । त्यसको तेस्रो दिन उनलाई पाल्पामा पक्राउ गरी जेल हालियो । स्वास्थ्यस्थिति बिग्रिएपछि २०२१ को उत्तराद्र्धमा उनले राजा महेन्द्रसामु बिन्तीपत्र हाले– ‘बिरामी छु, छुटेर सामान्य नागरिकसरह जीवन बिताउन पाउँm’ । यसरी लगभग पाँच वर्षपछि उनी जेलबाट छुटे ।

जेल मुक्तिपछि रेग्मी केही समय मौन बसे, राजनीति मूल्यांकन गर्दै । त्यस बीचमा उनलाई कम्युनिस्ट बनाउने नेता शैलेन्द्रकुमार उपाध्याय पञ्चायतमा मन्त्री मात्र भएका थिएनन्, राजा महेन्द्रको अति निकटस्थ मानिन्थे । कुनै बेलाका कांग्रेसी सहकर्मी र सहपाठी राजेश्वर देवकोटा पनि प्रभावशाली मन्त्री थिए । अर्कातिर छिन्नभिन्न भइसकेको कम्युनिस्ट पार्टी गुटबन्दीबाट ग्रसित थियो । अनि देवकोटाकै जोडबलमा रेग्मीको पनि पञ्चायत प्रवेश भयो ।

उतिबेला राष्ट्रिय पञ्चायत सदस्य बन्न गाउँ–तहकै वडाध्यक्ष वा सदस्य बन्नुपर्ने प्रावधान थियो । प्रतिनिधिसभाका सांसद भइसकेका रेग्मी पाल्पामा गाउँको वडाध्यक्ष बन्न गए । वडाध्यक्षबाट जिल्ला पञ्चायत सभापति निर्वाचित भए । सभापति भएको १६ दिनमात्र हुँदै थियो, उनी राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित भए, २०२२ साउन ३२ मा । त्यतिबेला जिल्ला पञ्चायत सदस्यबाट राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित हुने ‘अप्रत्यक्ष पद्धति’ थियो ।

रेग्मी जब राष्ट्रिय पञ्चायत पुगे, त्यहाँ उनले कुनै राजनीतिक दर्शन देखेनन् । पञ्चहरू केवल पदीय स्वार्थमा रुमल्लिएको पाए । प्रधानमन्त्रीका रूपमा राज गर्दै थिए, सूर्यबहादुर थापा । रेग्मीले पञ्चायत टिकाउने हो भने प्रशिक्षित, संगठित र अनुशासित कार्यकर्ता चाहिने धारणा थापासामु सुनाए । रेग्मीकै शब्दमा, ‘निर्दल भए पनि पञ्चायतलाई राजनीतिक व्यवस्था भन्ने हो भने त्यहीअनुसार, कार्यकर्ताहरूलाई प्रशिक्षण, मार्गदर्शन, कार्यक्रम दिन सक्नुपर्‍यो । अन्यथा बिनालगामका घोडाहरूले रथ दगुराएको रथझैं यो पञ्चायत व्यवस्था पनि भिरबाट लडेर चकनाचुर हुन बेर छैन ।’

रेग्मीको त्यो आकर्षक अवधारणा राजा महेन्द्रकहाँ पुग्यो । प्रशिक्षित पञ्चायती कार्यकर्ता सिर्जना हुनु महेन्द्रका निम्ति ‘गौरव’को विषय थियो । अनि रेग्मीकै अग्रसरतामा गाउँ फर्क खाका कोरियो । गाउँ–गाउँमा पञ्च प्रशिक्षणका पुस्तकदेखि तिनै पञ्चहरूमार्फत विकास गराउने योजना पनि सुरु भयो । जसलाई पञ्चायत कालमा ‘गाउँ फर्क राष्ट्रिय अभियान’ले चिनिन्थ्यो । पञ्चायती सिद्धान्त गाउँ–गाउँ पुर्‍याएको उक्त अभियान पञ्च उत्पादनको थलो बन्यो । उनकै शब्दमा अभियानले ‘चाउरिँंदै गएको पञ्चायतलाई उत्साह मिल्यो ।’

उक्त दृश्य कांग्रेस र उदारवादी पञ्चहरूलाई समेत पचेको थिएन । त्यही कारण व्यंग्यात्मक रूपमा भन्ने गर्थे, चिनियाँ कम्युनिस्ट नेता ल्यु शाओचीको ‘हाउ टु बी ए गुड कम्युनिस्ट’को नेपाली संस्करण हो, गाउँ फर्क अभियान । त्यो गाउँ तहसम्मै पञ्चायत विरोधीहरू सिध्याउने संकीर्ण संयन्त्र बन्यो । कांग्रेसलाई ‘अराष्ट्रवादी’ दलमा उभ्याउने राजनीतिक हस्तीका रूपमा चिनिए रेग्मी । कांग्रेसलाई भित्तामा पुर्‍याउनुपर्छ भन्ने मान्यतामा अडिग थिए, उनी । त्यही कारण कांग्रेसीहरू रेग्मीलाई मनपराउँदैनथे ।

कांग्रेस–कम्युनिस्टहरूले रेग्मीको पञ्चायत प्रवेशको खरो आलोचना गरे । रेग्मी भने आफ्नो प्रवेशले नै पञ्चायत हिंसात्मकबाट उदार चरित्रतिर मोडिएको जिकिर गरेका छन् । उनको टिप्पणी छ, ‘आँखा चिम्लेर दोष लगाउने र गाली गर्नेहरू जतिसुकै ठूलो स्वरले चिच्याए पनि पञ्चायत विरोधी हुन खोज्ने र हुनसक्ने सांघातिक प्रहारलाई शिथिल र निस्क्रिय बनाउने प्रयास गरिरहन्थेंँ । पछि गएर पञ्चायतमा अनुदार पक्षलाई प्रबल बनाइयो । तर म कहिल्यै कसैको पिच्छलग्गु या अनुयायी भइनँ ।’ (कमलराज रेग्मी, सन्ध्या रेग्मीको ‘बचेरालाई आहार’, २०६८)

आफूले पञ्चायतलाई ‘राजनीतिक व्यवस्था’मा रूपान्तरित गर्नेदेखि नीति, कार्यक्रम, उद्देश्य, आचार र अनुशासनमा ढाल्न समय खर्चिएको रेग्मीको जिकिर थियो । उनका अनुसार, ‘पञ्चायतको आफ्नो राजनीति भनेको दलीय पद्धतिलाई गाली गर्नु र कांग्रेसलाई ‘अ.त.’ (अराष्ट्रिय तत्त्व) भनी अराजनीतिक विरोध गर्नु सिवाय अरू केही थिएन ।’

तर, त्यसरी प्रशिक्षित पञ्च सिर्जित गर्ने राजनीतिक दर्शन नेता रेग्मीलाई पञ्चायतमा खासै उल्लेखनीय पद मिलेन । अझ २०२६ को राष्ट्रिय पञ्चायत चुनावमा पराजित भएपछि उनी निराश थिए । उनलाई गाउँ फर्कको केन्द्रीय सदस्यमै अल्झाइयो, मन्त्रीमा उकालिएन । यद्यपि २०३२ पछि गाउँ फर्कको केन्द्रीय सदस्यको हैसियत मन्त्रीसरह मानिन्थ्यो । पञ्चायती पदका निम्ति ‘टिकटको अनुमोदन गर्ने’ निकायमा गाउँ फर्क परिणत भएपछि शक्तिशाली भएको थियो ।

प्रारम्भमा गाउँ फर्क त्यति विवादित थिएन । यो केवल पञ्चायती सिद्धान्त प्रतिपादन, प्रशिक्षण र पञ्च मूल्यांकनमा मात्र सीमित थियो । २०३२ मा पञ्चायती संविधानमा दोस्रो संशोधनसँगै संवैधानिक मान्यता प्रदान गरी पञ्चायती चुनाव लड्न त्यहीँबाट ‘अनुमोदन’ गराउनुपर्ने प्रावधान राखियो, त्यसपछि राजनीतिक विवादको केन्द्रविन्दु बन्न पुग्यो, यो संस्था । चुनावी प्रतिस्पर्धाले पञ्चहरूबीच फाटो ल्याएको, गुटबन्दी चर्काएको, षडयन्त्र बढाएको निष्कर्ष निकाल्दै गाउँ फर्कले ‘सर्वसम्मति अभियान’ सुरु गर्‍यो ।

त्यसले पञ्चायती राजनीतिभित्र ठूलो हलचल ल्यायो । गाउँ फर्कका पदाधिकारीलाई चित्त नबुझाएसम्म पञ्चायतको कुनै पनि तहमा चुनाव लड्न नपाउने स्थिति बन्यो । अर्कातिर ‘सर्वसम्मत उम्मेदवार अनुमोदन’ पद्धतिले पदीय आकांक्षी पञ्चहरू अत्तालिन पुगे । यहाँसम्म कि राष्ट्रिय पञ्चायतका अध्यक्ष भइसकेका राजेश्वर देवकोटाको उम्मेदवारीसमेत अनुमोदित भएन । कठोर शैलीको गाउँ फर्क नीतिका कारण पञ्चायत कालमा रेग्मी ‘हार्डलाइनर’ मानिन्थे । राजा महेन्द्रले बुटवलमा जग्गा दिन चाहे पनि उनले लिन मानेनन् । फेरि २०३२ ताका नगेन्द्रप्रसाद रिजालले मन्त्रिपरिषद्बाटै निर्णय गराएर सर्लाहीमा ३ बिघा जग्गा उपलब्ध गराउन खोजे, त्यो पनि अस्वीकार गरे ।

गाउँ फर्कमा निरन्तर क्रियाशील राजनीतिक पात्रमध्ये एक थिए, रेग्मी । यसका अध्यक्ष विश्वबन्धु थापाको ‘अस्वाभाविक अवतरण’पछि केन्द्रीय सदस्य र उपाध्यक्षमा अल्झिइरहेका रेग्मीलाई पहिलोचोटि अध्यक्ष बन्ने ढोका खुल्यो, २०३५ कात्तिकमा । थापा, पारिवारिक सम्बन्धका कारण आफ्ना पुराना नेता बीपी कोइरालासँग दसैंमा टीका थाप्न पुगेका थिए । त्यो दृश्य नपचेका पञ्चहरूले उनको चर्को आलोचना गरे । त्यसपछि वीरेन्द्रले उनलाई २०३५ कात्तिक ११ मा राजीनामा दिन लगाए । त्यसपछि अध्यक्षको त्यो कुर्सी रेग्मीलाई मिल्यो ।

कांग्रेस र उदारवादी पञ्चको तारोमा परेको ‘गाउँ फर्क’ २०३६ को जनमत संग्रहसँगै निस्क्रिय हुनपुग्यो । राजनीतिमा अनुचित चकचकी जमाएको गाउँ फर्क अभियान र राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डल खारेज हुनुपर्ने माग कांग्रेस–कम्युनिस्टहरूको थियो । जनमत संग्रह घोषणाको चार दिनपछि २०३६ जेठ १४ मा गाउँ फर्कका सम्पूर्ण पदाधिकारीले राजीनामा दिएसँगै उक्त अभियान निष्क्रिय हुन पुग्यो । कुनै परामर्श नगरी जनमत संग्रह घोषणा भएकामा रेग्मी राजा वीरेन्द्रसँग असन्तुष्ट भए । त्यसपछि उनी दरबारसँग अमिलो मन लगाउँदै बसिरहे । महेन्द्रसँग जस्तो भावनात्मक सम्बन्ध वीरेन्द्रसँग उनको कहिल्यै भएन ।

रेग्मीले कम्युनिस्ट र पञ्चायत दुवैलाई राजनीतिक गुन लगाए तर त्यसको बदलामा २०३६ पछि दरबारबाट कुनै पद मिलेन, बेलाबखत पञ्च भेलामा एक वक्तामा मात्र सीमित गर्नुबाहेक । उनको स्मरणमा, ‘पञ्चायत स्वार्थीको झुन्ड थियो । पञ्चहरू ज्यादै रक्सी खाने । मलाई समेत यति रक्सी खान सिकाए कि भनेरै साध्य छैन । अझ यसो भनौं, कम्युनिस्टले रक्सी चखाए । पञ्चहरूले लत नै बसालिदिए । यतिसम्म कि मेरो पेटको अल्सर बल्झेर अप्रेसन नै गर्नुपर्ने अवस्था आइपर्‍यो ।’ (नेपाल साप्ताहिक, २०६८ चैत २६) जनमत संग्रहपछि उनको दरबारसँग सम्बन्ध पातलिन पुग्यो । बहुदल आएपछि पनि उनी कुनै राजनीतिक संगठनमा देखा परेनन् । उनको राजनीतिक उत्तराद्र्ध पुराना कम्युनिस्ट र इमानदार पञ्चहरूसँगको चिन्तन–मननमै बित्यो ।

प्रकाशित : चैत्र २४, २०७४ ०८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?