कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सधैं किताबसँगै

अस्ट्रेलियामा जन्मेकी क्रिस्टिन स्टोनले विवाह, प्रेम, परिवार र व्यक्तिगत सुखसुविधा त्यागेर नेपालको शिक्षा र बालबालिकाको खुसीका लागि जीवन समर्पण गरेकी थिइन् ।
अनन्त वाग्ले

काठमाडौँ — दशक अघिको एक चिसो बिहान । कथा लेखन कार्यशालामा भाग लिने सिलसिला । काठमाडौंको एक होटलको चौथो तला । एक वृद्धा कुकुर डोर्‍याउँदै आइन् ।

सधैं किताबसँगै

पहिलो नजरमा वृद्धा दुब्ली, रुखी र अनाकर्षक लागिन् । हेर्दै जाँदा मुस्कुराइरहने तिनको मुहारमा अनुभव र विद्वत्ता छचल्किन थाल्यो ।


कालोमा सेतो मिसिएको कुकुर वृद्धाले दिनभर कार्यशाला हलको एक कुनामा राखिन् । बेला–बेला कुकुर भौंभौं गर्थ्यो । बूढी पुलुक्क हेर्थिन् । अनि कुकुर उनको रेस्पोन्स पाउनासाथ चुप लाग्थ्यो । यी वृद्धा रहिछन्, क्रिस्टिन स्टोन ।


अष्ट्रेलियामा जन्मेकी र हङकङमा हुर्केकी यी बेलायती बालाले सन् १९८२ मा नेपाल आएर तीन दशकभन्दा लामो समय बालशिक्षामा काम गरेको थाहा पाउँदा हामीले आश्चर्य मिश्रित लामो सास तानेका थियौं । नेपाली बालबालिकाको शिक्षा र शिक्षक तालिमका क्रममा पाँचथरदेखि डोटीका डाँडाकाँडासम्म चहारेकी स्टोन सरल अनि ज्ञान र अध्ययनशीलताकी प्रतिमूर्ति थिइन् ।


कार्यशालामा उनले कथा कसरी लेख्ने, पाठकले कस्तो कथा मन पराउँछन् जस्ता विषयमा चार दिनसम्म अनेक ज्ञान बाँडिन् । प्लट, सेटिङ, क्यारेक्टर, डेस्क्रिप्सन, डाइलगलगायतका विषयमा अनेक अभ्यास गराइन् । उनले त्यो बेला भनेकी थिइन्, ‘लेखक बन्न चाहने जोकोहीले पहिले कम्तीमा दुई सयवटा असल किताब पढ्नु जरुरी छ ।’ उनको यही सल्लाह आज म सिर्जनात्मक लेखनशालामा सादर उद्धरण गर्ने गर्छु । र मैले बरोबर उद्धरण गर्ने यी आमै मार्च १७ अर्थात् गएको शनिबार संयुक्त अधिराज्यको स्कटल्यान्डमा चिरनिद्रामा परेको खबर छ । मलाई लागिरहेछ, हरदम हातमा किताब नटुटाउने यिनको हातमा चिरनिद्रामा पनि किताब टुटेको नहोला पक्कै ।


क्रिस्टिनलाई जहिले देखेँ, हातमा पाता पल्टेको किताब र किताबले भरिएको बाकसका साथ भेटेँ । शारीरिक रूपमा कमजोर देखिए पनि उनी शिक्षा, सिर्जनात्मक लेखन तथा स्टोरी टेलिङमा बडो फुर्तीसाथ प्रस्तुत हुन्थिन् । गरमागरम बहसमा उत्रिन्थिन् । हाउभाउ, अभिव्यक्ति र गतिमय उनको कथावाचन शिल्प अद्भुत थियो । पाठ्यक्रम विकास केन्द्र, शैक्षिक जनशक्ति विकास केन्द्र लगायत सरकारी शैक्षिक निकाय तथा विभिन्न राष्ट्रिय, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामार्फत उनले शिक्षा, शैक्षिक तालिम, पाठ्यक्रम निर्माण, पाठ्य–पुस्तक तथा पाठ्य सामग्री विकास, बालसाहित्यका पुस्तक लेखन र बाल शिक्षणमार्फत करिब चार दशकसम्म नेपाली समाजलाई पुर्‍याएको योगदान स्तुत्य छ ।


खासगरी बालकथा लेखन कार्यशालामा पोखरा, पाल्पा, नवलपरासी र नेपालगन्जसम्मका उनीसँगका सहयात्रा मेरो सम्झनामा सधैं ताजा रहिरहनेछन् । हरेक नयाँ कुरा क्रियाकलाप गराएरै सिकाउने उनको प्रस्तुति कला र त्यसका लागि गरेको तयारी बेजोड हुन्थ्यो ।


सधैं किताबसँगै हुने यी आमैलाई मैले सोधेको थिएँ, ‘अहिलेसम्म कति किताब पढिसक्नुभयो ?’ चाउरी गाला तन्काउँदै फिस्स हाँसिन् । अनि बाक्लो मुस्कान पोतिएको मुहार चम्काउँदै भनिन्, ‘दस हजार त नाघिसक्यो । पाँच सय जतिको त कथा पनि भन्न सक्छु ।’ लेखकले सबै खाले पुस्तक पढ्नुपर्ने उनको सुझाव थियो । उनले पढेका अधिकांश पुस्तक आख्यान भए पनि इतिहास, विज्ञान र भूगोलका गैरआख्यान पनि प्रशस्तै पढेको उनले बताएकी थिइन् ।


सन् १९४१ मार्च २ मा अस्ट्रेलियामा जन्मेकी स्टोनले भौतिक विज्ञानमा उच्चशिक्षा हासिल गरेपछि १२ वर्षसम्म बेलायतका विभिन्न विद्यालयमा अध्यापन गरेकी थिइन् । युनाइटेड मिसन टु नेपालमार्फत यहाँ आएपछि उनले नेपालको शिक्षामा काम गरेकी हुन् । गोरखाको मकैसिङ मावि र नामजुङ मावि तथा पोखराको गण्डकी बोर्डिङ स्कुलमा स्टोनले एक दशकजति प्रत्यक्ष रूपमा बालबालिकाको शिक्षामा काम गरेकी थिइन् ।
स्टोनका बाबु सेनामा काम गर्थे । दोस्रो विश्वयुद्धका बेला उनलाई सिंगापुरमा बन्दी बनाइयो । उनकी आमालाई पनि पनि बेपर्वाहसँग अस्ट्रेलियाली समुद्रतिर डुंगामा छाडियो । क्रिस्टिन अष्ट्रेलियामै जन्मिन् । युद्ध सकिएपछि बल्ल परिवारको पुनर्मिलन भयो । त्यतिबेला क्रिस्टिन पाँच वर्षकी भइसकेकी थिइन् र बल्ल बाबुलाई भेट्न पाइन् । परिवारको पुनर्मिलन लगत्तै उनलाई साइप्रसको क्रिस्चियन छात्रा विद्यालयमा हालियो ।


युद्धले बिथोलिएको परिवारले घोर गरिबी सामना गर्नुपर्‍यो । साह्रै चिसो मौसममा उनीहरूको घरमा आगो बाल्नका लागि दाउरासमेत थिएन । घरभित्र पानी र झ्यालभरि हिउँ जमेको थियो । पंक्तिकारसँग स्टोनले सुनाएकी थिइन्, ‘अरू बालबालिका सरह म पनि पाँच वर्ष नाघेपछि स्कुल जान थालेँ, तर म लगत्तै बिरामी परेँ । मैले दुई महिनासम्म घरमै आराम गर्नुपर्‍यो ।


स्कुल जान नपाए पनि मेरी आमाले मलाई पुस्तकालयबाट किताब ल्याइदिनुहुन्थ्यो र म दिनको दुईवटा किताब पढी सिध्याउँथेँ ।’ उनलाई एनिड ब्लाइटनको ‘आइल्यान्ड अफ एडभेन्चर’ जस्ता कथा असाध्यै मनपर्थे । भनेकी थिइन्, ‘पढ्दै जाँदा हरेक कथामा म आफै पनि त्यहीँभित्र छु जस्तो लाग्छ ।’


एकपल्ट क्रिस्टिनको स्कुलमा गुरुले गोलो भएर एकअर्काको हात राम्रोसँग समाउन भने, स्टोनले एउटी केटीको हात समातिन् । त्यस केटीका हात असाध्य खस्रा र कडा थिए । त्यसैले स्टोन त्यस केटीका हात छाडेर गोलोको अर्को भागतिर गइन् । पछि गुरुले सोधे, ‘स्टोन, तिमीले त्यो केटीको हात किन नसमातेको ?’ उनी केही बोलिनन् । गुरुले फेरि प्रश्न गरे, ‘के उनका हात खस्रा थिए ?’ उनले स्वीकृति जनाइन् । अनि गुरुले सम्झाए, ‘हेर क्रिस्टिन, उनको परिवार गरिब छ । उनी चिसो पानीमा कपडा धुन्छिन् । त्यसैले उनका हात फुटेका छन् । यही कारणले उनका हात खस्रा र कडा भएका हुन् । अरूप्रति दया देखाऊ ।’


गुरुले भनेका यी शब्द क्रिस्टिनले कहिल्यै बिर्सन सकिनन् । गुरुको कुराले उनको मनमा अंकुराएको त्यही करुणा नेपाली बालबालिकाको हितमा जीवनपर्यन्त लागिरह्यो ।


ललितपुरको सानेपा एरियामा उनलाई साइकलमा कुकुर बोक्ने महिलाका रूपमा चिन्छन् । क्रिस्टिनले शिक्षासेवी, शिक्षक, पाठ्यक्रम विशेषज्ञ र बालसाहित्य लेखकका रूपमा नेपालका लागि धेरै गुन लगाएकी छन् । उनले विना पारिश्रमिक यो सबै काम स्वयम्सेवी भएर गरेकी थिइन् । थुप्रै पाण्डुलिपि विभिन्न प्रकाशक तथा पाठ्यक्रम विकास केन्द्रमा दिए पनि पारिश्रमिक नपाएको र कतिपय आफ्ना रचना अरूका नाममा समेत प्रकाशित भएको उनको गुनासो थियो । तर फकिरजस्ती यी आमालाई जसले जता प्रयोग गरोस्, निस्काम कर्मयोगी थिइन् ।


उनी सधैंजसो पुरानो साइकल, चप्पल र टिसर्टमा भेटिन्थिन् । कुनै संस्था या स्कुलले निशुल्क उपलब्ध गराएको सामान्य र किताबै–बिताबले भरिएको कोठामा बस्थिन् । अनि निशुल्क तालिम, लेखन र कन्सल्टेन्सी गर्थिन् । किताब र ओखती किन्न पैसाको समस्या परिरहने उनी गुनासो गर्थिन् ।


उनले विवाह, प्रेम, परिवार र व्यक्तिगत सुखसुविधाका कुरा त्यागेर नेपालको शिक्षा र बालबालिकाको खुसीका लागि जीवन समर्पण गरिन् । नेपालका अलावा उनले दक्षिण अमेरिका र दक्षिण अफ्रिकाको बीचमा पर्ने अकुना टापुमा पनि विपन्न बालबालिकालाई पढाइन् । केही वर्ष उनले इथियोपियामा पनि शिक्षाको काम गरेकी थिइन् ।


क्रिस्टिन स्टोनका टोमी टेम्पो, शृङखलाबद्ध कथा, बिर्खे बाघ, गोरखाको गोपाल, तुइनजस्ता बालकथाका पुस्तक नेपाली बालबालिकामाझ लोकप्रिय छन् । यसका साथै पाठ्यक्रम विकास केन्द्र तथा विभिन्न निजी प्रकाशनमार्फत प्रकाशित उनले लेखेका अंग्रेजी, विज्ञान तथा सामाजिक शिक्षाका पाठ्य–पुस्तक आज पनि हजारौं नेपाली बालबालिकाले पढिरहेका छन् । नेपाल र नेपाली बालबालिकाको शिक्षामा जीवन समर्पण गरेकी बेलायती आमैलाई शब्द श्रद्धा ! नेपालले तिमीलाई सम्झिरहनेछ ।

प्रकाशित : चैत्र १०, २०७४ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?