१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

आर्थिक समृद्धिका अड्चन

अबको गन्तव्य आर्थिक समृद्धि नै भएको हुँदा यसका लागि आउने अड्चनहरू हटाउने प्रयास सबैले गर्नुपर्छ ।

काठमाडौँ — आर्थिक समृद्धिप्रति जनचासो बढेको छ । राजनीतिक दलका नेताहरूले पनि आर्थिक समृद्धिलाई प्राथमिकता दिएको पाइन्छ । यसका लागि के–के गर्नुपर्छ भन्ने विषयमा बहस पनि भइरहेका छन् ।

आर्थिक समृद्धिका अड्चन

यसैको लागि सरकारले आवधिक योजना पनि बनाउने गरेको छ । समृद्धिलाई अगाडि बढाउन भनेर नै संघीयता अनुरुप ३ तहको सरकारको व्यवस्था हुँदैछ । ७५३ वटा स्थानीय तह, ७ वटा प्रदेश र केन्द्रका लागि निर्वाचित जनप्रतिनिधिहरू र तिनीहरूबाट बन्ने सरकारले आर्थिक समृद्धिलाई द्रुतगतिमा अघि बढाउने जनअपेक्षा रहेको छ । राजनीतिक परिवर्तनले आर्थिक समृद्धि हुने भए अब सायद थप राजनीतिक परिवर्तन गर्नुपर्ने ठाउँ देखिँदैन ।

आर्थिक समृद्धिको बुझाइ फरक–फरक हुनसक्छ । सामान्यतया, देशका सबै मानिसले सहज र उच्च स्तरको जीवनस्तर हासिल गर्नसक्ने अवस्थालाई आर्थिक समृद्धि भन्न सकिन्छ । यसका लागि मानिसहरूले सहजै रोजगारी पाई पर्याप्त आम्दानी गरेर सुरक्षित रूपमा गुणात्मक जीवन जिउन पाउने अवस्था हुनुपर्छ । सहज ढंगले सरकारी सेवा र शिक्षा, स्वास्थ्य, खानेपानी तथा भौतिक पूर्वाधारजस्ता आधारभूत आवश्यकताका कुरा सर्वसुलभ हुनुपर्छ । आर्थिक समृद्धिले भौतिक विकासमात्र होइन, भेदभावरहित सामाजिक मेलमिलाप, सहयोग,

सद्भाव र समान अवसरलाई पनि इंगित गर्छ । यस किसिमको आर्थिक समृद्धि हासिल गर्न नेपालको सन्दर्भमा थुप्रै अड्चन तथा तगाराहरू रहेका छन्, जसलाई नहटाई आर्थिक समृद्धि सहजै हासिल हुनसक्ने देखिँदैन । यस्ता तगाराहरू पन्छाउन अथवा हटाउन सकियो भनेमात्र समृद्ध र सम्मुन्नत नेपाल हासिल गर्न सकिनेछ । यहाँ नेपालमा विद्यमान समृद्धिका केही

अड्चनलाई उजागर गरिएको छ, जसलाई सम्बोधन नगरिकन समृद्धिको यात्रा अघि बढ्न कठिन देखिन्छ ।

पहिलो, प्रगतिशील मनोवृत्तिको अभाव । समृद्धि एउटा सामुहिक प्रयास हो । सम्पूर्ण सरकारी संयन्त्र र निजी क्षेत्रका विभिन्न सरोकारवालामा आर्थिक समृद्धिको सामुहिक र साझा लक्ष्य हुनुपर्छ । तर नेपालमा सरकारी निकायहरूबीच नै आर्थिक समृद्धिको सवालमा मतैक्यता छैन, अथवा साझा लक्ष्य छैन । कतिपय अवस्थामा समन्वयका साथै प्रतिबद्धता पनि छैन । दलहरूले आर्थिक समृद्धिको कुरा गरे पनि विपक्ष दलले गरेको कुरा स्वीकार्न नसक्ने र आर्थिक समृद्धिको कार्यमा समर्थन र सहयोग नगर्ने प्रवृत्ति रहेको छ । सरकारको विपक्षमा रहँदा समृद्धिका काममा भाँजो हाल्नुलाई सफलता ठानिन्छ । धेरै तलसम्म राजनीतिक रंगले विकासका काम हेर्ने प्रवृत्तिले विकासका काम गोलचक्करमा पर्ने गरेका छन् । कतिपय अवस्थामा संवैधानिक निकायहरूबाट पनि उल्झन सिर्जना हुने गर्छन् । कतिपय अवस्थामा जुँगाका लडाइँ पनि हुने गरेको देखिन्छ । नेपालमा दीर्घकालीन र प्रगतिशीलभन्दा कामचलाउ प्रवृत्ति बढी हावी हुने गरेको छ ।

दोस्रो, व्याप्त भ्रष्टाचारी प्रवृत्ति । जनसेवा हुने सरकारी कार्यालयहरूमा प्राय: दलालहरूको विगविगी रहेको हुन्छ । घुस नलिई गर्नुपर्ने काम पनि सहज ढंगले हुँदैन । उपभोगवादले समाज ग्रसित हुँदै गएकोले गैरकानुनी ढंगले अर्थ आर्जनमा केही कर्मचारी लगायतका पदाधिकारीहरू लागेको पाइन्छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्राय: दैनिकजसो रंगेहात समात्दा पनि भ्रष्टाचारी प्रवृत्ति रोकिएको देखिँदैन । भ्रष्टाचारी प्रवृत्तिले गर्दा नै विकासका आयोजनाहरूको गुणस्तरीयता कायम हुनसकेको छैन भने समयमा सम्पन्न हुँदैन । ट्रान्सपरेन्सी इन्टरनेसनलले निकाल्ने भ्रष्टाचारको अवधारणा सूचकाङ्कमा नेपालको स्थान १७६ वटा देशहरूमध्ये १३१ स्थानमा रहेको छ ।

तेस्रो, खस्कँदो सामाजिक विश्वास । अधिकांश मानिसमा नेपालमा के हुन्छ र ? भन्ने प्रवृत्तिले गाँजेको छ । यसले गर्दा यहाँ के गर्ने भन्नेतर्फ सोच्ने र यसका लागि संघर्ष गर्नेभन्दा पनि विदेश पलायन हुन सहज ठान्ने प्रवृत्ति सर्वत्र विद्यमान छ । नेपालमा लाहुरे हुने धेरै पहिलेदेखिको प्रवृत्ति हो । अर्कोतर्फ प्राय: सबै सरकारी संयन्त्र र निकायहरूप्रति सर्वसाधारणको विश्वास कमजोर रहेको छ । झन्डै–झन्डै जसको लाठी उसैको भैँसी भन्नेजस्तो अवस्था छ । कमजोर र सर्वसाधारणहरू अझै सशक्तीकरण हुन बाँकी छन् ।

चौथो, जिम्मेवारीपनको अभाव । आर्थिक समृद्धिका लागि सबैजनाले आआफ्नो क्षेत्रबाट जिम्मेवारी लिनुपर्छ । तर यसको सशक्त अभाव छ । जिम्मेवारी निर्वाह गर्ने हो र सरकारी कर्मचारीहरूको उत्पादकत्व उच्च हुने थियो भने सरकारी सेवा प्रवाह प्रभावकारी हुने थियो । साथै निर्माण व्यवसायीहरू र त्यससँंग सम्बन्धित सरकारी निकायहरूले आफ्नो जिम्मेवारी निर्वाह गर्ने हो भने भौतिक निर्माणका काम अपूर्ण र अधकल्चो रहने थिएनन् । तर त्यसो हुनसकेको देखिँदैन ।

पाँचौं, नकारात्मक सोचको बाहुल्यता । नेपाली समाजमा धेरै हदसम्म नकारात्मक सोचको प्रबलता रहेको देखिन्छ । सञ्चार माध्यमहरूले पनि नकारात्मक समाचारहरूलाई बढी जोड दिने गरेको पाइन्छ । श्रम र उद्यमीहरूको सफलताका समाचार कमै बन्छन् । तर नकारात्मक समाचारहरूले प्रमुख पृष्ठ ओगट्ने गर्छन् । यसले गर्दा मानिसको सोच नै नकारात्मक गराउन सहयोग पुग्छ ।

छैठांै, कमजोर व्यवस्थापकीय क्षमता । नेपालीहरूको कमजोर व्यवस्थापकीय क्षमताले गर्दा धेरैजसो कार्य अस्तव्यस्त रहने गरेको देखिन्छ । अझ सरकारी कार्यालयहरू तथा कार्यको व्यवस्थापन ज्यादै कमजोर रहने गरेको पाइन्छ । श्रम, वित्त, भौतिक साधन तथा समयको व्यवस्थापन प्रभावकारी ढंगबाट हुनुपर्ने हो । व्यवस्थापकीय ज्ञानको अभाव वा माथि उल्लेख गरेझैं जिम्मेवारीपनको अभाव र यथास्थितिवादीे सोचले गर्दा पनि कमजोर व्यवस्थापन हुने गरेको देखिन्छ ।

सातौँ, शिक्षा र ज्ञानको अभाव । नेपालमा अझै एक तिहाइभन्दा बढी जनसंख्या निराक्षर छन् । शिक्षा र ज्ञानको अभावले गर्दा यथेष्ठ मात्रामा प्रविधिको प्रयोग, व्यावसायिकता र उद्यमशीलताको विकास हुनसकेको छैन । यसले गर्दा निर्वाहमुखी कृषि तथा अन्य व्यवसाय सञ्चालन हुने गरेको पाइन्छ । निराक्षरहरू विभिन्न ढंगले ठगिने गरेका उदाहरण पनि भेटिन्छन् ।

आठौँ, श्रमको अवहेलना । नेपालमा परम्परागत रूपमा श्रमलाई हेला गर्ने प्रवृत्ति रहेको छ । श्रमको सम्मान कमै हुने गर्छ । यसले गर्दा नेपाली समाजमा मानिसहरू श्रममूलक काम गर्न हिच्किचाउँछन् । तर त्यही काम विदेशमा गएर गर्न तयार हुन्छन् ।

नवौँ, सामाजिक कुरीतिको प्रचलन । नेपाली समाजमा अझै अन्धविश्वासमा आधारित भएर विभिन्न खालका सामाजिक कुरीति विद्यमान छन् । उदाहरणको रूपमा बोक्सी र छाउपडी प्रथालाई लिन सकिन्छ । यसले केही मानिस खासगरी महिलाहरू बढी प्रताडित रहेका छन् । कर्ममा भन्दा भाग्यमा बढी विश्वास गर्ने प्रचलन छ ।

दसौं, सम्भ्रान्त संस्कृतिप्रति आकर्षण । नेपालीहरू विलासिताका वस्तुहरू, त्यसमा पनि विदेशी उत्पादनको उपभोगप्रति बढी मोह रहेको पाइन्छ । विदेशी वस्तुहरू उपभोग गर्दा सामाजिक सम्मान बढ्ने विश्वास गरिन्छ । यसले गर्दा नेपालभित्र उत्पादन गर्न सकिने वस्तुहरूभन्दा पनि त्यस्तै आयातित वस्तुहरूको माग बढी हुने गरेको छ, जुन कुरा नेपालको वर्षेनि बढ्दो आयातमा झल्किन्छ । बढ्दो आयातले गर्दा नेपालभित्र रोजगारी सिर्जना हुनसकेको छैन ।

एघारौँ, विदेश मोह । विदेशी वस्तुको उपभोगमात्र होइन, नेपालीहरू विदेशप्रति बढी नै लालायित हुने गर्छन् । नेतादेखि कर्मचारीसम्म विदेश भ्रमणमा औधि रुचि राख्छन् । अहिले त धेरै नेपाली विदेश भ्रमणमा पनि जानथालेका छन् । अध्ययन र स्वास्थ्य उपचारमा पनि विदेशिनेको हिस्सा उच्च र बढ्दो छ । यस किसिमको प्रवृत्तिले नेपालको भुक्तान सन्तुलनमा नकारात्मक असर पार्छ ।

बाह्रांै, उद्यमशील सोच र वातावरणको अभाव । एकातर्फ शिक्षा र ज्ञानको अभावले उद्यमशीलताको अभाव छ । अर्कोतर्फ यसका लागि वातावरणको पनि अभाव रहेको छ । उद्यमशीलताको सुरुवाती चरण जोखिमपूर्ण हुन्छ, जसलाई सम्बोधन गर्ने अथवा सहयोग गर्ने संयन्त्रको अभाव छ । त्यसैले परम्परागत काम, खासगरी सरकारी जागिर गर्ने, त्यो नभए वैदेशिक रोजगारी जाने आम प्रवृत्ति नेपालीहरूमा रहेको छ । यसले गर्दा ठूलठूला उद्योगहरू स्थापना हुन सकिरहेका छैनन् । आर्थिक समृद्धिका लागि माथि उल्लेख गरिएका केही महत्त्वपूर्ण अड्चन निराकरणतर्फ सामुहिक प्रयास गरी सामाजिक जागरण तथा रूपान्तरण ल्याउनुपर्ने आवश्यकता छ । अबको गन्तव्य आर्थिक समृद्धि नै भएको हुँदा यसका लागि आउने अड्चनहरू हटाउने प्रयास सबैले गर्नुपर्छ ।

श्रेष्ठ नेपाल राष्ट्र बैंक, अनुसन्धान विभागका निर्देशक हुन् । लेखमा उल्लेखित विचार निजी हुन् ।

प्रकाशित : माघ १८, २०७४ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?