३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

सहर, राजधानी र छिर्केदाउ

समय रेखा
अभि सुवेदी

काठमाडौँ — केही समयदेखि यता नेपाली भाषामा ध्वनित भइआएको शब्द राजधानी हो । राजधानी भनिने नेपाल मण्डलका रूपलाई स्थानीय शक्ति र आफ्ना प्रदेशका अनेकौं आकारमा समानान्तर हेरियो । यो एउटा स्वाभाविक, किञ्चित नधन्द्याइएको विषय भएर आयो, जसले राजनीतिक दल, पहिचानजनित् विविधता र पर्खाइका बाँधहरू हल्लायो ।

सहर, राजधानी र छिर्केदाउ

चुनाव जितेका र हारेका राजनीतिज्ञ र नेताहरू केन्द्रीय रचनामा अत्यन्त विभाजित भए पनि राजधानी भन्ने विषयमा एक भए । त्यसो त ती राजधानी काठमाडौं वा ‘नेपाल’का बहुल अवतार होइनन् । तर प्रदेशका राजधानी भएको कारणले गर्दा ती ससाना भौगोलिक शक्ति, इतिहास र सपनाका थलो मानिने हुन् । नेपालमा इतिहास र वर्तमानको सेतु मानेर धेरै चर्चामा आयो, ‘राजधानी’ भन्ने शब्द । आन्दोलन भएका खबर आए । तेह्रथुम, म्याङ्लुङमा ९० नाघेकी भाउजुलाई हेर्न धनकुटालाई राजधानी बनाउन संघर्षरतहरूले यातायात बन्द गरेकाले जान सकिन । डडेलधुरा, दाङ उपत्यका, वीरगन्ज, भक्तपुर आदि अनेकौं ठाउँमा राजधानी शब्द ध्वनित भइरह्यो ।


सर्वदलीय संघर्ष समिति बने । तोडफोड भए । राजधानीको संवेगसंँगै जोडिने अर्को कुरा यस्तो हो– नेपालको नयाँ संविधान अनुसार चुनाव भयो, अनि त्यसमा जितेको दलले सरकार बनाउनुपर्ने साधारण नियम हो । तर त्यसमा शासनमा रहेको सफा प्रतिस्पर्धा गर्नुपर्ने दलको सरकारले असहयोगी आचरण गरेको देखियो ।


नेपाल अध्ययनका पाठहरू भेला पार्ने क्रममा हामीले अनेकौं आलेखहरूका अध्ययन गर्‍यौं । त्यसमा इतिहास, संस्कृति, कला, साहित्य, आर्थिक इतिहास अनि भाषा थिए । हामीले पछि छलफल गरेर निकै कुरा बुझ्ने र बुझाउने कर्म गर्‍यौं । हामीले ‘इन्टरडिसिप्लिनरी’ अथवा अन्तरविषयक विषयका पाठ्यहरू बनायौं । इतिहास र राजनीति साथै राखेर हेर्ने विषय हुन् । साधारण भाषामा भन्दैछौं । नेपालको राजनीतिमा ‘डिक्टेटर’ र प्रजातन्त्रमुखीको मूल चिन्ता एउटै देखियो । त्यो हो, प्रजातन्त्र वा लोकतन्त्र, जे भन्नुहोस् । त्यो कब्जा गर्ने र त्यसलाई जोगाउने दुबैथरी सधैं त्यसैको चिन्तामा लागे । कब्जा गर्नेमा राजाहरू, तिनका भारदार र ठालु परे । जोगाउनेमा जनताका नेता प्रजातन्त्रवादी, समाजवादी जो थिए र छन्, ती परे । यी दुईथरी चिन्ता एक–अर्कामाथि खप्टिएर बसे । यो खप्टिने कुरालाई फ्रान्सेली सिद्धान्तवादीहरूले भवन निर्माण कलाको शब्द ‘इम्ब्रिकेसन’बाट बुझाए, सजिलोको निम्ति । हामीले पनि त्यतैबाट हेर्‍यौं । हेर्दा देखियो कि खोज्नेमा जनताका राजनीतिलाई शक्तिले दमन गर्ने र जनता र तिनको लोकतन्त्र र मुक्तिको निम्ति मरिहेर्नेहरूका चिन्ता खप्टिएर बसिआएका रहेछन्, नेपाली राजनीतिमा । प्रजातन्त्रवादी र एकतन्त्रवादी दुबैले त्यो ‘इम्ब्रिकेसन’ वा खप्टिने सिद्धान्त बुझे । एक–अर्कालाई नमानेरै मानेर आए । केही पर्‍यो भने त्यो अर्कोको नाम लिइहाल्ने बानी भयो ।


राजनीतिमा वा केही घटनामा कुनै कुरा व्याख्या गर्न सकिएन भने त्यो ‘इम्ब्रिकेसन’को अर्को पाटोलाई देखाएर ‘माथि’ वा ‘भित्र’ भन्ने बानी बस्यो । त्यो भनेको नारायणहिटी राजदरबार र त्यहाँका भारदारहरू भन्ने बुझिन्थ्यो । उता नारायणहिटी वा त्यो ‘माथि’ले लोकतन्त्रवादीहरूलाई अराष्ट्रिय तत्त्व वा ठूला छिमेकी र अरूका इसारामा काम गर्नेहरू भन्ने भाष्य बनायो । लोकतन्त्रवादीहरूले त्यो ‘माथि’लाई एउटा शक्तिकेन्द्र मानिबसे । सबैलाई त्यो ‘माथि’ एउटा राजनीतिक रहस्यवाद भएर बस्यो । एकथरी त्यसलाई समाप्त गर्ने भनेर लागे । अर्कोथरी त्यसलाई मानेर वा प्रयोग गरेर बसे । अझ अर्कोथरी दोहोरो मनस्थिति लिएर बसे, जसले त्यसको विरोध पनि गरे, तर त्यो ‘माथि’ आवश्यक छ पनि भनिबसे । तिनीहरू यसको व्यवस्थामा सुधार अलेली भएकै हो भनेर ‘माथि’ले निकालेको संरचनामा सहभागी नै पनि भए । ठूला उथलपुथल भए । क्रान्ति भए । जुलुस, नारा र बन्द भए । राजतन्त्र समाप्त भयो । जेठ २९, २०६५ को एउटा दोपहरमा राजा ज्ञानेन्द्रले नारायणहिटीमा एउटा हारहुरे प्रेस सम्मेलन गरे । मैले त्यो परिवेश र मुड देखेंँ । ‘इम्ब्रिकेसन’को अर्को शक्तिका ती अन्तिम मानिसको कुनै रहस्यवाद देखिएन । ‘माथि’ वा ‘भित्र’को त्यो एक अखण्ड अवसान थियो । त्यसपछिको नाटक अर्कै भयो । राजनीतिक मुख्य दलहरू आफैं त्यो ‘इम्ब्रिकेसन’को रचना गर्न लागे । तिनले दुई वा तीन ठूला दलका यस्ता रचना बनाए, माथि र भित्रका नयाँ शब्द निकाले ।


चीन वा भारत अब त्यो ‘माथि’ वा ‘भित्र’का अवतार भए । तिनका राजदूतावासहरूलाई त्यस्तो स्थानीय अर्थ बोकेका अड्डा मानेर कुरा निकाल्न थालियो । तर दलहरूले मूल कमजोरी धन्द्याउन सकेनन् । तिनीहरूले बीपी कोइरालादेखि यताको र उनको अनुभव सहितको ज्ञान आफ्नो बनाउन सकेनन् । बीपीदेखि पछिका चुनावहरूमा बहुमत ल्याएको दलले सरकार बनाउन नसक्नुमा एउटा भूतको सवार लागेको थियो । यो भूत वा ‘स्पेक्टर’ पनि एउटा युरोपेली नै सिद्धान्त हो । प्रस्ट कारण थाहा हुन नसक्नु, मुख्य समस्याको निराकरण हुन नसक्नु, तर त्यो एउटा मनोग्रन्थिले खेदिरहनु भनेको त्यही भूत–चेतना हो । नेपाली राजनीतिक दलहरू त्यही भूतले आक्रान्त भए । बहुमत ल्याएको दललाई सरकार बनाउन नदिने पहिलेको ‘इम्ब्रिकेसन’को प्रणालीमा ‘भित्र’ अथवा ‘माथि’को शक्ति थियो । पछिका बहुमत पाएका दलहरूले सरकार बनाउन किन सकेनन् ? उत्तरमा त्यही भूत–चेतनाको खेल देखियो । अहिले नै भनौं, एउटा दल वा समूहको दलले बहुमत ल्यायो, तर त्यसले सरकार बनाउन किन सकेको छैन ? त्यसमा दलहरूले नियम–कानुन सबै छलफल गरेर पारित गरेर व्यवस्था गरेको भए सायद समस्या पर्ने थिएन । तर एउटा कुरा हिजो जुन प्रेतले नेपालको राजनीतिलाई खेदिरहन्थ्यो, त्यसले अहिले पनि खेदिरहेको छ । त्यो हो, दलहरूले लोकतन्त्रको पद्धतिलाई मद्दत हुनेगरी एकआपसको सम्मान गर्ने, राम्रो कुराको समीक्षा गर्ने, जित्ने दललाई शक्ति हस्तान्तरण गर्न मद्दत गर्ने र प्रतिपक्षको संस्कार बनाउने, एकअर्काको आलोचना गर्दा पिनास नहुने भाषा प्रयोग गर्ने जस्ता कर्म गरेनन् ।


अहिलेको कामचलाउ सरकारले संघीय व्यवस्थालाई खर्च चाहिने बेलामा मन्त्रालय र विज्ञहरूलाई पनि नसोधी भयानक खर्चिला योजनाहरू क्याबिनेटबाट पास गरिबसेको मन्त्रालयकै कर्मचारीले भनेको देख्दा नेपालको राजनीतिलाई भूतले छोडिसकेको छैन र कहीं ‘माथि’ र ‘भित्र’का भूतहरू अझै सक्रिय छन् कि जस्तो पनि लाग्न थालेको छ । त्यसले खाने लोकतन्त्र नै हो । प्रेतको अर्को रूप भनेको नजिर हो, गलत नजिर स्थापना गर्नु त्यही ‘स्पेक्ट्रालिटी’ वा भूतग्रन्थिले काम गर्नु हो । यस्ता नजिरबाट भोलि लोकतन्त्र फँस्ने र स्वस्थ प्रतिपक्षी इतिहासमा प्रभावहीन भूत हुनसक्ने अवस्था देखिंँदैछ ।


भनिसक्यौं, नेपाल देशमा सधैं सबैले प्रयोग गर्ने एकल शब्द राजधानी हो । सबैतिरको ध्यान खिच्ने अनि एकछत्र राजधानी मानिएको काठमाडौंमा यो देशका मानिसको चेतना एकाएक बहुल राजधानीका चेतनामा गुञ्जिएको सुनिनु संघीयताको पहिलो सार्थक खलबल हो । पहिले काठमाडौंलाई नेपाल भन्थे । म लिम्बुवानमा हुर्केको मानिस तेह्रथुम, धनकुटा, चैनपुर, आठराई, पांँचथर सबैतिर काठमाडौँलाई नेपाल भनेको सुन्थेंँ । मलाई आमाले सुनाउनुभएको नेपाल शब्द शक्ति, पिताजीले धेरै हप्ता लाएर पुगेको सहर, राणाजीहरूकोमा गएर कराउने थलोको रूपमा चिनिएको नागर शक्तिकेन्द्र थियो । यहींबाट सबै कुरा नि:सृत हुन्थे । मेरा ‘जन्तरे दाज’ कवि पहलमान सुवेदीले १९९६ सालमा आएर काठमाडौँ उर्फ ‘नेपाल’ राजधानीबारे गरेको वर्णन सुनेर हुर्किएको हुँ । उनले कविता बनाए– ‘सूक्ष्म, सूक्ष्म भन्छु मता सवाइमा यस्तो/ बयान गरी सकिँंदैन यो नेपाल देशको/ भादगाउँ, पाटन, इन्द्रचोक ठूला सहर छन्/ सहर बीचमा पुग्दाखेरि सुद्धिबुद्धि भागो/ ठूला काली समुद्रमा डुबे जस्तो लागो/ कहीं देख्छु देवगण, कहीं देख्छु बाघझैं/ त्यतिखेर कुदेछु म कुहिराको कागझैं/ हिँंड्दै गएंँ बायाँ लागी अघिपछि सर्दै/ साइकल कुद्छन् वरपर चिटिङ टिङटिङ गर्दै ।’


राजधानी चाखलाग्दो र लामो लेखको विषय हो । यो उठेको हुनाले मलाई मनपर्ने र प्रेरणा दिने बीसौं शताब्दीको पूर्वाद्र्धका अमेरिकी चिन्तक लुइस मनफोर्डले सहरका संस्कृति विषयमा भनेका विचारहरूको सार खिचेर लेख अन्त्य गर्न चाहन्छु । मनफोर्ड भन्छन्, ‘सहर भनेको समाज र सम्प्रदायको शक्ति र संस्कृतिको रचना हो । यो थलोमा जीवनका बहुल किरणहरू झरेर एउटा आकार लिन्छन् । यसमा मन्दिर, बजार, न्यायालय, एकेडेमी र ज्ञान दिने थलाहरू हुन्छन् । एक साधारण गाउँले कवि पहलमानले मनफोर्डले भनेको कुरा त्यही बेला यहाँ देखेको चाखलाग्दो छ । सहरमा मानिसका अनुभव विम्ब, चलन र पद्धतिहरूमा देखिन्छन् । अहिले संघीय रचनाको मूल स्पन्दन लाखौं किरणहरूले, लाखौं पहिचानहरूले आकार लिउन् र तिनले आफ्ना थलोहरू बनाउन् भन्ने हो । यो कुरालाई प्रेम र काव्य चेतनाले बुझ्नुपर्छ, आक्रोश, वैरभाव र घृणाले होइन । लोकतन्त्र रक्षा गर्न छिर्केदाउ मात्र लाउने विचार भएकाहरूले सक्तैनन् । अहिले संघीयताले आकार लिन थालेको देख्दा थाहा हँुंदैछ, यो नेपाल देश एउटा सुन्दर काव्य रहेछ । यो कविता र राजनीतिको सम्बन्ध नबुझ्ने यो देशका नेता हुन सक्दैनन् ।

प्रकाशित : माघ १५, २०७४ ०७:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?