१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

हामी बदलिन्छौं, कांग्रेस बदल्छौं

प्रवक्ता बन्नुअघि म जे धारणा आवेगमुक्त शैलीमा जसरी राख्दै आएको थिएँ, प्रवक्ता बनेपछि पनि तिनै धारणा र शैलीमा प्रतिबद्ध छु । 

काठमाडौँ — नेपाली कांग्रेस अब कसरी अघि बढ्छ ? केन्द्रीय कार्यसमितिको बहुप्रतिक्षित बैठकतर्फ सबैको नजर केन्द्रित छ, यसबेला । पराजयको गम्भीर समीक्षा, रूपान्तरणको अभियान, महासमिति या विशेष महाधिवेशन जस्ता थुप्रै विषयमा चासो र जिज्ञासा सर्वत्र छ ।

हामी बदलिन्छौं, कांग्रेस बदल्छौं

मेरा प्रस्तुति ‘व्यक्तिगत धारणा र पार्टी प्रवक्ताको अभिव्यक्ति सन्तुलन’का बीचबाट हुनु विलकुल स्वाभाविक हुन्छ नै, तर म निश्चिन्त ढंगले सुरुवातमै प्रस्ट्याउन चाहन्छु, प्रवक्ता बन्नुअघि म जे धारणा आवेगमुक्त शैलीमा जसरी राख्दै आएको थिएँ, प्रवक्ता बनेपछि पनि तिनै धारणा र शैलीमा प्रतिबद्ध छु । म जान्दछु, व्यक्तिको जिम्मेवारी बदलिँदैमा ‘घटनाको प्रकृति मुचुल्का’ या समयको विश्लेषण बदिलँदैन । तर मलाई राम्रोसँग हेक्का छ, पार्टी प्रवक्ताले भिन्न–भिन्न मत–अभिमतहरूलाई पनि आफ्नो प्रस्तुतिमा समाहित गर्नैपर्छ । किनकि ऊ स्वयं न उसको हो न कसैको हो, ऊ केवल पार्टीको हो र यस अर्थमा उसले साझा अभिमतको प्रस्तुति र खोजी पनि गर्नुपर्छ ।

कुनै पनि पार्टीको प्रवक्ताको मूल दायित्व पार्टीको भान्सामा पाकेका सामग्री सार्वजनिक रूपमा सुलभ र सरलतापूर्वक पस्किने हो । नुन धेरै भएको छ या चिनी थोरै लागेको छ या पकवान पूर्ण स्वादिष्ट छ या छैन, यसको मूल श्रेय वा दोष निर्माताहरूकै हुन्छ । तर प्रवक्ता मात्र नभई केन्द्रीय सदस्य पनि रहेका नाताले दोषबाट सरक्क पन्छिन मिल्दै मिल्दैन । म प्रस्ट छु, पार्टीमा रूपान्तरण गर्दै आधुनिक कांग्रेस निर्माण गर्ने अभियान श्रीगणेश भइसकेको छ, क्रमश: यो पार्टीको मूलबाटो बन्नुपर्छ र बन्नेछ ।


मनोवैज्ञानिक दृढताको चरण

भूकम्पमा परेको घरगाउँको पहिलो प्राथमिकता उद्धारको हुन्छ । प्राकृतिक भूकम्प आए मानवीय उद्धारको, राजनीतिक भूकम्प आए मनोवैज्ञानिक उद्धारको । अत: मेरो बुझाइमा कांग्रेस पराजयपछिको सुरुवाती २ महिना ‘हामी बदलिन्छौं, कांग्रेस बदल्छौं’ भन्ने मनोवैज्ञानिक सन्देश सम्प्रेषण गर्ने र तदनुरूपको संकल्प गर्ने समय हो । राष्ट्रव्यापी पराजय अनि झापामा आफू स्वयं पराजित भए लगत्तै मेरो प्रतिक्रिया थियो, ‘हामी बदलिन्छौं, कांग्रेस बदल्छौं ।’ कांग्रेसको जीवनमा सजिला–अप्ठेरा मोड अनेक पटक आएका छन् । संघर्ष–सत्ता, लोकप्रियता–अलोकप्रियता, विजय–पराजय अनेक व्यहोरेको छ, यो पार्टीले । यस पटकको निर्वाचनमा वैचारिक रूपमा विजयी र गणितीय रूपमा पराजित भएको छ, कांग्रेस । वाम गठबन्धन हुनु अनि बदलिएको चुनावी चित्र बदल्न सक्नेगरी हामी बदलिन नसक्नु हाम्रो पराजयको कारण हो । साझा ढंगले हामी सबै यसमा सहमत हुन सक्छौं । तर आफू चुनाव हारिरहँदा पनि नयाँ संविधानलाई कार्यान्वयन गर्दै लामो संक्रमणकालको अन्त्य गराउन सफल नेतृत्व गरेर लोकतन्त्र र देशलाई जिताउन सफल भएकोमा कांग्रेस पार्टी परिवारले गौरव गर्नुपर्छ र आफ्नो सरकारको नेतृत्वको सराहना गर्नुपर्छ । साइज–साइजको नेतृत्व अनुरूप श्रेय र दोषको भाग पनि साइज–साइजकै लाग्छ भन्ने स्पष्ट मान्यतामा पनि हामी स्पष्ट छौं । गम्भीर पराजयको गम्भीर आत्मसमीक्षाको चरणमा कांग्रेस केन्द्र प्रवेश गरिरहँदा थप दृढता जरुरी छ । त्यो हो, देशको समयलाई आफू अनुकूल बदल्ने सामथ्र्य अनेकपटक प्रस्तुत गरेको कांग्रेस अब बदलिएको समय अनुकूल आफूलाई बदल्ने सामथ्र्यको दोस्रो अध्यायमा एकताबद्ध ढंगले अघि बढ्नेछ ।

कांग्रेसलाई समयानुकूल बदल्नैपर्छ भन्ने स्वर, जाँगर र आवाज राष्ट्रव्यापी रूपमा जागृत हुनु उत्साहबद्र्धक छ । त्यो बदलावका लागि संकल्पको चरण, आत्मसमीक्षाको चरण, संरचनामा संवैधानिक व्यवस्था अनुरूपको विधान संशोधन र कार्यान्वयनको चरण, नेतृत्वमा रूपान्तरण र परिवर्तनको चरण अनि समग्रमा कांग्रेसको आधुनिकीकरण । एक बिहानको खाना बनाउन पनि एउटा निश्चित समय लाग्छ । एउटा पुरानो पार्टी एकाएक नवीन पार्टीका रूपमा एक बिहान या एक साँझको मिहिनेतले बदलिँदैन । आवेगले या हतारोले पार्टी नवीन बन्दैन । धैर्य, एकता र विश्वासले त्यो यात्रा तय गर्नुछ, हामीले । केन्द्रीय समिति बैठकमार्फत हामीले गाँस्नुछ, त्यही विश्वास जो खण्डित छ, यतिबेला । पार्टीप्रति होस् या साथीप्रति त्यो विश्वास बलियो बनाउनुको अर्काे विकल्प छैन ।


युवासँग उत्तरहरू पनि छन्

केही समय अघिमात्रै एक सुरुचिपूर्ण प्रसंग कहीँ पढेको थिएँ । माटोको मूर्ति निर्माण गरिसकेपछि एक सिद्धहस्त कलाकारले त्यसको तलतिर कागजमा लेखेर टाँसेछन्, ‘जो यो बाटो हिँड्नुहुन्छ, यो मूर्तिमा देखिएका त्रुटिमा कृपया चिनो लगाइदिनुहोला ।’ बिहानै लगेर मूर्ति राखेको चोकमा साँझ ती कलाकार पुगेपछि मूर्तिभरि जताततै चिनो नै चिनो लगाइएको देख्छन् र अत्यन्तै दु:खी बन्छन् । त्यसैबेला आइपुगेका एक महात्माले कुरा सुनिसकेर उनलाई सुझाव दिन्छन्, ‘अब अर्काे मूर्ति बनाऊ र यही चोकमा राख अनि तल लेख, यो मूर्तिमा देखिएका त्रुटिलाई कृपया सच्याइदिनु होला ।’ कलाकारले केही दिनपछि अर्काे मूर्ति बनाएर सोही ठाउँमा राख्छन्, महात्माले भनेकै शब्दावली लेखेर टाँस्छन्, अनि बिहानै चोकमा राखेर फर्कन्छन् । साँझ पाउँछन्, मूर्ति जस्ताको तस्तै छ, कहीँ सच्याइएको छैन । उनलाई ज्ञान प्राप्त हुन्छ– त्रुटि औंल्याउन जोकोहीले सक्छन्, सच्याउन सजिलो हुन्न ।

नेपाली कांग्रेस यतिबेला त्यही मूर्तिजस्तो जहीँतहीँ त्रुटि चिन्ह लगाइएको अवस्थामा चोकमा खडा छ । कांग्रेस रूपान्तरणका लागि त्रुटि पहिचानको योग्यता जति जरुरी छ, त्योभन्दा बढी नै जरुरी छ, त्रुटि सच्याउने शिल्प । केन्द्रीय समितिको बैठकपूर्व थुप्रै छलफल, थुप्रै ठाउँमा भएका छन् । ती छलफलले दिएका ऊर्जालाई ग्रहण गरेर केन्द्रीय समितिले नवीन कार्ययोजना एकमतले तय गर्नुछ । युवाहरूको छलफल, पार्टी जिल्ला सभापतिहरूको भेला, बुद्धिजीवीहरूको बैठक, यी सबैले पार्टीको जीवन्तताका लागि पहल गर्नु, चिन्ता प्रकट गर्नु र आवाज उठाउनु विलकुलै स्वाभाविक थियो, हो र छ । त्यस्ता कतिपय छलफलमा सहभागी हुँदा मैले महसुस गरेंँ, केन्द्रीय समितिमा नरहेर पनि केन्द्रीय समितिले अपनत्व ग्रहण गरेर जानुपर्ने राम्रा सुझावहरू थुप्रै साथीहरूले प्रस्तुत गर्नुभएको छ । पार्टी प्रवक्ताका नाताले भित्रका नीति र निर्णयलाई बाहिर ल्याउने मात्र होइन, बाहिर उठेका सुझावलाई भित्र प्रविष्ट गराउने ‘पुल’का रूपमा पनि दायित्व निर्वाह गर्नुपर्ने मैले महसुस गरेको छु । मूर्तिमा रहेको त्रुटि चिनो लगाउन मात्र होइन, सच्याउन सक्ने सुयोग्यता पनि बाहिर प्रदर्शित देखिन्छ । कांग्रेसको पछिल्लो पुस्ताको एक कार्यकर्ताको नाताले म दृढ ढंगले प्रस्ट छु, पछिल्लो पुस्तासँग प्रश्नहरू मात्र छैनन्, जवाफ पनि छन् । मूर्तिमा रहेका त्रुटिहरू सच्याउन सक्ने आवश्यक दृष्टिकोण र डिजाइन पनि छ । युवाका अभिमत एवं पाकाका अनुभवलाई गाँसेर कांग्रेसलाई नवीन ढंगले परिस्कृत गरेर लग्नुपर्ने विगतदेखिकै आफ्नो मतप्रति म आज पनि उत्तिकै दृढ छु । उमेरका दृष्टिले कोही कम उमेरका छन् भन्दैमा राजनीतिलाई नेतृत्व गर्न ती अयोग्य हुँदैनन् । नत पाको उमेरमा पुगेका सबैलाई विदा गर्नुपर्ने ‘मेडिसिन’ न्यायोचित हुन्छ । निकै समय अघिदेखि म भन्दै, लेख्दै आएको छु, राजनीतिलाई एजेन्डाले ‘ड्राइभ’ गर्नुपर्छ । कांग्रेस केन्द्रले अबको यात्रामा सिंगो कांग्रेसलाई तन्नेरी बनाउने भिजन तय गर्नैपर्छ । देशभरिका कांग्रेसी तरुण र पाका कांग्रेसी दुवैथरीले जसप्रति अपनत्व महसुस गरुन्, जसले तिनमा प्राण भरोस् । पार्टी प्रवक्तामा तुलनात्मक रूपमा युवाको नियुक्ति चुनौती र अवसर दुवै हो । ‘पुरानो पार्टीलाई नवीन बनाउने’ एजेन्डासाथ हजारौं युवा कांग्रेसको कमाण्ड सम्हाल्न पार्टीको अनेक तहमा तत्पर छन् । तुलनात्मक रूपमा ‘कलिलो एज तर मलिलो एजेन्डा’साथ उठिरहेको युवा वेग कांग्रेसको उज्यालो भविष्यको आधार हो । त्यसैले मैले भन्दै आएको छु– यो कांग्रेस पराजयको क्षणमात्रै होइन, आधुनिक कांग्रेस निर्माण प्रारम्भ गर्ने ऐतिहासिक घडी पनि हो । अत: इतिहासको नवीन अध्यायमा प्रवेश गर्नलाग्दा युवासँग पाकाले तर्सिनुपर्ने र पाकासँग युवाले झस्किनुपर्ने कुनै कारण छैन । हामी अलग–अलग मोर्चामा छैनौं, बरु एउटै घरमा छौं, जसलाई यो बेला ऐतिहासिक पुनर्निर्माणको खाँचो छ ।

केही समयअघि केन्द्रीय समितिमा रहेका हामी केही सदस्यले एक विज्ञप्ति जारी गरेका थियौं । त्यसमा पार्टीका कमजोरीसँगै निदानका केही प्रक्रिया औंल्याएका थियौं । त्यसमा प्रयुक्त प्रत्येक शब्द र त्यसको ‘स्पिरिट’प्रति प्रवक्ताका रूपमा पनि म प्रतिबद्ध छु । त्यो विज्ञप्ति पुस १६ को ऐतिहासिक तिथिमा जारी गरिएको थियो । ४१ वर्षअघि त्यसै दिन बीपी कोइराला राष्ट्रिय एकता र मेलमिलापको अपिल गर्दै स्वदेश फर्कनुभएको थियो । विगतका अप्रिय विवाद र मतभिन्नता भुलेर अघि बढ्न राष्ट्रका नाममा उहाँले अपिल गरेको सोही ऐतिहासिक दिन पारेर विज्ञप्तिमार्फत हामीले कांग्रेसभित्र त्यस्तै नवीनताका लागि

आह्वान गरेका थियौं । विशेष महाधिवेशनको माग या ७० नाघेकालाई विदाइ गर्नुपर्ने माग त्यो विज्ञप्तिमा थिएन । केन्द्रीय समितिको बैठक बोलाउनुपर्ने, महासमितिमा जानुपर्ने विषय विज्ञप्तिमा जो थिए, त्यो आमरूपमा सबै सहमत हुनुपर्ने विषय थिए । केन्द्रीय समितिको बैठकमार्फत त्यो दिशामा अघि बढ्नैपर्ने विकल्पको अर्काे कुनै विकल्प छैन ।


कर्म गर्ने प्रचार नगर्ने, अब हुन्न !

‘कर्ममा विश्वास गर, तर फलको आस नगर’ भन्ने दर्शनमा विश्वास गरेझैं देशका लागि अनेक सत्कर्म गरेर पनि त्यसलाई मतदाताको मनमस्तिष्क झङकृत गर्नेगरी हामीले ‘ब्रान्डिङ’ गर्न सकेनौं, मानौं फलको आशा हामीलाई थिएन जस्तै । २००७ र ०४६ को सुदूर स्मृतिमा म लग्न चाहन्न । बितेको एक दशकमै कांग्रेसले राष्ट्रिय रूपमा जेजस्तो भूमिका निर्वाह गरेको छ, त्यो वास्तवमै गौरवशाली छ । यत्रतत्र गिरेका लास अनि असुरक्षित गाउँसमाज यतिबेला स्मरण गर्न जरुरी नहोला । तर त्यो हिंसाको दशकबाट देशलाई शान्तिको अवस्थामा रूपान्तरण गर्न कांग्रेसले निर्वाह गरेको नायकत्व बिर्सन सकिन्न । ४ वर्षमा ४ प्रधानमन्त्री को–को बन्नुभयो, पहिलो संविधानसभा कसरी असफल भयो, त्यो स्मरण गरिरहन अब आवश्यक नहोला । तर सबैलाई सँगसँगै गाँसेर अनेकतिरका दबाब अस्वीकार गरेर कांग्रेसकै नायकत्वमा कसरी निर्धारित समयमै नयाँ संविधान जारी भयो, त्यो कसैले भुल्न मिल्दैन । नयाँ संविधान जारी भएपछि तराई मधेसमा कति थान टायर जले, कति अमूल्य ज्यान ढले, त्यो स्मरण जति आवश्यक होला, एक थोपा रगत नबगी स्थानीय, प्रदेश र राष्ट्रिय निर्वाचन कांग्रेसकै नेतृत्वमा सम्पन्न भयो, आगामी दिनमा त्यो सबैको स्मृतिमा रहिरहनेछ ।

त्यतिमात्र होइन, हिंसा र अस्थिरताबीच बितेका अढाई दशकमा नेपालको समृद्धिको दिशामा केही महत्त्वपूर्ण उपलब्धि हासिल भएका छन् । तर ‘कांग्रेसले केही गरेन, अब हामी गर्छौं’ भन्ने विपक्षी नारा बिकाउ भयो, त्यसलाई चिरेर आफूले गरेका कर्मलाई आक्रामक ढंगले सम्प्रेषण गर्न हामीले सकेनौं । इतिहास र वर्तमानको प्रकरणमात्र होइन, अबको दशकका लागि निर्धारित समृद्धिको हाम्रो व्यावहारिक सपनाप्रति पनि नागरिक अपनत्व गाँस्न सकिएन । आगामी दिनमा पार्टीको नागरिक संवाद क्षमतालाई प्रभावकारी बनाउन प्रवक्ताका रूपमा केही नवीन कार्ययोजनालाई मूर्तरूप दिनु नै छ । कुनै पनि राजनीतिक दलले सरकारमा छँदा गरेका या गर्ने कमजोरीका कारण जनमत घट्ने कुरा स्वाभाविक हो, हाम्रा कतिपय शासकीय कमजोरीका कारण हामी निकै आलोचित पनि भयौं । तर सरकारमा छँदा पार्टीले गरेका राम्रा कर्मलाई सूचीकृत र पुँजीकृत गर्दै आगामी दिनमा संगठनप्रति जनविश्वास कसिलो बनाउन हामी भिन्न ढंगले समर्पित हुनैपरेको छ ।


समय सधैं यस्तै रहँदैन !

एक महात्माले शिष्यहरूलाई वरिपरि राखेर भनेछन्, ‘एउटा यस्तो वाक्य बताऊ, जुन दु:खी मानिसले सुन्दा खुसी बनोस् र खुसी मानिसचाहिँ उदास बनोस् ।’ शिष्यहरूले बताउन सकेनन् । महात्माले भनेछन्, ‘दु:ख र सुख दुवै अस्थायी हुन्छ, अत: त्यो वाक्य हो– यो समय सधैं यस्तै रहँदैन ।’ यो शाश्वत वचन चुनावमा पराजय ब्यहोरेका कांग्रेस पार्टीका तमाम सदस्यले मनन गरेर अगाडिको यात्रा तय गर्नुछ ।

यद्यपि राजनीतिक समय भनेको अनिवार्य बदलिने भित्ताको क्यालेन्डर जस्तो विलकुल हुँदैन । यसलाई बदल्न सात सूत्र जरुरी हुन्छ । संकल्प, दृष्टिकोण, एकता, टिम स्पिरिट, मिहिनेत, त्याग र अन्तरविश्वास । यो पछिल्लो शब्द अन्तरविश्वास र यसको भाव जो छ, त्यो इतिहासको एउटा मोडमा अन्तरघात शब्द र चरित्रको सांघातिक हमलामा परेर ‘कोमा’मा गएको थियो । क्रमश: त्यो अन्तरविश्वास ब्यँुतनुमा कांग्रेसको नवजीवन छ, सुन्दर भविष्य छ । एउटा जीवन्त पार्टीभित्र फरक मत, समूह र द्वन्द्व हुनु स्वाभाविक हुन्छ । त्यसबाट शक्ति हासिल गरेर आत्मविश्वासलाई उचाइमा र अन्तरविश्वासलाई गहिराइमा जब पुर्‍याउनेछौं, तब त्यसलाई सबैले भन्नेछन्– नवीन कांग्रेस ।

@bishwaprakash77

प्रकाशित : माघ ४, २०७४ ०७:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?