कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

अष्ट्रेलिया आउँदै हुनुहुन्छ ? यि कुराहरुमा ध्यान दिनुस्

नारायण खड्का

अष्ट्रेलिया — अष्ट्रेलिया अहिले नेपाली बिद्यार्थीहरुको पहिलो रोजाई बनिरहेको छ । अष्ट्रेलियामा मेहनती बिद्यार्थीहरुको लागि पैसा मात्र नभएर भविश्य पनि राम्रो छ । सामान्यतय: बिद्यार्थी कै रुपमा प्रवेश गर्ने नेपाली युवायुवतीहरुको लागि अष्ट्रेलिया 'ड्रिमल्याण्ड' बन्दै गएको भएपनि आउने समयमा यहाँको बारेमा सामान्य अनुसन्धान र अध्ययन नगरी आउने कारणले बिभिन्न समस्याहरु आउने गरेको छ ।

अष्ट्रेलिया आउँदै हुनुहुन्छ ? यि कुराहरुमा ध्यान दिनुस्

अष्ट्रेलियाले विश्वका प्राय: सबै देशहरुबाट अध्ययनमा आउन चाहने युवायुवतीहरुलाई स्वागत गर्ने गरेको छ । त्यतिमात्र नभएर सुरक्षा, स्वास्थ्यलगायतका सबै आधारभुत आवश्यक्ताहरुमा पनि उत्तिकै ध्यान दिने गरेको छ । त्यसमा पनि नेपालीहरुले मेहनती र मिलनसार भएको परिचय बनाएकाले समेत सहज वातावरण बनाईदिएको छ । किनकी अष्ट्रेलिया अध्ययनका लागि आउने बिदेशी बिद्यार्थीहरुको संख्यामा नेपालीहरु तेस्रो स्थानमा छन् ।


यदी अष्ट्रेलिया उच्च शिक्षाका लागि आउदै हुनुहुन्छ भने तपाईहरुले धेरै कुरामा ध्यान दिनु पर्ने हुन्छ । यहाँ आएर कहाँ बस्ने, आफुले अध्ययन गर्दा लाग्ने कलेज वा युनिभर्सिटीको शुल्क कति लाग्छ ? बिद्यार्थी भएर आइसकेपछि यहाँ स्थायी बासिन्दा (पिआर) र नागरिकता लिइसकेका ब्यक्तिहरुको तुलनामा सीमित सरकारी सुविधाहरु मात्र पाउने भएकाले त्यो के हो र त्यसले के असर गर्छ भन्नेमा पनि आउनुअघि नै निक्र्यौल गर्न आवश्यक छ । अर्कोतिर काम नगरी खान नपाइने देश भएकाले कहाँ काम पाईन्छ, कसरी काम पाईन्छ र कस्तो किसिमको काम पाईन्छ भनेर पहिल्यै बुझेर आएको खण्डमा बिद्यार्थीलाई सहज हुन्छ ।


अष्ट्रेलिया सरकारले बिद्यार्थीहरुका लागि प्रत्येक दुईसाता (एक फोर्टनाईट) मा ४० घण्टामा नबढाई कानुनी रुपले काम गर्ने अधिकार दिन्छ । अष्ट्रेलियाले आम्दानी गर्ने प्रत्येक ब्यक्तिसँग ट्याक्स लिने गर्दछ र त्यसका लागि नम्बर उपलब्द्ध गराएको हुन्छ । यहाँ आइसकेपछि उक्त नियममा रहेर काम नगर्ने र नगराउनु कानुन विपरित मानिन्छ । अहिले अष्ट्रेलियामा न्युनतम तलब प्रतिघण्टा १७ डलर ७० सेन्ट छ । बिद्यार्थीले एक महिनामा कानुनी रुपमा काम गरेर कमाउने भनेको करिब १ लाख १० हजार रुपैया मात्र हो । जुन खान र बस्नका लागि मात्र पर्याप्त हुने गर्दछ ।


शिक्षाको क्षेत्रमा काम गरिरहेकाहरुका अनुसार यहाँको कलेज वा युनिभर्सिटीको शुल्क मात्र प्रति सेमेस्टर (सामान्यता: ६ महिना) को ७ लाखदेखि १२ लाखसम्म पर्न आउँछ । आफु अध्ययनका लागि आएपछि शुल्क र अन्य खर्चहरु कसरी जोहो गर्ने वा यहाँ रहेका साथी वा नेपालका परिवारले सहयोग गर्न सक्छन् कि सक्तैनन् भनेर विचार पुरयाउन आवश्यक छ ।

नेपालबाट पहिलोपटक आएको ब्यक्तिले यहाँको बाटो काट्ने नियमदेखि गाडी चलाउने नियम समेत पालना गर्नुपर्ने हुन्छ । सामान्य रुपमा भन्नुपर्दा नेपालमा गाडीमा सवार गर्ने सबैलाई सिटबेल्ट लगाउन अनिवार्य नभएपनि यहाँ नलगाएको भेटिए जरिवाना तिर्नुपर्ने हुन्छ । मुख्य कुरा यहाँ आइसकेपछि समयलाई ध्यान दिन अत्यन्तै अनिवार्य हुन्छ । ५ सेकेण्ड ढिला भयो भने बस वा ट्रेन छुट्छ भने कुनै सेवासुविधा लिने स्थानमा अनिवार्य लाईनमा लाग्नुपर्ने हुन्छ ।


बिद्यार्थी भएर आइसकेपछि भिषा दिने समयमा यहाँको सरकारले राखेको शर्त पुरा गरेन भने भिषा रद्द पनि हुनसक्छ । जुन बिषय अध्ययन गर्न आएको हो त्यो अध्ययन नगरि सस्तो बिषयमा अध्ययन गऱ्यो भने समस्या आउन सक्छ भने पढाई समेत नियमित गर्नुपर्छ । अर्कोतिर नेपालमा जस्तो घरेलु झगडाले समेत समस्या सृजना गर्न सक्छ । बुढाबुढीको त झगडा हो भनेर आफुआफु झगडा गरियो भने छिमेकीले पुलिस बोलाएर समस्या सृजना गरिदिन सक्छन् ।

सामाजिक सञ्जालको दुरुपयोगलाई पनि यहाँ अपराध मानिन्छ भने कुनैपनि गम्भिर अपराधमा दोषी मानिएको खण्डमा भिषा रद्द गरेर फिर्ता पठाईदिने प्रावधान समेत छ । नेपालबाट आउने युवायुवतीले नक्कली लाईसेन्स ल्याएर यहाँ सवारीसाधन चलाएको यदाकदा सुनिने गरिएको छ जुन सबैभन्दा ठुलो गल्ति हो । यदी गाडी चलाउने क्रममा कुनै दुर्घटना भयो र यहाँको प्रहरीले नेपालमा सवारीचालक अनुमतीपत्रको इतिहास खोज्यो भने त्यसले अझ ठुलो समस्या निम्त्याउन सक्छ ।

अष्ट्रेलियामा अध्ययन पश्चात भविश्य खोज्ने युवायुवतीहरुको लागि अहिलेसम्म सहज भएपनि आउनुअघि सबै अध्ययन गर्न अत्यन्तै आवश्यक छ । उच्चशिक्षाका लागि अष्ट्रेलिया आउने सोच बनाउनुअघि नै आफु जाने शहर र समग्र देशको कानुन, अवसर र चुनौतीहरुका बारेमा अध्ययन गरेर आएको खण्डमा भने यहाँ आइसकेपछि आइपर्ने समस्याहरु हल गर्न थप सहज हुन्छ । झन् यहाँको नियम कानुन, अवसर र चुनौतीहरुका बारेमा आफु जाने स्थानमा बसोबास गरिरहेकाहरुसँग सल्लाह सुझाव लिंदा समेत फाईदा हुन्छ ।

प्रकाशित : पुस २१, २०७४ १७:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?