२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

बच्चालाई सुईको डर

डा. दिनेश धरेल

काठमाडौँ — बच्चाले कुनै खानेकुरा खान मानेन, रोयो वा कुनै बिज्याइँ गर्‍यो भने डाक्टरले सुई लगाइदिनुहुन्छ भनेर उसलाई तर्साई लाइनमा ल्याउन कोसिस गर्नुभएको छ ? गर्नुभएको छ भने त्यसालाई त्यागिहाल्नुस् ।

बच्चालाई सुईको डर

सुईको डरले बाल मनोविज्ञानमा पार्ने प्रभाव हामीले सोचेजस्तो अनुशासन कायम गर्ने होइन । अस्पताल र डाक्टरप्रति भय र संशय पैदा गर्ने होइन । यसले गर्दा बच्चाले अस्पताल जानुपर्ने वा डाक्टर भेट्नुपर्ने डरले आफ्नो समस्या नबताउने वा लुकाउने गर्न सक्छन् । अनि अस्पताल आए पनि तनावमा पर्ने गर्छन् ।


एउटा बच्चा अस्पताल जाँदैछ वा लगिँदैछ भने उसका मानसपटलमा अनेकौं कुरा खेलिरहेका हुन्छन् । बच्चाको उमेर र बौद्धिक विकासको चरण अनुसार उसका आफ्नै खालका चासो, चिन्ता र अनुभूति रहेका हुन्छन् जुन हामी हमेसा ख्याल गर्न छुटाउँछौं । यदि तपाईं आफ्नो बच्चाको मनोदशा बुझ्न सक्नुहुन्छ भने उसको अस्पताल र डाक्टरसँगको अनुभवलाई सकेसम्म सुखद र कम पीडादायी बनाउन सहायोग गर्नुस् । आफ्नो बच्चाको हरेक प्रश्न र सबालको भिँmजो नमानिकन जबाफ दिनुपर्छ । कुनै कुरा तपाईंलाई थाहा नहुन सक्छ, त्यस्तो विषय बच्चासँगै बसेर वा स्वास्थ्यकर्मीलाई सोधेर पत्ता लगाउनुहोस् । बच्चाहरू आफ्नो बारेमा जान्न उत्सुक हुन्छन् र कुनै कुरा राम्ररी बताइदिएपछि आफ्नै तरिकाले बुझ्न पनि सक्छन् ।


बोलेर आफ्नो मनको कुरा बताउन नसके पनि साना नानीहरू अस्पताल जानु पर्दा आफ्नी आमा वा नजिकका आफन्तहरूसँग छुट्टिनुपर्ने, खाने, सुत्नेजस्ता सामान्य दैनिकीमा परिवर्तन हुने, नचिनेका मान्छेहरूसँग रहनुपर्नेजस्ता कुराले तनावग्रस्त हुन्छन् । अझ रगत जँचाउने वा सुईबाट औषधि लगाउने क्रममा पटक पटक घोचिनु पर्दाको पीडा उनीहरूलाई असह्य हुन सक्छ । अपरिचित मान्छेसँग डराउने उमेरका साना नानीहरूको अस्पताल बसाइलाई डाक्टर, नर्सलगायत अस्पतालका कर्मचारीहरूसँगको अन्तरक्रियाको अनुभवले दूरगामी प्रभाव पारेको हुन्छ । अझ उनीहरूले सोच्दै नसोचेको र बुझ्न नसक्ने सुई, बाफ, अक्सिजन, मनिटरजस्ता कुरा देखे, भोगेपछि विशेष गरी स्कुले बच्चाहरूले अनेकथरी डरलाग्दा र रहस्यमयी कुरा कल्पना गर्न थाल्छन् जसको मनोवैज्ञानिक प्रभाव पछिसम्म रहन सक्छ ।


कुनै गल्ती गर्दा वा तपाईंले भनेजस्तो नगर्दा डाक्टरले सुई लगाइदिन्छन् भन्ने मनोविज्ञान विकास भयो भने जीवनभर बच्चाहरू स्वास्थ्यकर्मीप्रति सशंकित हुन सक्छन् । अर्कोपटक अस्पताल जाँदा उनीहरूलाई यही कुराले सताइरहेको हुन्छ । अझ सुई लगाउन पर्नु उनीहरूका लागि सजाय हो कि भन्ने पर्न सक्छ ।

अनुसन्धानले के देखाएको छ भने अस्पताल जानु अघि बच्चालाई उमेर अनुसार अस्पताल, डाक्टर, नर्स आदिसँग जोडेर सरल खालका कथाहरू भन्ने, आफू जान लागेको अस्पतालका फोटाहरू देखाउने र त्यहाँ गएपछि के के हुन्छ, के देखिन्छ भनी बताउँदा बच्चालाई तनाव कम गर्न उल्लेख्य सहयोग पुग्छ । यस क्रममा सुई लगाउन पर्न सक्छ र यो बिमार सन्चो बनाउन हो भन्ने मनमा पार्न प्रयास गर्नुपर्छ, न कि सजाय । उपचार गर्ने ठाउँमा राखिएका उसलाई मन पर्ने कुराबारे घर र बाटोमा पनि पटक पटक बताएपछि क्रमश: उपचार कक्षमा जान राजी हुन्छ । झुक्याएर वा सुईको डर देखाएरभन्दा पनि मनोवैज्ञानिक रूपमा उपचारका लागि तयार गरेर बच्चालाई उसको स्वास्थ्यका लागि जरुरी कुरा गर्न वा गराउन सकिन्छ ।


उमेर बढ्दै गएपछि बच्चाहरू आफ्नो वरिपरि के भइरहेको छ, बुझ्न र मनन गर्न सक्छन् । उमेर, मानसिक विकास र व्यक्तित्व अनुसार उनीहरूले अस्पतालको अनुभवलाई हेर्ने आफ्नै दृष्टिकोण बनाइरहेका हुन्छन् र भोगाइका आयाम पनि थापिएका हुन्छन् । अस्पताल जाँदा घर–परिवारका साथै साथीहरूसँग पनि छुट्टिनुपर्ने तथा स्कुल वा सामाजिक गतिविधिबाट पनि वञ्चित हुनुपर्ने अव्यक्त पीडाबाहेक सुई लगाउनुपर्ने कुराले बच्चालाई तर्साइरहेको हुन्छ ।


तसर्थ एक बालचिकित्सकका हैसियतले मेरो विनम्र अनुरोध छ, आफ्ना बच्चालाई सुईको डर देखाएर कुनै कुरा गर्न नलगाउनुहोला । बिरामी भएर अस्पताल जानु परेर रोइरहेको वा तनावमा रहेका बच्चालाई चुप लाग, नत्र डाक्टरले सुई लगाइदिनुहुन्छ भनी सम्झाउन खोज्दा उसको मनोभाव नकारात्मक बन्न सक्छ भनी विचार गरिदिनुभयो भने डाक्टर र बच्चाको सम्बन्ध सुमधुर बन्न सक्छ ।

प्रकाशित : पुस २१, २०७४ ०७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?